ट्रम्पले इरानमा बम खसाल्न चाहेको 'पिकएक्स माउन्टेन' के हो

'पिकएक्स माउन्टेन' भनेर चिनिने इरानको शङ्कास्पद परमाणु क्षेत्रको भूउपग्रह तस्बिर

तस्बिर स्रोत, Vantor

    • Author, शाएन सर्दारीजादे, जेक होर्टन र गोन्चे हबीबिआजाद
    • Role, बीबीसी भेरीफाई र बीबीसी पर्सियन
  • Published
  • पढ्ने समय: ५ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले 'पिकएक्स माउन्टेन' भनेर चिनिने इरानको सन्दिग्ध भूमिगत परमाणु क्षेत्रमा बम खसाल्ने चेतावनी बारम्बार दिएका छन्। हालै भूउपग्रहबाट खिचिएका तस्बिरहरूमा यो स्थानमा निर्माणकार्य भइरहेको देखिएको थियो।

'पिकएक्स माउन्टेन' हालसम्म अमेरिकी निसानामा नपरेको इरानको परमाणु कार्यक्रमसँग जोडिएको ठानिएका निकै कम क्षेत्रहरूमध्येको एक हो। उक्त स्थानमा इरानले संवर्धित युरेनिअम राखेको अपुष्ट दाबीहरू आएका छन्। त्यस्तो युरेनिअमलाई थप प्रशोधन गरेर परमाणुअस्त्र निर्माण गर्न सकिन्छ।

"हामी चाँडै नै त्यो क्षेत्रमा आक्रमण गर्ने छौँ र त्यो निकै शक्तिशाली हुने छ," ट्रम्पले २१ जुलाईमा पत्रकारहरूसँग भनेका थिए।

त्यसको एक सातापछि २८ जुलाईमा उनले फेरी भने, "पिकएक्स माउन्टेनमा ठ्याक्कै के भइरहेको छ भन्ने मलाई थाहा छ। त्यो ठूलो समस्या होइन। हामीले उनीहरूको परमाणु केन्द्रहरू समाप्त पारिसकेका छौँ, र यदि सम्झौता भएन भने पिकएक्सलाई पनि ध्वस्त पार्नुपर्ने हुन्छ।"

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले २२ जुलाईमा पिकएक्समा कुनै पनि परमाणु गतिविधि नभएको बताएका थिए। उनले अमेरिकी चेतावनीलाई "आक्रमण, विनाश र तोडफोडका लागि बनाइएको बहाना" भनेका छन्।

बीबीसी भेरिफाई र बीबीसी पर्शिएन सेवाले त्यो क्षेत्रका भूउपग्रह तस्बिरहरू विज्ञहरूबाट विश्लेषण गराएर उक्त क्षेत्रबारे थाहा भएका कुराहरू र सम्भावित आक्रमणको असरबारे सामग्री तयार गरेका छन्।

'पिकएक्स माउन्टेन'बारे हामीलाई केके थाहा छ?

पिकएक्स माउन्टेनलाई 'कुह–ए–कोलाङ' भनेर पनि चिनिन्छ। यो ठाउँ इरानको सबैभन्दा ठूलो परमाणु प्रशोधन केन्द्र 'नतान्ज'भन्दा ठ्याक्कै दक्षिणपट्टि छ। नतान्जमा अमेरिका र इजरेलले सन् २०२५ र २०२६ मा बम आक्रमण गरेका थिए।

यहाँको पहाडभित्र गहिराइमा संरचनाहरू निर्माण गरिएको ठानिएको छ। यसको वास्तविक उद्देश्यबारे धेरै कुरा बाहिर नआएका कारण परमाणु केन्द्रका विषयहरू रहस्य र अनुमानमा मात्रै सीमित छन्।

तेहरानले यसअघि नतान्ज परिसरभित्र रहेको उन्नत सेन्ट्रिफ्युजहरू जोड्ने भवनको विकल्पका रूपमा यसलाई प्रयोग गर्न सकिने सङ्केत दिएको थियो। नतान्जको उक्त भवन सन् २०२० मा भएको आक्रमणपछि क्षतिग्रस्त भएको थियो।

इरानको आणविक ऊर्जा सङ्गठनका पूर्व प्रमुख अली अकबर सालेहीले सन् २०२० मा "नतान्ज नजिकै" पहाडभित्र थप "आधुनिक, फराकिलो र व्यापक सुविधा सहितको पूर्वाधार निर्माण गरिने" बताएका थिए। तर उनले त्यसबेला पिकएक्स पहाडको नाम लिएका थिएनन्।

सेन्ट्रिफ्युजहरू युरेनिअम संवर्द्धनका लागि प्रयोग गरिन्छन्। संवर्द्धित युरेनिअम गैरसैनिक प्रयोजनका लागि रिएक्टर इन्धनमा प्रयोग गर्न सकिन्छ। तर करिब ९० प्रतिशत वा त्योभन्दा बढी शुद्ध हुने गरी प्रशोधन गरिएको अवस्थामा यसलाई परमाणु अस्त्र निर्माणमा पनि प्रयोग गर्न सकिन्छ।

पिकएक्स माउन्टेन

तस्बिर स्रोत, Reuters

पिकएक्स माउन्टेनको भूउपग्रह तस्बिरमा आधारित एउटा एनिमेटेड ग्राफिक्समा सुरक्षा क्षेत्र र चार वटा सुरुङका प्रवेशद्वार देखिएका छन्। चार वटा मध्ये दुई वटा प्रवेशद्वार पश्चिममा र दुई वटा पूर्वतर्फ छन्। पछिल्ला वर्षहरूमा खास गरी सन् २०२५ को इजरेल र इरानबीचको १२ दिन लामो युद्धपछि यसको वरिपरि ठूलो सुरक्षा घेरा निर्माण गरिएको देखिन्छ।

सन् २०२६ को जुन ३० मा लिइएका भूउपग्रह तस्बिरमा पश्चिमी सुरुङको प्रवेश मार्ग अगाडि कैयौँ निर्माण उपकरणहरू देखिन्छन्। अनि पछिल्लो महिना लिइएका तस्बिरहरूमा पिकएक्स माउन्टेनमा पहुँचमार्ग र सुरुङका प्रवेश मार्गहरू निर्माण भइरहेका देखिन्छ।

अमेरिकाको इन्स्टिट्यूट फर साइन्स एन्ड इन्टरन्याश्नल सेक्युरिटी (आईएसआईएस)ले गरेको विश्लेषण अनुसार इरानले पूर्वतर्फका दुई वटा सुरुङको प्रवेशस्थल बन्द गरिसकेको छ।

"हामीले पछिल्लो वर्ष निरन्तर निर्माण कार्यहरू भइरहेको देखेका छौँ," आईएसआईएसका स्पेन्सर फारगासो भन्छन्।

"त्यहाँ इरानले भित्री उत्खनन गर्ने र हवाई आक्रमणबाट सुरक्षाका लागि थप सुरक्षित बनाउने काम गरिरहेजस्तो देखिन्छ।"

के बम हमलाले पिकएक्स माउन्टेन ध्वस्त बनाउन सक्छ?

अमेरिकाको बङ्कर बस्टर बोक्ने विमान

तस्बिर स्रोत, US Air Force

पिकएक्स माउन्टेन क्षेत्रलाई हवाई आक्रमणबाट सुरक्षित हुने स्थानका रूपमा छानिएको हुनसक्छ। कतिपय विश्लेषकहरूका अनुसार यस केन्द्रको मुख्य भाग जमिनमुनि करिब १०० मिटर गहिराइमा हुन सक्छ। यसको अर्थ यो क्षेत्र इरानका दुई परमाणु स्थलहरू फोर्दो र नतान्ज भन्दा पनि धेरै गहिराइमा छ। अमेरिकाले फोर्दो र नतान्जमा गत वर्ष बङ्कर बस्टर बम खसालेको थियो। यस प्रकारका संरचना भत्काउन बङ्कर बस्टर मात्रै प्रभावकारी मानिएको छ।

अमेरिकाको बङ्कर बस्टर जीबीयू-५७ बमको तौल करिब १३ हजार किलोग्राम हुन्छ र यो विस्फोट हुनुअघि कङ्क्रिटमा करिब १८ मिटर वा पृथ्वीको जमिनमा ६१ मिटर जमिनभित्र प्रवेश गर्न सक्ने बताइन्छ।

तर अमेरिकाले यस्ता बम प्रयोग गरेर पनि पिकएक्स माउन्टेन पूर्ण रूपमा ध्वस्त पार्न कठिन हुने विज्ञहरू बताउँछन्।

"यसको गहिराइ र भित्री संरचना अस्पष्ट भएकाले भूमिगत सबै संरचना पूर्ण रूपमा नष्ट गर्नु अत्यन्तै कठिन हुन्छ," साउथ फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ता अरमान महमुदियान भन्छन्।

यद्यपि अमेरिकाले सुरुङको प्रवेशद्वार, सञ्चार प्रणाली, पहुँच मार्ग र अन्य सहायक पूर्वाधारलाई निशाना बनाएर केन्द्रको सञ्चालन ठप्प पार्न सक्ने सम्भावना रहने महमुदियान बताउँछन्। त्यति गर्दा पनि जमिनको सतहभन्दा धेरै गहिराइमा रहेका संरचनाहरू सग्लै रहन सक्ने सम्भावना रहने उनले बताए।

अर्कोतर्फ फारगासो त्यस क्षेत्रमा हावा प्रवेशका लागि बनाइएका छिद्रका कारण अस्त्रहरू गहिराइसम्म पुग्न सक्ने सम्भावना रहने बताउँछन्।

पहाडमुनि के छ भन्नेबारे हामीलाई के थाहा छ?

यो पहाडभित्र के छ भन्ने कुरा सार्वजनिक जानकारीमा छैन। यो केन्द्र पूर्ण रूपमा सञ्चालनमा आएको छ कि छैन भन्ने पनि स्पष्ट छैन।

तेहरानले विश्वव्यापी परमाणु निगरानीकर्ता अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) लाई अहिलेसम्म पिकएक्स माउन्टेनको निरीक्षण गर्न अनुमति दिएको छैन।

आईएईएका महानिर्देशक राफाएल ग्रोसीले गत मार्चमा इरानले "त्यहाँ परमाणु गतिविधि सञ्चालन गर्ने आशय" व्यक्त गरेको बताएका थिए।

"उनीहरूका सबैभन्दा संवेदनशील संरचनाहरू भूमिगत राख्ने यो उनीहरूको सबैभन्दा व्यवस्थित योजना हुनसक्छ," ग्रोसीले भनेका थिए।

आईएईएले सन् २०२५ मा इरानसँग करिब ६० प्रतिशत प्रशोधित युरेनिअम करिब ४४० किलोग्राम रहेको अनुमान गरेको थियो।

यसमध्येको केही भण्डार पिकएक्स माउन्टेनमा सारिएको हुन सक्ने अपुष्ट दाबीहरू आएका छन्। नतान्ज वा फोर्दोमा बमहमलामा नष्ट नभएका केही सेन्ट्रिफ्युजहरू पनि त्यहाँ सारिएको हुन सक्ने अनुमान गरिएको छ।

"युरेनिअम ग्यास सेन्ट्रिफ्यूजजस्ता उच्च मूल्यका उपकरणहरू सुरुङभित्र भण्डारण गरिनु राम्रै कुरा हो," फारगासो भन्छन्। "हामीले यो स्थलमा ट्रकको निरन्तर ओहोरदोहोर र बाहिरभित्र देखेका छौँ। जसकारण ती सवारी साधनहरू मध्ये केहीले सामानहरू भित्र सारेको हुनसक्छ।"

तर अमेरिकास्थित इन्स्टिट्यूट फर साइन्स एन्ड इन्टरन्याश्नल सेक्युरिटीका विज्ञ डेविड अलब्राइट अहिले केही नभए पनि भविष्यमा यो ठाउँ अस्त्र बनाउन मिल्ने स्तरको युरेनिअम प्रशोधन स्थल बन्नसक्ने चिन्ता व्यक्त गर्छन्।

"पिकएक्स माउन्टेन भविष्यमा अस्त्रस्तरको युरेनिअम उत्पादन गर्ने केन्द्र बन्न सक्ने चिन्ता छ," उनले भने।

तेहरानले भने आफ्नो परमाणु कार्यक्रम विशुद्ध शान्तिपूर्ण र गैरसैनिक प्रयोजनका लागि मात्र भएको र परमाणु अस्त्र विकास गर्ने कुनै उद्देश्य नरहेको दाबी गर्दै आएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।