धितोपत्र बोर्डले ल्याउन खोजेको 'शर्ट सेलिङ' के हो, पुँजी बजारमा कस्तो असर पर्ला

तस्बिर स्रोत, Getty Images
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
खस्कँदो बजारबाट समेत फाइदा लिन सकिने भनिएको नयाँ वित्तीय उपकरण ल्याउने प्रस्तावलाई सरोकारवालाहरूले आफूले सतर्कतापूर्वक हेरेको बताएका छन्।
यसले बजारमा नयाँ तरङ्ग ल्याउन सक्ने तर कार्यान्वयन चुनौतीपूर्ण भएको उनीहरूले बताएका छन्।
धितोपत्र बोर्डले हालै जारी गरेका प्रस्तावहरूमा नेपालको पुँजी बजारमा केही विशिष्ट वित्तीय उपकरणहरू ल्याउन खोजिएको उल्लेख छ। तिनमा रहेको 'शर्ट सेलिङ' उपकरणबारे धेरैले चासो दिइरहेको पाइन्छ।
बजार ओरालो लाग्दा पनि नाफा कमाउन सकिने भनिएको उक्त उपकरणको प्रयोगले पुँजी बजारमा सन्तुलन कायम राख्न सकिने तथा जोखिम व्यवस्थापन गर्न सकिने लगायतका फाइदा हुने नियामक निकाय धितोपत्र बोर्डको विश्वास छ।
तथापि उति साह्रो विकसित नभइसकेको नेपालको बजार यस्ता विशिष्ट वित्तीय उपकरण प्रयोगका लागि कति तयार होला भन्ने प्रश्न पनि जानकारहरूले गरेका छन्।
बजार घट्दा फाइदा गर्न सकिने हुँदा यसको दुरुपयोग गरी बजारलाई तल पुर्याउन नै प्रयास हुन सक्ने हुनाले यसको जोखिम पनि उत्तिकै हुने बताइन्छ।
सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटका समयमा अमेरिकाको नियामक निकायले 'शर्ट सेलिङ'माथि केही समय प्रतिबन्ध नै लगाउनुपरेको थियो।
के हो 'शर्ट सेलिङ'?
सामान्यतया शेअर बजारमा लगानीकर्ताले निश्चित रकममा किनेको शेअरको मूल्य बढेपछि बेचेर नाफा कमाउने गर्छन्।
तर शेघर मूल्य सधैँ बढिरहन्छ भन्ने हुँदैन।
मूल्य घट्दा पनि फाइदा गर्न सकिने अवधारणा नै 'शर्ट सेलिङ' हो।
"बजारमा लगानीकर्ताहरू दुई प्रकारका हुन्छन्। एकथरी जसले भविष्यमा शेअरको मूल्य बढ्न सक्छ भनेर किन्छन् अनि मूल्य बढेपछि बेच्छन्। त्यसलाई 'लङ पोजिशन' भनिन्छ। अनि अर्को चाहिँ भविष्यमा कुनै शेअरको मूल्य घट्न सक्छ भन्ने अपेक्षा गरेर त्यस्तो शेअर महँगोमा सापटी लिएर बेचिदिने र पछि भाउ घटेपछि तिनै शेअर किनेर फिर्ता गरिदिने र त्यसबाट नाफा कमाउने हुन्छ जसलाई 'शर्ट पोजिशन' भनिन्छ," धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा गोपालप्रसाद भट्टले भने।
अहिले नेपालको पुँजी बजारमा सबै लगानीकर्ताहरूले 'लङ पोजिशन' मात्रै लिइरहेका र नयाँ व्यवस्थाले 'शर्ट पोजिशन' पनि खुला गर्ने उनले बताए।

तस्बिर स्रोत, SEBON
"वास्तवमा शर्ट सेलिङ भनेको आफूसँग नभएको शेअर बिक्री गरेर फाइदा गर्नु हो। कुनै शेयरको मूल्य अब घट्छ भन्ने अनुमानमा आफूसँग नभएका त्यस्तो शेअर सापटी लिइन्छ अनि तत्काल बेचिन्छ। मूल्य घटेपछि फेरि तिनै शेअर किनिन्छ र सापटी फिर्ता गरिन्छ," नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सूचना अधिकारी मुराहरि पराजुलीले बताए।
"उदाहरणका लागि, कसैले ५०० रुपैयाँ प्रतिकित्ता मूल्य रहेको कुनै शेअर अब घट्छ भन्ने अपेक्षा गर्छ भने आफूसँग नभएको त्यस्तो शेअर सापटी लिएर बेचिदिन्छ अनि भाउ घटेर ४०० मा आइपुग्दा फेरि किनेर फिर्ता दिन्छ।"
"सापट दिनेलाई निश्चित शुल्क पनि तिर्छ र बाँकी नाफा आफू राख्छ।"
किन पर्यो आवश्यक
बजार बढ्दा मात्र नाफा हुने तर घट्दा नहुने अहिलेको अवस्थामा यसले परिवर्तन ल्याउँछ। यसले बजारलाई दुईवटा पाटोमा बाँडिदिन्छ
गत साता धितोपत्र बोर्डले नयाँ धितोपत्र वित्तीय सेवाका निम्ति बजारको तयारी अवस्था तथा सरोकारवालाहरूको रायसुझावका लागि अवधारणापत्र सार्वजनिक गर्यो।
त्यसमा खास गरी उसले 'मार्जिन लेन्डिङ, धितोपत्र उधारो तथा सापटी र शर्ट सेलिङ'का लागि गर्नुपर्ने नीतिगत, कानुनी, संरचनागत तथा प्राविधिक व्यवस्थाको अवधारणा उल्लेख गरेको छ।
यसपालिको बजेटमा 'इन्ट्रा डे' अर्थात् एकैदिन गरिने कारोबार, शर्ट सेलिङ र डेरिभेटिभजस्ता उपकरणको चरणबद्ध थालिने विषय उल्लेख भएअनुसार बोर्डले अवधारणापत्र ल्याएको बताइएको छ।
"बजार बढ्दा मात्र नाफा हुने तर घट्दा नहुने अहिलेको अवस्थामा यसले परिवर्तन ल्याउँछ। यसले बजारलाई दुईवटा पाटोमा बाँडिदिन्छ। बजार घट्छ भन्ने अपेक्षा राख्नेहरूले शर्ट सेलिङबाट नाफा कमाउने भए अनि बढ्छ भन्ने अपेक्षा राख्नेहरूले साविककै शैलीबाट कमाउने भए," धितोपत्र बोर्डका अध्यक्ष भट्टले भने।
धेरै देशहरूमा शर्ट सेलिङको प्रयोग हुने गरेको र यसले पुँजी बजारलाई थप चलायमान बनाउने उनले बताए।
"यसले एकतर्फी मात्रै रहेको हालको बजारलाई दुईतर्फी बनाउँछ। कारोबारको परिमाण बढाउँछ। भविष्यमा अन्य वित्तीय उपकरणहरूका निम्ति यो सहायक पनि बन्छ," भट्टले भने।
के नेपाली बजार तयार छ

तस्बिर स्रोत, Getty Images
स्टक ब्रोकर असोसिएशनका महासचिव भक्तिराम घिमिरे धितोपत्र बोर्डले अवधारणापत्रमा ल्याएका शर्ट सेलिङ सहितका उपकरणहरूको कार्यान्वयन भयो भने त्यो नेपालको पुँजी बजारका लागि कोसेढुङ्गा नै साबित हुने ठान्छन्।
"कार्यान्वयन अगाडि थुप्रै कुराहरू स्पष्ट हुनुपर्छ। शेअर सापटी लिएर बेच्नका लागि त्यस्तै नियमकानुन चाहिन्छ अनि करको कुरा कसरी लागु हुने हो भन्ने जस्ता आशङ्काहरू छन्," घिमिरेले भने।
धितोपत्र बोर्डका पूर्व अध्यक्ष रेवतबहादुर कार्की सेबोनले प्रस्ताव गरेका नयाँ उपकरणहरू राम्रो भएको तर हाल त्यसका निम्ति नेपालको बजार तयार नभएको ठान्छन्।
"एक त यसका लागि आवश्यक क्षमता हामीसँग पर्याप्त छैन - यसलाई आवश्यक पर्ने सफ्टवेरदेखि लिएर संरचना, नियमन आदि। अनि हाम्रा आम लगानीकर्ताहरूको वित्तीय साक्षरताको स्तर पनि निकै कम छ। भारतमा २०-२२ प्रतिशत लगानीकर्ता वित्तीय साक्षर मानिन्छन् भने हामीकहाँ १७-१८ प्रतिशत पनि छैन," कार्कीले भने।
अन्य जानकारहरूले पनि 'शर्ट सेलिङ'जस्ता उपकरण प्रयोगका लागि विद्यमान कानुनहरू अपुग हुने ठान्छन्।
"छरिएको पुँजी एकत्रित गरेर लगानी जुटाउने उद्देश्य राखेको हाम्रो जस्तो आधारभूत स्तरको पुँजी बजारमा बाख्रा बेचेर वा तिलहरी बेचेर शेअरमा पैसा लगानी गर्नेहरू छन्। हाम्रो परिवेशमा यस्ता विशिष्ट वित्तीय उपकरण अहिलेको आवश्यकता हो कि होइन भन्ने प्रश्न छ," एक जानकारले बताए।
"एक किसिमले आफूसँग नभएको सम्पत्ति बेच्ने जस्तो हो। अपेक्षा गरेजस्तो शेअर भाउ घटेन भने कसरी सापटी दिनेलाई भुक्तानी गरिने हो वा बेचिसकेपछि पुन: किन्न खोज्दा उक्त शेअर उपलब्ध भएन भने के गर्ने? यस्ता धेरै विषयमा विचार पुर्याउनुपर्छ।"
तथापि धितोपत्र बोर्डले चाहिँ पुँजी बजारको बिस्तारै विकास गर्दै जाने क्रममा यस्ता उपकरणहरू ल्याउनुपर्ने आवश्यकता रहेको जनाएको छ।
"हामी यसलाई चरणबद्ध रूपमा लागु गर्ने छौँ। सबभन्दा पहिले मार्जिन लेन्डिङ (शेअर ब्रोकरसँगै कर्जा लिएर गरिने लगानी), इन्ट्रा डे कारोबार (एकै दिनमा किनबेच र राफसाफ), धितोपत्र सापट लेनदेन (एसएलबी) र त्यसपछि शर्ट सेलिङमा हामी जान्छौँ," धितोपत्र बोर्डका अध्यक्ष भट्टले भने।
बजारको तयारी बुझेर अनि अन्तर्राष्ट्रिय जगतले भोगेका अनुभवहरूबाट पाठ सिकेर हाललाई "कभर्ड शर्ट सेलिङ" प्रयोगमा ल्याइन लागेको उनले बताए।
"यसका सम्पूर्ण प्रक्रियाहरूको हामी तयारी गर्दै छौँ। नियमावलीहरू तयार गर्दै छौँ। आवश्यक सूचना प्रविधिको प्रणालीको विकास गर्नुपर्ने छ अनि ब्रोकरहरू, नेप्से तथा सीडिएससीलाई तयार पार्नुपर्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















