तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाली पर्वतारोहण क्षेत्रले अहिलेसम्म बेहोरेका ठूला विपद्का घटनाहरू
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ७ मिनेट
ब्रोड पीक हिमालमा कीर्तिमानधारी नेपालीहरूसहित १० आरोहीको मृत्यु भएको घटनालाई सगरमाथामा सन् २०१४ र सन् २०१५ मा लगातार भएका दुई भिन्न घातक दुर्घटनापछि नेपाली पर्वतारोहण समुदायले सामना गरेको सबैभन्दा ठूलो विपद्का रूपमा हेरिएको छ।
नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार पाकिस्तानको हिमपहिरो "व्यावसायिक आरोहणको समयमा नेपाली आरोही समुदायले देशबाहिर देखेको सबैभन्दा ठूलो एकल घटना" हो। "यो समग्रमै पनि सन् २०१४-१५ पछिको सबैभन्दा खराब घटना हो," उनले भने।
सन् १९५० को दशकबाट नेपालमा अग्ला हिमाल आरोहण हुन थालेको इतिहास छ। सन् १९५३ मा सगरमाथाको पहिलो सफल आरोहण भएपछि खुम्बु क्षेत्रमा पर्वतारोहणका गतिविधि ह्वात्तै बढेको थियो। तर त्यसअघि समेत नेपाली आरोहीहरूले अन्य देशमा भएका हिमाल आरोहणका हिस्सा हुने क्रममा ठूलाठूला विपत्तिमा परेर ज्यान गुमाएका थिए।
पर्वतारोहण क्षेत्रका एक अनुसन्धानकर्ता अनिश दाहालले ब्रोड पीक दुर्घटनामा मृत्यु हुनेहरू विश्वस्तरमै विशेष पहिचान बनाएकाहरू हुनुले पनि उनीहरूको रिक्तता पर्वतारोहण जगतमा झन् बढ्ता महसुस गराउने ठान्छन्।
उनी भन्छन्, "पूरा पर्वतारोहण जगत्लाई यस घटनाले हिमालमा निर्णायक कोही हुन्छ भने त्यो हिमाल नै हुन्छ भन्ने निर्मम तथ्य सम्झाएको छ।"
विपद्मय पछिल्लो डेढ दशक
एनएमएका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा पाकिस्तानका हिमालमा लामो अनुभव र ज्ञान भए तापनि नेपाली आरोहीहरूलाई यसपटक 'भाग्यले साथ नदिएको' ठान्दछन्।
"त्यहाँका हिमालहरूमा हिमपहिरो आइरहने र छिटो छिटो मौसम फेरबदल भइरहने कुरा दुर्लभ होइनन्। पर्वतारोहीहरूले त्यही अनुसार आफ्नो तयारी गरेका पनि हुन्छन्। तर यसपटक उनीहरू नियतिलाई टार्न सकेनन्," उनी भन्छन्।
यस घटनाको १२ वर्षअघि फर्केर हेर्दा सन् २०१४ मा सगरमाथा आधार शिविरभन्दा थोरै माथिपट्टि खुम्बु आइसफलमा हिमपहिरो जाँदा १६ जना आरोहीहरूको मृत्यु भएको थियो।
त्यसैपनि सगरमाथाको नेपालतर्फको दक्षिणी मोहडाबाट आरोहण गर्ने क्रममा उक्त हिमनदीलाई त्यसका ठूल्ठूला अस्थिर दरारहरूलाई लिएर जोखिमपूर्ण मान्ने गरिन्छ।
तर त्यसवर्ष नसोचिएको एउटा खोँचबाट विशाल हिमचट्टान खसेपछि उक्त दुर्घटना भएको थियो।
त्यसको अर्को वर्ष सन् २०१५ मा फेरि भूकम्पसँगै अर्को हिमपहिरोले सामान्यतः सुरक्षित बानिने आधार शिविर केही मिनेटमै भताभुङ्ग पार्यो।
त्यस वर्ष पनि अनपेक्षित रूपबाट चिन्ता मान्ने गरिएको आइसफलतिरबाट नभईकन पुमोरी हिमाल तर्फबाट हिमपहिरो आएको थियो।
त्यस विपद्मा करिब २२ जनाको मृत्यु भएकामा आधाजसो नेपाली आरोहीहरू थिए।
यसै दशकका ठूला घटनाका हकमा सन् २०२३ को सुरुमा खुम्बु आइसफलमा बेपत्ता भएका तीन शेर्पाहरूलाई पछि अधिकारीहरूले मृत घोषणा गरेका थिए।
त्यसैवर्षको शरद याममा चीनको तिब्बतबाट आरोहणको क्रममा शिशापाङ्मा हिमालमा आएको हिम पहिरोमा परेर दुई नेपाली शेर्पा र उनीहरूका दुई अमेरिकी सहयात्रीहरूको मृत्यु भयो।
ब्रोड पीकमा मृत्यु भएका निम्सले बनाएको सबैभन्दा छिटो (१८९ दिनमा) विश्वका १४ अग्ला हिमाल आरोहणको रेकर्ड आधाले (९२ दिनमा) तोड्ने एकजना तेन्जेन लामा शेर्पा पनि तिनैमध्ये थिए।
ज्ञानेन्द्र श्रेष्ठसँग नेपाल सरकारका सम्पर्क अधिकृतका रूपमा वर्षौँ काम गरेको अनुभव छ। सन् २०११ मा सगरमाथा आरोहण समेत गरेका उनले 'पछिल्ला केही वर्षका दुर्घटनाहरू राम्रो मौसमी विवरण, गिअर र उच्च स्तरको व्यवस्थापन हुँदा पनि धेरै हुनु'लाई चिन्ताको विषय मान्छन्।
"पर्वतारोही र शेर्पाहरूले जलवायु परिवर्तनको असरका रूपमा हिमपहिरोका घटना धेरै हुन थालेका अनुभव सुनाउँछन्," श्रेष्ठ भन्छन्।
तेन्जिङभन्दा अघिको शेर्पा पहिचान
सन् १९०७ मा एक नर्वेली आरोहण दलले पूर्वी नेपाल र तत्कालीन सिक्किमबीच पर्ने किब्रु हिमाल आरोहण गर्ने क्रममा पहिलो पटक शेर्पाहरूको क्षमताबारे थाहा पाएको भन्दै औपचारिक रूपमा विश्वलाई त्यसको जानकारी दिएको थियो।
इन्भार्ड मोनार्ड आस र कार्ल रुबेन्सनले सन् १९०८ को 'अल्पाइन जर्नल'मा त्यसबारेको एक प्राज्ञिक लेखमा उनीहरूको क्षमताको बखान गरेका थिए।
"रुबेन्सनले बारम्बार शेर्पाहरूलाई तिनको सहनशीलता, विश्वसनीयता एवं हिउँमा अरुहरूभन्दा गह्रुँगा भारी बोकेर सजिलोगरी हिंड्ने सक्ने, अरूहरू भन्दा माथिल्लो उचाइसम्म जान खोज्ने इच्छाशक्ति भएको भन्दै गुनगान गाएका पाइन्छ," दाहाल भन्छन्।
"त्यसमा उनले ती शेर्पाहरूलाई डोरीको प्रयोगजस्ता केही थप सीपहरू सिकाउन सके अरु कुनै पश्चिमा आरोहीभन्दा कम नहुने भनेका पाइन्छ। प्राकृतिक रूपमै हिमालमा काम गर्न काबिल भनेर आफ्नो भोगाई र देखाइका आधारमा त्यसरी चिनाइँदा तेञ्जिङको सफल आरोहण अघि नै शेर्पाको एकखाले पहिचान बनेको थियो।"
त्यसको प्रभाव सन् १९२० को दशकमा भएका सुरुवाती सगरमाथा आरोहण र पहिलो सफल सगरमाथा आरोहण हुने बेलाबीचका आरोहणमा शेर्पाहरूले पाएको कामसँग जोडिन्छ।
सन् १९५३ मा ब्रिटिश आरोहण दलका सदस्यका रूपमा एडमन्ड हिलरी र तेन्जिङ नोर्गेले सगरमाथाको पहिलो सफल आरोहण गरेसँगै नेपालभित्र आरोहणका गतिविधि केही बढ्न थाले। शेर्पाहरूको पहिचान अझ व्यापक बन्न पुग्यो।
"दोस्रो विश्वयुद्ध सकिएपछिको अवस्थामा देशहरूबीच आफ्नो शक्ति प्रदर्शन गर्ने एउटा मैदान हिमालय पर्वत शृङ्खला पनि बन्यो। सन् १९५० को दशकमा सगरमाथामा एकपछि अर्को गर्दै भएका आरोहण त्यसकै प्रमाण हुन्," दाहाल भन्छन्।
तर अवसरसँगै त्यसको मूल्य चुकाउने क्रम पनि चलि नै रह्यो।
सन् १९७० मा जापानी स्किइङ आरोहण अभियान अन्तर्गतको एउटा शेर्पा टोली सगरमाथाको खुम्बु आइसफलमा हिम पहिरोमा पर्दा छ जना नेपाली शेर्पाले आफ्नो ज्यान गुमाएका थिए।
त्यसको दुई वर्षपछि नै सन् १९७२ मा मनास्लु हिमालमा गएको हिमपहिरोमा दक्षिण कोरियाली आरोहण दलका १५ जनाले ज्यान गुमाएका थिए। जसमध्ये १० जना नेपाली आरोहीहरू थिए। मनास्लुको क्याम्प थ्रीमा सुतिरहेका बेला मध्यरातमा सो हिमपहिरो गएको थियो।
त्यसपछि सन् १९९६ मा सगरमाथामै आएको हिमआँधीलाई पनि ठूलो विपद्का रूपमा हेरिन्छ। जोन कार्करको 'इन्टू थीन एअर' पुस्तककमा वर्णन गरिएको हिमआँधी आएको रातको घटनामा मात्र आठजनाले ज्यान गुमाएका थिए। मृत्यु हुने ती सबै विदेशी नागरिक थिए।
भारतको पन्जाब विश्वविद्यालयमा अध्यापन गर्ने शेर्पा अनुसन्धानकर्ता मेधावी गुलाटीले उक्त घटनाले नेपालमा सन् १९९० पछि सुरु भएको व्यवसायीक आरोहणका क्रममा देखा पर्ने समस्याहरू उजागर गरेको बताउँछिन्।
"सन् १९९६ को त्यस घातक विपत्तिले पर्वतारोहण कसरी व्यवसायीकरणको जोखिममा पर्दैछ भनेर छर्लङ्ग पारिदियो। तैपनि नेपाल सरकारले आउनेजति सबैका लागि आरोहण अनुमतिपत्र जारी गर्ने क्रमलाई निरन्तरता दिइरह्यो। त्यसले ठूला विपत्तिपछि पनि आरोही पर्यटकहरूको आवतजावतमा उल्लेख्य वृद्धि भयो र व्यावसायिक पर्वतारोहणले नयाँ युगमा प्रवेश गर्यो," गुलाटी भन्छिन्।
पर्वतारोहण अनुसन्धाता अनिश दाहालले व्यवसायीक आरोहण सुरु हुन थालेपछि हिमालमा भएको मृत्युको प्रकृति नै भिन्न हुन थालेको बताउँछन्।
"व्यवसायीक आरोहण सुरु हुनुअघिका समयका मृत्यु कतै हिमदरारमा खसेर त कतै हिमपहिरो वा हिमआँधीमा परेर हुनेगरेका पाइन्थे। पछिल्ला वर्षमा ठूलो विपद् भन्दा पनि छुट्टाछुट्टै अवस्थाका कारण मृत्यु धेरै भइरहेका छन्। ती मृत्युका कारण व्यक्तिगत स्वास्थ्य बढ्ता देखिन्छन्," दाहाल भन्छन्।
"किनकी अहिले आरोहणको समय निकै घटाइएको छ। आरोहीका खटाई कम र सेवा सुविधा बढ्ता छ। त्यसले उनीहरूलाई हिमालमा अनुकूलन नै राम्रोसँग गराइरहेको नहुन सक्छ।"
नेपालमा सन् १९९० मा बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि व्यवसायिक पर्वतारोहण हुने क्रमले गति लिएको देखिन्छ।
"त्यसअघि नेपालका हिमालमा एउटा यामको एउटा मोहडामा एउटा मात्र आरोहण दललाई अनुमति दिइन्थ्यो। जसले गर्दा पर्वतारोहण निकै खर्चिलो हुन्थ्यो। राज्यहरूले लगानी गरेर मात्र ती सञ्चालन गर्न सक्थे," आङछिरिङ शेर्पा भन्छन्।
"नेपालभित्र हुने हिमाली दुर्घटनाका क्रममा उद्धार कार्यमा सरकार सधैँ सुस्त हुनेगरेको छ। तर पर्वतारोहण कम्पनीहरू सुविधासम्पन्न भइरहँदा र शेर्पाहरू उद्धारका काममा अनुभवि र तालिमप्राप्त भइरहँदा पछिल्ला वर्षमा जीवन नै जोगाउनेगरी कैयौँ सफल उद्धारहरू हुन सकेका छन्," पञ्जाब विश्वविद्यालयकी अनुसन्धाता मेधावी गुलाटी भन्छिन्।
"पछिल्ला वर्षमा आरोहीहरूमा जीपिएस ट्र्याकर अनिवार्य पार्ने प्रयास भइरहेको छ। धेरै भार उठाउन सक्ने शक्तिशाली ड्रोन प्रयोगका विभिन्न अभ्यासहरू भइरहेका छन्। त्यसले घटनास्थलको तत्काल पहिचान र तीव्र उद्धारमा हुने गरेको रिक्तता पुर्ति गर्न सक्ने अपेक्षा गर्न सकिन्छ।"
सुरुवाती कालका ठूला दुर्घटना
एक शताब्दीअघि देखि सुरु भएको सगरमाथा आरोहण अभियानको बेलादेखि नै हिमालमा नेपाली आरोहीहरूको मृत्यु हुने गरेको इतिहास छ।
सन् १९२४ मा जोर्ज म्यालोरी र एन्ड्रियु 'स्यान्डी' इर्भाइन शिखर आरोहणका क्रममा हराए। उनीहरू शिखर पुगेर फर्कने क्रममा हराए वा नपुग्दै चुचुरोभन्दा केही तल हराए भन्ने विषय पर्वतारोहण जगतमा अहिलेसम्म नै रहस्यका रूपमा छ।
तर उक्त आरोहणको तयारी तीन वर्षअघिबाट सुरु भएको थियो। सगरमाथाको तिब्बततर्फको उत्तरी र पूर्वी मोहडामा चुचुरो पुग्ने सबैभन्दा उपयुक्त बाटो पत्ता लगाउने क्रममा सन् १९२१ मै एक अभियान सञ्चालन भएको थियो।
त्यसको अर्को वर्ष सोही बाटोबाट चुचुरो पुग्ने प्रयास गरियो। तेस्रो प्रयासका क्रममा आएको एक हिमपहिरोमा परेर सातजना नेपाली शेर्पाहरूले ज्यान गुमाए।
आरोहीहरूको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको थाहा भएको त्यो नै पहिलो दुर्घटना मानिन्छ।
त्यसपछिको ठूलो घटना सन् १९३४ मा तत्कालीन ब्रिटिश इन्डिया (हालको पाकिस्तान)को नाङ्गा पर्वतमै भएको थियो।
जर्मन आरोहण दलको उक्त अभियान एक हिमआँधीमा फसेपछि कैयौँ दिनको भोक-प्यास, थकान, चिसो र उचाइमा अक्सिजनको कमीका कारण चारजना जर्मन आरोही र छजना नेपाली शेर्पाको मृत्यु भएको थियो।
जर्मनहरू तीन वर्षपछि फेरी नाङ्गा पर्वत आरोहणका लागि फर्कन्छन्।
त्यसबेला करिब ६,१०० मिटरको उचाइमा चौथो क्याम्प खडा गरेर सुधारिएको मौसमको प्रतिक्षा गरिरहँदा ठूलो हिमपहिरो आएको ऐतिहासिक दस्ताबेजहरूमा उल्लेख छ।
जतिखेर नौजना शेर्पा र सातजना जर्मनहरू गरेर १६ जनाले ज्यान गुमाएका थिए।
"नाङ्गा पर्वतका ती दुई घटनामा शेर्पाहरूले जीवन नै जाने अवस्थामा पनि जर्मनहरूलाई छाडेनन्। उनीहरूको उक्त अभूतपूर्व समर्पणले शेर्पा समूदायलाई उनीहरूको अटल निष्टाका लागि थप परिचित बनाएको थियो," अनुसन्धाता दाहाल भन्छन्।
ती दुवै दुर्घटनामा ज्यान गुमाउने सबै शेर्पाहरू नेपालको सोलुखुम्बुका भएको सन् १९३८ मा प्रकाशित हिमालयन जर्नलको अङ्क १० मा उल्लेख छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।