दुई वर्षअघि गुलियो कम खाँदा दिमागको स्वास्थ्य राम्रो हुने सङ्केत

    • Author, जेम्स ग्यालहर
    • Role, स्वास्थ्य तथा विज्ञान संवाददाता
  • Published
  • पढ्ने समय: ४ मिनेट

वैज्ञानिकहरूले दुई वर्षको उमेरसम्म निकै कम चिनी खाँदा त्यसले दशकौँपछि मस्तिष्कको स्वास्थ्य राम्रो बनाउन सक्ने सङ्केत गरेका छन्।

ब्रिटेनमा सरकारले चिनीको खरिद सीमित गरेको समय अन्त्य भएपछि मानिसहरूले आफ्नो भोजनमा चिनीको मात्रा तीव्र बढाएको विषयमा उक्त अनुसन्धानले विश्लेषण गरेको थियो।

उक्त अनुसन्धानको नतिजाले चिनीको कोटा प्रणाली लागु गरिएको समयमा बच्चाहरूमा डिमेन्सियाको जोखिम २३ प्रतिशत कम रहेको पाइएको छ।

सो अध्ययनले ठोस निष्कर्ष दिन सकेको छैन तर विज्ञहरूले स्वास्थ्य आहार मस्तिष्कका लागि राम्रो हुने बताएका छन्।

हाम्रो भविष्यको स्वास्थ्यका लागि पहिलो १,००० दिन सर्वाधिक महत्त्वको हुने सङ्केत गरेको यो पहिलो अध्ययन भने होइन।

ब्रिटेनले दोस्रो विश्व युद्धपछिको देशलाई पुरानै अवस्थामा फर्काउन गरेका विभिन्न 'प्राकृतिक प्रयोग' र खाद्य कोटा प्रणाली अन्त्य गर्न गरिएको निर्णयबारे विभिन्न अध्ययनहरू भएका छन्।

अनुसन्धानले के देखायो?

चिनी खरिदमा लगाइएको रासन प्रणाली सन् १९५३ को सेप्टेम्बरमा अन्त्य गरिएको थियो।

त्यसपछि औसतमा दैनिक ४१ ग्राम (१० क्यूब) रहेको चिनीको खपत तत्कालै बढेर ८० ग्राम (२० क्यूब) पुगेको थियो।

विगतका अनुसन्धानहरूले यसको सम्बन्ध वर्षौँपछि देखिएका टाइप टू मधुमेह र रक्तचापको वृद्धिसँग देखिएको उल्लेख गरेका थिए।

पछिल्लो अध्ययनमा झन्डै ६५ हजार व्यक्तिहरूले यूकेको बायोब्याङ्क प्रोजेक्टमा भाग लिएका थिए।

हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका विश्लेषकहरूले चिनीको कोटा सीमित गरिएको समय र त्यसपछि हुर्किएका बालबालिकाको विश्लेषण गरेका थिए।

दुई वर्षको उमेर हुँदासम्म चिनीको मात्रा सीमित दिइएका बालबालिकामा २३ प्रतिशत कम डिमेन्शा र अढाई वर्षसम्म रोग पहिचान कम गरिएका तर्क उनीहरूले गरेका छन्।

"हाम्रो अध्ययनले जीवनको प्रारम्भिक चरणमा चिनीको मात्रा कम लिँदा त्यसले मस्तिष्कको स्वास्थ्यमा दीर्घकालीन फाइदा पुर्‍याउन सक्छ भन्ने सङ्केत गरेको छ," अनुसन्धानकर्ता जीआझेन झेङले भने।

न्युरोलोजी नामक जर्नलमा पछिल्लो अनुसन्धानको निष्कर्ष प्रकाशित भएको थियो। तर उनले चिनीकै कारण यस्तो प्रभाव देखिएको हो या होइन भन्नका लागि 'थप अनुसन्धान आवश्यक रहेको' बताए।

विज्ञहरूले के प्रतिक्रिया दिइरहेका छन्?

एउटा स्वतन्त्र तथा गैरनाफामुखी चिकित्सा अनुसन्धान सञ्जाल कोक्रेनकी प्रमाण उत्पादन तथा अनुसन्धान विधि विभागकी प्रमुख रेचल रिचर्डसन भन्छिन्, "उनीहरू सही दिशामा हुन सक्छन्।"

"यस अध्ययनले महत्त्वपूर्ण सङ्केत दिएको हुन सक्छ," कोक्रेनकी रेचल रिचर्डसनले भनिन्। "तर बाल्यकालमा चिनीको सेवन र पछि डिमेन्सिया हुने जोखिमबिच प्रत्यक्ष सम्बन्ध छ भन्ने अन्तिम र निर्विवाद प्रमाणका रूपमा यसलाई लिन मिल्दैन।"

बाल्यकालमा चिनीको सेवनलाई डिमेन्सियासँग जोडिएको यो अध्ययन अपूर्ण भएको पनि उनले उल्लेख गरिन्।

त्यसमा सबैभन्दा ठूलो प्रश्न चिनी बिक्रीमा रासन प्रणाली लागु गरिएको भए तापनि अध्ययनमा संलग्न व्यक्तिहरूले आफू जन्मिएको समयमा कति चीनी खाइरहेका थिए भन्ने भेउ पाउन सम्भव देखिदैन।

"यो प्रमाण सन् १९४० को दशक र सन् १९५० को दशकमा जन्मिएका व्यक्तिहरूसँग सम्बन्धित छ र त्यही भएर अहिलेका साना बालबालिकामा यो सीमित रुपमा लागु हुन्छ। त्यस बेला बच्चाहरूलाई अहिले भन्दा चाँडै नै ठोस खानेकुरा खुवाउन थालिन्थ्यो जसले बच्चा र बालबालिकाको प्रारम्भिक पोषणमा ठूलो भूमिका खेल्थ्यो।"

एस्टन युनिभर्सिटीका क्लिनिकल फार्मेसीका प्राध्यापक इयान मिआडमेन्ट भने, "यो रोचक अवधारणा हो। यसले बहसलाई थप जानकारीमूलक बनाउन मद्दत पुर्‍याउँछ। तर मेरो विचारमा हामीलाई थप प्रमाण चाहिन्छ।"

उनले "८०वर्षअघि भएको कुनै कुरालाई" अहिले आएर स्वास्थ्यसँग जोड्दा 'थुप्रै' अन्य कुराहरूले पनि भूमिका खेलिरहेको हुनसक्ने पक्षलाई विचार गरिनुपर्ने बताए।

अल्जाइमर्स रिसर्च यूकेकी डाक्टर सारा रोड्रिगेसले भनिन्, "यो एउटा अवलोकनात्मक अध्ययन मात्रै थियो भन्ने सम्झिनु महत्त्वपूर्ण हुन्छ।"

"यसको अर्थ यसले आहारा र डिमेन्शाको जोखिमबीचको सम्बन्ध पहिचान गर्न सक्छ तर यसले सोझै कम चिनी खादा डिमेन्शाको जोखिम कम हुने कुरा प्रमाणित गर्न सक्दैन।"

"स्वास्थ्य र सन्तुलित आहार सेवन गर्नु तपाईँको मस्तिष्कको स्वास्थ्य राम्रो बनाउनका लागि सबैभन्दा उपयुक्त विधि हो र सकारात्मक परिवर्तन गर्न कहिल्यै ढिला हुँदैन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।