तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ब्रिटेन छाड्न अनुमति नपाएका भारतीय राजा
- Author, शिवानी चौधरी
- Role, एसिक्स
- Published
- पढ्ने समय: ४ मिनेट
दलीप सिंह पाँच वर्षको उमेरमै सिख महाराजा बने। तर सन् १८४९ मा ब्रिटिशहरूले सिख साम्राज्यलाई आफ्नो नियन्त्रणमा लिएपछि उनलाई ब्रिटेन निर्वासनमा पठाइयो।
यी महाराजाले पछि भारत फर्कने प्रयास गरे पनि उनलाई स्वदेश फर्कने अनुमति कहिल्यै दिइएन। सन् १८३८ मा जन्मिएका उनी १८९३सम्म जीवित थिए।
अन्ततः उनले २५ वर्षको उमेरमा सफोकको एल्भडन हल खरिद गरे र त्यहीँ घरजम गरे। उनको पहिलो विवाह जर्मनीबाट आएकी बाम्बा मुलरसँग भयो।
खोज
त्यसको एक सय वर्ष पछि सन् १९९६ मा एसिक्सका पीटर बान्स यो घरको भ्रमणमा पुग्दा दलीप सिंहको जीवनले उनलाई छोयो।
त्यसपछि उनले महाराजासम्बन्धी सामग्री र कथाहरू सङ्कलन गर्न तीन दशक बिताए। ती भारतीय राजाबारे अनुसन्धान गर्दा आफ्नै जरा खोजेजस्तै अनुभव भएको बान्स सुनाउँछन्।
बान्सका अनुसार सन् १८५० को दशकमा सिंहको ब्रिटेन आगमनले यो देशमा पन्जाबी इतिहास कति पुरानो छ भन्ने देखाउँछ।
दलीप सिंह र बाम्बाका छ सन्तानमध्ये राजकुमारी क्याथरीन उनकी सबैभन्दा प्रिय सन्तान रहेको बान्स बताउँछन्।
"उनको कथा खासै कतै सुनिएको थिएन," ५२ वर्षीय बान्सले 'दक्षिण एशियाली सम्पदा महिना' अन्तिम सातामा पुग्दै गर्दा बीबीसीसँग भने।
"कन्सन्ट्रेशन क्याम्पमा पुर्याइएका यहुदी परिवारहरूलाई उनले नै बचाएकी थिइन्," बान्स भन्छन्।
"उनले आफ्नो धर्म, पृष्ठभूमि वा सम्पदासँग सम्बन्ध नभएका मानिसहरूलाई सहयोग गरिन्। ती मानिसहरू उनका लागि पूर्ण रूपमा अपरिचित थिए। त्यो केवल मानवता थियो।"
बान्स थप्छन् : "म ती सन्तानहरूबारे अझ जान्न चाहन्थेँ, किनकि म आफैँ आप्रवासी परिवारको सन्तान हुँ र उनीहरूमा म आफ्नो सम्बन्ध देख्छु।"
"म यहीँ (इङ्ग्ल्यान्डमा) हुर्किएँ र यहीँ जन्मिएँ। त्यसैले म ती मिश्रित वंशका सन्तानहरूबारे जान्न चाहन्थेँ। उनीहरू जातीय रूपमा पन्जाबी थिए, तर यहाँ हुर्किएका थिए।"
सामग्री सङ्कलन
सन् १९९० को दशकमा बान्सले स्थानीय पत्रिकामा विज्ञापन गरेरै ती राजकुमारीहरूबारे थप जानकारी भएका व्यक्तिहरूलाई सम्पर्क गर्न आग्रह गरेका थिए।
उनका अनुसार करिब ३०० जनाले त्यसमा जवाफ दिएका थिए। तीमध्ये कतिपयले राजकुमारीहरूलाई चिनेका थिए वा परिवारका लागि काम गरेका थिए। उनका अनुसार धेरैले उनीहरूबाट उपहार पनि प्राप्त गरेका थिए।
बान्सले ती वस्तुहरू किन्न प्रस्ताव गरे पनि धेरै मानिसहरूले आफ्ना बहुमूल्य सामग्री निःशुल्क दिएका थिए। उनका सङ्ग्रहमा ती सामग्री सुरक्षित रहून् भन्ने उनीहरूको इच्छा थियो।
यो सङ्ग्रह आफ्नो जीवनकै महत्त्वपूर्ण काम र व्यक्तिगत रुचि दुवै रहेको बताउँदै उनी भन्छन् : "त्यो परिवारसँग सम्बन्धित २,००० भन्दा बढी वस्तुहरू मसँग छन्। तीमध्ये मेरो मन पर्ने वस्तु चाहिँ एउटा नृत्य समारोहमा खिचिएको तीन राजकुमारीहरूको सुन्दर तस्बिर हो।"
बान्सका अनुसार दलीप सिंहकी कान्छी छोरी सोफियाले आफ्नो जीवनमा महिलाका अधिकारका लागि ठूलो भूमिका खेलेकी थिइन्।
तर उनी महिला मताधिकार आन्दोलनमा संलग्न भएको कुरा उनको घरमा एक गर्ने एक व्यक्तिकी छोरीसँग कुरा गरेपछि मात्रै थाहा पाएको बान्सले बताए।
हाल बान्सको सङ्ग्रहमा महाराजाको ज्याकेट, राजकुमारीहरूको साडी, खेलौना, पत्रहरू र चित्रहरू छन्।
यीमध्ये धेरै सामग्री पश्चिम लन्डनस्थित केन्जङ्टन दरबारमा आगामी नोभेम्बरसम्म चल्ने "द लास्ट प्रिन्सेसेस अफ पञ्जाब" प्रदर्शनीमा राखिएका छन्।
भारतीय तथा अङ्ग्रेजी दुवै संस्कृतिसँग जोडिएका अभिनेता, अभियन्ता र लेखक जस्सा अहलुवालियाले आफ्नी बहिनी रमानिकसँग मिलेर उक्त प्रदर्शनीमा सल्लाहकारको भूमिका निर्वाह गरेका थिए।
उनका अनुसार मिश्रित सांस्कृतिक पहिचानको अनुभवमा उनले आफ्नै जीवनसँग समानता भेट्टाए।
"यी कथाहरूले मलाई र मेरी बहिनीलाई गहिरो प्रभाव पारेका छन्। हाम्रा अनुभवका समानता र भिन्नता दुवै देख्न सकिन्छ," उनले बीबीसीसँग भने।
"यो (एल्भडन हल) मलाई आफ्नै प्रतिबिम्बजस्तो लाग्यो। बाहिरबाट अत्यन्त अङ्ग्रेजी देखिने, तर भित्री स्वरूप गहिरो रूपमा भारतीय।"
अहलुवालिया थप्छन् : "हामी २१औँ शताब्दीको इङ्ग्ल्यान्डमा हुर्किएका मिश्रित पञ्जाबी पहिचान भएका व्यक्तिका रूपमा आफूलाई बुझ्ने माध्यम यी कथाहरूमा पाउँछौँ। अनि हामीले महसुस गर्छौँ कि हाम्रो कथा कुनै नयाँ होइन, यसको आफ्नै इतिहास छ र हामी लामो सांस्कृतिक आदानप्रदानको निरन्तरताको हिस्सा हौँ।"
उनले यो जीवित र सक्रिय इतिहास भएको बताए।
"यदि हामीले आफ्नो राष्ट्रको इतिहास सही रूपमा प्रस्तुत गरेनौँ भने, अरू मानिसहरूले यसको काल्पनिक संस्करण बनाउने छन् र त्यो हाम्रो राष्ट्रको वास्तविक कथा हुने छैन।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।