तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
किएभमा रुसद्वारा भीषण हमला, कैयौँ मानिस हताहत
रुसले युक्रेनमा कैयौँ बलिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दै हमला गरेपछि कम्तीमा १७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
बुधवार मध्यरातिपछि सुरु भएको उक्त आक्रमणलाई रुसले यो वर्ष किएभमा गरेका घातक हमलामध्ये ठूलो मानिएको छ। हमलामा परी अन्य ४४ जना घाइते भएका छन्।
किएभ सैन्य प्रशासनका प्रमुख टिमोर ट्काचेन्कोले "शत्रुले पुनः एक पटक किएभ क्षेत्रमा भीषण आक्रमण गरिरहेको" बताए। उनका अनुसार विभिन्न स्थानमा घातक हमला भएको हो।
रुसले किएभमा र किएभका बाह्य भागहरूमा शृङ्खलाबद्ध बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि एक घण्टाभन्दा बढी समयसम्म हवाई आक्रमण भएको जनाउ दिने चेतावनी जारी गरिएको थियो।
किएभ सैन्य प्रशासनका अनुसार हमलाहरूले आवासीय भवन र गोदामहरूमा क्षति पुर्याएका छन्।
रुस के भन्छ
रुसको रक्षा मन्त्रालयले किएभ र वरपरका क्षेत्रमा रहेका सैन्य बन्दोबस्तीका सामग्री भण्डार गर्ने स्थान र आपूर्ति केन्द्रहरूलाई निसाना बनाइएको दाबी गरेको छ।
"ती स्थानहरू विभिन्न हातहतियार तथा सैन्य सामग्रीको भण्डारण र आपूर्ति गर्न अनि मानवविहीन हवाई सवारीसाधन (ड्रोन) को उत्पादन र वितरणमा संलग्न थिए," रुसी रक्षा मन्त्रालयले भनेको छ।
उक्त मन्त्रालयले ओडेसास्थित ब्ल्याक सीको एउटा बन्दरगाहनजिकै "हतियार र सैन्य उपकरण ओसारपसार गरिरहेका" तीनवटा कार्गो जहाजमा पनि हमला गरिएको दाबी गरेको छ।
युक्रेनले रुसी बलिस्टिक आक्रमणहरूबाट जोगिन सहयोगी राष्ट्रहरूलाई अमेरिकामा निर्मित थप 'प्याट्रिअट मिसाइल इन्टर्सेप्टर'हरू उपलब्ध गराउन आग्रह गरेको छ।
रुसमा युक्रेनी हमला
किएभका नगरप्रमुख भिटाली क्लिच्कोले सहरको मध्यभागमा आक्रमण भएकाले मानिसहरू भग्नावशेषमुनि पुरिएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्। टेलिग्राममा लेख्दै उनले घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्।
किएभ सैन्य प्रशासनले भनेको छ, "शत्रुले पुनः एक पटक जानीजानी सर्वसाधारण मानिसहरू र नागरिक पूर्वाधारहरूलाई निसाना बनाएको छ।"
युक्रेनी वायुसेनाले आक्रमणका क्रममा रुसी क्षेप्यास्त्रलाई निस्तेज पारिएको विवरण विवरण दिएको छैन। टेलिग्राममा राखिएको एउटा पोस्टमा रुसले २४ वटा बलिस्टिक क्षेप्यास्त्र र पानीजहाजलाई निसाना बनाउने अन्य चारवटा क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ।
रुसी पक्षका अनुसार आक्रमणका क्रममा रुसले ११५ वटा ड्रोन प्रहार गरेको र तीमध्ये ९८ वटालाई वायु रक्षा प्रणालीले आकाशमै नष्ट पारिदिएको थियो।
विगत केही सातायता रुसले किएभमा आक्रमण तीव्र पार्न थालेको छ। युक्रेनले पनि रुसका ऊर्जा केन्द्रहरूसहित नागरिक पूर्वाधारहरूमा हमला गर्ने क्रम बढाएको छ।
युक्रेनले रुसमा इ-कमर्सको विशाल कम्पनी 'वाइल्डबेरिज' का भण्डारस्थलहरूलाई बारम्बार निसाना बनाएको छ।
मस्को क्षेत्रमा अवस्थित वाइल्डबेरिजका गोदामहरूमा मङ्गलवार बिहान भएको आक्रमणमा पाँच जनाको ज्यान गएको थियो भने १० जना घाइते भएका थिए।
त्यसको अघिल्लो दिन दक्षिणी क्रास्नोडार क्षेत्रस्थित एउटा समुद्री तटमा पर्यटकहरू रमाइरहेको बेला भएको ड्रोन आक्रमणमा परी सात जनाको मृत्यु भएको थियो। रुसी अधिकारीहरूका अनुसार उक्त घटनामा ५८ जना घाइते भएको थिए।
युक्रेनले खेअर्सनमा एक व्यक्तिलाई रुसी ड्रोनले लखेटेको घटनाप्रति आक्रोश व्यक्त गर्दै सर्वसाधारण मानिसलाई निसाना बनाएर "लक्षित आक्रमण" गरेको आरोप लगाएको छ।
यद्यपि दुवै पक्षले सर्वसाधारण नागरिकलाई योजनाबद्ध आक्रमण गरेको कुरालाई अस्वीकार गर्दै आएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।