एसियाली खेलकुदको उद्घाटन आज, स्वर्ण जित्ने नेपालको लक्ष्य

एसियन गेम्स
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

खेलाडी गजराज जोशीको नेतृत्वमा नेपालले सन् १९५१ को एसियाली खेलकुदको पहिलो संस्करण खेलेको थियो। त्यसयता नेपाल एसियाली खेलकुद (एसियाड) को नियमित सदस्य बन्दै आइरहेको छ।

एसियाली खेलकुद क्षेत्रको सबैभन्दा बृहत् खेलकुद प्रतियोगिताको २० औँ संस्करण शनिवार जापानको नागोया सहरमा सुरु हुँदा नेपालको सहभागिता बृहत् बनिसकेको छ।

पहिलो संस्करणमा नेपालबाट एथलेटिक्सका ९ सदस्यले भाग लिएका थिए भने यो संस्करणमा २१ खेलका १३५ (५७ महिला र ७८ पुरुष) खेलाडीले सहभागिता जनाउँदै छन्।

शनिवारको उद्घाटन समारोहमा नेपालबाट बक्सिङका चन्द्र थापा मगर र महिला खेलाडी मानमति विष्टले मार्च पासमा नेपालको झण्डा बोक्ने बताइएको छ।

जापानले एसियाली खेलकुद आयोजना गर्न लागेको यो तेस्रो पटक हो। प्रतियोगिता असोज ३ गते देखि १८ गतेसम्म हुने छ। जसमा ४५ देशका ११ हजार बढी खेलाडीले विभिन्न ४३ खेलमा सहभागिता जनाउने आयोजकले जनाएको छ।

प्रतियोगिताका लागि आयोजक आइची नागोयाले २.४ अर्ब अमेरिकी डलर अर्थात् झन्डै ३६९ अर्ब नेपाली खर्च गरेको जनाइएको छ।

नेपालको लागि 'ओलिम्पिकभन्दा ठूलो'

एसियाली खेलकुद नेपाली खेलाडीको लागि ओलिम्पिक भन्दा महत्त्वपूर्ण खेल मान्ने गरिन्छ।

किनकि ओलिम्पिक पुग्न छनोट चरण पार गर्न सक्नुपर्छ। तर एसियाडमा सिधै सहभागिता जनाउन पाइन्छ। यद्यपि एसियाडमा पनि छनोट चरणको प्रक्रिया सुरु हुन थालेकोले भविष्यमा नेपाली खेलाडीको सहभागिता कठिन बन्दै जाने भने पक्का देखिन्छ।

हालसम्म एसियाडमा नेपालले बढीभन्दा बढी खेलकुदमा सहभागिता जनाएको इतिहास छ।

यसपालि राष्ट्रिय खेलकुद परिषद्ले २९ खेलमा सहभागिता जनाउन छलफल गरेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले खेल सङ्ख्या घटाउने र अनावश्यक व्यक्तिहरूलाई एसियाडमा नपठाउने नीति लिएपछि अन्तिममा २१ खेलमा सहभागिता जनाएको बताइएको छ।

नेपाली टोलीमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिक, मेडिकल, पत्रकार तथा अन्य पदाधिकारी गरी कुल २११ जनाको टोली सहभागी हुने जनाइएको छ।

नेपालले एसियाडको लागि ११ करोड बजेट छुट्टाएको थियो।

मिसन २६ अभियान र स्वर्ण लक्ष्य

नेपालले हालसम्म एसियाडमा ३ रजत र २३ कांस्य पदक जित्ने इतिहास पनि बनाइसकेको छ।

यसपालि खेलकुद परिषद्ले 'कम्तीमा एक स्वर्णसहित दोहोरो पदक' जित्ने लक्ष्य सहित एसियाडको तयारी गरेको छ।

जसका लागि परिषद्ले सन् २०२३ को हान्चाउ एसियाड सम्पन्न भए लगत्तै तयारी थालेको थियो। 'मिसन २०२६' नाम दिइएको उक्त अभियानको लागि परिषद्ले राष्ट्रिय टिम तयारी समिति गठन गरेको थियो। विभिन्न चरणमा गरी १० खेलले लामो समय तयारी गरेको थियो।

नेपाली खेलकुदको इतिहासमा एसियाडको लागि गरिएको यो पहिलो ऐतिहासिक तयारी हो।

'गोल्ड विथ ग्लोरियस' नारा लगाइएको यो अभियानले यसपालिको एसियाडमा नेपालले विगतमा भन्दा बढी पदक जित्ने आस गरिएको छ।

जसमा कराँते, कबड्डी, बक्सिङ, उसु जस्ता खेललाई सम्भावित सूचीमा राखिएको छ।

तयारी कस्तो ?

एसियन गेम्स

मिसन २०२६ मा परेका खेलहरूको नियमित प्रशिक्षण लामै भयो।

बाँकी खेलले भने एसियाडमा पर्ने निश्चित भएपछि मात्र प्रशिक्षण सुरु गरेको हो।

२१ खेलमा कतिपय खेलले नेपालमै तयारी गर्‍यो। कबड्डी, बक्सिङले भारतमा तयारी गर्‍यो भने केही खेलाडीहरूले वैदेशिक प्रशिक्षण लिएको थियो।

जस्तै गल्फका सद्भाव आचार्यले अमेरिकामा प्रशिक्षण लिइरहेका छन् भने सुभाष तामाङ भारतमा छन्। टेबल टेनिसका योङ्गी पौडेल र संयोग कपालीले केही समय दक्षिण कोरियामा प्रशिक्षण लिए। उसुको थाउलु टोलीले चीनमा केही हप्ता प्रशिक्षण लिएर फर्किए भने साइक्लिङकी उषा खनालले क्यानडामा प्रशिक्षण लिइन्।

यद्यपि सम्भावित पदक जित्ने खेलाडीहरूलाई महत्त्व दिएर प्रशिक्षण नगराइएको भन्दै गुनासोहरू पनि बढ्यो।

कराँतेकी एरिका गुरुङ लगायत कुमिते टोली जापान जानु अगाडी विशेष वैदेशिक प्रशिक्षण माग गरेको थियो। तर त्यसो हुन सकेन।

एसियाडमा नेपालको डेपुटी सेफ द मिसन रहेका टासी घलेले त्यसमा असन्तुष्टि पोख्दै भने, " सबै खेलाडीलाई एउटै तरिका अपनाएर हुँदैन। पदकको आस बढी हुनेलाई त्यही अनुरूप प्रशिक्षणको व्यवस्था हुनै पर्थ्यो। त्यो चाहिँ भएन।"

सन् १९८६ को एसियाडमा नेपालले पदक जित्न सुरु गरेको थियो। त्यसयता नेपाली टोलीले लगातार कुनै न कुनै पदक जित्दै आएको छ।

यसपालि कम्तीमा १० वटा पदक अर्थात् दोहोरो पदकको लक्ष्य राखेको टोलीले कस्तो गर्ला? दुई हप्ता भित्रमा यसको जवाफ स्पष्ट हुने छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।