एसियाली खेलकुद: बदलिँदो स्वरूप, थप चुनौतीपूर्ण बन्दै
तस्बिर स्रोत, Nepal Sports Council
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्युज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
विगतमा तेक्वान्दो टोली सिधै एसियाली खेलकुदमा सहभागी हुन्थ्यो। तर जापानको आइची नागोयामा हुने २० औँ एसियाली खेलकुदमा त्यस्तो भएन।
एसियाडमा पुग्न टोलीले छनोट प्रतियोगिता खेल्नुपर्यो। र, गत जेठमा मङ्गोलियामा प्रतिस्पर्धा गरेका ७ जना खेलाडी छनोट चरणमै पराजित हुन पुगे।
एसियाडमा सर्वाधिक १३ पदक जितेको तेक्वान्दो टोली छनोट चरण पार गर्नुपर्ने नियमका कारण पहिलो पटक जिल्ल पर्नुपर्यो। (पछि र्याङ्किङको आधारमा सङ्घले ३ जना खेलाडीलाई भने सहभागिता गराउन सफल भयो।)
तेक्वान्दो मात्र होइन, एसियाली खेलकुदमा पनि ओलिम्पिक गेम्समा जसरी नै छनोट चरण पार गर्नु पर्ने नियम धमाधम बन्न थालेको छ।
कतिपय खेलले यसपालिको एसियाडमा उक्त नियम लगाइसकेका छन्। कति खेलहरू कार्यान्वयन हुने क्रममा छन्।
नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ भन्छन्, "एसियाली खेलकुदको स्वरूप पनि ओलिम्पिक जसरी नै प्रतिस्पर्धात्मक र स्तरीय बनाउने उद्देश्यले ओलिम्पिक काउन्सिल अफ एसियाले यो ढाँचालाई बढवा दिँदै आएको छ। जसलाई हरेक खेलले अङ्गीकार गर्न थालेको छ।"
एसियाड पुग्न निश्चित बाटोहरू छन्।
खेलको प्रकृति अनुसार भिन्न भिन्न प्रक्रियाहरू जस्तै छनोट चरणको प्रतिस्पर्धा जित्नु, वरीयताको आधार, कोटा, वाइल्ड कार्ड, मिनिमम क्वालिफाइङ स्ट्यान्डर्ड र समूहगत खेलमा क्षेत्रीय छनोटहरू एसियाड पुग्ने बाटाहरू हुन्।
तस्बिर स्रोत, Nepal Sports Council
उच्च प्रतिस्पर्धा
तस्बिर स्रोत, Nepal Sports Council
उच्च स्तरीय प्रतिस्पर्धाको लागि मात्र होइन, एसियाड आयोजनालाई व्यवस्थित गर्न पनि यो विधि अपनाइएको ओलिम्पिक अध्यक्ष श्रेष्ठ बताउँछन्।
जस्तै नागोया एसियाडमा ४५ देशको सहभागिता छ। प्रतियोगितामा ४३ खेल समावेश गरिएको छ। जहाँ ७१ विधाको ४६९ इभेन्ट्समा प्रतिस्पर्धा हुने छ।
यदि सबै देशले सबै खेलमा सहभागिता जनाएमा आयोजकले खेल व्यवस्थापन गर्न कठिनाइ हुन्छ भने खेलको पनि स्तर हुँदैन भनेर क्वालिफाइङमार्फत् छनोट गर्न थालिएको बताइन्छ।
छनोटको पर्खाल लगाइदिँदा स्तरीय खेलाडीहरू मात्र एसियाडमा पुग्छन् र खेलको प्रतिस्पर्धा पनि उच्च स्तरको हुने ठानिन्५।
राष्ट्रिय खेलकुद परिषद्को राष्ट्रिय टीम तयारी समितिका उप निर्देशक दीपक श्रेष्ठ भन्छन् " उच्च स्तरीय व्यवस्थापन र कडा प्रतिस्पर्धाको लागि यो राम्रो काम हो। तर यसले कमजोर राष्ट्रका खेलाडीहरूको एसियाड सपनालाई भने गाह्रो पार्दै लाने छ।"
नेपाल तेक्वान्दो महासङ्घका महासचिव हेमन्त डाँगी यसको फाइदा र बेफाइदा दुवै देख्छन्। उनी भन्छन्, "अब कम्पिटिशन झन् बढ्ने भयो। सानो तयारी पर्याप्त नहुने भयो। यसले राज्यको खेलकुदमा लगानी बढ्न सक्छ। तर पहिले जस्तो पूर्ण टोली एसियाडमा लान नपाइने भयो। त्यो बेफाइदा हो।"
छनोट चरण पार गरेर एसियाड पुग्ने नेपाली
तस्बिर स्रोत, Nepal Sports Council
पुरुष क्रिकेटले छनोट चरण जितेर एसियाडमा छनोट भयो। तर महिला क्रिकेट भने छनोट चरणमा असफल हुन पुग्यो।
महिला भलिबल टोली एसियाली भलिबल महासङ्घको वरीयतामा शीर्ष १६ भित्र पर्न सफल भएपछि एसियाड खेल्न योग्य भएको थियो।
त्यस्तै छनोट चरणमा पराजित भए पनि तेक्वान्दोका तीन जना खेलाडीहरू अभिषेक बराल, युवराज राना र स्वस्तिका तामाङ र्याङ्किङमा माथि आएपछि एसियाडको लागि योग्य हुन सके।
टेनिसका अभिषेक बास्तोला एसियाली वरीयतामा राम्रो भएका कारण एसियाड टोलीमा समावेश भएको जनाइएको छ।
इस्पोर्ट्सले छनोट चरण पार गर्यो। तर सरकारले एसियाड सहभागिताको 'लङ लिस्ट' मा नाम नभएको भन्दै टोलीलाई भाग लिनबाट रोक्यो।
एसियाली कराँते महासङ्घले एक देशबाट बढीमा १० जना खेलाडीले मात्र भाग लिन पाउने नियम बनाएको हो।
यी बाहेक बाँकी खेल भने सिधै एसियाडमा खेलिएको हो।
ओलिम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ भन्छन्, "अरू खेलले पनि छनोट चरण सुरु गर्ने सहमति जनाइसकेका छन्। अर्को एसियाली संस्करणहरूबाट यो बिस्तारै कार्यान्वयन हुँदै जाने छ।"
एसियाली खेलकुद आगामी असोज ३ देखि १८ तारिख सम्म हुँदै छ। नेपालले ३५ खेलमा १३५ जना खेलाडीलाई सहभागिता जनाउने तय भएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन