ग्रीनल्यान्डमाथि नियन्त्रण कायम गर्ने ट्रम्पको धम्कीपछि अमेरिका र डेनमार्कबीच सम्झौता

ग्रीनल्यान्ड

तस्बिर स्रोत, Getty Images

Published
पढ्ने समय: ३ मिनेट

अमेरिका र डेनमार्कले ग्रीनल्यान्डको सुरक्षासम्बन्धी एउटा सम्झौताको घोषणा गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रीनल्यान्डलाई बल प्रयोग गरेर कब्जा गर्ने धम्की दिएपछि सुरु भएको कूटनीतिक विवाद यो सम्झौतासँगै समाधान भएको छ।

ट्रम्पले उक्त सम्झौताले अमेरिकालाई "सुरक्षा र अन्य सबै आवश्यकतामाथि स्थायी नियन्त्रण" प्रदान गर्ने बताएका छन्।

डेनमार्ककी प्रधानमन्त्री मेड फ्रेदरिक्सनले यो सम्झौताले "आर्कटिक र उत्तर एट्लान्टिक क्षेत्रमा सुरक्षा मजबुत बनाउने" बताएकी छन्।

तर ट्रम्पले सामाजिक सञ्जालमा गरेको पोष्टमा उल्लेख गरेका सम्झौताका विशेष प्रावधानबारे उनले केही बताइनन्।

यो सम्झौता ग्रीनल्यान्डलाई "लिने" भन्दै ट्रम्पले महिनौँदेखि दिँदै आएको धम्कीपछि आएको हो।

उनले राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता व्यक्त गर्दै ग्रीनल्यान्डको रणनीतिक भौगोलिक अवस्थिति तथा त्यहाँ रहेका खनिजलाई यसको कारणका रूपमा उल्लेख गरेका थिए।

ट्रम्पले के भने?

ट्रम्पले ट्रूथ सोसलमा गरेको पोस्टमा यो सम्झौतामा "अमेरिकालाई कुनै लागत नपर्ने" र अमेरिकालाई "ग्रीनल्यान्डको सुरक्षा सुनिश्चित गर्न तथा रक्षा गर्न आवश्यक पर्ने काम गर्न" सक्ने अधिकार प्रदान गर्ने बताएका छन्।

उनका अनुसार सम्झौतामा अमेरिकाको स्पष्ट लिखित स्वीकृतिबिना कुनै पनि अमेरिकी प्रतिद्वन्द्वीले ग्रीनल्यान्डमा सैन्य उपस्थिति कायम गर्न वा "संवेदनशील लगानी" गर्न नपाउने व्यवस्था पनि समावेश गरिएको छ।

डेनमार्ककी प्रधानमन्त्री मेड फ्रेदरिक्सनले उक्त सम्झौतामा आगामी साता संयुक्त राष्ट्र सङ्घको महासभामा हस्ताक्षर गरिने पुष्टि गरेकी छन्।

उनले यो सम्झौताले "आर्कटिक र उत्तर एट्लान्टिक क्षेत्रमा हाम्रो साझा सुरक्षा मजबुत बनाउने" बताइन्। साथै यसले "डेनमार्कको सार्वभौमिकता र क्षेत्रीय अखण्डता तथा ग्रीनल्यान्डका जनताको आत्मनिर्णयको अधिकारलाई पनि मान्यता दिने" बताइन्।

उनले उक्त सम्झौताका लागि अझै सांसदहरूको स्वीकृति आवश्यक छ र "यो लागू हुन आवश्यक संसदीय प्रक्रियाबाट पारित हुनुपर्ने" बताइन्।

ग्रीनल्यान्ड सरकारका अध्यक्षले सम्झौताको घोषणा गर्दै जारी गरेको वक्तव्यमा भने, "ग्रीनल्यान्ड, डेनमार्क र अमेरिकाको सुरक्षा सुनिश्चित तथा मजबुत बनाउने सम्झौतामा प्रवेश गर्न लागेकामा खुसी लागेको छ।"

"यो सम्झदताले ग्रीनल्यान्डका हितहरू र अन्तर्राष्ट्रिय सहकार्यमा हाम्रो स्थानलाई मान्यता दिन्छ। यो हामी सबैको हितमा छ," उनले भने।

ट्रम्पले महिनौँदेखि खनिजले धनी डेनमार्कको यो भूभागलाई खरिद गर्ने वा अमेरिकामा गाभ्ने प्रयास गर्दै आएका थिए। उनले ग्रीनल्यान्ड, रुस तथा चीनलगायतका प्रतिद्वन्द्वी मुलुकबाट जोखिममा रहेको तर्क गरेका थिए।

उनले ग्रीनल्यान्डमा सैन्य कारबाही गर्नेसमेत धम्की दिएका थिए जसले डेनमार्कका नागरिक र अन्य नेटो सदस्य राष्ट्रहरूबाट व्यापक विरोध निम्त्याएको थियो।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसलाई "ऐतिहासिक सम्झौता" र "अमेरिका तथा अमेरिकी जनताका लागि ठूलो सफलता" भनेका छन्।

उनले एउटा वक्तव्यमा भने, "यो सम्झौताले ग्रीनल्यान्डसम्बन्धी हाम्रो राष्ट्रिय सुरक्षा चिन्तालाई स्थायी र पूर्ण रूपमा सम्बोधन गर्छ।"

सम्झौताको पूर्ण पाठ भने सार्वजनिक गरिएको छैन। बीबीसीले डेनमार्कको दूतावास र ह्वाइट हाउससँग यसबारे प्रतिक्रिया मागेको छ।

यद्यपि अमेरिकी विदेशमन्त्रालयका एक नाम नखुलाइएका अधिकारीले सम्झौताका बारेमा विस्तृत जानकारी नदिई यसबारे बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।