आरसीबीले दोहोर्याएर आईपीएल जित्ने गरी दुई वर्षमा के फेरियो

तस्बिर स्रोत, Reuters
- Author, प्रवीण
- Role, बीबीसी संवाददाता
- Published
- पढ्ने समय: ५ मिनेट
विराट कोहलीले बनाएको ७५ रनको सहयोगमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले गुजरात टाइटन्समाथि पाँच विकेटको जित हासिल गर्दै लगातार दोस्रो पटक इन्डियन प्रिमिअर लीग (आईपीएल)को उपाधि जितेको छ।
आइतवार राति अहमदाबादमा एक लाख ३० हजार समर्थकहरूका माझ क्रिकेट सुपरस्टार कोहलीले निर्णायक इनिङ्स खेल्दै ४२ बलमा नौ चौका र तीन छक्कासहित अविजित ७५ रन बनाएका थिए।
आरसीबीले गुजरात टाइटन्सलाई १५५-८ मा सीमित पारेको थियो। एकपक्षीय देखिएको यसपालिको फाइनल खेलमा १२ बल बाँकी छँदै परिणाम आरसीबीको पक्षमा गयो।
त्यसपछि आरसीबीका खेलाडीहरू मैदानतर्फ जाँदा ३७ वर्षीय कोहलीले स्टयान्डतर्फ ब्याट देखाएर हर्षोल्लास गरेका थिए।
कोहलीले आरसीबी 'प्रतियोगिताको उत्कृष्ट टोली रहेको' भन्दै खेलाडीहरूको 'भव्य प्रदर्शनको' प्रशंसा गरे। उनको टोलीले सन् २०२५ मा १८ वर्षपछि पहिलो पटक आईपीएल उपाधि जितेको थियो।
"मैले केही केटाहरूलाई अहिले पोहोरको जस्तो दबाब छैन भनेको थिएँ। हामीलाई समूहमा हामीसँग कस्तो क्षमता छ भन्ने थाहा थियो । हामी अङ्कतालिकामा शीर्षस्थानमा रह्यौँ।..."
"हामीसँग भएको सीप, परिपक्वता र संयम पुन: एक पटक देखियो।"
आरसीबीको जितमा लागि रसिख सलाम दारको अनुशासित बलिङको महत्त्वपूर्ण भूमिका रह्यो। उनले २७ रन खर्चिएर तीन विकेट लिए। साथै अनुभवी बलरहरू जोश हेजल्वुड र भुवनेश्वर कुमारले दुई-दुई विकेट लिए।
गुजरात टाइटन्सका वाशिङ्टन सुन्दरले अविजित ५० रनको योगदान गरेका थिए भने इङ्ग्ल्यान्डका जस बट्लर १९ रनमा 'स्टम्प्ड आउट' भएका थिए।
आरसीबीको आरोह र अवरोहको कथा

तस्बिर स्रोत, Reuters
आरसीबी आफ्नो शक्ति नै कमजोरी बन्न पुगेको अवस्थाबाट वर्षौँ प्रभावित रह्यो।
सीमित ओभरको क्रिकेटका स्टार खेलाडी विराट कोहली पहिलो सीजनबाटै आरसीबीमा आबद्ध छन्।
त्यसबाहेक वेस्ट इन्डिजका क्रिस गेल र दक्षिण अफ्रिका एबी डीभिअर्सले पनि आरसीबीलाई समर्थकहरूमाझ लोकप्रिय बनाउन प्रमुख भूमिका निर्वाह गरेका थिए।
टी२० क्रिकेटका सर्वाधिक सफल ती ब्याटर हुँदा पनि आरसीबीले उपाधि जित्न नसकेकोमा समर्थकहरू दिक्क भएका थिए। यी तीन खेलाडी एकसाथ हुनु नै टोलीका लागि सबैभन्दा ठूलो अप्ठ्यारो बनेको थियो। किनभने टोलीको ध्यान उनीहरूमा मात्रै केन्द्रित हुन्थ्यो।
उनीहरूले प्रत्येक सीजनमा उत्कृष्ट ब्याटिङ पनि गरे। तर १७ वर्षसम्म आरसीबीले उपाधि जित्न सकेन।
त्यस अवधिमा टोलीमा यी तीन ब्याटरभन्दा फरक पहिचान कायम गर्न सक्ने कुनै बलर देखिएन।
सन् २०२५ को 'मेगा अक्शन'को ठिकअघि भने आरसीबीमा परिवर्तन देखिन थाल्यो।
अनि भत्काइयो पुरानो संरचना
आरसीबीले आफ्नो कमजोरी पत्ता लगायो र मेगा अक्शनमा त्यसलाई सुधार गर्न काम थाल्यो।
त्यसमा सबैभन्दा महत्त्वपूर्ण भूमिका निभाए आफ्नो समयका उत्कृष्ट खेलाडी रहेका कोच एन्डी फ्लावरले। फ्लावर खेलाडीभन्दा सफल कोच भएर निस्किएका छन्।
उनले एक-दुई स्टार खेलाडीमा निर्भर टोलीको संरचना भत्काउने काम सुरु गरे। सन् २०२५ को मेगा अक्शनभन्दा पहिला आरसीबीले विराट कोहली, रजत पाटीदार र यश दयाललाई मात्रै निरन्तरता दिने निष्कर्ष लियो।
एन्डी फ्लावरले टोलीमा उत्कृष्ट बलर र अलराउन्डरहरू भित्र्याउने प्रयास अघि बढाए। टोलीमा फिल साल्ट, जितेश शर्मा, देवदत्त पडिक्कल, टिम डेभिड, क्रुणाल पान्या जस्ता खेलाडीहरू ल्याएर उनले ब्याटिङलाई थप मजबुत बनाए।
त्यसबाहेक भुवनेश्वर कुमार, जोश हेजल्वुड र रसिख सलाम दारप्रति भरोसा गर्नु टोलीका लागि सबैभन्दा ठूलो निर्णायक बिन्दु बन्न पुग्यो।
सन् २०२५ मा उपाधि जितेपछि आरसीबीले टोलीलाई थप सुदृढ बनाउने प्रयास गर्यो। लियाम लिभिङ्स्टोन र लुङ्गी एन्गिडीजस्ता खेलाडीलाई मुक्त गरेर वेङ्लटेश अय्यर र ज्याकब डफीजस्ता खेलाडीलाई भित्र्याइयो।
त्यसले टोलीलाई यो वर्ष निक्कै फाइदा पुर्यायो। अय्यरले यो सीजनका छवटा खेलमा १८६ को औसतमा २०९ रन बनाए। डफी भने छ म्याचमा नौ विकेट लिन सफल रहे।
रजत पाटीदारको कप्तानी

तस्बिर स्रोत, Reuters
आरसीबीलाई दोस्रो पटक 'च्याम्पिअन' बनाएपछि रजत पाटीदारले भने, "मैले कहिले पनि म आरसीबीको कप्तान बन्छु र उपाधि जित्छु सोचेकै थिइनँ।"
तर दुई सीजनमा टोलीलाई उपाधि दिलाएर उनले आईपीएलका सफल कप्तानमध्येमा आफ्नो नाम लेखाइसकेका छन्।
सन् २०२५ सुरु हुनुभन्दा अघि उनलाई आरसीबीको कप्तान बनाइँदा धेरै जना छक्क परेका थिए। तर उनले यो सीजनमा कप्तानीसँगै उत्कृष्ट ब्याटिङ पनि गरे।
अघिल्लो वर्ष उनले १५ म्याचमा ३१२ रन बनाएका थिए भने यो सीजनमा १५ म्याचमा ५०१ रन बनाए।
तर उनको वास्तविक क्षमता उनको कप्तानीमा झल्कन्छ। एकदमै जटिल अवस्थामा समेत मैदानमा पछिल्लो दुई सीजनमा मैदानमा उनी अधीर बनेको दृश्य देखिएन।
रजत पाटीदारको कप्तानीबारेमा क्रिकेट क्षेत्रका दिग्गजहरूले उनीसँग आफ्ना खेलाडीहरूलाई उनीहरूको योग्यतानुसार सदुपयोग गर्ने सामर्थ्य रहेको बताउने गरेको पाइन्छ।
दुवै सीजनमा मैदानमा खेलाडी परिचालन र बलरहरूको 'रोटेशन' का कारण उनले अवलम्बन गरेको नीतिको प्रशंसा भयो। उनले आफ्ना कतिपय खेलाडीलाई जगेडामा पनि राखे।
फाइनल म्याचपछि जितेश शर्माले आफूले यो साल राम्रोसँग खेल्न नसकेको भए पनि कप्तानबाट समर्थन पाएको बताएका थिए।
"टोलीमा राम्रा खेलाडीहरूलाई महत्त्व दिइएको छ। तपाईँ चर्चित खेलाडी हो वा होइन त्यसको अर्थ छैन। उहाँलाई तपाईँ टोलीका लागि केही जोड्न सक्नुहुन्छ भन्ने थाहा छ र त्यो योगदानलाई प्रशंसा गरिएको छ।"
रजत पाटीदारको कप्तानीका बारेमा विगतमा विराट कोहलीले भनेका थिए, "रजत पाटीदार यस्तो नाम हो जसलाई तपाईँ आउने कैयौँ वर्षसम्म याद राख्नुहुने छ।"
अहिले त्यो भनाइ सही प्रमाणित हुँदै गएको देखिन्छ। विराट कोही स्वयंको अनुभवले पनि यसपालिको जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो। अघिल्लो पटक आईपीएल जित्दा ६५७ रन बनाएका उनले यो यसपालि ६७५ रन बनाए।
तीव्र गतिको बलिङ

तस्बिर स्रोत, Getty Images
आरसीबीमा देखिएको सबैभन्दा ठूलो परिवर्तन टोलीको बलिङमा देखिएको छ। त्यो पनि तीव्र गतिको बलिङमा।
लामो समय टोलीका कप्तान रहेका विराट कोहलीले अहिलेको बलिङ लाइनअपलाई "विश्वस्तरीय" भनेका छन्।
"अब हामीसँग यस्ता बलर छन् जसप्रति जुनसुकै अवस्थामा हामी भरोसा गर्न सक्छौँ," उनले भनेका छन्।
अघिल्लो वर्ष आरसीबीका लागि जोश हेजल्वुडले सबैभन्दा धेरै २२ विकेट लिएका थिए। त्यस वर्ष भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले १७-१७ विकेट लिए।
यसपालि भुवनेश्वर कुमार बलिङमा सर्वाधिक सफल रहे। उनले २८ विकेट मात्रै लिएनन्, यो सीजनभरि ३७८ वटा डट बल पनि गरे। त्यसले उनको बलिङ नियन्त्रित रहेको देखायो।
टीम व्यवस्थापनले पत्याएका रसिखले १२ वटा म्याचमा १९ विकेट लिए भने हेजल्वुडले १५ विकेट लिए।
त्यसै गरी क्रुणाल पान्ड्याले १४ विकेट लिएर स्पिन बलिङमा आफ्नो प्रभाव कायम राखे।
यी आँकडाले आरसीबीसँग अहिले पूर्ण स्तरको बलिङ यूनिट रहेको देखाउँछ। यही कारणले गर्दा आईपीएल सीजन सुरु हुनुअगावै यसपालिको प्रमुख दाबेदारका रूपमा आरसीबीलाई लिइएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















