भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित गाउँमा 'कनेक्टिभिटी'को अवस्था कस्तो छ?

तस्बिर स्रोत, RSS
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सडकमा पुगेको क्षतिका कारण अवरुद्ध भएका ठाउँमा अबको दुई साता जतिमा कम्तीमा 'सिङ्गल लेन' ट्र्याक खोल्ने गरी काम भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
धादिङको गल्छीदेखि रसुवाको रसुवागढीसम्म क्षति पुगेको करिब ४० किलोमिटर बाटोमा ट्र्याक खोल्नका लागि सडक विभाग र पूर्वाधार विकास मन्त्रालय, नुवाकोटको सडक डिभिजन कार्यालयले काम गरिरहेको मन्त्रालयले जनाएको हो।
रसुवा जिल्ला प्रशासन कार्यालयका अनुसार रसुवा जिल्लाका चार वटा गाउँपालिकाहरू अझै पूर्ण रूपमा प्रभावित छन्।
नेपाल-चीन सीमा भई बग्ने ल्हेन्दे खोला हुँदै रसुवा जिल्ला प्रवेश गर्ने भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवाका गोसाईंकुण्ड, आमाछोदिङमो, कालिका र उत्तरगया गाउँपालिका पूर्ण रूपमा प्रभावित रहेको अधिकारीहरूले बताएका हुन्।
यी चार गाउँपालिकाका रसुवागढी, घट्टे खोला, टिमुरे, तातोपानी, लिङलिङ, मेदाङपुदु, रुँगा, स्याफ्रुवेशी, सानो भार्खुको केही भाग, हाकुवेशीको केही भाग, गुम्चेत, मैलुङ, सल्लेटार, सिम्लेपुछार, पहिरेवेशी, खाल्टे, नौबिसे, कैदलेटार, बेत्रावतीलगायतका २० वटा गाउँ तथा क्षेत्रहरू पूर्ण रूपमा प्रभावित रहेका छन्।
त्यस्तै यी चार गाउँपालिका तथा नौकुण्डका विभिन्न वडाहरू आंशिक रूपमा प्रभावित भएको रसुवाले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय रसुवाले जारी गरेको प्रेस नोटमा गोसाईंकुण्ड गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ का सडक - सञ्जाल पूर्ण रूपमा टुटेको, आमाछोदिङमो गाउँपालिकाका सबै वडाहरूका सडक पूर्ण रूपमा टुटेको, उत्तरगया गाउँपालिकाका १, २,३ वडाका सडक सञ्जाल पूर्ण रूपमा टुटेको उल्लेख छ।
त्यस्तै कालिका गाउँपालिकाका १, २, ३, ४ र ५ अनि नौकुण्ड गाउँपालिकाका १, २, ३, ४,६ वडाका सडकहरू आंशिक रूपमा प्रभावित रहेका बताइएको छ।
स्थानीय जनप्रतिनिधि के भन्छन्?

तस्बिर स्रोत, SHAKTIMAYA TAMANG
रसुवाका प्रभावित ठाउँहरूमा बाढी गएको कयौँ दिनसम्म बिजुली, सञ्चार सुविधा नभएको र राहत पनि नपुगेको त्यहाँका स्थानीय बासिन्दाहरूले गुनासो गरेका थिए।
खासगरी उत्तरगया, गोसाईंकुण्ड, आमाछोदिङमो गाउँपालिकाका कयौँ मानिसहरूलाई उद्धार गरेर नुवाकोटमा रहेका अस्थायी शिविर ल्याएर राखिँदै आएको छ।
तर केही गाउँमा भने अझै पनि मानिसहरू आफ्नै घरमा सुरक्षित बसिरहेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।
गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ तामाङले सुरुको एक हप्ता आफ्नो गाउँपालिकाका अधिकांश ठाउँमा बिजुली र सञ्चारसम्पर्क टुटेको र अहिले आंशिक रूपमा मात्रै सुविधा रहेको बताए।
गोसाईंकुण्ड गाउँपालिकाकै सुरक्षित घरमा, उक्त गाउँपालिकामै रहेका दुई वटा होल्डिङ सेन्टर र काठमाण्डूका होल्डिङ सेन्टरमा पनि त्यहाँका मानिसहरू रहेको उनले बताए।
त्यसबाहेक पुल र सडक सञ्जालबारे भने अझै पनि धेरै ठाउँको कुरा अघि बढ्न नसकेको अध्यक्ष तामाङ बताउँछन्।
स्याफ्रुवेशीस्थित चिलिमे हाइड्रोपावरको पावरहाउस नजिकैको पुल बगाएपछि दुईवटा गाउँपालिकाका गाउँहरू पूर्ण रूपमा प्रभावित छन्।
"त्यसले गोसाईंकुण्ड र आमाछोदिङमोका धेरै वडाहरू सडक सञ्जाल वञ्चित छ। त्यहाँ प्रक्रियामा जान सकेको छैन। त्यहाँ बल्ल एउटा तुइनसम्म हाल्नसकेका छौँ। त्यहाँ सर्भे डिजाइन गर्नुपर्छ तर कुरा अगाडि बढ्न सकेको छैन," तामाङले भने।
"त्यसै गरी टिमुरेसम्म जानका लागि तीन वटा पक्की पुल बनाउनुपर्ने हुन्छ। त्यसको लागि पनि केही अध्ययन गर्न सकिएको छैन।"
बिजुलीको सुविधा भने आंशिक रूपमा आउन थालेको उनी बताउँछन्।
गोसाईंकुण्ड गाउँपालिकाको वडा नम्बर १को दाहालफेदी र वडा नम्बर ३ को निम्लिङ भन्ने ठाउँमा बाहेक अन्त आंशिक रूपमा बत्ती आइरहेको उनले बताए।
सञ्चारको सुविधा बाढी लगत्तै भन्दा सहज बने पनि समस्यारहित नभएको उनी बताउँछन्।
सडक कति खुल्यो, कति खुल्न बाँकी छ?

तस्बिर स्रोत, SHAKTIMAYA TAMANG
पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालका अनुसार दशैँ अगाडिसम्म गल्छीदेखि रसुवागढीसम्मको बाटो कम्तीमा एकतर्फी मात्रै सवारी साधन चल्ने गरी भए पनि खोल्नका लागि काम भइरहेको छ।
बाढीका कारण प्रभावित बनेको धादिङ जिल्लाको गल्छीदेखि रसुवा जिल्लाको रसुवागढीसम्मको करिब ४० किलोमिटर बाटो धेरैजसो ठाउँमा बन्द भएपछि थुप्रै गाउँहरू सडक सञ्जालबाट नै टुटेका छन्।
यो बाटोको करिब आधा ट्र्याक खोल्ने काम भइसकेको र बाँकी आधा खोल्न पनि धमाधम मन्त्रालय र सडक विभागले काम गरिरहेको उनले बताएका हुन्।
"सडक डिभिजन कार्यालय नुवाकोटले मुख्य कनेक्टिभिटी टुटेको ठाउँ गल्छीदेखि रसुवागढीसम्म पहिलो प्राथमिकता दिएर पुनर्निर्माणको लागि ट्र्याक खोल्ने काम धमाधम भइरहेको छ," लम्सालले भने।
"त्यहाँको जनजीवनलाई सामान्य बनाउनलाई राहत पुर्याउन, पुन: व्यवस्था गर्नका लागि सडक नै पहिलो प्राथमिकता भएको हुँदा सकेसम्म छिटो ट्र्याक खोल्ने भनेर लागेका छौँ। अब दुई सातासम्म खुल्छ होला।"
त्यसरी ट्र्याक खुलेपछि सामान लैजान मिल्ने चारपाङ्ग्रे सवारीसाधन चल्नसक्ने उनले बताए।
"जनजीवनलाई सामान्यीकरण गर्दै लैजाने गरी कम्तीमा सिङ्गल लेनको भए पनि खोलेर सामान ढुवानी गर्नसक्ने गरी काम भइरहेको छ," उनले भने।
बाढीपछि नुवाकोटका वैकल्पिक बाटो प्रयोग गरेर पनि मानिसहरू रसुवा पुगेका थिए।
तर अहिले पूर्वाधार विकास मन्त्रालयले गरिरहेको काम भनेको बाढीले क्षति पुर्याएको बाटोमै ट्र्याक खोल्ने काम गरेको हो।
"पहिलाकै बाटो भएको ठाउँमा, नदी किनारमा अहिले ट्र्याक खोल्ने र पछि सम्भाव्यता अध्ययन गरेर कस्तो खालको सडक बनाउन उपयुक्त हुन्छ स्थानहरू पहिचान गरी दिगो सडक बनाउने काममा विभाग र मन्त्रालय लाग्ने छ। "
सडकबाहेक नदीका कारणले कनेक्टिभिटी टुटेका ठाउँमा तीन वटा बेलिब्रिज जडान गरेर मानिसको आवतजावत हुन थालेको उनले बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















