अमेरिकामा सी जिन्पिङको 'विरल' स्वागत, वार्ताका मुख्य विषय के छन्

तस्बिर स्रोत, Getty Images
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उनका चिनियाँ समकक्षी सी जिन्पिङलाई जोइन्ट बेस एन्ड्रयूजमा विशेष स्वागत गरेका छन्।
अमेरिकाको तीनदिने ऐतिहासिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति वाशिङ्टन पुगेका हुन्।
सी तथा उनकी श्रीमती पेङ लियुआनलाई स्वागत गर्न ट्रम्प र प्रथम महिला मेलानिआ ट्रम्प जोइन्ट बेस एन्ड्रयूजको धावनमार्गमा पुगेका थिए।
सन् १९६२ यता अमेरिकी राष्ट्रपतिले उक्त हवाई अखडामा कुनै विदेशी नेतालाई व्यक्तिगत रूपमा स्वागत गरेको यो पहिलो पटक हो।
'विरल' स्वागत
बीबीसीका ह्वाइट हाउस संवाददाताका अनुसार यो 'विरल' स्वागतले सीको भ्रमणलाई ट्रम्पले दिएको महत्त्वलाई प्रतिविम्बित गरेको छ।
सी विमानबाट ओर्लिएपछि दुई नेताले हात मिलाएका थिए। उनीहरूका छेउमा एकअर्काकी श्रीमती उभिएका थिए।
चिनियाँ नेताको आगमनलाई स्वागत गर्न उनीमाथि आकाशमा दुई वटा बी-१ बमवर्षक विमानहरू उडेका थिए भने अमेरिकी एअर फोर्स ब्यान्डले दुवै देशका राष्ट्रगान बजाएको र दुई देशका झण्डा फहराएको थियो।
त्यसपछि वाशिङ्टनका लागि राष्ट्रपतिद्वय ट्रम्प र सी छुट्टाछुट्टै निस्केका देखिएको थियो।
पछि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीन आउँदो नोभेम्बरमा सकिने व्यापार सम्झौतालाई ज्यानुअरी १० तारिखसम्म लम्ब्याउन सहमत भएको बताए।
चिनियाँ उपप्रधानमन्त्रीसँग भेटवार्ता गरेका बेसेन्टले दुई देशबीच अझ ठोस व्यापार सम्झौता हुन सक्ने वा नसक्ने विषयमा पनि छलफल भएको बताए।
"मलाई थाहा छैन कि योभन्दा ठूलो सम्झौता गर्न सकिन्छ अथवा सकिँदैन। मलाई थाहा छैन कि हामी अहिलेको सम्झौता मात्र कार्यान्वयन गर्छौँ अथवा गर्दैनौँ," उनले भने।

तस्बिर स्रोत, Reuters
केके कार्यक्रम छ?
बिहीवार ट्रम्प र प्रथम महिला मेलानिआले सी र उनकी श्रीमती पेङको स्वागतमा ह्वाइट हाउसमा भोज आयोजना गर्दै छन्।
बिहीवार नै दुई नेताबीच वार्ता हुने छ। अमेरिका र चीन अझ सक्षम आर्टिफिशल इन्टेलिजन्सको विकास गर्ने दौडमा रहेको पृष्ठभूभिमा एआईको विषय वार्तामा रहने छ।
कृषि उत्पादन, दुर्लभ खनिज र ताइवानलाई अमेरिकी अस्त्रहरू विक्री गर्नेलगायतका विषय वार्तामा समेटिने अपेक्षा गरिएको छ।
द्विपक्षीय वार्तापछि राजकीय भोजमा चिनियाँ र अमेरिकी अधिकारीहरूसहित प्रविधि जगत्का नेताहरू सहभागी हुने छन्।
माइक्रोसफ्ट, एपल, ओपनएआई, एमजन, टेस्ला र स्पेस एक्स, गूगल, डेल लगायत कम्पनीका प्रमुखहरू राजकीय भोजमा सहभागी हुने बताइएको छ।
सी र ट्रम्पः शत्रु कि मित्र?
बीबीसीकी चीन संवाददाता लउरा बिकरका अनुसार दुई नेता एकअर्कासँग मिल्ने देखिन्छ र यो जटिल सम्बन्धलाई व्यवस्थापन गर्ने उपायहरू उनीहरूले खोजिरहेका छन्।
तर एक नेता अर्काभन्दा धेरै प्रशंसा गर्ने किसिमका छन्।
गत मे महिनामा बेइजिङमा सीको आतिथ्य पाएका बेला ट्रम्पले भनेका थिए, "तपाईँ एक महान् नेता हुनुहुन्छ।"
डोनल्ड ट्रम्पले सी जिन्पिङका सबल पक्ष र नेतृत्वको पटकपटक प्रशंसा गर्दै आएका छन्।
अर्कोतर्फ राष्ट्रपति सी जिन्पिङ निकै सतर्क र बुझ्न धेरै गाह्रो खालका छन्। उनले ट्रम्पको प्रशंसाको जवाफ दिँदैनन्।
अनुहारमा उनी शायदै कुनै भाव राख्छन् भने उनीहरूको व्यक्तिगत सम्बन्धबारे उनी टिप्पणी पनि गर्दैनन्।
बरु उनी स्थापित सिद्धान्तहरूमा अडिग रहन्छन् र दुवै देशका लागि यी बैठकहरूले के अर्थ राख्छ भन्ने कुरामा उनी ध्यान केन्द्रित गर्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















