तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गृहमन्त्री गुरुङले सुनसरी पुगेर सहमति गरेपछि कुन क्षेत्रको अवस्था कस्तो
- Author, पवनराज पौडेल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
गृहमन्त्री सुधन गुरुङले सुनसरी पुगेर देवानगन्ज घटनामा ज्यान गुमाएका दुई युवकका परिवारसँग सहमति गरेसँगै कोशी र मधेश प्रदेशका विभिन्न स्थानहरूमा उत्पन्न साम्प्रदायिक तनाव र हिंसात्मक अवस्था क्रमश: मत्थर हुने अपेक्षा अधिकारीहरूले व्यक्त गरेका छन्।
शुक्रवार मध्याह्नसम्म सुनसरी, धनुषा र सिराहाका केही स्थानमा नारा र जुलुस भएको विवरण आएको छ। तर अधिकारीहरूले तिनलाई अघिल्ला दिनका तुलनामा सामान्य भनेका छन्। प्रभावित स्थानहरूमा कर्फ्यूको स्थिति भने कायमै छ।
हिंसात्मक घटना भएको पाँच दिनपछि गृहमन्त्री गुरुङ बिहीवार राति देवानगन्ज पुगेर मृतकका परिवारसँग सरकारका तर्फबाट सहमति गरेका हुन्। उनी शुक्रवार नै सिराहा समेत पुग्ने बताइएको छ। त्यहाँ पनि गोली लागेर बिहीवार एक जनाको ज्यान गएको थियो।
गृहमन्त्री गुरुङले मृतकका परिवारसँग गरेको सहमतिमा राहतदेखि छानबिनसम्मका विषय उल्लेख गरिएको छ।
सम्झौतामा नेपाल सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा मृतकका परिवारलाई सरकारले जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ।
त्यस्तै साउन १० गते राति भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ। देवानगन्ज-३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयहरूबारे आवश्यक छानबिन तत्काल सुरु गर्ने पनि त्यसमा भनिएको छ।
सहमतिपत्रमा मृतकका अभिभावक र गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्।
"हाम्रो देशमा अहिलेसम्म धार्मिक द्वन्द्व भएको छैन," सहमतिपछि पत्रकारहरू माझ गृहमन्त्री गुरुङले भने, "यसलाई जरैदेखि समाधान गर्नुपर्ने आवश्यकता देखेका छौँ।"
मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा शुक्रवार हुने भनिएको एमबीएस र एमए तहको परीक्षा स्थगित भएको छ भने कतिपय स्थानमा विद्यालयहरू पनि बन्द गरिएका छन्।
गृहमन्त्रीसँगको सहमतिपछि देवानगन्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार अन्तिम संस्कारका निम्ति तयार भएका बताइएको छ।
यहाँ हामीले बिहीवारसम्म तनावग्रस्त देखिएका स्थानहरूको ताजा अवस्था केलाएका छौँ।
दुई जनाले ज्यान गुमाएको देवानगन्जमा के हुँदै छ
स्थानीय बासिन्दाहरूका अनुसार देवानगन्ज शुक्रवार तुलनात्मक रूपमा शान्त छ। प्रहरीले स्थानीयवासीलाई संयम अपनाउन आग्रह गर्दै बेलाबेला माइकिङ गरिरहेको छ।
गृहमन्त्रीसँगको सहमतिसँगै मृतकका परिवार "अन्तिम संस्कारको तयारीमा" जुटेको देवानगन्ज गाउँपालिकाकी उपप्रमुख कुमारी बिभा यादवले बीबीसीलाई बताइन्।
"केही युवाहरूले सरकारसँगको सम्झौतामा चित्त बुझाइरहेका छैनन् तर सडकमा (प्रदर्शनका निम्ति) पनि निस्किएका छैनन्।"
सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले गृहमन्त्री गुरुङ देवानगन्ज पुगेर संवाद गरेसँगै तनाव केही मत्थर भएको बताए।
"दिउँसो मृतकको अन्तिम संस्कारको कार्यक्रम तय भएको छ। हामीले प्रशासनिक सहयोगहरू उपलब्ध गराइरहेका छौँ।"
खसीबाख्राको कारोबार गर्दै आएका कप्तानगन्जका वसीर मियाँले पनि स्थिति केही शान्त भएको बताए। "तर डर गएको छैन। पाँच दिनदेखि घरबाट निस्किएका छैनौँ।"
सुनसरी जिल्लाका अरू स्थान
सुनसरीमा शुक्रवार राजमार्ग आसपासका केही स्थानमा सामान्यबाहेक प्रदर्शनहरू भएको नपाइएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले बताए।
"स्थितिमा क्रमश: सुधार हुँदै गइरहेको छ," उनले भने।
प्रभावित क्षेत्रहरूमा सोमवार बिहानदेखि लगाइएको कर्फ्यू भने कायमै छ।
ती क्षेत्रहरूमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग समेत गरी चारवटै सुरक्षा निकाय परिचालित भएका प्रहरी उपरीक्षक मल्लले जानकारी दिए।
सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा सुरु भएको तनाव सुनसरीका अन्य स्थानमा सीमित रहेन। कप्तानगन्ज उक्त गाउँपालिकाको वडा नम्बर तीनमा पर्छ। उक्त पालिकाको सीमा भारतसँग जोडिएको छ।
आइतवारको घटनासँगै गृह मन्त्रालयले गठन गरेको सहसचिव भूपेन्द्र थापा नेतृत्वको टोलीले अहिले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।
"हामीले लगभग प्रारम्भिक अनुसन्धान सक्यौँ। अब काठमाण्डू फर्केर प्रतिवेदन तयार पार्नेतर्फ लाग्छौँ," सुनसरीमा रहेका थापाले भने।
सिराहा र धनुषा
सिराहा र धनुषा जिल्लाका विभिन्न स्थानीय तह र बजारमा कर्फ्यूको स्थिति कायमै छ।
सुनसरीमा सोमवारबाट चर्किएको तनाव बिहीवारसम्म आइपुग्दा सिराहा र धनुषामा पनि फैलिएको थियो। ठाउँठाउँमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले प्रभावित स्थानहरूलाई लक्षित गर्दै कर्फ्यू आदेश जारी गरेको थियो।
बिहीवार सिराहाको गोलबजारमा गोली लागेर एक जनाको ज्यान गएको थियो।
सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौड्यालले जनाएअनुसार जिल्लाको सुरक्षास्थितिलाई ख्याल राख्दै हेटौँडा र राजविराजसहितका स्थानबाट थप सङ्ख्यामा सुरक्षाकर्मीहरूलाई सिराहा पठाइएको छ।
"बिहीवारको तुलनामा स्थिति शान्त छ। कर्फ्यू लागेका इलाकाबाहिरका भित्री सडकमा ससाना प्रदर्शन भएका भनिएको छ," उनले बीबीसीसँग भने, "तर त्यो नचर्किने आकलन गरेका छौँ।"
"शुक्रवार नै गृहमन्त्री सिराहा पनि आउने तालिका छ। यहाँका विभिन्न पक्षसँग उहाँको संवाद फलदायक हुने ठानेका छौँ।"
धनुषामा पनि नगराइन नगरपालिकामा शुक्रवार बिहान फाट्टफुट्ट प्रदर्शन भएका प्रारम्भिक विवरण आएको जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले बताए।
"त्योबाहेक अरु केही देखिएको छैन। जिल्ला सुरक्षा समितिको बैठक बसेर थप निर्णय लिन्छौँ।"
जनकपुरमा सर्वसाधारणको दैनिकीलाई सहज तुल्याउन बिहान केही बेर कर्फ्यूको स्थितिलाई केही खुकुलो पारिएको थियो।
सप्तरी, सर्लाही, पर्सा र बारा
सप्तरीमा शुक्रवार बिहान ८ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनामा अर्को सूचना नभएसम्म कर्फ्यू कायम रहने उल्लेख छ।
त्यस्तै सर्लाहीको मलङ्गवासहितका क्षेत्रमा शुक्रवार बिहानदेखि प्रदर्शनहरू भइरहेका विवरण आएका छन्।
पर्साको स्थिति शुक्रवार मध्याह्नसम्म शान्त देखिएको छ। यद्यपि बिहीवार राति त्यहाँ पनि तनाव बढेको थियो।
"जिल्लाको अवस्था अहिले सामान्य छ र निषेधाज्ञा हटाइएको छ," प्रहरी उपरीक्षक पवन भट्टराईले भने।
पर्सा प्रशासनने शुक्रवार बिहान ६ बजेसम्मका लागि निषेधादेश जारी गरेको थियो।
बारामा भने हाल अवस्था सामान्य रहेको जनाइएको छ।
विराटनगरबाट विक्रम निरौला र वीरगञ्जबाट माधुरी महतोको अतिरिक्त रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।