'जे पनि हुन सक्छ...': शेख हसिना किन बाङ्ग्लादेश फर्किने जोखिम मोल्न खोज्दै छिन्

    • Author, अनबरसन इथिराजन
    • Role, विश्व मामिला संवाददाता
  • Published
  • पढ्ने समय: ५ मिनेट

बाङ्ग्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मानवताविरुद्धको अपराधमा मृत्युदण्ड हुन सक्ने जोखिमबीच डिसेम्बरमा स्वदेश फर्किने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनले आफूविरुद्ध लागेका आरोपहरू अस्वीकार गर्दै आएकी छन्। सन् २०२४ को सरकारविरोधी विद्रोहका कारण सत्ताच्युत हुँदै उनी भारत पलायन भएकी थिइन्। बाङ्ग्लादेशमा उनको अनुपस्थितिमै मुद्दा चलाइएको थियो र उनी दोषी ठहर भएकी थिइन्।

अपदस्थ भएको दूई वर्ष पूरा भएसँगै बुधवार दिल्लीस्थित एउटा प्रेस क्लबमा 'अडिओ'को माध्यमबाट कुरा राख्दै हसिनाले आफू "फर्किनैपर्ने" बताइन्। तर उनले घरफिर्तीको स्पष्ट योजना वा मिति भने घोषणा गरिनन्।

आन्दोलनकारीहरूमाथि घातक बल प्रयोग गर्न आदेश दिएको ठहर गर्दै ढाकास्थित एउटा विशेष अदालतले गत वर्ष हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो। त्यससँगै उनको अवामी लीग पार्टी कमजोर बन्दै गएको छ। भारतीय अधिकारीहरूमाथि उनलाई सुपुर्दगी गर्न दबाव पनि बढिरहेको छ।

दिल्लीमा भएको उक्त 'भर्चूअल' कार्यक्रममार्फत् १५ वर्ष सत्तामा रहेकी हसिनाले आफू सत्ताच्युत भएयता पहिलो पटक सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेकी हुन्।

'अडिओ लिङ्क'मार्फत् गरिएको सम्बोधनपछि उनले केही प्रश्नका दिइन्। "उनीहरूले मलाई जेलमा हाल्न वा मार्न सक्छन् भन्ने मलाई थाहा छ। जे पनि हुन सक्छ, तथापि म फर्किनैपर्छ," उनले भनिन्।

सम्बोधनका क्रममा उनले सन् २०२४ को विद्यार्थी आन्दोलनलाई केही सङ्गठनहरूले "हिंसात्मक आन्दोलन" मा परिणत गरेको आरोप लगाइन्। तर उनले त्यसलाई पुष्टि गर्ने प्रमाणहरू भने प्रस्तुत गरिनन्।

त्यो टेलिफोन संवाद

हसिनाले आफूलाई दोषी ठहराइएको अभियोगहरू राजनीतिक उद्देश्यबाट प्रेरित भएको भन्दै तिनलाई अस्वीकार गर्दै आएकी छन्। तर संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले उनी र उनको सरकारले योजनाबद्ध तथा घातक बल प्रयोग गरेर सत्तामा टिकिरहने प्रयास गरेको प्रमाण फेला पारेका छन्।

'बीबीसी आई'ले पुष्टि गरेको एउटा टेलिफोन संवादको अडिओमा हसिनाले प्रदर्शनकारीमाथिको घातक दमन गर्न स्वीकृति दिएको सुनिन्छ।

अभियोजकहरूले उक्त रेकर्डिङलाई महत्त्वपूर्ण प्रमाणका रूपमा पेस गरेका थिए।

सरकारी जागिरमा आरक्षणको विरोधमा विद्यार्थी नेतृत्वमा सुरु भएको र पछि बृहत्तर विद्रोहमा परिणत भएको उक्त आन्दोलनका क्रममा १,४०० जनाजतिको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको आकलन छ।

तीमध्ये धेरैजसो सुरक्षाकर्मीले चलाएको गोली लागेर मारिएका हुन्।

बाङ्ग्लादेश र भारतको सम्बन्धमा तनाव

त्यसपछि हसिना ढाकाबाट पलायन भएकी थिइन्। उनी अपदस्थ भएको केही समयमै अन्तरिम सरकारले जिम्मेवारी सम्हालेको थियो।

गत फेब्रुअरीमा भएको निर्वाचनपछि बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी सत्तामा आएको छ र त्यसका नेता तारिक रहमान अहिले प्रधानमन्त्री छन्।

रहमानको सरकारले यसअघि नै स्थानीय सञ्चारमाध्यमहरूलाई हसिनाका टिप्पणीहरू प्रकाशन वा प्रसारण नगर्न चेतावनी दिएको थियो।

हसिनाको सम्बोधनपछि बाङ्ग्लादेश सरकारले भारतमा उनलाई सञ्चारमाध्यमसँगको सार्वजनिक कार्यक्रम गर्न अनुमति दिइएको भन्दै असन्तुष्टि जनाएको छ।

"हाम्रा जनताले हाम्रो राष्ट्र फेरि कहिल्यै फासीवादको अँध्यारा दिनहरूमा फर्किने छैन र बाङ्ग्लादेश कहिल्यै आश्रित राज्य बन्ने छैन भन्ने दृढ सङ्कल्प गरेका छन्," विदेश मन्त्रालयको वक्तव्यमा भनिएको छ।

दिल्लीमा हसिनाको उपस्थितिले बाङ्ग्लादेशसँगको सम्बन्धमा तनाव उत्पन्न गरेको छ।

बाङ्ग्लादेशले उनको सुपुर्दगी चाहेको छ भने भारतले उक्त अनुरोधमाथि अध्ययन भइरहेको जनाएको छ।

शेख हसिना बाङ्ग्लादेश फर्किन् भने के होला

हसिना ढाका फर्किन् भने त्यसले राजनीतिक अशान्तिसहित विभिन्न असरहरू निम्त्याउने सम्भावना रहेको बताइन्छ।

"यो उनकै लागि पनि ठूलो जोखिम हो। उनी फिर्ता आइन् भने उनलाई तुरुन्तै पक्राउ गरिने छ," ढाकामा रहेका विश्लेषक डेभिड बेर्गमन भन्छन्।

त्यस्तै सत्तारूढ बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) का समर्थक, विद्यार्थीहरूको पार्टी न्याश्नल सिटिजन्स पार्टी, इस्लामिक समूहहरू र अन्य केही पक्षहरूले उनीविरुद्धको सजाय कार्यान्वयनको माग गर्दै नाराजुलुस गर्न सक्ने सम्भावना छ।

तर फेरि हसिना फर्किनन् भने अवामी लीगका लागि पनि ठूलै जोखिम हुन्छ।

उनी पलायन भएको केही समयमै उक्त पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाइएको थियो। उक्त दललाई फेब्रुअरीमा भएको निर्वाचनमा पनि सहभागी हुन दिइएको थिएन।

अवामी लीगका नेताहरूले आफ्ना सयौँ समर्थकहरू भिडले गरेका आक्रमणमा मारिएका र दर्जनौँको सुरक्षाकर्मीको नियन्त्रणका क्रममा मृत्यु भएको आरोप लगाएका छन्।

यद्यपि ढाकाका अधिकारीहरूले भने अवामी लीगका मानिसहरूलाई योजनाबद्ध रूपमा निसना बनाइएको भन्ने आरोप अस्वीकार गर्दै आएका छन्।

"यदि हसिना फर्किनन् भने हिंसा जारी रहने छ र उनीहरूले अवामी लीगलाई समाप्त पार्ने छन्," हसिना नेतृत्वको सरकारमा मन्त्री रहिसकेका र हाल विदेशमा रहेका मोहम्मद अली आराफातले बीबीसीसँग भने।

धेरै शीर्ष नेताहरू पलायन हुँदा मध्यम तहका नेता तथा कार्यकर्ता आक्रमणको जोखिममा परेका भन्दै हसिनाको पार्टीको एउटा वर्गमा असन्तोष चुलिँदै गएको छ।

"यो (उनको फिर्ती) यदि हसिनाले भविष्यमा बाङ्ग्लादेशको राजनीतिमा कुनै भूमिका चाहन्छिन् भने फर्केर परिस्थितिको सामना गर्नुपर्छ भन्ने बुझाइसँग सम्बन्धित भएको जस्तो देखिन्छ," बेर्गमन भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।