ट्रम्प जाने योजना बनेको ठाउँनजिकै हातहतियार बोकेका एक सन्दिग्ध व्यक्ति पक्राउ

तस्बिर स्रोत, Getty Images
- Author, म्याक्स माट्स
- Published
- पढ्ने समय: ३ मिनेट
क्यालिफोर्नियाका अधिकारीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पको स्वामित्वमा रहेको लस एन्जलस क्षेत्रस्थित 'गल्फ कोर्स' नजिक देखिएका एक व्यक्तिलाई पक्राउ गरेका छन्। राष्ट्रपति ट्रम्प एउटा 'फन्ड-रेजिङ' कार्यक्रमका निम्ति त्यहाँ पुग्नुअघि उक्त घटना भएको हो।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार ३८ वर्षीय जनीन जोन टीएलसँगबाट पेस्तोल र अवैध गोली बरामद गरिएको छ।
लस एन्जलस प्रहरीका अनुसार ती सन्दिग्धले "गल्फ कोर्स परिसर वरपर हिँड्दै फोटो र भिडिओ खिचेको अनि सुरक्षा योजनासम्बन्धी गतिविधिको निगरानी गरे जस्तो" देखिएको थियो।
उनलाई आइतवार दिउँसो पक्राउ गरिएको हो। राष्ट्रपति ट्रम्प यतिखेर क्यालिफोर्नियाको भ्रमणमा छन् र मङ्गलवार सोही गल्फ कोर्समा आयोजना हुने रिपब्लिकन पार्टीले चन्दा सङ्कलन गर्न आयोजना गर्न लागेको रात्रिभोजमा हुने कार्यक्रम थियो।
पक्राउ गरिएका व्यक्तिमाथि लुकाएर हतियार बोकेको तथा प्रतिबन्धित गोलीहरू राखेको अभियोग लगाइएको छ। उनी एउटा लुटपाटको घटनामा पनि खोजीको सूचीमा रहेका खुलासा भएको अधिकारीहरूले बताएका छन्।
प्रहरीले खानतलासी गर्दा उनीसँग १६ राउन्ड गोली अट्ने 'होलो-पोइन्ट म्याग्जीन' भेटेको थियो। साथै गल्फ कोर्समा पार्क गरिएको उनको गाडीबाट लोड गरिएको एउटा पेस्तोल र होलो-पोइन्ट गोली भरिएको अर्को म्याग्जीन पनि बरामद भएको प्रहरीले जनाएको छ।
घरमा छापा

तस्बिर स्रोत, Getty Images
लस एन्जलस क्षेत्रमै अवस्थित ती शङ्कास्पद व्यक्तिको घरमा सोमवार एफबीआईको 'जोइन्ट टेररिजम टास्क फोर्स' र लस एन्जलस काउन्टी शेरिफ विभागको 'मेजर क्राइम ब्यूरो'का अधिकारीहरूले छापा मारेका थिए।
शेरिफ विभागले उक्त घटनासँग सम्बन्धित "सम्भावित सुरक्षा प्रभावहरू"का कारण उनको घरमा तलासी गरिएको जनाएको छ।
त्यस क्रममा ती व्यक्तिको घरबाट "अवैध रूपमा परिमार्जन गरिएको 'एआर' प्ल्याटफर्म राइफल", एउटा .४५ पेस्तोल, शरीरमा लगाउने कवच, उच्च क्षमताका म्याग्जीननहरू, पेस्तोल र राइफलका गोलीहरू तथा "चिन्ताजनक कुराहरू लेखिएका" नोटबुकहरू फेला परेको जनाइएको छ।
'यूएस सीक्रट सर्भिस'को सहयोगमा अनुसन्धान जारी रहेको र पछि थप अभियोगहरू पनि लगाउन सकिने अधिकारीहरूले बताएका छन्।
यद्यपि विभागको वक्तव्यमा हालसम्म समुदायलाई लक्षित गर्ने कुनै "ठोस खतरा" पहिचान नभएको उल्लेख छ।
राष्ट्रपति ट्रम्पको विरलै हुने क्यालिफोर्निया भ्रमणका क्रममा उक्त घटना भएको हो।
ह्वाइट हाउसका अनुसार ट्रम्पले क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमको आलोचना गर्दै भाषण गर्ने कार्यक्रम थियो। न्यूसमलाई सन् २०२८ को राष्ट्रपतीय चुनावमा उम्मेदवारी दिने तयारी गरिरहेका सम्भावित दाबेदारका रूपमा हेरिएको छ।
राष्ट्रपति ट्रम्प बुधवार लस भेगस जाने कार्यक्रम छ। त्यहाँ उनले एउटा जुवाघरमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ।
नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि चुनावी गतिविधि तीव्र भएका बेला उनका यी भ्रमणहरू भइरहेका हुन्।
उक्त निर्वाचनले अमेरिकी कङ्ग्रेसको शक्ति सन्तुलन तय गर्ने ठानिएको छ।
राष्ट्रपति ट्रम्प हालैका वर्षहरूमा तीन पटक हत्या गर्ने प्रयासबाट जोगिएका छन्।
यद्यपि अधिकारीहरूले आइतवार पक्राउ परेका व्यक्तिले ट्रम्पलाई हानि पुर्याउने उद्देश्य राखेका थिए वा थिएनन् भन्नेबारे केही बताएका छैनन्।
ती सन्दिग्ध व्यक्तिमाथि त्यस्तो अभियोगमा मुद्दा पनि चलाइएको छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















