एआई विकासको 'गति कम गर्नुपर्ने' अमेरिकी अगुवाहरूको धारणाबारे चीन के सोच्छ?

चिनियाँ झन्डा र एआई चिप

तस्बिर स्रोत, Sopa via Getty Images

    • Author, ज्याक लाऊ
    • Author, टोनी हान
    • Role, बीबीसी ग्लोबल चाइना यूनिट
  • Published
  • पढ्ने समय: ५ मिनेट

आर्टिफिशल इन्टेलिजन्स (एआई) द्रुत गतिमा अगाडि बढ्दै जाँदा त्यसले निम्त्याउने सम्भावित खतराबारे प्रविधि उद्योगका केही प्रमुख नेताहरूले कडा चेतावनी दिएका छन्।

एन्थ्रोपिकका सीईओ डारिओ आमोडेले एआई विकासको गति सुस्त हुनुपर्छ भन्ने तर्क गरेका छन्। दुई प्रतिद्वन्द्वी एआई कम्पनीहरू ओपनएआईका साम अल्टम्यान र इलोन मस्कले उनीसँग सहमत भएको बताएका छन्।

सिलिकन भ्यालीका केहीले त यो प्रविधिले एक दिन मानवजातिकै अस्तित्वमाथि नै खतरा निम्त्याउन सक्छ भनी चेतावनी दिएका छन्।

यद्यपि विश्वका दुई प्रमुख एआई महाशक्तिहरू चीन र संयुक्त राज्य अमेरिकाबीचको तीव्र प्रतिस्पर्धाले यी जोखिमहरूलाई सम्बोधन गर्ने प्रयासहरू जटिल देखिएका छन्।

रणनीतिक प्रतिद्वन्द्वीका रूपमा दुवै देशले प्रायः राष्ट्रिय सुरक्षा र आर्थिक लाभको दृष्टिकोणबाट एआई प्रगतिलाई हेर्छन्, जसले अर्थपूर्ण सहयोगको सम्भावनामाथि शङ्का उत्पन्न गराउँछ।

"यदि अन्तर्राष्ट्रिय समुदायले यी मुद्दाहरूमा अमेरिका-चीन वार्ताबाट बाध्यकारी सम्झौता आउने अपेक्षा गरिरहेको छ भने उनीहरू निराश हुने छन्," पीस रिसर्च इन्स्टिट्यूट ओस्लोकी वरिष्ठ अनुसन्धानकर्ता डा. इलारिया कार्रोजा भन्छिन्।

एआई 'मानव नियन्त्रणमा' रहनुपर्ने तर्क

चीनसँग एआईका लागि ठूला योजनाहरू छन्, जसले भविष्यमा यो प्रविधिलाई समाज र अर्थतन्त्रको हरेक क्षेत्रमा, कृषिदेखि स्वास्थ्य सेवा, सेनासम्ममा समायोजन गर्ने परिकल्पना गरेको छ।

यद्यपि सरकारले त्यसका जोखिमहरूबारे लामो समयदेखि चेतावनी दिँदै आएको छ।

सन् २०१७ को सुरुदेखि नै उसले गोपनीयता, सामाजिक स्थिरता र अन्तर्राष्ट्रिय सम्बन्धमा एआईले खतरा निम्त्याउन सक्छ भनी बताउँदै आएको छ।

त्यसयताका वर्षहरूमा चीनले सामाजिक सञ्जालमा एआईद्वारा सिर्जित सामग्रीको 'लेबलिङ' अनिवार्य गरेको छ। नाबालिगहरूका लागि एआईनिर्मित भर्चुअल साथीहरू बनाउन प्रतिबन्ध लगाएको छ भने गलत सूचना फैलाउनका लागि 'डीपफेक'को प्रयोगलाई बन्देज गरेको छ।

चिनियाँ सरकारी निकायहरू र नीति सल्लाहकारहरूसँग अमेरिकी समकक्षीहरूको तुलनामा "स्वीकार्य विकासका सर्तहरू परिभाषित गर्ने पर्याप्त अधिकार" रहेको एआईसम्बन्धी अमेरिकी-चिनियाँ अनौपचारिक वार्तामा भाग लिएका हङ्‌कङको सिटी यूनिभर्सिटीका प्राध्यापक जङ जिङहान बताउँछन्।

एआई अनियन्त्रित हुन सक्ने चिन्तालाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिन्पिङले उक्त प्रविधि "सधैँ मानव नियन्त्रणमा रहनुपर्ने" गत जुलाईमा बताएका थिए।

'एआई शासन'बारे अन्तर्राष्ट्रिय संवादलाई प्रवर्धन गर्ने उद्देश्यका साथ चीनद्वारा स्थापित वर्ल्ड आर्टिफिशल इन्टेलिजन्स कोअपरेशन अर्गनाइजेशनको बैठकमा उनी बोल्दै थिए।

सेप्टेम्बरमा प्रकाशित आफ्नो पछिल्लो एआई सुरक्षा ढाँचामा चिनियाँ इन्टरनेट नियामक साइबरस्पेस एड्मिनिस्ट्रेशनले एआईलाई "मानवजातिको अस्तित्व र विकास" मा खतरा बन्नबाट रोक्न सक्रिय नीतिहरू आवश्यक रहेको बताएको छ।

शासन गर्न सकिने प्रविधि?

एआईद्वारा सञ्चालित रोबट वाशिङ मशीनमा लुगा हाल्दै

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, एआईले अर्थतन्त्रलाई सघाउने चीनको विश्वास छ

चिनियाँ अधिकारीहरूले एआई मानव नियन्त्रणभन्दा बाहिर निस्कने जोखिमलाई स्वीकार गरे तापनि त्यहाँ मानवजातिको अस्तित्वमाथि खतरा निम्त्याउनेबारेका चिन्ता अमेरिकाको तुलनामा धेरै कम प्रमुखताका साथ बहसमा उठाउने गरिएको छ।

बेइजिङले यो जोखिमलाई सरकारी नीतिले सम्बोधन गर्नुपर्ने धेरै मुद्दाहरूमध्ये एउटाको रूपमा हेर्छ।

"चीनमा एआईको शासनले एकैसाथ धेरै उद्देश्यहरू पूरा गर्छ- आर्थिक विकासलाई समर्थन गर्ने, प्राविधिक र सामाजिक जोखिमहरू व्यवस्थापन गर्ने र राजनीतिक शक्ति कायम राख्ने," प्रोफेसर जङ भन्छन्।

शेन्जेन इन्स्टिट्यूट अफ आर्टिफिशल इन्टेलिजन्श एन्ड रोबटिक्स फर सोसाइटीका निर्देशक डा. शाशान लिऊ त्यसमा सहमत छन्।

"चिनियाँ छलफलहरू नियन्त्रण गर्ने क्षमता, दुरुपयोग र सामाजिक परिणामहरूमा बढी केन्द्रित हुन्छन् भने अमेरिकी छलफलहरू नियन्त्रण गुमाउन सकिने कल्पना अथवा लोप हुने परिदृश्यहरूमा केन्द्रित हुन्छन्।"

चीनको अर्थतन्त्र मन्दीमा रहेको समयमा यो प्रविधि आर्थिक वृद्धिको महत्त्वपूर्ण माध्यम बन्न सक्ने भन्ने विश्वासले आर्टिफिशल इन्टेलिजन्सबाट निम्तिने जोखिमहरूबारे चिनियाँ अधिकारीहरूको चिन्ता केही हदसम्म कम भएको छ।

टेन्सेन्ट, अलिबाबा, बाइडू र बाइटडान्सजस्ता अगुवा चिनियाँ प्रविधि कम्पनीका एआई मोडेलहरू विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्छन्।

केही अत्याधुनिक मोडेलहरू ०.१ एआई, डीपसीक, मिनिम्याक्स, मूनशूट एआई र जेड.एआई जस्ता स्टार्टअपहरूबाट आएका छन्।

यस विषयमा प्रतिक्रियाका लागि आग्रह गरिए पनि ती कम्पनीहरूले बीबीसीलाई जवाफ दिएनन्।

डा. लिऊका अनुसार बेइजिङले चीनको एआई उद्योगलाई प्रवर्द्धन गर्ने र नयाँ उत्पन्न हुने जोखिमहरू व्यवस्थापन गर्नेबीच सन्तुलन कायम गर्ने प्रयास गरिरहेको छ।

"त्यो कुरा प्रविधिलाई रोकिनुपर्छ भन्नुभन्दा नितान्त फरक छ," उनी भन्छन्।

'जो एआईमा जित्छ, उही जित्छ'

चीनका घरेलु प्राथमिकताहरूभन्दा बाहिर भूराजनीतिक विषयहरू पनि छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एआई विकासलाई चीनविरुद्धको प्रमुख प्रतिस्पर्धाका रूपमा व्याख्या गरेका छन्।

"हामी एआईमा चीनभन्दा अगाडि छौँ… र स्पष्ट रूपमा भन्नुपर्दा म यसलाई त्यसरी नै राख्न चाहन्छु। किनभने एआईमा जसले जित्छ, उसले जित्छ, " उनले भनेका छन्।

सेप्टेम्बरमा एउटा सरकारी जर्नलमा प्रकाशित एक लेखमा चीनका शीर्ष गुप्तचर अधिकारी चेन यिक्सिनले पनि एआई विकासलाई भूराजनीतिसँग जोडेका थिए। उनले त्यसलाई "प्रमुख शक्तिहरूबीच रणनीतिक प्रतिस्पर्धाका लागि नयाँ क्षेत्र" भनेका भने।

यद्यपि एआई विकासलाई सुस्त बनाउनुपर्ने आह्वानहरू मुख्यतया अमेरिकी व्यापारिक नेताहरूबाट आएका छन् न कि सरकारी अधिकारीहरूबाट। भूराजनीतिक प्रतिस्पर्धाले बेइजिङलाई यस्ता अपीलहरूबाट सतर्क बनाएको छ।

गत अगस्टमा एआईको जोखिमबारे आमोडेको चेतावनीको केही समयअघि चिनियाँ सरकारी सञ्चारमाध्यमले एन्थ्रोपिकका सहसंस्थापकलाई आफ्नो कम्पनीलाई अमेरिकी भूराजनीतिक स्वार्थहरूसँग मिलाएको आरोप लगाए।

"आमोडेको सोच परिवर्तन भएको छ… 'मेरो देश सही छ' बाट 'सहयोग नगर्नेहरूलाई दबाउनुपर्छ' मा," चीनको सीसीटीभीद्वारा सञ्चालित सामाजिक सञ्जाल खाता युयुआन्टान्टिअनले पोस्ट गरेको थियो।

एन्थ्रोपिकका सीईओ डारिओ आमोडे

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, एन्थ्रोपिकका सीईओ डारिओ आमोडे

विकासको गतिलाई सुस्त बनाउन सुझाव दिएको आमोडेको हालैको अपीलले सरकारद्वारा सञ्चालित सञ्चारमाध्यमबाट थप आलोचना निम्त्यायो। त्यसले एन्थ्रोपिकका सीईओको सुझावलाई चीनको एआई प्रगतिमा बाधा पुर्‍याउने रूपमा चित्रण गर्‍यो।

हालैको अविश्वासबीच यो महिनाको अन्त्यमा वाशिङ्टन डीसीमा सी जिन्पिङ र डोनल्ड ट्रम्पबीच हुने शिखर बैठकमा केही हदसम्म सम्झौता हुन सक्छ। समाचारसंस्था रोएटर्सका अनुसार चिनियाँ अधिकारीहरूले एआईलाई प्रमुख मुद्दा मानेका छन्।

पीस रिसर्च इन्स्टिट्यूट ओस्लोकी वरिष्ठ अनुसन्धानकर्ता डा. कार्रोजाका अनुसार गैरराज्य पक्षहरूद्वारा एआईको दुरुपयोग अथवा पूर्वाधारमा एआईको संलग्नता भएको साइबर हमलाहरूले द्विपक्षीय समझदारीका लागि केही ठाउँ दिन सक्छन्। तर एआईको विकासको गतिमा स्पष्ट सम्झौता सम्भव नहुन सक्छ।

"द्विपक्षीय रूपमा सम्झौता गर्न सकिने क्षेत्रहरूमा सम्भवतः ती क्षेत्रहरू हुने सम्भावना छ जहाँ कुनै पनि सम्झौतालाई व्यावसायिक गोपनीयताको प्रमाणीकरण वा खुलासा आवश्यक पर्दैन," उनी भन्छिन्।

"दुई पक्षले एआई मोडलहरू निर्माण गर्ने गतिलाई सीमित गर्ने कुनै पनि कुरामा सहमत हुने सम्भावना छैन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।