पाकिस्तानको हिउँपहिरोमा 'हराएका' १० जनामा निर्मल पुर्जा र अरू पाँच नेपाली पनि

तस्बिर स्रोत, Getty Images
पाकिस्तानको 'ब्रोड पीक' हिमाल आरोहणका क्रममा हिउँपहिरोमा परी ख्यातिप्राप्त आरोही निर्मल पुर्जासहित १० जनाको समूह सम्पर्कविहीन भएको छ।
नेपालमा जन्मेका तथा भूतपूर्व 'रोयल मरीन' समेत रहेका पुर्जाले उक्त अन्तराष्ट्रिय पर्वतारोही समूहको नेतृत्व गरेको बताइएको छ।
पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार काराकोरम पर्वतशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पीकमा बिहीवार दिउँसो हिमपहिरो गएको हो। त्यसयता उक्त टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन।
पुर्जासँगै उक्त समूहमा पाँच नेपालीसहित विभिन्न देशका नागरिक थिए। तीमध्ये एक ओमानी महिला पनि छिन्।
उक्त समूहको नेतृत्व गरेका पुर्जा सन् २०१९ मा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल करिब ६.५ महिनामै आरोहण गरेर चर्चामा आएका थिए।
कसरी हुँदै छ खोजी

तस्बिर स्रोत, Getty Images
"हामी सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेका छौँ र मौसम अनुकूल भएमा शुक्रवार बिहान हेलिकप्टरमार्फत् उद्धारकार्य सञ्चालन गर्ने प्रक्रिया मिलाइरहेका छौँ," 'अल्पाइन क्लब अफ पाकिस्तान'का उपाध्यक्ष करार हैद्रीले बीबीसीसँग भने।
पाकिस्तानी सेनाले खोजी तथा उद्धारकार्यलाई सहयोग पुर्याउन उद्धारकर्मीहरू र थप उपकरणहरूसहित दुइटा हेलिकप्टर पठाइएको अल्पाइन क्लबले जनाएको छ।
अल्पाइन क्लबले हराइरहेका पर्वतारोहीहरूलाई उद्धार गर्न सकिने आशा व्यक्त गरेको छ।
उद्धारकार्यमा परिचालित हेलिकप्टरबाट केही पर्वतारोहीहरू देखिएको खबर आए पनि यसको पुष्टि हुन नसकेको नेपाल पर्वतारोहण सङ्घका महासचिव राजेन्द्रबहादुर लामाले बताएका छन्।
उनका अनुसार उद्धारकार्यमा नेपाली पर्वतारोहण सङ्घले पाकिस्तानी अल्पाइन क्लबसँग समन्वय गरिरहेको छ। "केटूमा रहेका हाम्रा केही शेर्पा साथीहरू उद्धारका लागि त्यसतर्फ जाँदै छन्," उनले भने।
केटू र ब्रोड पीक झन्डै आठ किलोमिटरको दूरीमा अवस्थित छन्।
ब्रोड पीकलाई पर्वतारोहणका निम्ति निकै चुनौतीपूर्ण हिमालमध्येको मानिन्छ। यो विश्वको १२औँ अग्लो हिमाल हो।
टोलीमा को-को थिए

तस्बिर स्रोत, AFP
अल्पाइन क्लबले सम्पर्कविहीन भएका पुर्जा र अन्य नौ पर्वतारोहीको नाम सार्वजनिक गरेको छ।
- निर्मल पुर्जा 'निम्स दाइ'
- नादिरा अहमद अब्दुल्लाह अ हार्थी - ओमान
- सोहेल साखी - पाकिस्तान
- वाङ जोङ - चीन
- मेलोरी गाइस - अमेरिका
- पुरबहादुर गुरुङ 'युक्त' - नेपाल
- किलिपेम्बा शेर्पा 'किलु'- नेपाल
- निमा शेर्पा - नेपाल
- नवाङ थिन्डु शेर्पा - नेपाल
- ग्यालु शेर्पा - नेपाल
ब्रोड पीकबारे हामीलाई के थाहा छ

तस्बिर स्रोत, International Space Station
ब्रोड पीकलाई विश्वको बाह्रौँ अग्लो हिमाल हो।
यसको शिखर समुद्र सतहबाट ८,०४७ मिटरको उचाइमा छ।
पाकिस्तानी अधिकारीहरूका अनुसार बिहीवार ब्रोड पीकमा हिमपहिरो गएको थियो।
निर्मल पुर्जाले सन् २०१९ मा ब्रोड पीकसहित "डेथ जोन" भएका १४ हिमालको आरोहण साढे छ महिनाभित्र गरेका थिए।
सन् २०२२ मा ब्रोड पीकको नाममा नेटफ्लिक्समा एउटा चलचित्र पनि बनेको थियो। त्यसको कथावस्तुमा एक पोलिश पर्वतारोहीले हिउँदमा पहिलो पटक यो हिमाल चढ्न गरेको प्रयास थियो।
सुरुमा ब्रोड पीक चढ्ने निर्मल पुर्जाको योजना थिएन
ब्रोड पीकको पर्वतारोहण अभियान सुरु गर्नुअघि सोमवार सामाजिक सञ्जालको प्ल्याट्फर्म 'एक्स'मा निर्मल पुर्जाले एउटा पोस्ट गरेको देखिन्छ। त्यसमा उनले सुरुमा ब्रोड पीक आरोहण गर्ने आफ्नो योजना नरहेको उल्लेख गरेका छन्।
"सुरुमा जी-२ मात्र आरोहण गर्ने योजना थियो," उनले लेखेका छन्।
तर पाकिस्तानको भ्रमण थाल्नुअघि उनलाई फेरि ब्रोड पीक चढे आफू "बिनाअक्सिजन विश्वका १४ वटै ८,००० मिटरभन्दा अग्ला हिमाल दुई पटक आरोहण गर्ने पहिलो व्यक्ति" बन्न केबल एउटा हिमाल मात्र बाँकी रहन्छ भन्ने लाग्यो।
"यो पूर्वनिर्धारित योजना थिएन," पुर्जाले लेखेका छन्। "तर अवसरहरू चिच्याएर आउँदैनन्, तिनले सुस्तरी ती व्यक्तिहरूलाई सङ्केत गर्छन् जो पहिलेदेखि नै चुपचाप काम गरिरहेका हुन्छन्।"
"ब्रोड पीक, म सुरक्षित रूपमा माथि पुगेर फर्कन पाऊँ भन्नुबाहेक म अरू केही माग्दिनँ। म कुनै पनि हिमाललाई सामान्य रूपमा लिन्नँ," उनले लेखेका छन्।
पुर्जा सन् २००३ मा ब्रिटिस सेनामा प्रवेश गरेका थिए र सन् २००९ मा 'रोयल मरीन' बनेका थिए।
सन् २०१२ मा सगरमाथा आधार शिविरको पदयात्राबाट उनको पर्वतारोहण यात्रा सुरु भएको थियो।
त्यस क्रममा पूर्वनिर्धारित योजनानुसार आधार शिविरबाट फर्कने सोच परिवर्तन गर्दै उनले सगरमाथा आरोहण गर्ने निधो गरेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















