एमाले विभाजनः नवनियुक्त दुई मुख्यमन्त्री 'छलफल'मा, विश्वासको मतको सामना कि पार्टी परिवर्तन?

एमाले नेतृ शाक्य पार्टीबाट माधव नेपाल अलग्गिनुअघि उनको पक्षमा रहँदै आएकी थिइन्

तस्बिर स्रोत, AstaLaxmi Shakya/Facebook

तस्बिरको क्याप्शन, एमाले नेतृ शाक्य पार्टीबाट माधव नेपाल अलग्गिनुअघि उनको पक्षमा रहँदै आएकी थिइन्
    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

नेकपा एमालेको तर्फबाट हालै वाग्मती र प्रदेश नम्बर १ मा मुख्यमन्त्री बनेका अष्टलक्ष्मी शाक्य र भीमप्रसाद आचार्यले विश्वासको मतको सामना गर्ने तर मुख्यमन्त्रीको पद जोगाउनका लागि पार्टी परिवर्तन नगर्ने बताएका छन्।

एमालेमा भएको गहिरो मतभेद मिलाउने क्रममा आचार्य र शाक्य हालै मुख्यमन्त्री नियुक्त भएका थिए।

शाक्य र आचार्यले मुख्यमन्त्री बनेको एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ।

उनीहरू निकट रहेका नेता माधवकुमार नेपालले एमालेबाट अलग्गिएर खोलेको नेकपा एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाइसकेको छ।

पार्टी फुटेपछि एमालेसँग पहिले रहेको बहुमत कायम हुन नसक्ने भएकाले उनीहरूको मुख्यमन्त्री पद धरापमा परेको बताइएको छ।

नयाँ पार्टीको संसदीय दलको नेतामा माधव नेपाल आइतवार चुनिएपछि उक्त दलका तर्फबाट सांसद विरोध खतिवडाले एमालेबाट मुख्यमन्त्री बनेका शाक्य र आचार्यको मुख्यमन्त्रीको भविष्यबारे सोधिएको प्रश्नमा गठबन्धनकै मुख्यमन्त्री बनाउन पहल गरिने प्रतिक्रिया दिएका थिए।

उनले भनेका थिए, "अहिले बन्नुभएका मुख्य मन्त्रीहरू नेकपा एकीकृत समाजवादीमा बस्नुभयो गठबन्धनले त्यसै अनुसार सोच्छ। होइन, वहाँहरू बस्नुभएन भने गठबन्धनले आफ्नो मुख्यमन्त्री ल्याउन प्रयत्न गर्छ।"

'पदका लागि पार्टीमाथि बन्चरो चलाउन सकिँदैन'

एकीकृत समाजवादी पार्टीका प्रतिनिधिसभा सांसद खतिवडाले यस्तो अभिव्यक्ति दिएका बेला प्रदेश नम्बर १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले चार दशकदेखि लागेको पार्टी पदकै लागि छोड्न नसक्ने बीबीसीलाई बताएका छन्।

केपी ओली र माधव नेपाल

तस्बिर स्रोत, RSS

उनले भने, "म ४० वर्षदेखि लागेको पार्टी हो, पदका लागि छोड्दिनँ। विश्वासको मतको सामना गर्छु। पार्टीको तुलनामा पद गौण कुरा हो। पदलाई अगाडि राखेर आफ्नो पार्टीमाथि बन्चरो चलाउन सकिँदैन।"

उनले आफू अल्पमतमा परेको भन्ने निश्चित नभएको दाबी गरेका छन्।

"अहिलेसम्मको अवस्थामा म सामना गर्छु र मैले जित्छु नै भन्ने लागेको छ र योभन्दा अवस्था तल नझरोस् भन्नेमा मेरो ध्यान केन्द्रित छ," उनले भने।

केही सांसदले दल एउटा रोजे पनि मान्छे अर्को दलको रोज्ने हुनसक्ने भएकाले अहिले नै अल्पमत भन्न नसकिने उनले बताए।

आफू एकीकृत समाजवादीमा जाने भए पहिला नै गइसक्ने दोहोर्‍याउँदै उनले विश्वासको मत पाउने आशा रहेको बताए।

बयानब्बे-सदस्यीय प्रदेशसभामा एमालेका ५१, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका तीन, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक-एक सांसद छन्।

अहिलेसम्म एमालेबाट १० सांसद एकीकृत समाजवादीमा आउने भनेर खुलिसकेका छन्। तर निर्वाचन आयोगले भने अनुसार उनीहरू सनाखतको प्रक्रियामा जान भने बाँकी नै छ।

त्यस्तै वाग्मती प्रदेशमा पनि मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएर माधव नेपालपक्षीय सांसदलाई एमालेमै टिकाउन खोजिएको भनिए पनि त्यसको सम्भावना कम देखिएको बताइन्छ।

शाक्यको ठाउँमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी रहेको विवरणहरू आएका छन्।

'अर्को पार्टीमा गएर पद जोगाउँछु भन्ने एकरत्ती पनि छैन'

मुख्यमन्त्री शाक्यले आचार्यले जस्तै पद छाड्ने तर एमाले पार्टी नछोड्ने अडान राखेकी छन्।

उनले बीबीसीसँग भनिन्, "पार्टी फुटिसकेपछि गाह्रो त हुन्छ त्यसैले साथीहरूसँग कुरा गरिरहेका छौँ। तर अल्पमतमा परेको भन्ने बाहिर आएजस्तो अवस्था छैन।"

वाग्मतीको प्रदेशसभा ११० सदस्य हुने भएकाले सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ।

नेता भीम आचार्य पनि एमाले पार्टी विभाजित हुनुअघि माधव नेपाल निकट नेता भनेर चिनिन्थे

तस्बिर स्रोत, Bhim Acharya/Facebook

तस्बिरको क्याप्शन, भीम आचार्य पनि एमाले पार्टी विभाजित हुनुअघि माधव नेपालसँग निकट मानिन्थे

एमाले फुटेपछि अब एमालेले यसअघि रहँदै आएको एकल बहुमत गुमाएको छ।

नेपालतर्फका सांसदले प्रदेश नम्बर १ मा जस्तै एमाले छोड्ने सम्भावना रहेको भनिएका बेला मुख्यमन्त्री अल्पमतमा पर्ने आकलन गरिएको छ।

प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनाल र अर्का नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोगमा आफूलाई माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्यका रूपमा सनाखत समेत गराएका छन्।

योसँगै अब शाक्यको ठाउँमा एकीकृत समाजवादीका पाण्डेलाई मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी रहेको विवरणहरू पनि आएका छन्।

तर शाक्य भने एक/दुईजना सांसद यताउता हुँदैमा अप्ठ्यारो पर्ने अवस्था नरहेको बताउँछिन्।

उनले भनिन्, "मैले कहिल्यै पदको लागि नैतिकता त्यागेकी छैन। त्यसैले अर्को पार्टीमा गएर पद जोगाउँछु भन्ने एक रत्ती पनि छैन।"

माधव नेपाल

तस्बिर स्रोत, FACEBOOK/ MADHAV NEPAL

निर्वाचन आयोगको म्याद

निर्वाचन आयोगले प्रदेश सांसदहरूलाई दल रोज्न दल दर्ताको निवेदन परेको मितिबाट तीन साताको म्याद दिएको छ।

निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी रोज्न प्रदेशसभा सदस्य र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय दिएको हो।

आयोगले आइतवार प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयहरूलाई परिपत्र गरेर २२ गतेभित्र पार्टी छोड्न चाहने निर्वाचित प्रतिनिधिहरू आफैँ उपस्थित भई सनाखत गराउन निर्देशन दिएको हो।

प्रदेश प्रतिनिधिहरूको सनाखत सकिएपछि प्रदेश नम्बर १ र वाग्मती प्रदेशमा मुख्यमन्त्रीको पद के हुने भन्ने थप स्पष्ट हुने देखिन्छ।