डीआर कङ्गोमा इबोलाविरुद्ध उपचारको परीक्षण आरम्भ

तस्बिर स्रोत, Reuters
अफ्रिकी देश डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा हाल फैलिरहेको घातक इबोला प्रकोपको कारक मानिएको भाइरसको सम्भावित उपचार पद्धतिको परीक्षण सुरु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानम गेहब्रेयससका अनुसार परीक्षणका निम्ति डीआर कङ्गोमा पहिलो बिरामी बिहीवार भर्ना भएका छन्।
पछिल्लो प्रकोपका माझ हालसम्म डीआर कङ्गोमा मात्रै इबोला सङ्क्रमणका १,४०० मामिला देखा परेका छन् भने ४३८ जनाको ज्यान गइसकेको छ।
'औषधोपचार पद्धति'को विकास

तस्बिर स्रोत, EPA
अहिले फैलिएको निकै सङ्क्रामक प्रकारको 'बुन्डिबुग्यो भाइरस'का निम्ति कुनै स्वीकृत खोप वा उपचार उपलब्ध छैन।
हाल सुरु गरिएको परीक्षणलाई डब्ल्यूएचओले प्रायोजन गरेको छ भने त्यसलाई डीआर कङ्गोको स्वास्थ्य अनुसन्धान निकाय तथा बेल्जिअमको इन्स्टिट्यूट अफ ट्रपिकल मेडिसिन र यूकेको अक्स्फर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले समन्वय गरेका छन्।
बिहीवार जिनिभास्थित मुख्यालयमा पत्रकारहरूसँग बोल्दै डब्ल्यूएचओका प्रमुख टेड्रोसले भने, "पहिलो बिरामी भर्ना भएसँगै दुई किसिमको समग्र औषधोपचार पद्धतिको क्लिनिकल परीक्षण आरम्भ भएको छ।"
"कुनै पनि स्वीकृत औषधोपचारबिना नै मानिसहरू यो सङ्क्रमणबाट निको भइरहेका छन्। तथापि सुरक्षित तथा प्रभावकारी उपचार पद्धति उपलब्ध भएमा अरू कैयौँ मानिसको ज्यान जोगाउन हामी सक्ने छौँ।"
नतिजा आउन महिनौँ लाग्न सक्छ
डब्ल्यूएचओका विज्ञहरूका अनुसार यस क्लिनिकल परीक्षणका निम्ति महिनौँ लाग्न सक्छ तथा १,००० भन्दा धेरै बिरामी सहभागी भएमा बल्ल यथार्थपरक निष्कर्ष निस्किन सक्छ।
पछिल्ला विवरणमा डीआर कङ्गोमा बिरामीको सङ्ख्या १,४६० पुगेको छ। त्यहाँ ज्यान गुमाउनेहरू झन्डै ४५० पुगेका छन्। साथै युगान्डामा २० जनालाई सङ्क्रमण भएको पुष्टि भएको छ भने दुई जनाको ज्यान गएको छ। जुलाई १ सम्म आइपुग्दा फ्रान्समा एक जना सङ्क्रमित भएको पुष्टि भयो।
पछिल्लो इबोला प्रकोप डीआर कङ्गो र युगान्डामा मे महिनामा देखा परेको हो।
यसलाई विश्व स्वास्थ्य सङ्गठनले "जनस्वास्थ्य सङ्कटकाल" भनेको छ।
यो सङ्क्रमण शरीरको प्रतिरोध प्रणाली तथा अङ्गहरूमा हमला गर्ने भाइरसका कारण हुन्छ।
सामान्यतया यसले 'फ्रूट ब्याट'लाई सङ्क्रमित तुल्याउँछ तर सङ्क्रमित पशुको सम्पर्कमा पुगेका मानिसहरूमाझ पनि कहिलेकाहीँ सङ्क्रमण सर्छ।
लक्षणहरू देखा परेपछि मात्र मानिसहरूले एकअर्कालाई यो रोग सार्न सक्छन्। लक्षण देखापर्न दुई देखि २१ दिनसम्म लाग्न सक्छ।
ज्वरो आउने, टाउको दुख्ने अनि थकान हुने जस्ता यसका लक्षण फ्लू वा औलो हुँदा जस्तै अचानक देखा पर्छन्।
इबोला भाइरस छ प्रकारका छन्। तीमध्ये तीन वटाले मात्र प्रकोप निम्त्याउने गरेको देखिन्छ। प्रभावकारी हुनका निम्ति प्रजातिपिच्छे फरक खोप आवश्यक पर्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















