न्यायालय विवाद: न्यायाधीशहरू काममा

पराजूली

तस्बिर स्रोत, RSS

Published

न्याय परिषद्ले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई सेवानिवृत्त भएको जानकारी गराएको भोलिपल्ट वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले बिहीवारको पेशी तोकेका छन्।

बिहीवारका लागि तोकिएको इजलासमा मंगलबार र बुधवार इजलास बहिष्कार गर्ने ८ न्यायाधीशलाई पनि मुद्दा हेर्ने जिम्मा दिइएको छ।

सर्वोच्च स्रोतका अनुसार बिहीवार बिहान वरिष्ठतम् न्यायाधीश जोशीले न्यायाधीशहरूलाई फोन गरेर आफूले पेशी तोक्न लागेको जानकारी गराएका थिए।

असहज परिस्थितिमा न्यायाधीशहरूले इजलास बहिष्कार गरे पनि अबको परिस्थितिमा न्यायाधीशहरूले काम गर्ने बताएको ती स्रोतले बीबीसीलाई जानकारी दिए।

सर्वोच्च अदालतले आफ्नो वेबसाइटबाट प्रधानन्यायाधीशको ठाउँमा पराजुलीको नाम हटाएर 'सम्माननीय कायम मुकायम प्रधानन्यायाधीश' भनि जोशीको नाम राखिसकेको छ।

यसैबीच पराजुलीले भने आफूलाई पशेी तोक्नबाट बञ्चित गरिएको विषयमा 'बुझिरहेको' जानकारी दिए।

उनले भने, "मैले निवासबाटै मुद्दाको पेशी तोक्ने गरेको थिएँ, आज त्यसमा मलाई रोक लगाएर त्यसको अधिकार दीपक श्रीमान्‌लाई दिइएको रहेछ। त्यसबारे म बुझ्दैछु।"

बुधवार न्यायपरिष‌द्का सचिव नृपध्वज निरौलाले पराजुलीको उमेर हद गत साउनमै सकिएको भन्दै उनी सेवानिवृत्त भइसकेको बेहोरासहितको पत्र राष्ट्रपति, प्रधानमन्त्री सहितका निकायलाई पठाएका थिए।

विवाद

इजलास बहिष्कार गरेका ८ न्यायाधीशबाहेक पराजुलीले पेशी तोकेकोमा आपत्ती जनाएका न्यायाधीश चोलेन्द्र शमशेर जवरा पनि आजबाट काममा फर्कने बताइएको छ।

अडिओ क्याप्शन सुरु हुँदैछ, प्रधानन्यायाधीश गोपाल पराजुलीद्वारा न्याय परिषदको पत्रलाई चुनौती

'काममा फर्कन्छु'

पराजुलीले बीबीसीलाई बुधवार साँझ दिएको अन्तरर्वार्तामा आफू पदमुक्त नभएको र नियमित रूपमा काममा जाने बताएका थिए।

बिहीवार बिहान उनले आफूले न्याय परिषद्का सचिवको पत्रलाई बदर गराउने प्रयास गरिरहेको र त्यसका लागि न्याय परिषद्को बैठक डाक्न खोजेको बताए।

उनले भने, "यो विषय टुङ्गो लगाएर मात्रै म आज अदालत जान्छु।"