बोलिभियामा फेला परेको वनबिरालोको नयाँ प्रजाति

वनबिरालो

तस्बिर स्रोत, Paola Nogales-Ascarrunz/Julie Van Collie

तस्बिरको क्याप्शन, यस प्रजातिको हालसम्मको एक मात्र ज्ञात जीवित सदस्य यतिबेला बोलिभियाको एउटा वन्यजन्तु उद्धार केन्द्रमा छ
    • Author, हेलेन ब्रिग्स
    • Role, वातावरण संवाददाता
  • Published
  • पढ्ने समय: ५ मिनेट

बोलिभियाको जङ्गलमा भेटिएको एउटा वनबिरालो नयाँ प्रजातिको भएको पुष्टि भएको छ।

घरपालुवा बिरालोको आकारको यो बिरालो अरू वनबिरालोजस्तै होला भन्ने ठानिँदै आएको थियो। त्यसैले गर्दा यो वैज्ञानिकहरूको नजरबाट ओझेलमा परिरहेको थियो।

तर डीएनए अध्ययनले यो बिरालो छुट्टै प्रजातिको रहेको देखाएको छ र यो खोजले संसारका कतिपय दुर्लभ स्तनधारीहरूबारे अझै धेरै कुरा जान्नै बाँकी रहेको दर्शाएको बताइएको छ।

वैज्ञानिकहरूले यो खोजले वनबिरालोको संरक्षणतर्फ ध्यानाकर्षित हुने अपेक्षा गरेका पनि छन्।

दक्षिण र मध्यअमेरिकामा पाइने साना वनबिरालाहरूले सिंह, चितुवा र बाघजस्ता ठूला जनावरका तुलनामा निकै कम ध्यान र चासो पाउने गर्छन्।

'घरपालुवा ठानिएको थियो'

वनबिरालो

तस्बिर स्रोत, Paola Nogales-Ascarrunz/Julie Van Collie

तस्बिरको क्याप्शन, यो बिरालोलाई 'टिग्रिनो' उपनाम दिइएको छ

'टाइगर क्याट' कोस्टारिकादेखि बोलिभिया र अर्जेन्टिनासम्म दक्षिण तथा मध्यअमेरिकाभरि पाइने साना वनबिराला हुन्।

ती एकअर्कासँग निकै मिल्दाजुल्दा देखिन्छन् र विशेषज्ञहरूलाई समेत तिनीहरूबीचको भिन्नता छुट्याउन कठिन हुन सक्छ।

"विश्वका लागि नयाँ प्रजाति भेट्टाउनु अद्भुत परिणाम हो, जुन 'लेपर्डस् टिल्कायो' हो," बोलिभियाको ला पाजस्थित एक विश्वविद्यालयसँग सम्बद्ध वैज्ञानिक पाओला नोगालस आस्कारुन्जले भनिन्।

"अझै पनि नयाँ प्रजातिहरू खोजिनै बाँकी छन् भन्ने कुरा आश्चर्यजनक छ। तिनलाई खोज्न हामी ज्वालामुखी, टापु वा समुद्रको गहिराइमा जानुपर्छ भन्ने छैन।"

काठको ठुटोमा बसिरहेको ओन्सिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ओन्सिला वा 'नोर्दन टाइगर क्याट' पनि हेर्दा उस्तै देखिन्छ

बोलिभियाको एउटा उद्धार केन्द्रमा राखिएको यो बिरालो यस प्रजातिको हालसम्म पुष्टि भएको एक मात्र सदस्य हो। तर वैज्ञानिकहरू यसका अरू सदस्यहरू पनि हुन सक्ने ठान्छन्।

'टिग्रिनो' नाम दिइएको यही १० वर्षको बिरालोले वैज्ञानिकहरूलाई यो खोजतर्फ डोर्‍याएको हो।

उक्त उद्धार केन्द्रमा स्वयंसेवकका रूपमा काम गरिरहेका बेला बोलिभियाली वैज्ञानिक डा नोगालस आस्कारुन्जले यो बिरालो असामान्य देखिएको महसुस गरिन्।

स्थानीय एक व्यक्तिले जङ्गलमा फेला पारेका यो बिरालोलाई सुरुमा घरपालुवा बिरालोको बच्चो ठानिएको थियो। तर उमेर बढ्दै जाँदा यसले घरपालुवा बिरालोजस्तो व्यवहार नदेखाएको स्पष्ट हुँदै गयो।

उनले बोलिभियाको युङ्गास क्षेत्रका बाक्ला जङ्गलहरूमा पनि साना जङ्गली बिराला देखिएका अन्य घटनाहरू पनि सुनेकी थिइन्। तर त्यसबारे वैज्ञानिक अनुसन्धानहरू भएका थिएनन्।

यो रहस्य सुल्झाउन उनले संसारका विभिन्न भागका अन्य अनुसन्धानकर्ताहरूसँग मिलेर 'टाइगर क्याट'हरूको पारिवारिक इतिहास खोतल्न थालिन्। त्यस क्रममा जीवित तथा सङ्ग्रहालयमा सुरक्षित राखिएका नमुनाहरूबाट प्राप्त डीएनए प्रयोग गरियो।

"यसबारे रेकर्ड वा तस्बिरहरू निकै कम थिए, सङ्ग्राहलयमा पनि कुनै नमुना थिएन। कसैले खोजी नगरेकाले यो ओझेलमा परेको थियो," ब्रजिलस्थित पोन्टिफिक क्याथलिक यूनिभर्सिटी अफ रियो ग्रान्डी डू सूलका संरक्षण आनुवंशिकीविद् एडुआर्डो आइजिरिकले भने।

'करेन्ट बायोलजी'मा प्रकाशित अध्ययनले थप आश्चर्यजनक तथ्यहरू उजागर गर्‍यो। त्यसमा उल्लेख गरिएअनुसार 'टाइगर क्याट'का प्रजाति पहिले ठानिए झैँ तीनवटा नभई पाँचवटा हुन सक्छन्। तीमध्ये बोलिभियामा नयाँ प्रजातिका रूपमा भेटिएको 'टिल्काया क्याट' (लेपर्डस टिल्कायो) पनि पर्छ।

'बल्ल पहिलो चरण'

बोलिभियाको जङ्गल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बोलिभियाका घना जङ्गलमा हजारौँ दुर्लभ वनस्पति र जीवजन्तु पाइन्छन्

यद्यपि, उक्त प्रजातिको पहिचान गर्नु केवल पहिलो कदम हो। अब वैज्ञानिकहरूले यी बिराला कहाँकहाँ पाइन्छन्, यसको पर्यावरणकस्तो छ र जङ्गलमा यसले कस्ता खतराहरू सामना गर्छ भन्ने बुझ्न बाँकी छ।

यूकेस्थित अक्सफर्ड विश्वविद्यालय अन्तर्गतको 'वाइल्डलाइफ कन्जर्भेशन रिसर्च यूनिट'की सहअनुसन्धानकर्ता डा क्यारोलीन सार्टोरले यो खोज संरक्षणका दृष्टिकोणबाट महत्त्वपूर्ण भएको बताइन्।उनका अनुसार कुनै प्रजाति के हो वा कहाँ बस्छ भन्ने थाहा नभएसम्म त्यसलाई संरक्षण गर्न सम्भव हुँदैन।

"यी आकारमा घरेलु बिरालाजत्रै छन्। त्यसैले अहिलेसम्म सबैको पहिचान भइसकेको हुनुपर्छ जस्तो लाग्न सक्छ। तर यो खोजले संसारका कम अध्ययन गरिएका केही क्षेत्रमा अझै कति धेरै जैविक विविधता पत्ता लाग्न नै बाँकी छ भन्ने देखाउँछ।"

वन फँडानी, बासस्थानको क्षति र अवैध सिकारका कारण 'टाइगर क्याट'का प्रजातिहरू लोप हुने जोखिममा रहेको ठानिन्छ। यद्यपि हालसम्म गरिएका मूल्याङ्कनहरू मुख्यतः पहिले नै पहिचान गरिएका प्रजातिहरूमा आधारित छन्।

केही अघिसम्म आधिकारिक रूपमा 'टाइगर क्याट'का दुइटा प्रजातिको मात्र पहिचान भएको थियो : नोर्दन टाइगर क्याट वा ओन्सिला (लेपर्डस टिग्रिनस) र सदर्न टाइगर क्याट (लेपर्डस गुटलस)।

त्यसपछि हालै क्लाउडेड टाइगर क्याट (लेपर्डस पर्डिनोइडिज) लाई पनि छुट्टै प्रजातिका मान्यता दिइएको थियो।

हरेक प्रजातिबारे थप जानकारी प्राप्त हुँदा विशेषज्ञहरूले यी बिराला र तिनीहरू बस्ने ठाउँको संरक्षणका लागि थप उत्तम कार्ययोजना बनाउन सक्ने छन्।

'व्यापक प्रभाव पार्न सक्छ'

बिरालो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नयाँ खोजले बिरालोको परिवारमा प्रजातिको सङ्ख्या अझ बढ्न सक्ने देखाउँछ

यो खोजले वैज्ञानिकहरूले विश्वका बिरालो प्रजातिहरूलाई कसरी वर्गीकरण गर्छन् भन्ने विषयमा पनि व्यापक प्रभाव पार्न सक्छ।

जङ्गली र घरपालुवा दुवै बिरालाहरू 'फीलिडे' (Felidae) जैविक परिवारअन्तर्गत पर्छन्। यस परिवारमा साना घरपालुवा बिरालादेखि विशाल बाघसम्मका सबै बिरालो प्रजाति समावेश छन्।

हाल आधिकारिक रूपमा ४१ प्रजातिले मान्यता पाएका छन्। तर नयाँ खोज र 'टाइगर क्याट'का अझै धेरै छुट्टाछुट्टै प्रजाति हुन सक्ने तथ्यले यो सङ्ख्या ४४ वा ४५ पुग्न सक्ने देखाएको छ।

साना जङ्गली बिरालाहरूमाथि गरिने आनुवंशिक अध्ययनले थप जानकारी दिँदै जाँदा संसारमा रहेका बिरालाका प्रजातिको सङ्ख्या अझ बढ्न सक्ने वैज्ञानिकहरूको धारणा छ। ऐतिहासिक रूपमा ठूला र बढी आकर्षक देखिने प्रजातिको तुलनामा साना जङ्गली बिरालाहरूबारे निकै कम वैज्ञानिक अनुसन्धान भएका छन्।

स्कटल्यान्डस्थित 'न्याश्नल म्यूजीअम्स'का स्तनधारी जीव विशेषज्ञ एन्ड्र्यु किचनर 'टाइगर क्याट', 'टिग्रिना' वा 'ओन्सिला' जस्ता विभिन्न नामले चिनिने दक्षिण अमेरिकी साना बिरालाहरू "वर्गीकरणसम्बन्धी जटिल समस्या" जस्तै भएका बताउँछन्।

"यी बिरालाहरूलाई छुट्याउन कठिन हुन्छ किनकि तिनीहरू एकअर्कासँग निकै मिल्दाजुल्दा देखिन्छन् र सङ्ग्रहालयहरूमा पनि तिनीहरूका नमुना थोरै छन्। त्यसैले आनुवंशिक अध्ययनबाट थप प्रजातिहरू पत्ता लाग्दै जाँदा अहिले पनि हामी तिनीहरूलाई कसरी छुट्याउने भन्ने सिकिरहेका छौँ।"

यद्यपि उनी अहिलेको यो अनुसन्धानमा सामेल छैनन्।

"हालैका वर्षहरूमा विस्तृत 'जीनोम सिक्वेन्सिङ' प्रविधिको विकास र जङ्गलबाट निश्चित स्थानका थप नमुना प्राप्त हुन थालेपछि अन्ततः यो वर्गीकरणसम्बन्धी जटिलता सुल्झाउन सम्भव भएको छ।"

"वास्तवमा यो धेरै चरणहरूमध्येको नवीन चरण मात्र हो र भविष्यमा अझ धेरै आश्चर्यजनक तथ्यहरू आउन सक्छन्।"

बेल्जिअमको एन्ट्वर्प विश्वविद्यालयका योनस लेस्कोअर्ट यस अध्ययनले सङ्ग्रहालयको जैविक नमुना सङ्ग्रहको महत्त्व पनि दर्शाएको बताए।

"ती नभएको भए बोलिभियाबाट प्राप्त हाम्रा निष्कर्षहरूलाई सही रूपमा व्याख्या गर्न पर्याप्त जानकारी नहुन सक्थ्यो," उनले भने।

"यो सम्भव भएका कारण नै यी प्राकृतिक इतिहासका सङ्ग्रहहरू सधैँका लागि सुरक्षित राखिएका छन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।