विश्वकप प्रतियोगितामा पहिलोपल्ट पेनाल्टी शुटआउटमा जर्मनी पराजित, 'अनपेक्षित' बहिर्गमन

    • Author, माइकल इमन्स
    • Role, बीबीसी स्पोर्ट पत्रकार
  • Published
  • पढ्ने समय: ३ मिनेट

चार पटकको विश्व विजेता टोली जर्मनी यस पालिको प्रतियोगितामा पाराग्वेसँग पराजित भएपछि 'अनपेक्षित' ढङ्गले बाहिरिएको छ।

थपिएको समयमा समेत दुई टोलीले १-१को बराबरी खेलेपछि पेनाल्टी शुटआउट भएको थियो।

विश्वकप प्रतियोगितामा पहिलोपल्ट जर्मनी पेनाल्टी शुटआउटमा पराजित भएको हो।

कस्तो रह्यो पेनाल्टी शुटआउट?

इङ्गलिश प्रिमिअर लिगको विजेता आर्सनल क्लबका फर्वार्ड काइ ह्याभर्ज र न्यूक्यासलका निक वल्टमेड दुवैले पेनाल्टी शुटआउटमा गोल गर्न सकेनन्।

पाराग्वेका पनि दुई खेलाडीले गोल हान्न नसकेपछि छैटौँ प्रहारमा जर्मनीका जनाथन टाहले पोस्टभन्दा माथि प्रहार गरे तर पाराग्वेका होजे कनालले मौका खेर जान दिएनन्।

यसअघि निर्धारित समयको खेलमा सुरुमा पाराग्वेका जुलियो एन्सिसोले ४२औँ मिनेटमा गोल गरेर अग्रता लिएका थिए।

तर दोस्रो हाफमा जर्मनीले सुधारिएको प्रदर्शन गर्‍यो। खेलको ५४औँ मिनेटमा काइ ह्याभर्जले गोल फर्काए।

पाराग्वेले दह्रो रक्षा गर्दै खेललाई अतिरिक्त समयमा पुर्‍याएको थियो।

अतिरिक्त समयमा पनि बराबरी भएपछि पेनाल्टी शुटआउट भएको थियो। तर शुरुकै प्रहारमा ह्याभर्ज विफल भए।

अब शनिवार हुने अन्तिम १६को खेलमा पाराग्वेले कि फ्रान्स कि स्वीडनसँग खेल्ने छ।

कमजोर ठानिएको टोलीसँग हार

जर्मनीले सन् १९५४, १९७४, १९९० र २०१४ मा विश्वकप प्रतियोगिताको उपाधि जितेको छ।

तर पछिल्ला तीनवटा संस्करणमा ऊ उपाधि जित्न विफल भएको छ।

सन् २०१८ र सन् २०२२ मा दुवैपटक जर्मनी समूह चरणभन्दा माथि उक्लन सकेन।

यसपालि समूह चरणबाट उक्लिएर अन्तिम ३२को नकआउट चरणमा फिफा वरियतामा आफूभन्दा ३१ स्थान तल रहेको पाराग्वेसँग जर्मनी हारेको छ।

समूह चरणमा आफ्नो पहिलो खेलमै पाराग्वे अमेरिकासँग ४-१ ले हारेको थियो। समूह 'डी'मा तेस्रो स्थानमा रहेर पाराग्वे अन्तिम ३२ मा छानिएको थियो।

जर्मनीको निम्ति पहिलोपटक कुनै विश्वकप प्रतियोगितामा पेनाल्टी शुटआउट अफाप सिद्ध भएको छ।

कुनै महत्त्वपूर्ण प्रतियोगितामा यसअघि पेनाल्टी शुटआउटमा जर्मनी हारेको भनेको सन् १९७६ को युरोपेली च्याम्पिअनशिप फाइनलमा चेकोस्लोभाकियासँग थियो।

ब्रजिल विजयी

सोमवार राति भएको अर्को खेलमा ब्रजिलले जापानलाई पराजित गरेको छ।

खेलको ९५औँ मिनेटमा ग्याब्रिअल मार्टिनेलीले गोल गरेपछि जापान २-१ ले पराजित भएको हो।

खेलको पहिलो हाफमा जापानले निकै राम्रो प्रदर्शन गर्दै २९औँ मिनेटमा काइशु सानोले पहिलो गोल गरेका थिए।

तर दोस्रो हाफको ५६औँ मिनेटमा ब्रजिलका क्यासेमिरोले बराबरी गरिदिएका थिए।

ब्रजिलले यसअघि पाँचपटक विश्वकप उपाधि जितिसकेको छ – सन् १९५८, सन् १९६२, सन् १९७०, सन् १९९४ र सन् २००२ मा।

अब अन्तिम १६को चरणमा ब्रजिलले नर्वे र आइभोरी कोस्टबीचको खेलको विजेतासँग खेल्ने छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।