तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'मैले आफूलाई हलुका र खुला महसुस गरेँ': थेरपी गर्न बुढ्यौलीले रोक्दैन
- Author, जुलीया मोन्डेनी
- Published
- पढ्ने समय: ६ मिनेट
कैयौँलाई लाग्छ- थेरपी युवाहरूका लागि हो, तर वृद्धहरूले पनि थेरपीबाट मनोवैज्ञानिक फाइदा लिन सक्छन्।
माउसियो अहिले ७० वर्ष भए। उनले बाल्यकालदेखि रहँदै आएको शारीरिक पीडालाई अझ राम्रोसँग बुझ्ने आशामा हालसालै थेरपी सुरु गरे। उनी सात वर्षको हुँदादेखि नै माइग्रेनबाट पीडित रहँदै आएका छन् र त्यसको कारण के होला भन्ने जान्न चाहन्थे।
विगतका वर्षहरूमा उनले विभिन्न डाक्टरहरूसँग परामर्श गरे र उनीहरूका धेरै विचार सुने। यस्तैमा समस्या पत्ता लगाउने प्रयास स्वरूप उनले थेरपी थालेका थिए। तर उनले कहिल्यै पनि कुनै पनि कारण पत्ता लगाउन नसके पनि खोजी जारी राखे।
"यो खोज्ने प्रक्रिया अर्थपूर्ण बनिदियो, आत्म निरीक्षण गर्ने ठाउँ मिल्यो र त्यसले मलाई जीवन अझै स्पष्ट रूपमा बुझ्न मद्दत गर्यो," माउसियो भन्छन्। (हामीले उनीहरूको गोपनीयता सुरक्षित राख्नका लागि यहाँ थेरपी लिने सेवाग्राहीहरूको थर राखेका छैनौँ।)
७३ वर्षीय एन्टोनियो र उनकी ६८ वर्षे पत्नी जिल्योला आफूहरूबीच वर्षौँदेखि रहँदै आएको अव्यक्त तनाव र असन्तुष्टिपछि सम्बन्ध जोगाउन सकिन्छ कि भन्ने आशामा थेरपीका लागि गए। "केही समयपछि मैले हलुका महसुस गरेँ, अलि खुला महसुस गरेँ," एन्टोनियोले भने।
"आफैँलाई नियाल्नु र कहिल्यै भन्न नसकेको कुरा बाहिर ल्याउनुले सायद हामीलाई मद्दत गर्यो," जिल्योलाले थपिन्।
उनीहरूका भोगाइले एउटा समान धारणालाई चुनौती दिन्छ: त्यो के भने थेरपी भनेको केवल युवाका लागि हो। थुप्रै प्रमाणहरूले वृद्धाहरूले यस्तो खालको सहयोगबाट बढी फाइदा लिन सक्ने सुझाएका छन्।
जीवनको उत्तरार्द्धमा थेरपी
मानसिक रोगको उपचार गर्न र हाम्रो समग्र स्वास्थ्यका लागि थेरपीको आवश्यकता अब राम्रोसँग स्थापित भएको छ। तैपनि यी सेवामा पहुँच वृद्ध मानिसहरूका लागि भने तुलनात्मक रूपमा दुर्लभ नै छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार ७० वर्षमाथिका करिब १४ प्रतिशत मानिसहरू एङ्जाइटी र डिप्रेसनजस्ता मानसिक स्वास्थ्य समस्यासहित बाँचिरहेका छन्। त्यस्तै आत्महत्याका घटनाहरूमा पनि १७ प्रतिशत मानिसहरू यही उमेर समूहभित्रका छन्। सन् २०२४ मा प्रकाशित एउटा अध्ययनले अमेरिकाका ६५ वर्षमाथिका करिब ४ प्रतिशत मानिसहरूले मात्रै मनोवैज्ञानिक थेरपी लिन्छन् जबकि १८ देखि २४ वर्ष उमेरका करिब १२ प्रतिशतले लिन्छन् भने ३५ देखि ६४ वर्षका करिब ८ प्रतिशतले त्यस्तो सेवा लिन्छन्।
नेदरल्यान्डस्को भ्राए युनिभर्सिटी एम्स्टरडममा क्लिनिकल मनोविज्ञानका प्राध्यापक पिम कापर्सका अनुसार वृद्ध हुँदै जाँदा थेरपी कम प्रभावकारी वा उपयोगी हुने भन्ने हुँदैन। "थेरपीले सबै उमेरमा काम गर्छ," उनले भने।
कापर्सले हालै विभिन्न उमेर समूहहरूमा डिप्रेसनको लागि मनोचिकित्साबारे एउटा समीक्षा प्रकाशित गरेका छन्।
"मलाई के कुराले अचम्ममा पार्यो भने ७५ वर्षभन्दा माथिका वृद्ध व्यक्तिहरूमाथि धेरै अनुसन्धान भएका छन् र त्यो उमेर समूहमा मनोचिकित्सा फरक छ भन्ने हामीले कुनै सङ्केत फेला पारेनौँ," उनले भने।
थेरपीले बुढ्यौलीसँगै आउने सामाजिक एक्लोपन, रोग जस्ता कुरासँग जुझ्न सहयोग पुगेको वृद्धहरूले महसुस गर्न सक्छन्।
कैयौँले समग्र जीवन, नयाँ प्रेरणा र बढ्दो सामाजिक सहभागिता महसुस गरेको बताएका छन्।
यसरी थेरपीले पुलको जस्तो काम गर्छ: वृद्धहरूलाई आफैँसँग र बाँकी दुनियाँसँग पुनः जोड्न मद्दत गर्छ।
वृद्ध बिरामीहरू प्राय: थेरपीका लागि अति प्रतिबद्ध हुन्छन् र अर्थपूर्ण परिवर्तनका लागि आवश्यक कामलाई निरन्तरता दिन सक्षम हुन्छन् भन्ने पनि हो।
"हामीलाई कारणहरू थाहा छैन तर हामी कल्पना गर्न सक्छौँ - जब वृद्ध वयस्कहरू मद्दत लिन इच्छुक हुन्छन्, तिनीहरू बढी उत्प्रेरित हुन्छन्," कापर्सले भने।
हेरचाहका लागि अवरोधहरू
आर्थिक कठिनाइहरूले वृद्ध व्यक्तिहरूमा पहिलो स्थानमा थेरपी सुरु गर्ने अन्तरको अंश व्याख्या गर्न मद्दत गर्दछ: उनीहरूको स्वास्थ्य बिमाले थेरपीलाई नसमेट्न सक्छ, र तिनीहरू स्वतन्त्ररूपमा यसका लागि पैसा तिर्न नसक्ने हुन सक्छन्।
थेरपीका विकल्प
थेरपी धेरै फरक रूपहरूमा आउँछ र विभिन्न आवश्यकताहरू अनुरूप हुन सक्छ। केही थेरपी:
- कग्निटिभ विहेभिअरल थेरपी(सीबीटी) ले असहयोगी विचारहरूको पहिचान गर्न र त्यसलाई परिवर्तन गर्ने कुरामा ध्यान दिन्छ
- साइकोडाइनमिक थेरपीले विगतका अनुभवहरूले कसरी अहिलेका भावना र व्यवहारलाई आकार दिएको हुन्छ भन्नेमा जोड दिन्छ
- परिवार थेरपी ती मानिसका लागि हो जसले व्यक्तिमा भन्दा पनि पूरै परिवारको सम्बन्ध र आयामहरूलाई हेर्छ
- समूह थेरपी ले भने उस्तै समस्या देखिएका मानिसहरूलाई आफ्ना अनुभवहरू बाँड्न र आफूलाई अरूले बुझेको र कम एक्लो भएको महसुस गर्ने अवसर दिन्छ
तर स्वास्थ्य सेवा प्रणालीभित्रै अर्को अवरोध उत्पन्न हुन सक्छ। थेरपीको यात्रा प्राय: फिजिसियनले सुझाउने कुरामा भर पर्छ। केही अनुसन्धानहरूले सुझाए अनुसार वृद्ध वयस्कहरू एङ्जाइटी वा डिप्रेसनजस्ता लक्षणहरू देखिए पनि मनोवैज्ञानिक उपचारहरूमा कम जान्छन्। उनीहरूको समस्यालाई उपचार गर्नुपर्ने मानसिक स्वास्थ्य अवस्थाको रूपमा भन्दा बुढ्यौली वा शारीरिक बल कम हुँदै गएको प्राकृतिक प्रतिक्रियाको रूपमा हेरिएको हुन सक्छ।
यस्तो पूर्वाग्रह केही हदसम्म मनोविश्लेषणका संस्थापक सिग्मन्ड फ्रोयडबाट आएको हुनसक्छ जसले थेरपीले ४० वा ५० वर्षपछि काम गर्न छोडेको तर्क गरेको युनिभर्सिटी अफ प्याडुवा इटलीकी प्रयोगात्मक मनोविज्ञानकी वरिष्ठ अनुसन्धानकर्ता प्राध्यापक रोसाना डी बेनीले बताइन्।
सन् १९०५ को अन साइकोथेरपी नामक मनोविश्लेषणको एउटा प्राविधिक अध्ययनमा फ्रोयडले एउटा निश्चित उमेरभन्दा माथि "उपचार निर्भर रहने मानसिक प्रक्रियाहरूको लचिलोपनामा कमी हुने" उल्लेख गरेका छन्।
तर त्यो "पूर्ण रूपमा सत्य नभएको" डे बेनी बताउँछिन्। खासमा, "अध्ययनहरूले ठ्याक्कै त्यसको विपरीत देखाउँछ।"
क्लिनिकमा उनीहरूलाई हेर्ने स्वास्थ्यकर्मीहरूले वृद्ध मानिसलाई उनीहरू जे हुन् त्यही रूपमा हेर्नुपर्ने र उनीहरूलाई सामान्यतः "वृद्ध मानिस" को रूपमा हेर्न नहुने औँल्याउँछिन्। दुर्भाग्य उमेरलाई लिएर हाम्रा पूर्वाग्रहहरू "गहिरो जडको रूपमा" रहेको उनी बताउँछिन्।
केही बुढ्यौलीलाई बिरामी आफैँले आन्तरिक रूपमा लिएको हुन सक्छ। मानसिक स्वास्थ्य समस्याहरू बुढ्यौलीको एउटा सामान्य हिस्सा हो भन्ने विचार जस्ता विश्वासहरूले उपचारको पहुँचमा बाधा पुर्याइरहेका छन्। यो अझै समस्याकारी छ किनभने बुढ्यौलीले केही व्यक्तिलाई एङ्जाइटी र डिप्रेसनतिर लग्न सक्छ।
सत्य के हो भने सकारात्मक परिवर्तन जीवनभरि नै सम्भव हुन्छ।
"बुढ्यौली जीवनको अन्तिमसम्म परिवर्तन भइरहने चरण हो," डे बेनीले भनिन्। "मानिस निरन्तर परिवर्तन, सिक्ने र लचिलोपनको प्रक्रियामा पूर्ण रूपमा आफैँ बन्छन् जुन वास्तवमै कहिल्यै सकिँदैन।"
माउसियो यो भावना निश्चित रूपमा पहिल्याउन सक्छन्।
"मलाई थेरपीले तीन चरणमा मद्दत गर्यो: वैवाहिक रूपमा अलग भएको विषयको सामना गर्नु, बच्चाहरूसँग कुरा नमिलेको विषयमा कुरा गर्नु, र सक्रिय कामकाजी जीवनबाट सेवा निवृत्त हुनुअगाडिको चरणमा अवतरण हुनु जहाँ मैले सामाजिक हुने नयाँ उपायहरू पत्ता लगाउनुपर्थ्यो," माउसियोले भने।"
मैले यी कुनै पनि कुराका लागि धेरै ढिलो हुनसक्छ भनेर कहिल्यै पनि सोचेको थिइनँ।
उनी आफू अन्यका लागि एउटा उदाहरण बन्न सक्ने आशा राख्छन्। "मलाई लाग्छ यसले सानो बिउ रोपेको हुन सक्छ: आज होइन, भोलि होइन, तर सायद त्यसपछि उनीहरूले यो कुरालाई बाहिर ल्याउनेछन् र त्यसलाई मलजल गर्नेछन्," उनी भन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।