'बिहीवारदेखि भारी वर्षा हुने पूर्वानुमान'ले उब्जाएको चिन्ता, के भन्छन् सम्बन्धित निकाय र मौसमविद्?

    • Author, पवनराज पौडेल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

असोज ८ गतेदेखि नेपालका विभिन्न स्थानमा 'भारीदेखि अति भारीसम्म' वर्षा हुन सक्ने प्रक्षेपण कतिपय मौसमविद्ले गरिरहेका बेला मौसम तथा विपद्सम्बन्धी सरकारी निकायका अधिकारीहरूले सम्भावित मौसमी गतिविधिको निगरानी भइरहेको र अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।

मौसमविद्हरूले बङ्गालको खाडीमा विकास हुने क्रममा रहेको एउटा मौसमी अवस्थाको प्रभाव नेपालसम्म आइपुग्ने र त्यो पश्चिमी वायुमण्डलीय प्रणालीसँग मिसिएमा चर्को असर निम्त्याउन सक्ने चेतावनी दिइरहेका छन्।

नेपालले हालै ठूलो प्राकृतिक विपत्तिको सामना गरेको अवस्थामा मौसमविद्हरूको पछिल्लो चेतावनीले सर्वसाधारणमा चिन्ता बढाएको देखिन्छ।

खासगरी, थप वर्षाका कारण स्थानीय खोलानाला तथा नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सम्भावित जोखिमको आकलन र पूर्वतयारीतर्फ चासो बढेको हो।

के भन्छन् मौसम र विपद् निकाय?

सम्भावित मौसमी प्रणालीबारे विभिन्न प्रक्षेपण सार्वजनिक भइरहे तापनि अहिले नै यसको प्रभावबारे निश्चित निष्कर्षमा पुग्न हतार गर्न नहुने जल तथा मौसम विज्ञान विभागका अधिकारीहरू बताउँछन्।

उनीहरूका अनुसार आगामी केही दिनमा उक्त मौसमी अवस्थाको विकासक्रम र यसको सम्भावित 'ट्र्याक' (मार्ग) बारे थप स्पष्ट हुँदै जानेछ।

"बङ्गालको खाडी क्षेत्रमा न्यूनचापीय क्षेत्र विकसित हुने क्रममा रहेको विभिन्न 'वेदर मोडल'हरूले देखाइरहेका छन्। तर हामी यसबारे कुनै निष्कर्षमा पुगिसकेका छैनौँ," जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूती पोखरेलले आइतवार दिउँसो बीबीसीसँग भनिन्।

"वर्षा त हुन्छ नै तर त्यसको मात्रा र प्रभावबारे अहिले नै ठोस प्रक्षेपण गर्नु हतारो हुन्छ र समय बाँकी नै रहेकाले धेरै डराइहाल्नुपर्ने स्थिति छैन।"

त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले सम्भावित जोखिमको सूक्ष्म अध्ययन भइरहेको र अवस्था विकसित हुँदै जाँदा आवश्यक पूर्वतयारी तथा प्रतिकार्यका कदमबारे निर्णय लिइने बताएका छन्।

"हामी जल तथा मौसम विज्ञान विभागसँग निरन्तर छलफलमा छौँ र उक्त मौसमी प्रणालीलाई 'ट्र्याक' पनि गरिरहेका छौँ। सोमवार दिउँसो त्यसबारे हाम्रो पहिलो आधिकारिक धारणा सार्वजनिक गर्छौँ," प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीले आइतवार दिउँसो बीबीसीसँग भने।

मौसमविद्को भनाइ

मौसमविद्हरूले आउँदो बिहीवारउताका केही दिनमा गण्डकी प्रदेशको पश्चिमतर्फका भागसहितका क्षेत्रमा ठूलो वर्षा हुन सक्ने अनुमान गरेका हुन्।

उनीहरूका अनुसार बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय क्षेत्र थप सशक्त हुँदै गएमा त्यसले चक्रवातको रूप लिन सक्ने सम्भावना रहन्छ।

नेपालसम्मै चक्रवात नआए पनि त्यसको प्रभाव भने आइपुग्ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग मिसिएमा चर्को वर्षा गराउन सक्ने पूर्वानुमान गरिएको हो।

"सुदूरपश्चिमका केही स्थानबाहेक धेरै ठाउँमा राम्रै वर्षा हुने म देख्छु। सबै ठाउँमा यसको प्रभाव समान हुँदैन, तर कुनै स्थानविशेषमा भारीदेखि अति भारीसम्म वर्षा हुन सक्छ," त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले भने।

जल तथा मौसम विज्ञान विभागले दैनिक वर्षाको मात्रालाई २५ मिलिमिटर (मिमि)भन्दा कम भए हलुका, २५ देखि ५० मिमिसम्म मध्यम, ५० देखि १०० मिमिसम्म भारी, १०० देखि २०० मिमिसम्म धेरै भारी र २०० मिमिभन्दा बढी भए अति भारी वर्षाका रूपमा वर्गीकरण गरेको छ।

"चक्रवातका विभिन्न चरण हुन्छन्। अहिले हामी पूर्वविकसित अवस्थामा छौँ। त्यसपछि विकसित हुँदै अवसानको चरणमा पुग्छ," त्रिविका सिग्देलले भने, "हाल यसको 'ट्र्याक' नेपालका पूर्वदेखि मध्य हुँदै पश्चिमसम्म देखिएको छ।"

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूती पोखरेल भने 'ट्र्याक' देखिएको तर त्यसको प्रभावबारे बारे निष्कर्षमा पुग्न अझै केही समय कुर्नुपर्ने बताउँछिन्।

"'ट्र्याक' देखिइसकेपछि हामीले वास्ता नगर्ने भन्ने हुँदैन, त्यसलाई गम्भीरताका साथ लिन्छौँ नै। तर 'ट्र्याक'हरू बदलिरहन्छन्। कहिलेकाहीँ पछि गएर ती कमजोर भएका र कहिलेकाहीँ तीव्र पनि भएका छन्। त्यसैले हामी अहिले सबैतिरबाट अद्यावधिक हुने चरणमा छौँ," उनले भनिन्।

त्रिविका सिग्देल पनि केही दिनको समय बाँकी रहेकाले अहिले देखिएको उक्त 'ट्र्याक' परिवर्तन हुन सक्नेमा सहमत छन्।

जोखिम

मौसमविद्हरूका अनुसार अहिलेको परिस्थितिमा २४ घण्टामा १०० मिलिमिटर मात्रै वर्षा भए पनि बाढी र पहिरोको जोखिम बढ्न सक्छ।

"किनभने जमिनको ओसको मात्रा माथि आइसकेको छ र अबचाहिँ डिस्चार्ज अलिक कम हुन्छ। त्यसले गर्दा खोलानाला बढ्न सक्ने र बाढीपहिरोको जोखिम हुन्छ," त्रिविका सिग्देलले भने।

"चाडबाडको समय पनि आइसकेको हुनाले यस्तो बेला सही सूचना लिएर मात्रै यात्रा आदि गर्नु राम्रो हुन्छ। नेपालका कतिपय ठाउँमा अहिले नै बाढीपहिरोको समस्या रहेकाले थप वर्षा हुँदा जोखिम बढ्न सक्ने अवस्था छ। त्यसैले सावधानी अपनाइयो भने क्षति न्यूनीकरण गर्न सकिन्छ," उनले भने।

गत वर्ष पनि बङ्गालको खाडीमा विकसित 'मोन्था' चक्रवातले नेपालका कतिपय क्षेत्रमा चर्को वर्षा र बाढीपहिरोको अवस्था निम्त्याएको थियो।

सतर्कता

मौसम विभागकी पोखरेलले सम्भावित प्रतिकूल मौसमी स्थितिबारे मानिसहरूलाई कसरी सजग र सतर्क गराउने भन्ने विषयमा आफूहरू विपद् प्राधिकरणसँग छलफलमा रहेको बताइन्।

"तर अहिले नै यसो गर्ने भन्ने ठाउँमा पुगिसकेका छैनौँ। केही समय बाँकी रहेकाले आवश्यकता अनुसारका उपायहरू अपनाउँछौँ," उनले भनिन्।

प्राधिकरणका उप्रेतीले पनि सर्वसाधारणमा अनावश्यक भयको अवस्था सिर्जना नहोस् भन्नेमा ध्यान दिँदै राज्य संयन्त्रले आवश्यक तयारी गरिरहेको बताए।

"अहिले हामी त्यसको तह कस्तो हुन सक्छ, खेतीपातीमा कस्तो असर पार्न सक्छ भन्नेलगायतका विषयबारे विश्लेषण गरिरहेका छौँ," उनले भने।

"त्यसबाहेक, भारतबाट यसपालिको मनसुन फर्किने क्रममा रहेकाले त्यसले प्रणालीलाई पश्चिमतिर जान दिन्छ कि दिँदैन भन्ने विषयमा पनि हामी सचेत भएर हेरिरहेका छौँ।"

प्राधिकरण प्रमुख उप्रेतीका अनुसार सम्भावित प्रभावको आकलनपछि सोमवार सतर्कताको सन्देश पनि जारी गर्न सकिनेछ।

"हामी अहिले एउटै आयाममा मात्र नभई सम्भावित स्थितिलाई बहुपक्षीय रूपमा अध्ययन गरिरहेका छौँ। राज्यले सूचना दिइसकेपछि गलत नहोस् भन्ने हिसाबले सोमवार मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने भनेका हौँ।"

उनले मौसमसम्बन्धी सूचनाका लागि नियमित रूपमा अद्यावधिक भइरहन आमनागरिकलाई आग्रह पनि गरे। जल तथा मौसम विज्ञान विभागले यससम्बन्धी सूचनाहरू नियमित रूपमा जारी गर्ने गर्छ।

त्यस्तै, आवश्यक ठानेमा विभाग र विपद् प्राधिकरणले 'एसएमएस अलर्ट'लगायतका सूचना तथा सचेतनामूलक उपायहरू पनि अपनाउने गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।