रुस: एउटा भेटवार्तापछि वाग्नरले त्याग्यो विद्रोह, समूहका प्रमुखलाई देश बाहिर पठाइँदै

येभ्गेनी प्रिगोजिन

तस्बिर स्रोत, Reuters

Published

रुसमा भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहले विद्रोहको प्रयास गरेको २४ घण्टाभन्दा कम समयमै महत्त्वपूर्ण ठानिएको रोस्तोभ-अन-डनका सहर छोड्न थालेको छ।

यसअघि समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले आफ्ना लडाकुहरूलाई रक्तपातबाट बच्नका लागि युक्रेन फर्कन आह्वान गरेका थिए।

उनी अहिले छिमेकी राष्ट्र बेलारुस गइरहेको बताइएको छ। रुसी सञ्चारमाध्यमहरूमा सार्वजनिक विवरणका अनुसार अब उनी र उनका सेनाहरू विरुद्ध लगाइएको आरोप हटाइने छ।

यसले रुसमा एक अराजक तथा असाधारण दिनको अन्त्य भएको सङ्केत गर्छ।

वाग्नर समूह रुसको सरकारी सेनासँग मिलेर युक्रेनमा लडिरहेको निजी सेना हो।

हालैका महिनाहरूमा प्रिगोजिनले रुसको सैन्य नेतृत्वको खरो आलोचना सुरु गरेपछि उनीहरूबीच युद्ध लड्ने शैलीलाई लिएर तनाव बढिरहेको थियो।

शनिवार वाग्नरका सैनिकहरू युद्धरत युक्रेनस्थित आफ्नो क्षेत्रबाट रुसको सीमाभित्र फर्किएर दक्षिणी सहर रोस्तोभ-अन-डनमा प्रवेश गरेपछि तनाव चुलिएको हो।

घटनाक्रम तीव्र गतिमा अगाडि बढ्यो र उनीहरूले मस्कोतर्फ जाँदा उत्तरमा पर्ने भोरोनेज सहरको सैन्य संरचनाहरू पनि नियन्त्रणमा लिए।

रातो धर्सा
रातो धर्सा

क्रेमलिनलाई राजधानी मस्कोसहित थुप्रै स्थानहरूमा सुरक्षा कडा बनाउन दबाब दिँदै भाडाका लडाकुहरू राजधानीतर्फ अघि बढेका थिए। त्यतिबेला त्यहाँका मेयरले आम नागरिकलाई यात्रा नगर्न आह्वान गरेका थिए।

आवश्यक परेको खण्डमा वाग्नर लडाकुहरू विरुद्ध लड्न हजारौँ कुलीन चेचेन सेनाहरू मस्कोतर्फ लागेको चेतावनीहरू समेत दिइएको थियो।

प्रतिक्रिया स्वरूप राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई "धोखा" दिन खोज्नेहरूलाई सजाय दिने वाचा गरेका थिए।

रुसी टिभी च्यानल रोजिया ट्वाइन्टीफोरका अनुसार बेलारुसी नेता अलेक्ज्याण्डर लुकाशेन्को र प्रिगोजिनको भेटवार्तापछि शनिवार साँझ अचानक परिस्थिति स्थिर बनाउने सहमति भएको थियो।

समर्थकसँग हात मिलाउँदै वाग्नर प्रमुख

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, समर्थकसँग हात मिलाउँदै वाग्नर प्रमुख

केही घण्टापछि वाग्नर सेनाले रोस्तोभ छोडिरहेको र समर्थकहरूले उनीहरूका नेताको जयजयकार गर्दै हात मिलाउन कोसिस गरिरहेको देखिने भिडिओ सार्वजनिक भयो।

एक दिनको घटनाक्रमलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले "पूर्ण अराजकता"को सङ्ज्ञा दिए।

"क्रेमलिनका ती मानिस स्पष्ट रूपमा धेरै डराएका छन् र सम्भवतः कसैले नदेखुन् भन्ने हेतुले कतै लुकेका छन्। उनी अब मस्कोमा छैन भन्ने कुरामा म ढुक्क छु," उनले एक विज्ञप्तिमा भनेका छन्।

"उनी स्वयंले यो खतरा निम्त्याएले आफू केसँग डराएको हो उनसलाई थाहा छ। खराबी, नोक्सानी र घृणा सबै उनैले फैलाएका हुन्।"

फ्लाइट ट्र्याकिङले शनिवार राष्ट्रपतिका दुई विमानहरूले सहर छोडेको देखाएपछि पुटिन मस्कोबाट भागेको अफवाह फैलिएको थियो।

यद्यपि उनका प्रेस सचिव दिमित्री पेस्कोभले राष्ट्रपति क्रेमलिनमै रहेको बताएका छन्।

उनले प्रिगोजिनको पक्राउ पुर्जी हटाइने र उनी र उनका सेनाहरू विरुद्धको फौजदारी मुद्दा बन्द गरिने बताए।

रुसी रक्षा मन्त्रालयसँग सम्झौतामा हस्ताक्षर गर्न चाहने वाग्नर भाडाका सैनिकहरूले अझै पनि त्यसो गर्न सक्ने दिमित्रीले बताए।