कहिलेसम्मको लाइसेन्स छापियो, अब सजिलो गरी कसरी लिने?

यातायातमा लाइन

तस्बिर स्रोत, SHARAD KC/BBC

Published
पढ्ने समय: ४ मिनेट

यातायात व्यवस्था कार्यालय, नेपालगञ्जले असार ५ गते शुक्रवार एउटा सूचना जारी गर्दै यसै वर्षको वैशाख ९ गतेदेखि जेठ २७ गतेसम्मका लाइसन्समात्र कार्यालयमा प्राप्त भएको सेवाग्राहीलाई सूचित गरेको छ।

उक्त सूचनाअनुसार झन्डै साढे २ वर्षभन्दा पुराना लाइसन्सहरू उक्त कार्यालयले अझै पाइसकेको छैन।

सूचनामा "यस कार्यालयमा सन् २०२३ अगस्तदेखि सन् २०२६ अप्रिल १९ तारिखसम्म सवारी चालक अनुमति पत्रको राजस्व बुझाएका सेवाग्राहीहरूको लाइसन्स हाल सम्म यस कार्यालयमा प्राप्त नभइसकेको…" उल्लेख छ।

अनलाइनमा जाँच गर्दा लाइसन्स छापिइसकेको देखाउने तर कार्यालय पुग्दा निराश भएर फर्किनु परेको सेवाग्राहीहरूले गुनासो गरेको सामाजिक सञ्जालमा देखिन्छ।

यातायात व्यवस्था कार्यालय, नेपालगञ्जको अवस्था पनि त्यस्तै रहेको स्वीकार गर्छन् सूचना अधिकारी विश्वलाल खड्का।

"प्रिन्ट भएको देखाउँछ तर हाम्रो कार्यालयसम्म पुगिसकेको छैन। नछापिएकाले नआइपुगेको होला। पठाउन तयारी राखिएका लाइसन्स जलेको भन्ने छ," खड्काले भने, "त्यसैले हाम्रो कार्यालयमा लाइसन्स लिन आउनेको भिडभाड पनि छैन।"

यातायात व्यवस्था विभागले असार मसान्तसम्ममा चिट बोकेर हिँड्नु नपर्ने घोषणा गरेको छ।

सबै छापेर सकिन्छ?

लाइसन्स जाँच

तस्बिर स्रोत, Getty Images

झन्डै ३ वर्ष पुराना लाइसन्स नछापिएको अवस्थामा त्यो लक्ष्य कसरी पूरा होला?

विभागका महानिर्देशक, सूचना अधिकारी र सहायक सूचना अधिकारी कोही पनि सम्पर्कमा आएनन्।

अहिले सुरक्षण मुद्रण केन्द्रले दिएको जानकारी अनुसार अहिले उसको प्रेसमा हेटौडा, नेपालगञ्ज र विराटनगर कार्यालयमा राजश्व बुझाइएका लाइसन्सहरू छपाइ भइरहेका छन्।

सुरक्षण मुद्रण केन्द्रका कम्प्युटर इञ्जिनियर बिशाल कटुवालका अनुसार दुई चरणमा गरेर विभागसँग २९ लाख लाइसन्स छाप्ने भएको सम्झौता भएकोमा अब करिब ७ लाख मात्र छाप्न बाँकी छन्।

"एक वर्षभन्दा कम म्याद बाँकी रहेका लाइसन्सहरू के गर्ने भन्ने निर्णय हुन बाँकी छ," आवश्यकताअनुसार दैनिक ४० देखि ६० हजार लाइसन्स छपाइ भइरहेको जानकारी दिँदै उनले भने, "अबको २ हप्तासम्ममा करिब सबै लाइसन्स छापेर सकिन्छ, साउन महिनाबाट 'चिर्कटो' बोक्न नपर्ने पूर्वघोषणा कार्यान्वयन हुन्छ।"

यातायात व्यवस्था विभागले कार्तिक १२ गते केन्द्रसँग पहिलो सम्झौता गर्दै १२ लाख लाइसन्स छाप्ने जिम्मेवारी दिएको हो। त्यसपछि थप १७ लाख लाइसन्स छाप्ने दोस्रो सम्झौता वैशाख ४ गते भएको थियो।

ट्रायल सेन्टर

तस्बिर स्रोत, Facebook / Vehicle Academy and Research Centre

प्राथमिकताअनुसार छपाइ

लाइसन्स लिने तरिका

सुरक्षण मुद्रण केन्द्रका कम्प्युटर इञ्जिनियर बिशाल कटुवालका अनुसार वैदेशिक रोजगारीमा जाने कामदार तथा वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुको आवेदनलाई "अत्यावश्यक" प्राथमिकता अनुसार तत्कालै छाप्ने गरेको छ।

वर्षौदेखि नछापिएकालाई "ब्याकलग" र दैनिक नविकरण वा नयाँ लाइसन्स परिक्षा पास गरेर राजश्व तिर्नेहरूलाई "दैनिक" प्रिन्टको प्राथमिकतामा राखेर छाप्न गरिएको उनले बताए।

"दैनिक प्रिन्टको प्राथमिकतामा छापिने लाइसन्स २४ घन्टाभित्र विभागलाई बुझाउने गरेका छौँ," कटुवालले भने, "तर वितरणमा लाग्ने समय विभागबाट कार्यालयहरूमा पुर्‍याउने तालिका र प्रक्रियामा भर पर्छ। तर सामान्यतया राजश्व तिरेको ३-४ दिनमा सेवाग्राहीको हातमा पुग्ने गरेको हुनुपर्छ।"

तर सन् २०२२ मा राजश्व तिरेका अधिकांश सेवाग्राहीका लाइसन्सहरू अझै नछापिएको र त्यसबारे निर्णय हुन बाँकी रहेको जानकारहरू बताउँछन्।

"त्यस अवधिको लाइसन्सको म्याद एक वर्षभन्दा कम बाँकी भएकाले नछाप्ने कि भनेर प्राथमिकतामा राखिएको थिएन," एकजना अधिकारीले भने, "त्यसबारे मन्त्रालयमा छलफल जारी छ, उनीहरूलाई क्यूआर कोड दिने कि छापेरै दिने भन्ने निर्णय एक-दुई दिनमै हुन्छ होला।"

पहिले छाप्नै सकस अहिले बाँड्ने चुनौती

यातायातमा लाइन

तस्बिर स्रोत, SHARAD KC/BBC

काठमाण्डू उपत्यका लगायत देशका विभिन्न यातायात कार्यालयहरूमा छापिएको लाइसन्स लिने सेवाग्राहीको भीडभाड निकै बढेके सेवाग्राहीले सास्ती र कर्मचारीले व्यवस्थापनको चुनौती बेहोरिरहेको खबरहरू आएका आइरहेका छन्।

विभिन्न कार्यालयमा सार्वजनिक गरिएको तालिकाअनुसार लाइसन्स लिन जान सूचना जारी गरेका छन्।

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, एकान्तकुना ललितपुरका प्रमुख केशवकुमार जिएमले आफ्नो कार्यालयमा ४ लाख लाइसन्स छापिएर पुगिसकेको जानकारी दिए।

त्यो जानकारी पाएका सेवाग्राहीको अचानक भिड लाग्न थाल्यो। "सुरुको ४-५ दिन त अतिनै भिड भयो। हामी कार्यालयभित्र छिर्न नसक्ने, भित्रबाट बाहिर निस्किन नसक्ने अवस्था आएको थियो," उनले सुनाए, "अहिले त धेरै नै सामान्य भइसकेको छ। दैनिक ४-५ हजार लाइसन्स बाँडिरहेका छौँ।"

करिब ३० जना कर्मचारी ७ वटा कोठाका १८-१९ वटा झ्यालबाट लाइसन्स बाँड्न खटिएको उनले जनाए।

भिडभाड बढेपछि अनलाइनमा घरबाटै फारम भरेर कति नम्बर कोठामा लाइसन्स लिन जाने भन्ने सूचना सेवाग्राहीले पाउने प्रबन्ध मिलाइएको कार्यालय प्रमुख जिएमले जानकारी दिए।

"त्यस अनुसारको जानकारी लिएर सेवाग्राही पुग्छन् र लाइसन्स दिन सजिलो भएको छ, गत बुधवार जुन १७ तारिखमा राजश्व बुझाएकाहरूको लाइसन्स शुक्रवार १९ तारिखमा कार्यालय पुगिसकेको थियो," उनले भने, "एक वर्षभन्दा कम म्याद भएका बाहेक सबै लाइसन्स हाम्रो कार्यालयमा आइसकेका छन्। सन् २०२२ मा नवीकरण गरेका धेरै लाइसन्सको म्याद एक वर्षभन्दा कम बाँकी रहेकाले ती आएका छैनन्।"

विभिन्न कार्यालयले हरेक लाइसन्स स्क्यान गर्नु पर्ने भएकाले त्यो जाँच गर्दा वितरणको निम्ति करिब दुई हप्तासम्म लागेको बताइन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।