पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा 'उच्च सहुलियत' हुँदा पनि किन उडान भैरहेको छैन?

भैरहवा विमानस्थल

तस्बिर स्रोत, Bhairahawa Immigration Office

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

सरकारले मन्त्रिपरिषद् बैठकमार्फत् भैरहवा र पोखराबाट नियमित उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई २०८५ सालको भदौ मसान्तसम्मका लागि विमानस्थलमा 'पार्किङ', 'ल्यान्डिङ' र 'नेभिगेसन' शुल्कमा पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।

गत बुधवारको उक्त निर्णयमा 'ग्राउन्ड ह्यान्डलिङ'मा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने समेत भनिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले त्यस्तो सहुलियतले लामो समयको उडान योजनामा काम गर्ने विमान सेवाका लागि कम्तीमा २० प्रतिशत खर्च बचत हुने बताउँछन्।

"उडानमा इन्धन खर्चपछिका ठूलो बचत हुने क्षेत्रहरू हुन् यी। त्यसले विमान कम्पनीहरूको समग्र सञ्चालन खर्च २० प्रतिशतभन्दा बढिले घटाउँछ," प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले बीबीसीसँग भने।

विगतमा समेत दिइएको उस्तैखाले सहुलियतलाई थप समयका लागि निरन्तरता दिइएको हो।

पोखरा विमानस्थलमा असोजदेखि फ्लाई दुबईले नियमित उडान सुरु गर्ने बताएको छ। भैरहवामा बारम्बार सञ्चालन हुँदै र रोकिँदै आएका विभिन्न विमान सेवाका उडान यतिखेर ठप्प भएको अवस्था छ।

विगतमा ती दुवै अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएका उडानमा 'यात्रु अभाव' नै मुख्य समस्याका रूपमा विमान कम्पनीहरूले औँल्याएको अधिकारीहरू बताउँछन्।

"जुनसुकै विमान कम्पनीले कुनै गन्तव्यमा उडान गर्ने-नगर्ने भन्ने कुरा नितान्त त्यहाँ उसले पर्याप्त यात्रु वा कार्गो भार पाउँछ पाउँदैन भन्नेमा निर्भर रहन्छ," प्रवक्ता गौतम भन्छन्। "त्यो नितान्त व्यावसायिक विषय हो। कसैलाई करकाप गर्ने भन्ने हुँदैन।"

यात्रु कम, विमान पनि कम

महँगो विदेशी ऋण लिएर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालन सुरु भए तापनि काठमाण्डूबाहिरका दुईवटै विमानस्थलहरू भरपर्दो रूपबाट अन्तर्राष्ट्रिय गन्तव्यसँग जोडिन सकिरहेका छैनन्।

बाह्य विमान सेवा जत्तिकै आन्तरिक विमान सेवामा समेत व्यावसायिक रूपमा राजधानी बाहिरबाट उडान गर्ने आत्मविश्वास नआएको देखिन्छ।

राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्सले यसअघि केही समय भैरहवा हुँदै मलेसिया उडान गरेको थियो।

"त्यतिखेर त्यहाँ खासै उत्साहजनक रूपमा यात्रुको प्रवाह देखिएन," नेपाल एअरलाइन्सकी प्रवक्ता अर्चना खड्काले भनिन्। "तर पनि मुख्य कुरा हामीसँग रहेका सीमित जहाज सङ्ख्या मुख्य चुनौतिका रूपमा छ।"

हुन त काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत सम्भार हुँदा त्यहाँको सञ्चालन अवधि साँघुरो पारिएपछि धेरै उडानहरू हुनेमध्येका केहीलाई भैरहवातर्फ मोडिने क्रममा केही त्यहाँ 'कनेक्ट' हुनै पर्ने बाध्यता अन्तर्गत भए तापनि ती त्यहाँ निरन्तर रहेनन्।

पोखरा विमानस्थल

तस्बिर स्रोत, Pradeep Bashyal/BBC

उनले भविष्यमा काठमाण्डूबाहिरबाट उडान गराउनेबारे योजना गर्न सकिने सम्भावना रहे तापनि "हाललाई त्यो कठिन" देख्छिन्।

"यतिखेर हामीसँग भएकै रुटमा विमान पुर्‍याउन सकिराखिएको छैन। त्यसैले पोखरा र भैरहवामा आधारित भएर उडान गर्न यतिखेर गाह्रै छ।"

पोखराबाट यसअघि हिमालय एअरलाइन्सले केही महिना सातामा एक दिन पोखरा-ल्हासा उडान गरे तापनि त्यो लामो समय निरन्तर हुन सकेन। त्यसबाहेक पोखरामा छिटपुट रूपमा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरू हुँदै आएका छन्।

चीनको छेन्दुबाट समेत सिचुवान एअरलाइन्सका कैयौँ चार्टर्ड उडानहरू भएका थिए। भुटानबाट पनि त्यस्ता उडानहरू भए।

कुनै बेला फ्लाई दुबईले भैरहवाबाट आफ्नो उडान गरेको थियो। पछिल्लो समय त्यो सञ्चालनमा छैन।

भैरहवा विमानस्थलबाट यूएईको फ्लाई दुबईबाहेक कुवेतको जजीरा एयरवेज र थाईल्यान्डको थाई एअर एसिया, कतार एअरवेजले समेत उडान गरेका थिए।

उडान अनुमति र रुट विषय

भैरहवा विमानस्थल

तस्बिर स्रोत, RSS

ती दुवै विमानस्थल भारतसँग जोडिँदाका हकमा ती लाभदायी हुने भनिए तापनि भैरहवा र पोखरा भारतीय सहरहरूसँग नियमित उडानमा जोडिन सकेका छैनन्। यद्यपि तिनमा केही चार्टर्ड उडानहरू चाहिँ भएका छन्।

त्यसका लागि उडान अनुमति र एअर रुटका विषय सबैभन्दा पेचिलो रहेको बताइने गरेको छ।

प्रचलित हवाई मार्गका हिसाबले दिल्लीबाट भैरहवा आउने विमानहरू समेत घुमाउरो बाटो भएर सिमराको रुट हुँदै नेपाल आउनुपर्ने भएकाले खर्चिलो हुने बताइन्छ। त्यस अनुकूलको छोटो हवाई मार्गका लागि सम्झौता हुन सकेको छैन।

छिटै हुन लागेको भनिएको दुई देशका हवाई नियामकहरूको द्विपक्षीय वार्तामा 'रुट'को विषयमा पनि छलफल हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखाकी वरिष्ठ डिभिजनल इञ्जिनियअर (एरो) तनुजा पोखरेल बताउँछिन्।

त्यसबाहेक उनले यसबीचमा कैयौँ पक्षहरूले रुचि देखाउँदै व्यवसायको मूल्याङ्कन गरेर आएकाले अहिलेको परिस्थिति केही फरक रहेको पोखरेल बताउँछिन्।

"प्राविधिक रूपमा केही समस्या छैन, आर्थिक रूपमा अब विशुद्ध कम्पनीहरूले मूल्याङ्कन गर्ने कुरा रह्यो," उनी भन्छिन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरू भारतसँग के-कसरी जोडिने भन्ने कुरा 'कूटनीतिक विषय' रहेको भन्दै त्यसको समाधान अरू तरिकाबाट सम्भव नहुने बताउँछन्।

भारत रुटमा निराशा

एक भारतीय विमान सेवा

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

नेपालको निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एअरले पोखराबाट भारतका विभिन्न सहरहरूमा नियमित उडान गर्ने इच्छा राखे पनि त्यो कार्यान्वयनका चरणमा पुग्न सकेको देखिँदैन।

काठमाण्डूबाट भारतको बनारस र कोलकातामा नियमित उडान गर्दै आएको उक्त निजी कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनकै बेलादेखि भारत उडानको अनुमति मागेको थियो।

"अब त हामीले त्यसलाई पछ्याउनै छाडिसक्यौँ। अनुमति हुँदाका हकमा पोखरा र आसपासका मुक्तिनाथ, मनकामनाजस्ता गन्तव्य भारतीय पर्यटकका लागि लोकप्रिय छन्," बुद्ध एअरका एक अधिकारीले भने।

नेपालको यति समूह र तिब्बत एअरलाइन्सको साझेदारीमा सञ्चालनमा रहेको हिमालय एअरलाइन्सले हालसम्म भारतमा उडान अनुमति नै पाएको छैन।

"हाम्रो हवाई सेवा सम्झौता (एएसए)ले पोखराबाट पनि नेपाल एअरलाइन्सलाई भारत उडान गर्न त समस्या छैन। तर विमान सङ्ख्या समस्या हो," एनएसीकी प्रवक्ता अर्चना खड्का भन्छिन्।

नेपाल एअरलाइन्सले काठमाण्डूबाट भने भारतका विभिन्न सहरमा नियमित उडान गर्दै आएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।