सुनसरीमा कसरी फैलियो अशान्ति, साम्प्रदायिक तनावको जरो कहाँ छ

तस्बिर स्रोत, Jugesh Babu
- Author, पवनराज पौडेल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
सुनसरीको देवानगन्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतवार राति दुई धर्मप्रति आस्थावान् युवाहरूबीच तनाव उत्पन्न भयो। प्रहरीले झडप नियन्त्रणमा लिने क्रममा कम्तीमा एक जनाको मृत्यु भयो भने केही व्यक्ति घाइते हुन पुगेको अधिकारीहरूले बताएका छन्।
घटनापछि स्थानीय प्रशासनले शान्तिसुरक्षा कायम गर्न भन्दै सोमवार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ। तर कर्फ्यूका बीच पनि प्रदर्शन भइरहेका विवरणहरू आएका छन्।
उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले एउटा छानबिन समिति बनाएको अधिकारीहरूले बताएका छन्।
सुनसरीका प्रमुख जिल्ला अधिकारीले बिहान ०७:०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ बमोजिम सुनसरी जिल्लाका विभिन्न स्थानमा चार किल्ला तोकी सर्वसाधारण मानिसलाई आवतजावत गर्न,कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेका थिए।
तर स्थिति मत्थर नभएपछि प्रहरीबाहेक नेपाली सेनाका जवानहरूले पनि गस्ती गर्न थालेका छन्।
कसरी सुरु भयो तनाव

हालैका दिनहरूमा यस्ता घटना देखा परेको यो नै पहिलो भने होइन। केही समयअघि पर्सा, रौतहट र धनुषासहितका ठाउँमा यस्तै साम्प्रदायिक प्रकृतिको तनाव देखा परेको थियो।
सुनसरीको घटनामा सोमवारका निम्ति बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोलनजिकै बिजुलीका पोलमा झण्डा हाल्ने र चर्को आवाजमा 'डीजे' बजाएपछि तनाव सुरु भएको बताइन्छ।
"त्यहीँ कप्तानगन्जमै [मुस्लिम बस्तीनजिकै] शिवालय छ। त्यहीँको घटना हो," सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले बीबीसीसँग भने। "झण्डा र 'डीजे' दुवैका कारण तनाव सुरु भएको भनिएको छ।"
तराई-मधेशका विभिन्न स्थानमा यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि कतिपय विश्लेषकहरू भने त्यसको जरा पहिल्याएर समाधान खोजिनुपर्ने धारणा राख्छन्।
"जरोमा नजाने हो भने अहिले एकठाउँमा एकछिन साम्य हुन्छ, भोलि अर्को स्थानमा अर्को रूपमा प्रकट हुन्छ," वीरगन्ज क्याम्पसमा अध्यापन गर्दै आएका तथा सामाजिक-सांस्कृतिक मामिलामा समेत रुचि राख्ने विनोद गुप्ता भन्छन्।
बढ्दो धार्मिक प्रदर्शन

तस्बिर स्रोत, Jugesh Babu
तराई-मधेश मामिलाका कलम चलाउँदै आएका विश्लेषक चन्द्र किशोर पछिल्ला दिनमा विभिन्न धार्मिक आस्था राख्ने समुदायहरूमा प्रदर्शनको भाव बढेको टिप्पणी गर्छन्।
"सामुहिक जुलुस प्रदर्शन गर्ने, हातहतियारसहित उग्रता देखाउने, अर्काको धार्मिकस्थल वा आस्थाको ठाउँहरूमा गएर शक्तिप्रदर्शन गरे जस्तो गर्ने, ती ठाउँहरूको वरपर चर्कोसँग मोटरसाइकल हुइँक्याउने जस्ता प्रवृत्ति दुवै समुदायमा देखिएको छ।"
"अघोषित स्पर्धाजस्तो स्थितिले गर्दा ठाउँविशेष अनुसार तराईका विभिन्न स्थानहरूमा तनावको स्थिति उत्पन्न हुने, तुष रहिरहने र एक ठाउँमा शान्त भए पनि चाडपर्वका अवसरमा फेरि बल्झिएर उत्पन्न हुने जस्तो स्थिति देखिएको छ," उनले भने।
अहिले कर्फ्यू लागेको देवानगन्ज गाउँपालिकाका प्रमुख बेचन मेहता हिजोआज युवाहरूले 'डीजे' सङ्गीत प्रयोग गर्नुलाई असामान्य ठान्दैनन्। "केटाहरूले अलिअलि बजाइहाल्छन्," उनले भने, "तर उनीहरूले [अर्को पक्षले] डीजेका सामग्री तोडफोड गरिदिएको भनिएको छ।"
घटनास्थलनजिकै घर भएका कैजुम मियाँ भने पहिले झण्डाको विषयमा तनाव सुरु भएको बताउँछन्।
भारतमा चलेको चलनको अनुकरण

तस्बिर स्रोत, Jugesh Babu
विश्लेषकहरू छिमेकी देश भारतका राज्यहरूमा व्यापक रूपमा फैलिएका कुराहरूको अनुकरणबाट नेपाली समाज पनि प्रभावित हुन थालेको ठान्छन्।
तर 'डीजे' बाजा र सार्वजनिक प्रदर्शनहरूलाई मात्रै कारक ठहर्याउनु अपर्याप्त हुने गुप्ताको ठम्याइ छ।
"त्यो त दुवै समुदायले गर्छन्। 'डीजे' यसले पनि बजाउँछ, उसले पनि बजाउँछ।"
"धर्मान्धताले गर्दा यस्तो भइरहेको म ठान्छु," उनी भन्छन्, "खासमा नेपालमा भारतीय गतिविधिको नक्कल भइरहे झैँ लाग्छ।"
"सरकारले यस्ता प्रवृत्तिहरूलाई नियन्त्रण गर्न एकदमै जरुरी छ।"
समग्रमा हेर्दा चाहिँ अशिक्षा र गरिबीले नै यस्ता घटनाहरू मौलाउन भूमिका खेल्ने उनको तर्क छ। "हातमा काम भएको भए त्यस्तो [हुलदङ्गा] गर्न को जान्छ?"
प्रशासनको कमजोरी

तस्बिर स्रोत, BBC/Madhuri Mahato
विश्लेषक गुप्ता बारम्बार यस्ता घटना दोहोरिएका देखिँदा पनि प्रशासनले पर्याप्त सतर्कता अपनाउन नसकेको टिप्पणी गर्छन्।
"पर्सा, रौतहट वा जहाँसुकैको घटना हेर्ने हो भने पनि अप्रिय घटना भइसकेपछि दुवै समुदाय बस्छन् अनि भाइचारा कायम राखौँ भनेर सम्झौता गर्छन्। तर के अर्को साल त्यो दोहोरिँदैन?" उनले भने, "त्यो हुनुभन्दा अघि नै कदम किन नचाल्ने?"
यद्यपि सम्बन्धित निकायका अधिकारीहरूले सम्भावित घटनाक्रमहरू रोक्न गुप्तचरसहित अन्य सुरक्षा निकायहरूको प्रयोग गरेर आफूहरूले प्रयास गरिरहेको बताउने गरेका छन्।
विश्लेषक चन्द्र किशोर पनि विगतका घटनाबाट प्रशासनले खासै सिक्न नसकेकोमा सहमत छन्।
"स्थानीय प्रशासनले यस्ता घटनाहरू बल्झिरहने ठाउँ कुनकुन हुन्, त्यहाँको जनसाङ्ख्यिक बनोट कस्तो छ र त्यस्ता घटना दोहोरिन नदिन के गर्ने भन्ने रणनीति बनाउनुपर्ने हो," उनी भन्छन्, "[धार्मिक] सार्वजनिक प्रदर्शनजस्ता सवालहरूमा एक प्रकारको आचारसंहिता निर्माण गर्ने र समझदारी कायम गर्ने काम प्रशासनको हो।"
"एउटा घटनाबाट सिकेर अर्को ठाउँमा दोहोरिन नदिने जे हुनुपर्थ्यो, त्यो सिकाइमा कमी हुँदै गएको छ।"
तर गृह मन्त्रालयका प्रवक्ता काफ्ले सतर्कता नअपनाइएको भन्ने टिप्पणीसँग सहमत छैनन्। "यो विषयमा सरकार संवेदनशील छ। विगतमा केन्द्र पनि सद्भावना बैठक आयोजना गर्ने र जिल्ला स्तरमा पनि गर्न भन्दै आएका छौँ।"
"सुनसरी घटनाको हकमा छानबिन समिति गठन भएको छ, त्यसले पनि केही तथ्यहरू बाहिर ल्याउला।"
समुदायको भूमिका
विश्लेषक गुप्ता यस्ता घटनाहरू दोहोरिन नदिन धार्मिक समुदायहरू आफैँले पनि एक हदसम्म भूमिका खेल्न सक्ने धारणा राख्छन्।
"हिन्दूले हिन्दूलाई र मुस्लिमले मुस्लिमलाई राखेर हामीहरूले शान्तिपूर्ण तरिकाले कार्यक्रम गर्न प्रेरित गर्न सकिन्छ नि!" उनले भने।
"उनीहरूले त्यसो गर्दैनन् भने प्रशासनले हस्तक्षेप गर्नुपर्यो। [त्यस्ता कार्यक्रमबारे] प्रशासनलाई पहिल्यै थाहा हुन्छ नि। उसको स्वीकृतिबिना जुलुस त निस्किँदैन। उसले अर्को पक्षलाई 'खबरदार' भन्न सक्दैन?"
"सडकमा लाठीको जुधाजुध भएपछि समात्ने, थुन्ने, कर्फ्यू लगाउने अनि 'कम्प्रमाइज' गराउने। तर अर्को पटक फेरि त्यही हुन्छ," उनी भन्छन्, "प्रशासनले गर्न सक्ने यति नै रहेछ भन्ने हुन्छ र यस्ता घटनाहरू दोहोरिरहन्छन्।"
विश्लेषक चन्द्र किशोरका ठम्याइमा दुवै समुदायमा शान्तिसद्भाव चाहने मानिसहरूकै बाहुल्य छ।
"सामाजिक सञ्जालमा उक्साउने किसिमका सामग्रीहरूका पछाडि लाग्नु हुँदैन," उनी भन्छन्, "तनावलाई चर्काउने पक्षहरूबाट जोगिनु नै अहिलेको आवश्यकता हो भन्ने मलाई लाग्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
















