जापानमा भूकम्पपछिको उद्धार र खोजी कार्य जारी रहँदा हालसम्म कम्तीमा ४८ जनाको मृत्यु

जापानमा भूकम्प

तस्बिर स्रोत, Reuters

Published

जापानमा सुनामीको चेतावनी निम्त्याउने गरी गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४८ पुगेको अधिकारीहरूले बताएका छन्।

इशिकावा तटीय क्षेत्रका अधिकारीहरूका अनुसार हालसम्म कम्तीमा ४८ जनाको ज्यान गएको पुष्टि भएको छ।

ज्यान गुमाएकाहरू सबै जापानको उत्तर पश्चिममा पर्ने इशिकावा तटीय क्षेत्रका हुन्। उक्त स्थान सोमवार गएको ७.६ म्याग्निट्यूडको भूकम्पको केन्द्रबिन्दु रहेको थियो।

जापानका प्रधानमन्त्री फुमियो किसिदाले उक्त भूकम्पले व्यापक क्षति गराएको र कैयौँ हताहत बनाएको बताएका छन्।

भूकम्प प्रभावित क्षेत्रमा खोजी र उद्धारकार्य जारी रहेको जापानका प्रधानमन्त्रीले जनाएका छन्।

उक्त कार्यका लागि जापानको सुरक्षा फौज अर्थात् देशको सेना सरहको एसडीएफका करिब १ हजार सदस्य खटिएका छन्।

सुनामीको चेतावनी हट्यो

यसअघि दिइएको सुनामीको चेतावनी हटाइएसँगै भूकम्प गएको उत्तरी प्रायःद्वीप नोतो पुग्नका लागि समुद्री मार्ग खोज्ने र स्थापित गर्ने प्रयासमा आफूहरू रहेको प्रधानमन्त्री किशिदाले बताए।

नोतोमा रहेकी बीबीसी संवाददाता जीन मकेन्जीले आफूहरू सबैभन्दा प्रभावित गाउँहरूमा जाँदै गरेको बताएकी छन्। त्यहाँ जाने क्रममा गाडीमा यात्रा गरिरहँदा पनि भूकम्पको धक्का महसुस गरिएको उनले बताइन्।

भूकम्प गएदेखि नै थुप्रै सङ्ख्यामा परकम्प महसुस गरिए पनि अहिलेसम्म स्पष्ट रूपमा क्षतिको सङ्केत भने नदेखिएको उनले बताइन्।

तर उद्धार टोलीसहित थुप्रै आपत्कालीन सवारीसाधन भने जीवितको खोजीका लागि जाँदै गरेको आफूहरूले देखेको उनले बताइन्।

भूकम्प गएको स्थानको नक्सा

क्षति पुगेका गाउँहरूमा पुग्न समय लाग्न सक्ने बताइएको छ।

प्रधानमन्त्री किशिदाले केही बाटो अवरुद्ध रहेका कारण उद्धारकर्मीहरूलाई क्षति पुगेका घरमा फसेका मानिसहरूसम्म पुग्न समय लाग्न सक्ने बताए।

तर सहायता आउँदै गरेको भन्दै मानिसहरूलाई आश्वस्त रहन पनि उनले भनेका छन्।

तटीय क्षेत्रमा बस्ने हजारौँ मानिसहरूलाई उक्त क्षेत्रबाट त्यहाँभन्दा माथिल्लो भूभागमा जान यसअघि भनिएको थियो।

आफ्नो घरबाट अन्यत्र गएका मानिसहरूले आश्रयस्थलहरूमा रात बिताएका छन्।

सेनाले घर छोडेर अन्यत्र आश्रय खोज्नु परेकाहरूलाई खाद्यान्न, पानी र ब्ल्याङ्केटहरू उपलब्ध गराएको छ।

जापानको मौसम विज्ञान विभागले सोमवारको ७.६ म्याग्निट्यूडको भूकम्पपछि सुनामीबारे दिइएका चेतावनीहरू हटाएको सरकारी सञ्चारमाध्यम एनएचकेले जनाएको छ।

अमेरिका र यूके सहायताका लागि तयार

जापानमा भूकम्प

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले आवश्यक सहायता उपलब्ध गराउन अमेरिका तयार अवस्थामा रहेको बताएका छन्।

“निकट साझेदारका रूपमा अमेरिका र जापानबीच मित्रताको गहिरो सम्बन्ध छ र यसले हाम्रा जनतालाई एक बनाएको छ,” बाइडनले भने।

"अहिलेको कठिन अवस्थामा हामी जापानका मानिसहरूबारे सोचिरहेका छौँ।"

त्यस्तै युकेका प्रधानमन्त्री ऋषि सुनकले पनि सोमवारको भूकम्पपछिका घटनाहरू नियालिरहेको भन्दै जापानलाई मद्दत गर्न यूके तयार रहेको बताएका छन्।

“प्रधानमन्त्री फुमियो किशिदा यूकेका असल मित्र हुन्," उनले भने।

"त्यस्तो भयानक क्षति हुने गरी जापानमा गएको भूकम्पका कारण प्रभावितहरूबारे मैले सोचिरहेको छु।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।