तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
१ अर्ब ४० करोड जनसङ्ख्या रहेको भारत किन विश्वकपमा छैन?
- Author, गौतम भट्टाचार्य
- Role, खेलकुद लेखक
- Published
- पढ्ने समय: ७ मिनेट
के भारतले कहिल्यै फिफा विश्वकप खेल्न सक्ला?
"पृथ्वीकै सबैभन्दा ठूलो प्रतियोगिता" अघिल्लो हप्ता सुरु भएसँगै उक्त खिन्न बनाउने प्रश्न भारतीय फुटबल समर्थकहरूले फेरि पनि सामना गरिरहेका छन्।
'ब्लू टाइगर्स' पनि भनेर चिनिने भारतीय फुटबल टोलीको प्रगति पछ्याउनेहरूका लागि यो वर्षौँदेखि बारम्बार दोहोरिने एउटा अर्थहीनजस्तो प्रश्न हो किनभने भारत एशिया क्षेत्रको छनौट प्रतियोगिताको प्रारम्भिक चरणभन्दा माथि कहिल्यै जान सकेको छैन।
तर फुटबलप्रति "मोहित" भारतीय राज्यहरू पश्चिम बङ्गाल, केरला र गोवामा विश्वकपप्रति विशेष आकर्षण छ।
प्रतियोगितामा भारतको कुनै पनि प्रत्यक्ष सरोकार नभए पनि मैदानमा नै पुगेर प्रतियोगिताको प्रत्यक्ष रिपोर्टिङ गर्ने पत्रकारहरूको सङ्ख्या बढिरहेको छ।
"हामीले प्रेस बक्समा बारम्बार के भारतले पनि फुटबल खेल्छ भन्ने प्रश्नको सामना गरिरहेका छौँ। हामीलाई अधिकांश मानिसले क्रिकेट खेल्ने देशका रूपमा लिन्छन्," चारवटा विश्वकपको समाचार सम्प्रेषण गरेका एक वरिष्ठ भारतीय फुटबल लेखकले भने।
ठूलो बजार, ठूलै दूरी
भारत मात्रै होइन, विश्वकै दोस्रो उच्च जनसङ्ख्या रहेको चीन पनि विश्वकप फुटबलका लागि दोस्रो पटक छनौट भएको छैन। फिफालाई यी बजारको महत्त्व थाहा छ; त्यही भएर उसले अन्तिम समयमा भारतमा शक्तिशाली मिडिया कपिराइट टोली पठाएर खेलहरूको प्रत्यक्ष प्रसारणको सुनिश्चितता गरेको थियो।
उसो भए भारतका लागि विश्वकपको दूरी अझै पनि अति टाढा नै छ?
राष्ट्रिय टोलीका पूर्वकप्तान र भारतीय फुटबलका सबैभन्दा चर्चित खेलाडी भाइचुङ भुटिया विश्वकपमा सहभागिता असम्भव नरहेको बताउँछन्। तर उनी त्यसका लागि कुनै छोटो बाटो देख्दैनन्।
"हो, भारतले निश्चय पनि विश्वकपमा सहभागिता जनाउन सक्छ किनभने केही पनि असम्भव छैन। अठचालीस टोलीमध्ये एशियाली टोलीहरूका लागि छुट्याइएको कोटा आठ पुगेको छ (यसपालि नवौँ टोलीका रूपमा कन्फेडरेशन प्लेअफबाट इराक छनौट भएको थियो) अनि उज्बेकिस्तान र जोडर्नजस्ता टोलीहरूले खेलिरहेका छन्। तर यसका लागि धेरै मेहनत गर्नुपर्छ।"
भुटियाले भारतजस्तो विशाल देशमा क्षमतावान् खेलाडीहरूको खडेरी नरहेको पनि उल्लेख गरे।
उनी भन्छन्, "हाम्रोमा दीर्घकालीन सोचसहितको बलियो तल्लो तहको कार्यक्रम छैन। त्यही भएर सही प्रकारको प्रणालीको अभाव हामीले खेपिरहेका छौँ। यो विश्वकै लोकप्रिय सामूहिक खेल हो र देखिने गरी नतिजा ल्याउन समय लाग्छ।"
अठहत्तर वर्षका श्याम थापाले सन् १९७० को एशियाली खेलमा भारतलाई कांस्य पदक दिलाउन मद्दत गरेका थिए। उक्त पदक महादेश स्तरमा भारतीय टोलीले हासिल गरेको सबैभन्दा ठूलो सफलता हो।
थापा निरन्तर स्थानीय स्तरमा कार्यक्रमहरूको सञ्चालनमा जोड दिँदै थप बालबालिकालाई फुटबलमा आकर्षित गरिनुपर्ने बताउँछन्।
निराशा
उनको आवाजमा निराशा स्पष्टसँग झल्किन्छ। 'बाइसिकल किक' गोलहरूका कारण ख्याति कमाएका आफ्नो समयका चतुर स्ट्राइकर थापाले मध्यम वर्ग र माथिल्लो वर्गका अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई फुटबलको सट्टा क्रिकेटमा प्रेरित गरिरहेको बताए।
"म स्वयंले पनि वर्षौँदेखि युवा अक्याडमी सञ्चालन गरिरहेको छु र के भन्न सक्छु भने जति बढी बालबालिकाहरूलाई खेलमा सहभागी गराउन सकिन्छ, त्यत्ति नै उत्कृष्ट प्रतिभाहरू फेला पार्न सकिन्छ। तर यस्तो प्रणाली सुरु गर्नका लागि अल इन्डिया फुटबल फेडरेशनले के गरेको छ?"
उनले 'आकर्षक भारतीय प्रिमिअर लीगमा अवसर पाउन सक्ने भन्दै' अधिकांश भारतीय अभिभावकहरूले आफ्ना सन्तानलाई क्रिकेट कोचिङ क्याम्पहरूमा लगिरहेको बताए।
"उनीहरूले के बुझ्नुपर्छ भने फुटबलमा करिअर बनाउन सकेको खण्डमा पनि राम्रो आम्दानी हुन सक्छ।"
विश्वकपका लागि एशिया महादेशबाट यो वर्ष छनौट भएका नौ टोलीहरूलाई नजिकबाट नियाल्दा भारतका सामुन्ने विशाल चुनौती रहेका देखिन्छ।
एशिया महादेशबाट अस्ट्रेलिया, इरान, जापान, जोर्डन, दक्षिण कोरिया, उज्बेकिस्तान, कतार, साउदी अरेबिया र इराक (अन्तर-कन्फिडरेशन प्लेअफ) विश्वकपमा यो पटक सहभागी भएका छन्। त्यसमध्ये जोर्डन र उज्बेकिस्तान लामो प्रतीक्षापछि पहिलो पटक सहभागी हुँदै छन्।
पहिलो पटक विश्वकपमा सहभागी भएका यी दुवै टोली अहिलेको फिफा वरीयतामा भारतभन्दा माथिल्लो स्थानमा छन्।
उज्बेकिस्तान वरीयतामा ५२ औँ स्थानमा छ र जोर्डन ६३ औँ स्थानमा छ भने पछिल्लो १८ महिनामा उल्लेख्य रूपमा खस्किएको भारत १३६ औँ स्थानमा पुगेको छ।
फेडरेशनको भूमिकामा प्रश्न
यो वरीयताक्रमले भारतीय फुटबलले खेपिरहेको चुनौतीलाई प्रकट गर्छ। फुटबलरबाट अल इन्डिया फुटबल फेडरेशनको अध्यक्ष बनेपछि सन् २०२२ मा कल्याण चौबेले भनेका थिए, "भारतले आठ वर्षपछि विश्वकप खेल्ने छ भन्ने सपना म बेच्न सक्दिनँ। बरु त्यसको सट्टा, म अहिलेको अवस्थाबाट भारतीय फुटबललाई माथि उठाउँछु भन्ने छु।"
झन्डै चार वर्षपछि उनको प्रशासनले त्यसमा सफलता प्राप्त गर्यो वा गरेन भन्नेबारे प्रश्नहरू छन्। भारतीय फुटबललाई तीव्र गतिमा अघि बढाउने भनिएको भए पनि पछिल्ला तीन वर्षमा अल इन्डिया फुटबल फेडरेशन मजाकको वस्तु बनेको भनिएको छ।
सन् २०१४ मा फेडरेशनले क्लबमा आधारित घरेलु प्रतियोगिता इन्डियन सूपर लीग ठूलो तामझामसाथ आयोजना गर्ने निर्णय लियो। त्यसमा बलिवुड र क्रिकेटका हस्तीहरूलाई पनि भित्र्याइएको थियो। व्यावसायिक ढङ्गले सञ्चालित उक्त प्रतियोगिताले नाम चलेका अन्तर्राष्ट्रिय खेलाडी पनि भित्र्याएको थियो तर अहिले यसको भविष्य अनिश्चित देखिएको छ।
फेडरेशनले बोलकबोलमार्फत् व्यावसायिक साझेदार आकर्षित गर्न नसक्दा भारतीय सूपर लीगको पछिल्लो संस्करणले चरम ढिलाइ बेहोरेको छ। त्यसका कारण सयौँ फुटबल खेलाडीहरू आफ्नो अनिश्चित भविष्यलाई लिएर सुर्तामा छन् भने नकारात्मक खबरहरूको ओइरो लागेको छ।
अन्ततः अल इन्डिया फुटबल फेडरेशन कुनै व्यावसायिक साझेदारबिना छोटो संस्करणको प्रतियोगिता आयोजना गर्न बाध्य भयो र अहिले आगामी सीजनमा के गर्ने भन्नेबारे उक्त निकाय पुरानै अवस्थामा फर्किएको छ।
यस पृष्ठभूमिमा चौबेको झन्डै ३ करोड ५० लाख बालबालिकालाई फुटबलमा आकर्षित गर्ने महत्त्वाकाङ्क्षी योजनासहितको 'भिजन २०४७' झन्झन् बिर्सिएको वाचापत्रजस्तो देखिएको छ। भव्य लक्ष्य र मैदानमा देखिएका परिणामबीचको खाडल झन् गहिरिएको छ।
लक्ष्य के?
सन् २०२३ मा एउटा आमन्त्रण प्रतियोगिता र दक्षिण एशियाली फुटबल च्याम्पिअनशिपको उपाधि पुरुष टोलीले जितेपछि छोटो समयका लागि भारत फिफा वरीयतामा माथिल्लो १०० स्थानमा रहेको थियो। तर त्यसयता ती उपलब्धिहरू निरन्तर ओरालो लागेका छन्।
एशियाली फुटबल कन्फेडरेशनअन्तर्गत विश्वकप छनौटको तेस्रो चरण पुग्ने आशा पहिलो पटक देखाए पनि भारतीय टोलीले परिमाण दिन सकेन र उक्त टोली आगामी एशियाली कपमा छनौट हुन पनि विफल भएको छ।
तत्कालका लागि एशिया महादेशका माथिल्ला २४ टोलीको सहभागिता रहने एशिया कप भारतको प्रमुख प्राथमिकतामा देखिन्छ।
केही वर्षअघि सञ्चारकर्मीहरूसँग गरेको एउटा अनौपचारिक संवादमा सन् २०२५ को सन्न्यास घोषणापछि पुनः खेलमा फर्किएका भारतका पूर्वकप्तान सुनील क्षेत्रीले जोकोहीले पनि यथार्थपरक लक्ष्यहरू राख्नुपर्ने बताएका थिए।
"हामीले एक पटकमा एउटा पाइला चाल्नुपर्छ र अहिलेका लागि हाम्रो लक्ष्य सबै एशिया कपहरूमा छनौट हुनुपर्छ। त्यसले हामीलाई बलियो विपक्षीसँग खेल्ने अवसर दिन्छ। जब हामी १५-२० वटा एशियाली देशहरूमा आफूलाई स्थापित गर्न सक्छौँ, त्यसपछि मात्रै विश्वकपका लागि स्तरोन्नतिबारे हामीले सोच्न सक्छौँ।"
अहिलेका लागि त्यस्तो सम्भावना क्षीण छ। त्यहाँको फुटबल महासङ्घको नेतृत्वले नीतिगत परिवर्तन गरेर नै भएपनि 'ओसीआई कार्डहोल्डर' भनिने गैरआवसीय भारतीयलाई पनि भारतका लागि खेल्न दिनुपर्ने विषयलाई जोडतोडले अघि बढाइरहेको छ।
अहिले विदेशी राहदानीवाहक भारतीय मूलका खेलाडीले राष्ट्रिय टोलीमा खेल्नका लागि त्यस्तो राहदानी त्याग्नुपर्छ। अस्ट्रेलियामा जन्मिएका रायन विलिअम्सले ठ्याक्कै त्यस्तै गरे र भारतीय टोलीका लागि उत्कृष्ट सुरुवात दिलाएका थिए।
यदि त्यस्तो नीतिगत परिवर्तन गरियो भने, त्यसले महत्त्वपूर्ण परिवर्तन निम्त्याउने छ। यो विश्वकपमा भारतीय मुलका चार खेलाडी अन्य देशहरूबाट विश्वकप खेलिरहेका छन्। तासिन मोहमदले कतारबाट, निसान भेलुपिल्लाईले अस्ट्रेलिया, सरप्रित सिंहले न्यूजील्यान्ड र स्यामुएल मुतोस्वामीले कङ्गोबाट खेलिरहेका छन्।
तर नीतिगत परिवर्तनको सम्भावना अहिलेका लागि सम्भावनाकै दायरमा सीमित छ।
त्यतिन्जेलसम्म भारतीय फुटबल समर्थकहरूले मेस्सी, रोनाल्डो र नेइमारहरूको समर्थन गर्दै र विश्वकपमा सहभागी भएको हालसम्मकै सबैभन्दा सानो देश क्युरसाउको उपलब्धिप्रति अचम्म मान्दै फेरि एक पटक टाढैबाट फुटबल हेर्नुपर्ने छ।
त्यसपछि अनिवार्य रूपमा एउटा प्रश्न उठिरहने छ : "यदि क्युरसाउले सक्छ भने भारतले किन सक्दैन?"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।