शरीरबाहिर आन्द्रा भएको 'चमत्कारी' शिशुको उपचार गर्न आमाको गर्भाशयमै शल्यक्रिया

तस्बिर स्रोत, Maisie Savage
- Author, कमिला हरक्स
- Role, विश्व स्वास्थ्य संवाददाता
- Published
- पढ्ने समय: ५ मिनेट
डाक्टरहरूले गर्भमै रहेको शिशुको जन्मजात देखा पर्न सक्ने समस्या सफलतापूर्वक सुधार गर्न अत्याधुनिक शल्यक्रिया गरेका छन्।
लन्डनकी मेईजी स्याभिज गर्भवती भएको २६ औँ हप्तामा अमेरिकामा चिकित्सकहरूको एक टोलीले उनको गर्भाशयमै शल्यक्रिया गरेको थियो।
अहिले पाँच महिनाका भइसकेका र स्वस्थ रूपमा हुर्किरहेका शिशु थीओमा जन्मनुअघि नै 'ग्यास्ट्रोस्किसिस' नामक समस्या थियो। यो अवस्थामा नाइटोको विकास सामान्य रूपमा नहुँदा आन्द्रा पेटबाहिर विकसित हुन्छ।
शल्यक्रियाका क्रममा चिकित्सकहरूले थिओकी आमाको गर्भाशयलाई आंशिक रूपमा बाहिर निकालेर सानो चिरा पारेर शल्यक्रिया प्रविधिको प्रयोग गर्दै शिशुको पेटबाहिर रहेका आन्द्रा तथा अन्य अङ्गहरू सावधानीपूर्वक पुनः पेटभित्र राखेका थिए।
यस प्रकारको विश्वकै नवीनतम चिकित्सा परीक्षणबाट लाभ उठाउने थीओ संसारका तेस्रो शिशु बनेका हुन्।
उनन्तीस वर्षीया मेइजी र ३६ वर्षीय जोश फ्रेन्च दुवै शिक्षक हुन्। यस्तो शल्यक्रियाको सफलताबाट आफूहरूलाई उल्लेख्य राहत मिलेको उनीहरूले बताए।
"उनी सानो चमत्कार हुन्, होइन त?" मेइजीले बीबीसी न्यूजसँग भनिन्।
समस्याको गम्भीरता
तर उनीहरू दुवैलाई कुरा अर्कै हुन सक्थ्यो भन्ने थाहा छ।
यस्तो खालको जन्मजात हुने समस्या यूकेमा प्रत्येक वर्ष ३,००० हजार शिशुमध्ये एक जनामा देखा पर्छ। विश्वव्यापी रूपमा भन्दा ग्यास्ट्रोसाइसीस देखिने विषय क्षेत्रगत रूपमा फरक पर्छ।
दक्षिण अमेरिकामा सबैभन्दा धेरै त्यस्ता घटनाहरू भएको पाइन्छ। सन् २०२५ को विश्वव्यापी समीक्षामा उच्चदेखि मध्यम आय भएका देशहरूमा अध्ययन गरिएको थियो। कम आय भएका देशहरूको तथ्याङ्क सीमित मात्रै छ।
उत्तम परिस्थितिमा, यस्तो अवस्थामा शिशुलाई जोगाउन सघन उपचार र पाइपबाट पोषकतत्त्व पठाउने काम हप्तौँसम्म गर्नुपर्छ र शल्यक्रियाबाट सुधार्दै लैजानुपर्छ।
थीओको जस्तो जटिल परिस्थितिमा भने शिशुहरूलाई राखिने सघन उपचार कक्षमा छ महिनासम्म राख्नुपर्छ। त्यसबीचमा थुप्रैपटक शल्यक्रिया गर्नुपर्छ, पोषकतत्त्व दुई वर्षसम्म दिनुपर्छ र सम्भावित आन्द्राको प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ।
यी सबै गर्दा पनि १० मध्ये एक शिशुको मृत्यु हुन्छ।

तस्बिर स्रोत, Texas Children’s Hospital
थीओका आमाबुवालाई सुरुमा आफ्नो जन्मिनै बाँकी रहेको सन्तानमा समस्या छ भन्नेबारे कुनै जानकारी थिएन।
"बीस साता हुन लाग्दा गरिएको परीक्षणमा, हामी विशुद्ध रूपमा हाम्रो सन्तानको तस्बिर हेर्न उत्साही थियौँ," बाबु जोश फ्रेन्चले भने। "हामीलाई त्यति बेला उनी 'छोरा' हुन् भन्ने थाहा थिएन।"
थीओमा 'ग्यास्ट्रोस्किसिस' छ भन्ने कुरा थाहा हुँदा आफूहरू स्तब्ध भएको र त्यो अनुभव "एकदमै डरलाग्दो भएको" उनले बताए।
प्रक्रिया
गर्भावस्थाको २४ औँ हप्तामा लन्डनस्थित ग्रेट ओर्मोन्ड स्ट्रीट हस्पिटल (जीओएसएच)का विशेषज्ञ चिकित्सकहरूले मेइजी र जोशलाई थीओको जन्मपछिका पहिलो छ महिनाको सम्भावित उपचार र अवस्थाबारे जानकारी गराइरहेका थिए।
तर उनमा अझ गम्भीर प्रकारको 'ग्यास्ट्रोस्किसिस' छ भन्ने पुष्टि भएपछि चिकित्सकहरूले उनलाई अमेरिकाको टेक्सस ह्यूस्टनमा रहेको टेक्सस बाल अस्पतालमा पठाए।
त्यहाँ भ्रूण तथा बालशल्यचिकित्सकहरूको टोलीले डाक्टर माइकल बेल्फोर्टको नेतृत्वमा जन्मअघि नै जटिल 'ग्यास्ट्रोस्किसिस'को उपचार गर्ने विश्वकै पहिलो प्रकारको चिकित्सकीय परीक्षण सञ्चालन गरिएको थियो।

तस्बिर स्रोत, Maisie Savage
शल्यक्रियापछि मेइजीको पेटमा शल्यक्रिया गर्दा लाग्ने घाउभन्दा करिब दोब्बर ठूलो दाग बस्यो। तर शल्यक्रियापछि अन्य महिलाहरूले जस्तै तत्काल शिशु ननिकालिएको हुनाले उनले अझै १४ सातासम्म गर्भमा शिशु हुर्काइरहनुपरेको थियो।
परीक्षणका क्रममा उनी पहिला बेल्जिअममा रहेको लूभन अस्पतालमा पुग्नुपर्यो, जहाँ विशेषज्ञ चिकित्सकहरूले मेइजीको गर्भाशय हुँदै थीओको पेटमा बोटक्स सुई दिए ता कि मांसपेशी खुकुलो होस् र निको हुन सहज होस्।
त्यसपछि उनको परिवार टेक्सस गयो, जहाँ गत नोभेम्बरमा उनी २६ साताकी गर्भवती हुँदा शल्यक्रिया भयो।

मेइजीको शल्यक्रिया भइरहँदा त्यो पर्खाइ अत्यासलाग्दो भएको जोश बताउँछन्।
"त्यो दिन साताजतिकै लामो लागेको थियो," उनले भने। "त्यो पर्खाइ र त्यतिबेला के भइरहेको छ भन्ने यकिन थाहा नहुँदाको क्षण थियो।"
चिकित्सकले आमाको गर्भाशय आंशिक खोले ता कि पाठेघर र बच्चाको स्थान मिलाउन सकियोस्। शल्यक्रिया गर्ने ठाउँ बढाउनका लागि एम्निओटिक फ्लूइड सुकाएर कार्बनडाइअक्साइडले भरियो। सानो प्वाल पारेर गरिने शल्यक्रियामार्फत् बिस्तारै थीओको पेटमा आन्द्रा छिराइयो र त्यसलाई बन्द गर्न सिलाइयो।

तस्बिर स्रोत, Texas Children’s Hospital
मेइजीले थीओले बेलाबेला पेटभित्रै लात्तीले हान्ने र त्यसो गर्दा उनको घाउमा लाग्ने र दुख्ने बताइन्।
"त्यो निको हुन कठिन भयो," मेइजीले भनिन्। "तर, त्यो सार्थक रह्यो।"
शल्यक्रिया सफल भयो र टेक्ससमै उनले योनिमार्ग हुँदै फेब्रुअरीमा थीओलाई जन्म दिइन्।
खुसी
टेक्सस बाल अस्पतालका प्रमुख स्त्री तथा प्रसूति रोग विशेषज्ञ बेल्फोर्टले आफू र आफ्नो टोली परिणामबाट निकै खुसी भएको बताए।
"आमा, बच्चा, शल्यक्रिया, शल्यक्रियाको समय, शून्य कठिनाइका माझ भ्रूणको अघि र पछिको शल्यक्रिया, सबै उल्लेखनीय रह्यो।"

यता लन्डनमा रहेकी मेइजीले थीओले राम्रो गरिरहेको बताइन्।
"उहाँहरूले जे गरिदिनुभयो, त्यसले थीओको जीवनको सुरुवात जसरी खतरनाक हुन सक्थ्यो, त्यसलाई पूर्ण रूपमा उल्टाइदिनुभयो। थीओ उत्तम अवस्थामा छन्। उनी पूर्ण रूपमा सामान्य शिशु भएका छन्।"
"हामी दुवै आफूलाई असाध्यै भाग्यमानी ठान्छौँ," जोशले भने। "उनीहरूले परिवारका रूपमा हामीमा जे प्रभाव पारे, त्यो उल्लेखनीय छ। ग्रेट ओर्मोन्ड स्ट्रीटदेखि डाक्टर बेल्फोर्ट र उनको टोलीले हामीलाई असाध्यै राम्रो अनुभव गराए।
"जब हामी त्यहाँ थियौँ, जुन प्रकारको सेवा पायौँ र हाम्रो असाध्यै तनावपूर्ण समयलाई उहाँहरूले असाध्यै सहज बनाइदिनुभयो र हामीले हाम्रो बच्चा पायौँ - हामी खुसी नभई रहन सक्दैनौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















