पाकिस्तानको हिमपहिरोमा परेका निर्मल पुर्जासहित 'कोही जीवित रहेनन्'

निर्मल पुर्जा

तस्बिर स्रोत, AFP

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: २ मिनेट

पाकिस्तानको 'ब्रोड पीक'मा दुई दिनयता हराइरहेका चर्चित आरोही निर्मल पुर्जासहित सबै १० आरोहीहरूको मृत्यु भएको आरोहण सञ्चालकहरूले पुष्टि गरेका छन्। नेपालका प्रधानमन्त्रीसहित विभिन्न व्यक्तिहरूले मृतक पर्वतारोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

बिहीवार हिउँपहिरोमा परेपछि ख्यातिप्राप्त पर्वतारोही पुर्जासहित विभिन्न तीन पर्वतारोहण कम्पनीसम्बद्ध टोलीका सबै जना सम्पर्कविहीन भएका थिए।

शनिवार उनको कम्पनीले समेत सामाजिक सञ्जालमा त्यसको पुष्टि गर्दै पोस्ट लेखेको छ।

"आज, अत्यन्तै दुःख र मर्माहत भएर हामी ब्रोड पिकमा गएको हिमपहिरोमा परी निर्मल "निम्सदाइ" पुर्जाले दुःखद रूपमा आफ्नो ज्यान गुमाएको पुष्टि गर्दैछौँ। साथै यस आरोहण अभियानमा संलग्न अन्य सदस्यहरू पनि जीवित रहन नसकेको पुष्टि भएको छ," उक्त कम्पनीले फेसबुकमा राखेको पोस्टमा भनिएको छ।

बीबीसीसँग कुरा गर्दै सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले कोही जीवित नरहेको पुष्टि भएको बताए।

"सबै शवहरू कहिलेसम्म ल्याउन सकिन्छ भन्ने केही टुङ्गो छैन। मौसमले साथ दिइरहेको छैन," सेभेन समिटका अध्यक्ष शेर्पाले भने। "तर कोही जीवित रहनुभएन।"

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले फेसबुकमा एक पोस्ट लेख्दै मृतकहरू श्रद्धाञ्जली व्यक्त गरेका छन्।

"'ब्रोड पिक'मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छजना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ," शाहले लेखेका छन्।

"निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ।"

हिमपहिरोमा को-को परेका थिए?

ब्रोड पीक

तस्बिर स्रोत, Getty Images

दुई दिनअघिको सो हिमपहिरोमा नेपालमा जन्मेका तथा भूतपूर्व ब्रिटिश 'रोयल मरीन' समेत रहेका पुर्जाबाहेक अरू पाँच नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एकजना चिनियाँ हराएका थिए।

त्यसमध्ये एक ओमानी, एक नेपालीको ज्यान गएको पाकिस्तानी अधिकारीहरूले शुक्रवार बताएका थिए। साँझ उनीहरूले अमेरिकी आरोहीको पनि मृत्यु भएको पुष्टि गरेका थिए।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का महासचिव राजेन्द्र लामाले मृत्युको पुष्टि गरिए तापनि शनिवार थप एक शव मात्र आधार शिविरमा ल्याउन सकिएको पाकिस्तानी अल्पाइन क्लबले आफूहरूलाई जनाएको बीबीसीलाई बताए।

पाकिस्तानको अल्पाइन क्लबले यसअघि शनिवारको आफ्नो इन्स्टाग्राम पोस्टमा थप कैयौँ शवहरू ड्रोनबाट देखिएको भन्दै उद्धार टोली त्यहाँ पुगेपछि मात्र पहिचान गर्न सम्भव हुने जनाएको छ।

पुर्जाको इलाइट एक्सपेडसहित सेभेन समिट्स र इम्याजिन नेपाल गरी नेपालका तीनवटा आरोहण सञ्चालन गर्ने कम्पनीका गाइड र उनीहरूको सेवा लिएका विदेशी आरोहीहरू यस हिमपहिरोमा परेका थिए।

काराकोरम पर्वतशृङ्खलामा पर्ने ब्रोड पीक विश्वको बाह्रौँ अग्लो हिमाल हो। यसको चुचुरो समुद्र सतहबाट ८,०५१ मिटरको उचाइमा छ।

पाकिस्तानका हिमाललाई पर्वतारोहणमा सघाउने कामका लागि प्रशिद्धि कमाएका नेपाल शेर्पाहरूको दोस्रो मुख्य कार्यक्षेत्रका रूपमा मानिन्छ।

आठ हजार मिटरमाथिका विश्वका १४ अग्ला हिमालमध्ये पाकिस्तानमा पाँचवटा रहेका छन्।

'फोर्टिन पीक' भनिने ती सबै हिमाल आरोहणमा रुचि बढेसँगै पाकिस्तानमा समेत ठूलो सङ्ख्यामा नेपाली शेर्पाहरू जाने गरेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।