'आजीवन पछुतो': साउदी अरबमा मृत्युदण्डपछि अन्तिम संस्कार गर्न शव नपाउने परिवारहरूको पीडा

किब्रोम किन्फे अरेगावी यसै वर्षको जुन महिनामा गाँजा तस्करीको आरोपमा साउदी अरबमा मृत्युदण्ड सुनाइएका पाँच इथियोपियालीहरूमध्ये एक थिए

तस्बिर स्रोत, Handout/BBC

तस्बिरको क्याप्शन, किब्रोम किन्फे अरेगावी यसै वर्षको जुन महिनामा गाँजा तस्करीको आरोपमा साउदी अरबमा मृत्युदण्ड सुनाइएका पाँच इथियोपियालीहरूमध्ये एक थिए
    • Author, हाना जेराट्सियोन
    • Role, बीबीसी न्यूज टिग्रीनिया
    • Author, स्वामीनाथन नटराजन
    • Role, ग्लोबल जर्नलिजम, बीबीसी विश्व सेवा
  • Published
  • पढ्ने समय: ६ मिनेट

"हामीले परिवारलाई सान्त्वना दिन र उनको मृत्युलाई स्वीकार गर्न सहज होओस् भनेर सबै कर्महरू गर्‍यौँ, तर यसले मलाई शान्ति दिने छैन," छोरा किब्रोमको मृत्युमा शोक मनाइरहेका किन्फे अरेगावी भन्छन्।

"यो पछुतो र दुःख मेरो जीवनभरि रहिरहने भयो।"

किब्रोम किन्फे अरेगावी यसै वर्षको जुन महिनामा गाँजा तस्करीको आरोपमा साउदी अरबमा मृत्युदण्ड सुनाइएका पाँच इथियोपियालीहरूमध्ये एक थिए।

विश्वमा धेरै मृत्युदण्ड दिने देशहरूमा चीन र इरानपछि साउदी अरबको नाम आउँछ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्यूमन राइट्स वाचका अनुसार साउदी अरबले यो वर्षको जुलाई २७ तारिखसम्म ११६ जनालाई मृत्युदण्ड दिइसकेको छ।

'परिवारलाई नै दण्ड'?

इसाई शवपेटिकाको प्रतीकात्मक चित्र, साथमा मृतकको तस्बिर र रोइरहेका मानिसहरू
तस्बिरको क्याप्शन, औपचारिक रूपमा धार्मिक हिसाबले शव गाड्नु इथियोपियाका अर्थोडक्स इसाईहरूको आस्थाको एउटा महत्त्वपूर्ण पाटो हो, जसअन्तर्गत कात्रोमा शव बेरेर काठको शवपेटिकामा राख्ने गरिन्छ

औपचारिक रूपमा धार्मिक हिसाबले शव गाड्नु इथियोपियाका अर्थोडक्स इसाईहरूको आस्थाको एउटा महत्त्वपूर्ण पाटो हो, जसअन्तर्गत कात्रोमा शव बेरेर काठको शवपेटिकामा राख्ने गरिन्छ।

तर २५ वर्षीय किब्रोम किन्फे अरेगावीको शव घर नआएकोले यी कर्म गर्न सकिने छैन।

"शव फिर्ता गर्न अस्वीकार गर्नु प्रशासनिक विषय मात्र होइन। यसको अर्थ तपाईँले व्यक्तिलाई मात्र नभई उनीहरूको परिवारलाई पनि दण्डित गरिरहनुभएको छ," युरोपेली साउदी मानव अधिकार सङ्गठन (ईएसओएचआर) का वरिष्ठ अनुसन्धानकर्ता दुआ जैनी भन्छिन्।

उनको संस्थाले गम्भीर मानव अधिकार उल्लङ्घनको सामना गर्ने मानिसहरूको पक्षमा पैरवी गर्छ।

धार्मिक आस्थाको स्वतन्त्रतासम्बन्धी संयुक्त राष्ट्रसङ्घकी विशेष प्रतिवेदक नाजिला गानिआ शव रोक्ने साउदी अरबको अभ्यासलाई "यातना र दुर्व्यवहार" को सङ्ज्ञा दिन्छिन्।

आफन्तहरूका अनुसार दक्षिणी साउदी अरबको आसिर प्रान्तको खामिस मुशैत केन्द्रमा जुन २३ तारिखमा मृत्युदण्ड दिइएका पाँच इथियोपियालीहरूलाई न त कुनै पूर्वचेतावनी दिइएको थिए, न त उनीहरूका व्यक्तिगत सामान परिवारलाई फिर्ता गरिएको थियो। उनीहरूका परिवारलाई मृत्युदण्डको प्रमाणपत्र पनि दिइएको थिएन।

फरक पात्र, उस्तै कथा

किब्रोम किन्फे अरेगावीकी आमा

तस्बिर स्रोत, Mebrahtom

तस्बिरको क्याप्शन, किब्रोम किन्फे अरेगावीकी आमा आफ्नो छोरालाई फसाइएको बताउँछिन्

किब्रोम किन्फे अरेगावी सन् २०२० मा पहिलो पटक आफ्ना बुबा (जसलाई किन्फे पनि भनिन्छ) सँगै कुनै वैध भिसाबिना साउदी अरब गएका थिए।

उनीहरूलाई पक्राउ गरियो, १५ महिनासम्म जेलमा राखियो र त्यसपछि देशनिकाला गरियो।

यद्यपि इथियोपियामा चलिरहेको गृहयुद्धका कारण किब्रोमले साउदी अरब फर्कने निर्णय गरे।

उनी रेड सी पार गर्न र हिँडेर यमन जानका लागि मानिसहरूले खचाखच भएको डुङ्गामा चढे।

सन् २०२३ मा सीमा पार गर्ने क्रममा किब्रोमलाई साउदी अधिकारीहरूले फेरि पक्राउ गरे र उनीमाथि लागुऔषध तस्करीको आरोप लगाए।

किन्फेका अनुसार तीन महिना जेलमा बिताएपछि उनको छोरालाई दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाइयो। तीन वर्ष जेलमा बिताएपछि उनलाई अचानक जुन महिनामा मृत्युदण्ड दिइयो।

"उनले हामीसँग कुरा गर्ने मौका पनि पाएनन्। मैले सामाजिक सञ्जालबाट उनको मृत्युबारे थाहा पाएँ," बीबीसीसँग उनले भने।

आफ्ना छोरा निर्दोष रहेको र साउदी अरबमा गलत ढङ्गले उनलाई दोषी ठहर गरिएको किन्फेको विश्वास छ।

"मेरो छोरा गाँजा तस्करीमा संलग्न थियो भनेर पुष्टि गर्ने कुनै प्रमाण छैन," किन्फे भन्छन्।

शव गाडिएको चिहानको प्रतीकात्मक तस्बिर
तस्बिरको क्याप्शन, ‍औपचारिक अन्तिम संस्कार नगरेकाले आफ्नो जिन्दगीमा सधैँ पछुतो रहने किब्रोम किन्फे अरेगावीका बुवा बताउँछन्

त्यही दिन र सोही जेलमा सिगाबु गेब्रेमारिअमलाई पनि समान अपराधमा दोषी ठहर गरिएपछि मृत्युदण्डको सजाय सुनाइएको थियो।

छब्बीस वर्षीय गेब्रेमारिअम इथियोपियाको मध्यटिग्रे क्षेत्रको ग्रामीण क्षेत्रका थिए। उनी आमाबुवाका आठ सन्तानमध्ये जेठा थिए।

उनका बुबा हागोस गेब्रेमेस्केलका अनुसार गरिबी र गृहयुद्धबाट बच्न १८ वर्षको भएपछि उनी घर छोडेर गएका थिए।

"हाम्रो क्षेत्रमा युवाहरूका लागि धेरै जागिरहरू छैनन्। ऊ मलाई सघाउने हिसाबले साउदी अरब गयो," हागोस भन्छन्।

"उसले चाँडै घर फर्कने र विवाह गर्ने बताएको थियो," हागोसले बीबीसीसँग भने।

उसकी आमा लेटेक्रिस्टोस गेब्रेत्सादिकले उसका लागि केटी खोजिरहेकी थिइन्। तर आखिरमा अन्तिम संस्कारको व्यवस्था गर्नुपर्‍यो।

उनी भन्छिन्, "मेरा सबै छोरीहरू छन्, ऊ एक मात्र छोरा थियो। मेरा छोरीहरू धेरै आशावादी थिए कि उनीहरूको भाइ चाँडै घर फर्कने छ। उनीहरूले उसको बिहेको तयारी गरिरहेका थिए। उनीहरूको दुःख मेरोभन्दा ठूलो छ।"

मृत्युदण्ड दिइनुअघि सिगाबु गेब्रेमारिअम

तस्बिर स्रोत, Family supplied

तस्बिरको क्याप्शन, मृत्युदण्ड दिइनुअघि सिगाबु गेब्रेमारिअम तीन वर्ष जेलमा रहे

साउदी अरबमा बस्ने आफन्तहरूबाट सिगाबुको मृत्युदण्डबारे थाहा पाएपछि उनको अर्थोडक्स इसाई परिवारले स्थानीय गिर्जाघरमा प्रतीकात्मक अन्तिम संस्कार र प्रार्थना गर्ने निर्णय गरे।

"उसको शव किन घर आइपुगेको छैन भनी म जान्न चाहन्छु," लेटेक्रिस्टोस भन्छिन्।

सिगाबुका आमाबुवा साउदी अधिकारीहरूले आफ्नो छोराको अपराधबारे प्रमाण देखाऊन् भनी चाहन्छन्। अरूले आफ्नो छोरालाई फसाएर फाइदा उठाएको उनीहरूलाई आशङ्का छ।

मानव अधिकारवादी समूह एम्नेस्टी इन्टर्न्याश्नलले गत वर्ष जारी गरेको एउटा प्रतिवेदनमा जनाइएअनुसार साउदी अरबमा लागुऔषधसम्बन्धी अपराधमा मृत्युदण्डको सजाय पाएकामध्ये ७५ प्रतिशत विदेशी नागरिक छन्।

आपराधिक गिरोहहरूले कमजोर व्यक्तिहरूको शोषण गर्ने गरेको जैनी बताउँछिन्।

"इथियोपियालीहरूसँग सम्बन्धित कतिपय घटनामा बन्दीहरूले सीमा पार गर्न सहयोग गरेको बदलामा सामान बोक्नलाई फकाइएको रिपोर्ट गरेका थिए," जैनी भन्छिन्। "पाकिस्तानी नागरिकहरूसँग सम्बद्ध घटनामा कहिलेकाहीँ दबावमा अथवा रोजगारी दिने वाचा गरेको बदलामा प्रतिबन्धित वस्तु निल्न बाध्य पारेको पाइएको थियो।"

कानुन छ तर ...

आफ्नो छोराको आत्माले शान्ति पाउनेमा आफू ढुक्क हुन नसकेको बताउने किब्रोम किन्फे अरेगावीका बुवा

तस्बिर स्रोत, Mebrahtom

तस्बिरको क्याप्शन, आफ्नो छोराको आत्माले शान्ति पाउनेमा आफू ढुक्क हुन नसकेको किब्रोम किन्फे अरेगावीका बुवा बताउँछन्

ईएसओएचआरको अनुमानअनुसार राजा सलमान बिन अब्दुलअजीज अल साउद सन् २०१५ मा राजगद्दीमा आसीन भएदेखि साउदी अरबमा मृत्युदण्ड दिइएका व्यक्तिहरूको कुल सङ्ख्या २,००० नाघेको छ, जसमध्ये ४२ प्रतिशत विदेशी थिए।

उसको अनुमान अनुसार साउदी अरबले सन् २०२५ मा ३५६ जनालाई मृत्युदण्ड दिएको थियो, जुन एक वर्षमा मृत्युदण्डको सबैभन्दा धेरै सङ्ख्या हो।

साउदी कानुनअन्तर्गत अधिकारीहरूलाई राजदूतावासको खर्चमा शव फिर्ता पठाउन अनुमति दिइएको छ, तर जैनीका अनुसार त्यस्तो कहिल्यै हुँदैन।

"मृत्युदण्ड दिइसकेपछि कुनै पनि बासिन्दाको शव उसको परिवारलाई फिर्ता गरिएको कुनै पनि घटनाको बारेमा हामीलाई जानकारी छैन। हामीले दर्ता गरेका साउदी नागरिकहरूसँग सम्बन्धित मुद्दाहरूमा पनि यस्तै भएको छ," उनले भनिन्।

टर्की र जोर्डनका परिवारहरूसहित केही परिवारले यसअघि कैदीहरूको शव फिर्ताको माग गर्दै अभियान चलाएका थिए। तर त्यसमा उनीहरूले कुनै सफलता पाएनन्।

किन्फे अरेगावी

तस्बिर स्रोत, Kinfe Aregawi

तस्बिरको क्याप्शन, किन्फे अरेगावी आफू अझै सम्हालिन नसकेको बताउँछन्

बीबीसीले यस विषयमा त्यहाँको गृह मन्त्रालय, विदेश मन्त्रालय र लन्डनस्थित दूतावासमार्फत् साउदी सरकारसँग जवाफ मागे पनि कुनै प्रतिक्रिया प्राप्त भएन।

जुन महिनामा गाँजासम्बन्धी अपराधमा दोषी ठहर गरिएका साउदी नागरिकलाई मृत्युदण्डको सजायको घोषणा गर्दै गृह मन्त्रालयको एउटा विज्ञप्तिमा कुरानका श्लोकहरू उद्धृत गरिएको छ, जसमा "पृथ्वीमा भ्रष्टाचार फैलाउने" व्यक्तिहरूलाई कडा सजाय दिइनुपर्ने भनिएको छ।

सरकार "नागरिक र बासिन्दाहरूलाई लागुपदार्थको खतराबाट जोगाउन प्रतिबद्ध छ" भनी विज्ञप्तिमा उल्लेख छ। "[सरकार] लागुपदार्थ तस्कर र अवैध तस्करहरूविरुद्ध कानुनअन्तर्गत कडाभन्दा कडा सजाय दिन प्रतिबद्ध छ। लागुऔषधले निर्दोष व्यक्तिको ज्यान लिन्छ र गम्भीर भ्रष्टाचारलाई प्रोत्साहन गर्छ।"

साउदी अरबमा रहेको इथियोपियाली दूतावासलाई पनि प्रतिक्रियाका लागि सोधिएको छ।

साउदी अरब हाल मृत्युदण्डको पर्खाइमा रहेका कैदीहरूको सङ्ख्याबारे बताउँदैन। तर मानव अधिकारकर्मीहरूका अनुसार त्यो सङ्ख्या सयौँमा हुन सक्छ।

मानव अधिकारवादी संस्था ह्यूमन राइट्स वाचको मध्यपूर्व र उत्तर अफ्रिका डिभिजनकी अनुसन्धानकर्ता जोय शिया भन्छिन्, "साउदी अरेबियामा गोप्य रूपमा वा पूर्वसूचनाबेगर मृत्युदण्ड दिइन्छ। यसले कैदीहरू र उनीहरूका परिवारहरूलाई मृत्युदण्डको तयारी गर्न पर्याप्त समय दिँदैन। यसले उनीहरूको अधिकारको हनन गर्छ।"

कैदीबन्दीहरू भिडभाडयुक्त कोठामा बस्ने गरेको बताइन्छ
तस्बिरको क्याप्शन, साउदी अरबमा कैदीबन्दीहरू भिडभाडयुक्त कोठामा बस्ने गरेको बताइन्छ

'चमत्कारका लागि प्रार्थना' गर्दै

मृत्युदण्डको सजाय पाएका कैदीहरूका लागि कायम गरिने गोपनीयताले उनीहरूको जीवनलाई अझ कठिन बनाउँछ।

एक जना कैदीले आफ्नो जेलजीवनबारे बीबीसीलाई बताएका थिए। सुरक्षा कारणले गर्दा उनको पहिचान र ठेगाना खुलाइएको छैन।

उनलाई सन् २०२३ मा पक्राउ गरिएको थियो। उनले लागुऔषध तस्करी गरेको आरोप स्वीकार गरेका थिए। आफूलाई दोषी ठहराइएको र सजाय सुनाइएको उनले बताए। तथापि आममाफी पाउने उनको आशा छ।

यो वर्ष आफ्ना १५ जना कैदी साथीहरूलाई मृत्युदण्ड दिइएको उनले देखेका छन्। अब उनी स्वयंलाई मृत्युदण्ड दिइने डर छ।

"हरेक पटक गार्डहरूले ढोका खोल्दा अब कसको पालो होला भन्ने लाग्छ," उनले भने।

उनी चमत्कारको आशामा छन्। उनी केही राहत चाहन्छन्।

तर यदि सबैभन्दा नराम्रो घटना भयो भने उनी आफ्नो अवशेष घर पुगोस् भनी चाहन्छन्।

"मलाई डर छ कि मेरा आमाबुवाले मेरो शरीर पनि देख्न पाउनुहुने छैन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।