भेनेजुएलामा एकपछि अर्को शक्तिशाली भूकम्प, आपत्काल घोषणा

भेनेजुएलामा भूकम्पका कारण घाइते महिला

तस्बिर स्रोत, Getty Images

Published
पढ्ने समय: २ मिनेट

भेनेजुएलामा छोटो समयको अन्तरालमा आएका दुई वटा शक्तिशाली भूकम्पले कैयौँ भवनहरू ढालेको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणले पहिलो भूकम्प ७.२ र दोस्रो ७.५ म्याग्निट्यूड मापन गरेको छ। पहिलो भूकम्पको ३९ सेकेन्डपछि त्यसभन्दा शक्तिशाली दोस्रो भूकम्प आएको थियो।

राजधानी कराकसको पश्चिमी क्षेत्रमा स्थानीय समय अनुसार साँझ ६ बजेपछि आएका भूकम्पपछि मानिसहरू घर बाहिर निस्किएका थिए।

अधिकारीहरूले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिबारे बुझ्ने काम भइरहेको बताएका छन्।

भूकम्पपछि कार्यवाहक राष्ट्रपति डेल्सि रोड्रिगेजले आपत्काल घोषणा गरेकी छन्।

कार्यवाहक राष्ट्रपति रोड्रिगेजले क्षतिका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको बताएकी छन्।

यसअघि विमानस्थलबाट धुलो उडिरहेको र मानिसहरू भाग्दै गरेका दृश्यहरू सार्वजनिक भएका थिए।

राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले पक्राउ गरेपछि डेल्सि रोड्रिगेजले देशको नेतृत्व गरिरहेकी छन्।

भूकम्पले ढलेका भवनहरू

तस्बिर स्रोत, Getty Images

भूकम्पका कारण ठूलो जनधनको क्षति भएको आशङ्का गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसले मृतकहरूको सङ्ख्या १०,००० नाघ्ने सम्भावना ४४ प्रतिशत रहेको जनाएको छ।

भूकम्प आएको दिन भेनेजुएलामा राष्ट्रिय बिदा थियो। बिदा भएका कारण मानिसहरू घरमै रहेका हुनसक्ने अनुमान गरिएका छन्।

भूकम्पले ढलेका भवनहरू

तस्बिर स्रोत, Getty Images

भूकम्पका कारण बिजुली र इन्टरनेट प्रभावित भएको अधिकारीहरूले बताएका छन्। भेनेजुएलामा आएको भूकम्पको झट्का छिमेकी देश कोलम्बियाको राजधानीसम्म पनि महसुस भएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।