एशियाली खेलकुदमा नेपाली कराते खेलाडी तेन्जिङ शेर्पाले जिते कांस्य पदक

बीसौँ एशियाली खेलकुदमा कराते खेलाडी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्।
जापानको नागोया सहरमा कुमिते विधाअन्तर्गत ८४ केजीभन्दा माथिको तौल समूहको खेलमा शेर्पाले लाओसका खेलाडीलाई ९-१ अङ्कले पराजित गर्दै कांस्य पदक जितेका हुन्।
यसअघि उनी सेमिफाइनलमा इरानका खेलाडीसँग पराजित भएका थिए।
करातेबाट पदकका आशा गरिएका खेलाडीहरू एकपछि अर्को गर्दै पराजित भएको अवस्थामा बुधवार बिहान करातेको अन्तिम खेल भएको थियो।
तेन्जिङ शेर्पाले प्रतियोगिताको क्वार्टरफाइनलमा मकाऊका खेलाडी लियोन अन टेकलाई १-० ले हराएका थिए। सेमिफाइनलमा उनी इरानका महमुद नेमातीसँग ०–५ ले पराजित भएपछि फाइनल पुग्ने उनको बाटो थुनियो।
त्यसपछि कांस्य पदकका लागि भएको 'रेपिचेज'मा शेर्पाले लाओसका वात्थाना जायासनलाई ९–१ को फराकिलो अङ्कले हराएर नेपालको पदक हात पारेका हुन्।

जितपछि उनले नेपालको लागि पदकको खाता खोल्न सकेकोमा खुसी व्यक्त गरेका छन्।
नेपाली राष्ट्रिय कराते टोलीका नियमित सदस्य तेन्जिङ शेर्पाले गत वर्ष श्रीलङ्कामा भएको १० औँ साफ कराते च्याम्पियन्शिपमा ८४ केजीमाथिकै तौल समूहमा स्वर्ण पदक जितेका थिए।
उनले एशियाली करातेका थुप्रै प्रतियोगिताहरुमा पनि प्रतिस्पर्धा गर्दै आइरहेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















