तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एकै सातामा फिफाका शक्तिशाली अध्यक्ष इन्फन्टिनो अचानक कसरी चर्को दबावमा परे
- Author, डेल जोन्सन
- Role, फुटबल मामिला संवाददाता
- Published
- पढ्ने समय: ४ मिनेट
राजनीतिमा एक साता भनेको लामो समय हो। फुटबलको राजनीतिमा।
मङ्गलवार बिहानसम्म जानी इन्फन्टिनोको फिफा अध्यक्षको शक्तिशाली पद अभेद्य जस्तो थियो।
तर उनले फिफाका प्रतियोगिताहरूको स्वामित्व आंशिक रूपमा निजी लगानी संस्थाहरूलाई बेच्ने प्रस्ताव राख्ने प्रयास गरेलगत्तै उनको पद अहिले जोखिममा परेको छ। उनले अरू कसैलाई पनि जानकारी नदिइकन त्यस्तो प्रस्ताव अघि सारेको जस्तो देखिन्छ।
चर्को आलोचनापश्चात् उनले उक्त प्रस्ताव अब अघि नबढाउने त भने तर उनीविरुद्धको विरोध रोकिएन।
युरोपले दिएको झट्का
युरोपको फुटबल प्रशासक निकाय – युनिअन अफ युरोपिअन फुटबल असोसिएसन्स (युईएफए वा युएफा)-ले इन्फन्टिनोको कटु आलोचना गर्दै नै आएको थियो।
बिहीवार उसले इन्फन्टिनोको पछिल्लो प्रस्तावकाविरुद्ध ठूलै झट्का दियो – विश्वकपसहित सम्पूर्ण फिफा प्रतियोगिताको बहिष्कार गर्ने धम्की दिएर।
अब उक्त युरोपेली फुटबल प्रशासक निकायले इन्फन्टिनोलाई यही मौकामा हटाउन सकिन्छ कि भन्ने ठानेको छ – सायद यो उसको लागि (इन्फन्टिनो हटाउने) अन्तिम मौका नै हुन सक्छ।
अचानक इन्फन्टिनोसँग चिढिएको ऊ मात्रै चाहिँ होइन।
उत्तर र मध्य अमेरिका अनि क्यारेबिअन क्षेत्रको फुटबल महासङ्घ कन्काकाफले पछिल्लो योजनाको पृष्ठभूमिमा फिफाको नेतृत्वबारे "समग्र समीक्षा" गरिनु पर्ने भनेको छ। यही संस्थासँग निकटमा रहेर इन्फन्टिनोले हालै २०२६ विश्वकप सम्पन्न गराएका थिए।
इन्फन्टिनोको लागि थप क्षति त के हो भने उनीप्रति निकै बफादार देशहरू रहेको एशियाली फुटबल महासङ्घ (एएफसी)ले पनि उनलाई साथ दिएन।
अनि उनका दुई जना अति निकट अधिकारीहरू – वरिष्ठ सल्लाहकार कार्लोस कोर्देरो तथा प्रमुख प्रशासकीय अधिकृत केभिन लामोर – ले पनि उनको साथ छाडे।
शनिवार सबेरै इन्फन्टिनो आफ्नो प्रस्तावबाट पछाडि हटे। तर युरोपेली निकायले अर्को घातक विज्ञप्ति जारी गर्दै इन्फन्टिनोको नेतृत्वप्रति विश्वास हराएको जनायो।
अब के होला?
के अब इन्फन्टिनोको पद धरापमा परेको हो?
इन्फन्टिनोको बहिर्गमनको सबभन्दा द्रुत मार्ग भनेको उनको राजीनामा हो - उनका पूर्ववर्ती सेप ब्ल्याटरले सन् २०१५ राजीनामा गरेजस्तै।
तर इन्फन्टिनोसँग अझै समर्थकहरू छन्। मार्चसम्म उनी यही पदमा रहिरहन सक्छन्। त्यतिबेला उनी चौथो र अन्तिमपटक फिफा अध्यक्षका लागि चुनाव लड्न पाउने छन्।
त्योबाहेक उनलाई हटाउने अन्य उपाय पनि छन्? फिफा काउन्सिलले आकस्मिक बैठक डाकेर उनलाई बाध्य पार्न सक्छ।
यदि फिफा काउन्सिलका ३७ मध्ये १९ जना सदस्यले चाहेमा त्यस्तो बैठक डाक्न सकिन्छ।
काउन्सिलमा युएफाका ९ जना सदस्य, एएफसीका ७ सदस्य, कन्काकाफका ५ सदस्य, अफ्रिकाका ६ सदस्य, दक्षिण अमेरिकी महासङ्घ कोन्मेबलका ५ सदस्य तथा ओसनिया क्षेत्रका ३ सदस्य अनि इन्फन्टिनो र फिफा महासचिव माटियास ग्राफस्ट्रोम सदस्य रहेका छन्।
बीबीसी स्पोर्टले बुझेअनुसार १९ भोट पुग्नेमा केही आशङ्का कायम छन्।
यदि १९जना सदस्यको समर्थन प्राप्त भए त्यस्तो काउन्सिल बैठक दुई साताभित्र बसिसक्नु पर्छ। काउन्सिलले इन्फन्टिनोलाई राजीनामा गर्न आह्वान गर्न सक्छ। तर उनले नाइँ भन्न सक्छन्।
तर त्यसले उनीमाथि दबाव बढ्ने छ।
अर्को कदम भनेको २११ सदस्यीय फिफाको असाधारण कङ्ग्रेस (सम्मेलन) डाक्नु हो। पूर्ण सदस्यमध्ये २० प्रतिशत वा ४३ सदस्य सङ्घहरूले "लिखित अनुरोध" गरेमा त्यस्तो सम्मेलन डाकिन्छ।
यूएफामा ५५ देशका सङ्घ सदस्य छन् र तिनले चाहेको बेला असाधारण कङ्ग्रेस डाक्न सक्छन्।
डाकिएको कम्तीमा २ महिनामा बैठक बस्न सक्छ तर त्यो सफल नै हुन्छ भन्ने छैन।
फिफा अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव पारित गर्न बहुमत वा कम्तीमा १०६ भोट आवश्यक पर्छ।
यूएफासँग ५५ भोट छ भने अफ्रिकासँग ५४, एसियासँग ४६, कन्काकाफसँग ३५, ओसनियासँग ११ अनि कोन्मेबलसँग १० भोट छन्।
अफ्रिका, कोन्मेबल र ओसनियाले हालसम्म इन्फन्टिनोको योजनाको आलोचना गरेका छैनन्।
उसोभए यूएफाले १०६ भोट जुटाउन सक्छ त? कुल १३६ देशले उनको लगानी योजनालाई आधिकारिक रूपमै अस्वीकार गरे। तर उक्त योजनाको विरोध गर्नु र इन्फन्टिनोलाई नै हटाउन कस्सिनु फरक विषय हुन्।
ती १३६ देशमध्ये कतारले इन्फन्टिनोलाई सार्वजनिक रूपमै समर्थन जनाएको छ भने मेक्सिकोले कन्काकाफको विज्ञप्तिबाट आफूलाई अलग्ग्याएको छ।
चुनावको विकल्प
बाँकी विकल्प भनेको आगामी मार्चमा इन्फन्टिनोलाई विस्थापन गर्न सक्ने उम्मेदवारको खोजी हो।
सन् २०१९ र सन् २०२३ मा पुन: निर्वाचित हुने गरी उम्मेदवारी दिँदा इन्फन्टिनो निर्विरोध चयन भएका थिए।
यदि कसैले उनको पदमा दाबी पेश गर्ने हो भने नोभेम्बर १८ भित्र उम्मेदवारी घोषणा गरिसक्नु पर्ने छ।
यदि यूएफा तथा इन्फन्टिनोका कटु आलोचकहरूले चुनावको बाटो रोज्ने हो भने उनीहरूले सबैलाई एकताबद्ध गर्न सक्ने उम्मेदवार खोज्नु पर्ने हुन्छ।
यूएफा इन्फन्टिनोविरुद्ध सशक्त रूपले उत्रिएका कारण युरोपेली उम्मेदवारले विश्वभरिको समर्थन पाउन कठिन हुन सक्छ। त्यसो गर्दा युरोपले फिफालाई नियन्त्रण गर्न खोजेको जस्तो देखिने जोखिम हुन्छ।
शनिवार एक विज्ञप्ति जारी गर्दै इन्फन्टिनोले आफ्नो उद्देश्य "आगामी दिन तथा साताहरूमा सबै सरोकारवाला पक्षलाई एकै ठाउँमा ल्याउने" रहेको बताएका थिए।
इन्फन्टिनोको निम्ति पश्चातापको प्रदर्शनले विद्यमान सङ्कट टर्न सक्छ।
सायद त्यसले काम गरिरहेको पनि छ। कतारको समर्थनपश्चात् सन् २०३० को विश्वकप प्रतियोगिताको सहआयोजक मोरोक्कोले शनिवार बेलुकी उनीप्रति समर्थन जनायो। उक्त योजना रद्द गरेकोमा इजिप्टले इन्फन्टिनोको प्रशंसा गर्यो।
यदि विस्तारै थप सदस्य सङ्घहरूलाई आफ्नो पक्षमा पार्न सकियो भने अविश्वासको मतबाट आफू जोगिने इन्फन्टिनोको सोचाइ हुन सक्छ।
कुनै पनि अविश्वासको प्रस्ताव मतदानसम्म पुग्न कम्तीमा ३ महिनाको समय बाँकी छ र त्यतिञ्जेल आफ्नो अवस्था सुधार्न सकिने उनीसँग मौका छ।
यूएफाको सामु खडा प्रश्न चाहिँ कसैगरी उसले इन्फन्टिनोको निम्ति राजीनामाबाहेक अन्य विकल्प बाँकी नहुने अवस्थाको सिर्जना गर्न सकिन्छ कि सकिँदैन भन्ने हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।