२७ उडानमार्फत् २४ खेल हेर्न फिफा अध्यक्षले ओहोरदोहोर गर्दाको 'दीर्घकालीन मूल्य'

जानी इन्फन्टीनो
    • Author, जेक हर्टन, टम शील, क्लारन भार्ली र केटी गर्नल
    • Role, बीबीसी भेरिफाई तथा बीबीसी स्पोर्ट
  • Published
  • पढ्ने समय: ५ मिनेट

विश्व फुटबल महासङ्घ (फिफा)का अध्यक्ष जानी इन्फन्टीनो यस गर्मीयाममा आयोजित विश्वकपमा उत्तर अमेरिकाभर दुई साताभन्दा बढी समयमा २४ खेलमा पुगे। त्यस क्रममा हजारौँ हवाई माइलको दूरी यात्रा भयो।

यस प्रतिस्पर्धा अमेरिका, क्यानडा र मेक्सिको गरी तीन देशमा भइरहेको छ। ती देशका १६ सहरहरूमा विस्तार भएको समूह चरणका कारण पहिलेभन्दा धेरै खेलहरू भए।

फिफाको सन् २०२६ विश्वकपमा दिगोपन र मानव अधिकार रणनीतिमा अध्यक्षले भनेका थिए : "हामी जलवायु, मानव अधिकार, रोग वा अपाङ्गता जे बारेमा कुरा गरे पनि त्यसमा हामी आफ्नो भूमिका खेल्न प्रतिबद्ध छौँ।"

बीबीसी भेरिफाई र बीबीसी स्पोर्टले फिफा र इन्फन्टिनोसँग जोडिएको एउटा निजी जेट 'ट्र्याक' गर्दै आएका छन्। त्यसले प्रतियोगिताका क्रममा २७ उडानहरू ती सहरहरूमा गरेको छ, जहाँ फिफा प्रमुखले खेलहरू हेरेको तस्बिर उपलब्ध छ।

पन्ध्र दिनमा यस जेटबाट अनुमानित जलवायु प्रभाव लगभग एक वर्षभरि औसतमा ७८ जनाको हुने बराबर छ।

फिफा अध्यक्ष कहाँकहाँसम्म पुगे?

इन्फन्टिनोले प्रतियोगिताको समूह चरणका बेला कैयौँ पटक दैनिक दुई खेलमा भाग लिएका छन्। ती प्रायः सयौँ माइल टाढाका सहरहरूमा हुन्छन्। उनले केही दिनमा तीनवटा बेग्लाबेग्लै उडान गरेका छन्।

यस प्रतियोगिताअघि फिफा अध्यक्षले अर्कै अर्थात् कतार एअरवेज इग्जेक्युटिभ जेट प्रयोग गरेको फोटो खिचिएको छ। विवरणहरूका अनुसार यस विश्वकपमा उनी गल्फस्ट्रीम जी६५०ईआरमा उडान गरिरहेका छन्।

बीबीसीले फिफासँग त्यसको पुष्टि गर्न सोधेको थियो। उसले जवाफ दिएन। तर हामीले विमानको 'ट्र्याकिङ'सम्बन्धी डेटा प्रयोग गरेर विमानको उडानहरू नक्साङ्कन गरेका छौँ।

अनि प्रत्येक यात्राको गन्तव्य एउटै मितिमा एउटै सहरका रङ्गशालाहरूमा खिचेर इन्फन्टीनोले प्रकाशित गरेका तस्बिरहरूसँग मेल खान्छ।

उत्तर अमेरिकाको नक्सामा जानी इन्फन्टीनोको यात्रा

पहिलो दुई सातामा इन्फन्टीनोले गरेको सबैभन्दा लामो उडान ४,५०७ किलोमिटरको थियो। त्यो १३ जुनमा भ्यान्कूभरबाट मायामीसम्मको थियो। उक्त यात्रा उनले अस्ट्रेलियाले टर्कीसँग खेलेको फुटबल हेरपछिको थियो।

उनले केही छोटा यात्रा पनि गरेका छन्। गत २२ जुनमा उनको जेटले फिलडेल्फियाबाट न्यूजर्सीको टेटेर्बोरो विमानस्थलसम्म १४८ किलोमिटर दूरीको उडान गरेको थियो।

इन्फन्टीनो त्यहाँ कुनै खेलमा उपस्थित भएनन्। तर भोलिपल्ट बिहान छिमेकी न्यूयोर्कको फक्स न्यूज स्टुडियोमा उनको अन्तर्वार्ता लिइएको थियो। त्यसै दिन ढिलो गरी उनले बोस्टन र टोरन्टोमा खेल हेर्न उडान गरे।

उडानको दूरी देखिने गरी फिफा अध्यक्षका यात्रा

उनको सबैभन्दा टाढाको एकै दिनको यात्रा (रात्रिकालीन उडानहरू समावेश नगरी) जुन १५ थियो। त्यस दिन उनले बेल्जम र इजिप्टबीचको खेल हेर्न मायामीबाट सियाटलसम्म अमेरिका पार गर्दै ४,००० किलोमिटरभन्दा बढी उडान गरेका थिए।

त्यसपछि उनले लगभग १,५४५ किलोमिटर दक्षिणमा लस एन्जलसको यात्रा गरे अनि त्यस साँझ इरानविरुद्ध न्यूजील्यान्डको खेलमा उपस्थित भए।

यात्राको अर्को लामो दिन जुन २६ थियो। त्यस दिन उनको जेट मायामीबाट उडान भरेर ड्यालसमा छोटो समयका लागि रोकियो। त्यसपछि सियाटलका लागि उडान जारी राख्दै इजिप्ट र इरानको खेल हेर्न पुगेका इन्फन्टीनोको तस्बिर खिचिएको थियो।

अवतरणको लगभग पाँच घण्टापछि उक्त विमान सियाटलबाट उड्दै अर्को ४,३४५ किलोमिटर उडान गर्दै मायामी फर्कियो। विमान मायामी पुग्दा भोलिपल्ट बिहान भइसेको थियो।

इन्फन्टीनोले भोलिपल्ट मायामीमा समूह चरणको आफ्नो २४औँ र अन्तिम खेलका रूपमा पोर्चुगलले कोलम्बियासँग खेलेको हेरे।

हाम्रो विश्लेषणले देखाएअनुसार समग्रमा निजी जेटले प्रतियोगिताको सुरुवातदेखि जुन २७ सम्म कम्तीमा ५०,१२२ किलोमिटर यात्रा गरेको छ र ६६ घण्टाभन्दा बढी समय आकाशमा बिताएको छ।

निजी जेट

उत्सर्जनका हिसाबले त्यो कति हो?

सामान्यतः निजी जेटबाट उडान गर्नु वायुमण्डललाई तातो बनाउने हरितगृह ग्यासहरूको उत्पादन, विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनलाई बढावा दिने यात्राको सबैभन्दा 'कार्बन-सघन' तरिका हो।

इन्फन्टीनोले प्रयोग गरिरहेको ठानिएको गल्फस्ट्रीम जी६५०ईआर विमानको औसत इन्धन खपत दर प्रतिघण्टा लगभग १,८१७ लिटर छ। त्यसको अर्थ समूह चरणको समयमा उनको यात्राले अनुमानित ५१६ टन कार्बनडाइअक्साइड-इक्विभलन्ट (CO2e) उत्पादन गरेको थियो।

यो हिसाब ब्रिटिश सरकारको हरितगृह ग्यास रूपान्तरणको आधारमा हो।

यस्तो अन्तिम तथ्याङ्कमा कार्बनडाइअक्साइड र अन्य ग्यासहरू प्रत्यक्ष रूपमा निस्कने अनुमानहरू समावेश छन्। उड्डयनको अप्रत्यक्ष जलवायु प्रभावहरू समेट्न यस्तो समायोजन गरिएको छ।

यी केवल अनुमानहरू हुन सक्छन् किनकि हामी वास्तविक जीवनमा हुने उत्सर्जनको सही जानकारी थाहा पाउन सक्दैनौँ। उडान र अवतरणको समयमा इन्धन खपत दरहरू सामान्यतया उच्च हुन्छन्।

युरोपेली सङ्घको तथ्याङ्कअनुसार एक व्यक्तिको लागि विश्वव्यापी औसत वार्षिक हरित गृहग्यास उत्सर्जन दर ६.५६ टन CO2e हो।

त्यसैले लगभग पन्ध्र दिनमा इन्फन्टीनोनोको यात्राले लगभग ७८ जनाले एक वर्षमा उत्पादन गर्न सक्नेजति ग्यास उत्पादन गरेको छ भन्ने विश्वास गरिन्छ।

उक्त विमानमा १९ जनासम्म अट्छन्। हामीलाई ती प्रत्येक उडानमा कति जना सवार थिए भन्ने थाहा छैन। त्यसैले हामी हरेक यात्रु उत्सर्जनको सही हिसाब निकाल्न सक्दैनौँ।

फिफा अध्यक्ष उपस्थित खेल

तस्बिर स्रोत, Getty Images/Instagram

एक फिफा प्रतिनिधिले बीबीसी स्पोर्टलाई भने : "फिफा अध्यक्ष नियमित रूपमा यात्रा गर्छन्। त्यस्ता व्यावसायिक वा प्रतियोगितासँग सम्बन्धित कामका क्रममा उनीसँग सम्बन्धित अधिकारीहरू हुन्छन् र सम्भव भएसम्म फिफा सदस्य सङ्घहरूलाई भेट्न प्रयास गर्छन्।"

त्यसमा थप भनिएको छ : "परिस्थितिमा कुन बढी प्रभावकारी र खर्च कम हुने खालको छ भन्ने मूल्याङ्कनमा निर्भर रहँदै कहिलेकाहीँ यात्रा व्यावसायिक [कम लागत सहित] एअरलाइन्सहरूमा व्यवस्था गरिन्छ र कहिलेकाहीँ यो निजी चार्टर्ड विमानमा हुन्छ।"

के विश्वकपका खेलहरूमा जाने कुनै उडानहरू व्यावसायिक एअरलाइन्सहरूमा पनि थिए भनेर हामीले फिफालाई सोध्यौँ। कति मानिसहरू कतार इग्जेक्युटिभ जेटमा यात्रा गर्छन् र फिफाले यी उत्सर्जनहरूको क्षतिपूर्ति गर्छ कि गर्दैन भनेर पनि हामीले सोध्यौँ। तर फिफाले त्यसले जवाफ दिएको छैन।

खेलकुद र जलवायुसम्बन्धी सञ्जाल कूलडाउनका लागि काम गर्ने फ्रेडी डेलीले विश्वकपमा इन्फन्टीनोको निजी जेटको स्पष्ट प्रयोगलाई "वातावरण र दिगोपनमा फिफाको असफलताको सङ्केत" भनेका छन्।

"इन्फन्टीनोले निजी जेट प्रयोग गर्ने छनौट गर्नु वातावरणीय मुद्दाहरूमा फिफाको माथिल्लो तहमा हामीले हेर्नुपर्ने नेतृत्वको स्तरसँग पूर्ण रूपमा बाझिएको छ," ससिक्स विश्वविद्यालयका अनुसन्धानकर्ता डेली भन्छन्।

निजी जेटहरूको "पूर्ण रूपमा विशाल प्रभाव" हुन्छ। युरोपेली यातायात तथा वातावरण महासङ्घकी दिगो यात्रासम्बन्धी विज्ञ डेनिस अक्लेअर भन्छिन् : "यी वायुयानहरू व्यावसायिक विमानहरूभन्दा पाँचदेखि १४ गुणा बढी र रेलहरूभन्दा ५० गुणा बढी प्रदूषक छन्।"

यस विश्वकपअघि फिफाका वातावरणीय वाचा केके थिए?

फिफाले सन् २०३० सम्ममा उत्सर्जन ५० प्रतिशतले घटाउने र सन् २०४० सम्ममा 'नेटशून्य'मा पुग्ने प्रतिबद्धता जनाएको छ।

यस वर्षको प्रतियोगिताका लागि विश्व फुटबलको नियामक निकायले कैयौँ वातावरणीय प्रतिबद्धताहरू गरेको छ। तिनमा यी कुरा समावेश छन् :

  • क्षेत्रीय रूपमा टोलीहरूलाई समेट्ने, जसले "उल्लेखनीय अनुपातमा सहभागीहरूका लागि लामो दूरीको यात्राको भार" कम गर्छ
  • विद्युतीय कार, सार्वजनिक यातायात र जलसंरक्षणको प्रयोगलाई प्रवर्द्धन गरेर ऊर्जा दक्षता बढाउने प्रयासहरू
  • पहिल्यै रहेका रङ्गशालाहरूको प्रयोग।

यद्यपि जुन ११ मा पहिलोपटक यस विश्वकपको बल चल्नुअघि नै प्रतियोगिताको आकारलाई लिएर केही जलवायु वैज्ञानिकहरूले आशङ्का व्यक्त गरेका थिए।

साइन्टिस्ट्स फर ग्लोबल रिस्पोन्सिबिलटी (एसजीआर) को सन् २०२५ को प्रतिवेदनले यस विश्वकपको समग्र कार्बन फूटप्रिन्ट ९० लाख टन CO2e पुग्न सक्ने अनुमान गरेको छ।

यसले यो पछिल्ला चार वटा विश्वकपको औसतको लगभग दोब्बर हुने बताएको छ। अर्थात् यस वर्षको प्रतियोगिता अहिलेसम्मकै सबैभन्दा प्रदूषक बनेको छ।

सन् २०२३ मा एक स्विस नियामकले फिफाले सन् २०२२ को कतार विश्वकपलाई इतिहासको पहिलो कार्बन-तटस्थ विश्वकप हुने छ भनेर दाबी गर्दै "गलत बयान दिएको" बताएको छ।

उक्त निकायले उत्सर्जनको क्षतिपूर्ति गर्न थोरै कार्बन उत्सर्जन हुने खालका पहलहरूमा लगानी गर्ने गर्छ।

उक्त फैसलाको जवाफमा फिफाले यो "जलवायु परिवर्तन हाम्रो समयको सबैभन्दा पेचिलो चुनौतीहरूमध्ये एक रहेको भन्ने कुरामा पूर्ण रूपमा सचेत रहँदै त्यसको लागि हामी हरेकले तत्काल र दिगो जलवायुसम्बन्धी ककार्य गर्न आवश्यक रहेकोमा विश्वास गर्छ" भनेको छ।

इन्फन्टीनोले कतारमा भएको पछिल्लो विश्वकपका सबै ६४ खेलहरू हेरेका थिए। त्यहाँ प्रयोगमा ल्याइएका आठ वटा रङ्गशालाहरू लगभग एक घण्टाको ड्राइभ दूरीमा निर्माण गरिएका थिए।

तर यस वर्ष पूरै महादेशमा फैलिएको प्रतियोगिताले एकदमै फरक चुनौती प्रस्तुत गर्छ।

मार्क पोइन्टिङको थप रिपोर्टिङ

BBC Verify banner