भाले छैन: पोथीमात्र हुने माछाले वैज्ञानिकहरूलाई आश्चर्यमा पारेका छन्

तस्बिर स्रोत, Manfred Schartl
- Author, फ्लोरेन्स क्रेग
- Role, बीबीसी
- Published
- पढ्ने समय: ६ मिनेट
मेक्सिको र दक्षिणी टेक्ससका नदीहरूमा अस्तित्व नै नहुनुपर्ने एउटा माछा प्रजाति पौडिरहेका हुन्छन्।
ऊ आफ्ना पोथी साथीहरूसँग मिलेर पौडी खेलिरहेकी हुन्छे उसका चाँदी रङका कत्लाहरू नजिकको सम्बन्धित प्रजातिका भाले माछासँग रगडिन्छन्। त्यति नै बेला उसले आफ्नो भाले रोजेकी हुन्छे। तर अनौठो विकास क्रममा भालेका जीनहरूको पोथीका बच्चाहरूमा कुनै भूमिका हुँदैन।
यसलाई अङ्ग्रेजीमा गाइनोजेनेसिस भनिन्छ जहाँ भालेको शुक्रकीटले पोथीको अण्डालाई विकासित तुल्याइदिन्छ तर उसको डीएनए भने त्यागिन्छ। जसले गर्दा उसले छोरीहरू मात्र जन्माउँछे। आफू जस्तै छोरीहरू।
यो माछालाई एमजन मोली भनिन्छ। यसको नाम ग्रीक प्राचीन कथामा वर्णन गरिए जस्तै सम्पूर्ण रूपमा महिला लडाकु जातिबाट लिइएको हो। यसले करिब १०० वर्षदेखि नै वैज्ञानिकहरूलाई आश्चर्यमा पारेको छ।
विकास क्रमको सिद्धान्तले अलैङ्गिक प्रजाति छिटै समाप्त हुनु पर्ने हो किनभने यौन संसर्ग बिना हुने प्रजननमा समयसँगै घातक प्रकारका उत्परिवर्तन जम्मा हुन थाल्छन्। तर माछाको यो प्रजाति १ लाख वर्षदेखि त्यस्तै रहिरहेको छ।
त्यसो भए एमजन मोली कसरी अस्तित्वमा रहिरहेको छ?
किन यौनको महत्व छ?
एमजन मोलीबारेको नयाँ अध्ययनका सह लेखक तथा लुडविग म्याक्समिलन विश्वविद्यालय म्यूनिख जर्मनीमा कम्प्युटेशनल जीवविज्ञानशास्त्री एडवर्ड राइसमेयर भन्छन् - यौन महँगो छ।
जीवले एउटा साथी खोज्नुपर्यो र त्यससँग प्रजनन गर्नुपर्यो। त्यसो गर्दा एक अभिभावकले आफ्नो डीएनएको आधा मात्र दिन सक्छ। प्रजनन अक्सर असमान हुन्छ किनभने धेरै प्रजातिका पोथीले बच्चा जन्माउन र हुर्काउनका लागि भालेको तुलनामा धेरै समय लगानी गरेको हुन्छ।
अलैङ्गिक प्रजनन त्यसको बदलामा राम्रो अवसर जस्तो लाग्छ। भाले खोज्नु पनि परेन, पाउनु पनि परेन, अनि तपाईँको जीनको १०० प्रतिशत नै आफ्ना बच्चामा स्थानान्तरण गर्न पाइन्छ।
तर जीवनचक्रमा यौन प्रमुख हुन्छ।
आर्म्सटरडम विश्वविद्यालय द नेदरल्यान्ड्समा विकास क्रमका जीव वैज्ञानिक डेभ स्पीजर भन्छन्, "बृहत् दृश्य हेर्ने हो भने यौनमार्फत् नै ९९.९ प्रतिशत प्रजनन हुने गर्छ।"

तस्बिर स्रोत, Oleg Kovtun via Getty Images
लैङ्गिक प्रजननका बेला भाले र पोथीका डीएनए रिकम्बिनेशन भनिने प्रक्रियाबाट साटिन्छन् र त्यसकै माध्यमबाट हरेक नयाँ जन्मिने जन्तुमा विशेष किसिमको जीनको कम्बिनेशन बन्न पुग्छ।
त्यसको अर्थ हो लैङ्गिक प्रजातिमा अक्सर आनुवंशिक विविधता धेरै हुन्छ। हरेक जीवमा जीनको अलग अलग कम्बिनेशन हुने भएकाले त्यो उक्त प्रजातिको अस्तित्वका लागि फाइदाकारी हुन्छ।
यौन प्रजननले सुरक्षा पनि प्रदान गर्छ। आनुवंशिक साटफेर बिनाका प्रजातिले म्युलर्स र्याचेट भनिने खतराको सामना गर्नुपर्ने हुन्छ।
स्पीजेर भन्छन् डीएनएको प्रतिलिपि बन्ने बेला "सधैँ त्रुटि हुने गर्छ।"
लैङ्गिक प्रजातिमा, ती त्रुटिहरू जीनको सङ्ग्रहबाट बाहिर जान सक्छन् तर क्लोन गरिएका प्रजातिमा - जुन मुख्य रूपमा अलैङ्गिक रूपमा प्रजनन हुने गर्छ ती त्रुटि बारम्बार एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुने गर्छ।
समय बित्दै जाँदा यी हानिकारक उत्परिवर्तन थुप्रिँदै जान्छन् त्यसले त्यो जीनोमलाई नै खराब बनाउँदै लग्छ र अन्त्यमा त्यो प्रजाति नै लोप हुन पुग्छ।
यौनविना नै बाँचिरहनु
यो सिद्धान्त अनुसार अलैङ्गिक प्रजातिहरूको जीवनकाल छोटो हुनुपर्छ र आनुवंशिक क्षय हुँदै जानुपर्ने हुन्छ। तर एमजन मोली जस्ता प्रजाति जीवित रहेका मात्र नभै फस्टाएका पनि छन्।
स्पीजर ठान्छन् - कसरी यो सिद्धान्तको व्याख्या गरिन्छ भन्ने कुराले पनि यसमा केही भ्रम उत्पन्न हुन सक्छ।
उनको तर्क छ- यो केबल यौनको बारेमा मात्र कुरा होइन यसलाई त जीवनको सबै रहस्यलाई कसरी बुझ्ने भन्ने रूपमा हेर्नुपर्छ। कुनै पनि प्रणालीमा अनुवांशिक "त्रुटि "लाई व्यवस्थापन गर्ने कुनै उपाय हुनुपर्छ। र यौन सम्बन्ध एक त्यस्तै रणनीति हो।
यो दृष्टिकोणबाट हेर्दा लामो समयसम्म जीवित रहने अलैङ्गिक प्रजातिले विकासवादी सिद्धान्तको उल्लङ्घन गरेको नभै बचिरहन वैकल्पिक तरिका खोजिरहेका छन्।

तस्बिर स्रोत, Charles Krebs via Alamy
जनावरमा केही जन्तु अलैङ्गिक छन् र ती सिद्धान्तले पुष्टि गर्नेभन्दा धेरै लामो समय प्रकृतिमा छन्।
एमजन मोली एउटा त्यस्तै प्रजाति हो। त्यसैले यस्ता लामो समयदेखि अस्तित्वमा रहेका प्रजातिबारे बहस जारी छ।
'कपी पेस्ट' प्रणाली
राइसमेयर भन्छन् -नयाँ अध्ययनले "जीन कन्भर्जन" बारे नयाँ कुरा पत्ता लगाएको छ।
जीन कन्भर्जन भनेको जीनको मर्मत गर्ने एक तरिका हो र यो एमजन मोलीमा मात्र सीमित कुरा होइन। यो मानव लगायत धेरै जीवमा हुने गर्छ।
मानिस जस्तो यौन सम्पर्कको माध्यमबाट प्रजनन हुने प्रजातिमा हरेक व्यक्तिले हरेक जीनको दुई प्रति बोकेको हुन्छ। एउटा आमाबाट अर्को बाबुबाट। यदि यूभी रेडिएशन जस्ता कारणले डीएनमा क्षति पुग्यो भने कोषहरूले बाँकी रहेको जीनको प्रतिको आधारमा अर्कोको मरम्मत गर्ने गर्छन्।
मान्छे वा अन्य जीवमा यो प्रक्रियाले डीएनएमा पुग्ने क्षति भित्रभित्रै सच्च्याइसकेको हुन्छ। एमजन मोलीजस्ता जीवमा जीनोम बचाइराख्न जीन कन्भर्जनले मुख्य भूमिका खेलेको हुन्छ।

तस्बिर स्रोत, OsakaWayne Studios via Getty Images
राइसमेयर र उनको समुहले विभिन्न पुस्ताका मोलीका डीएनए तुलना गरेका थिए।
त्यसमा मोलीको डीएनए यौन मार्फत् नभएर जीन कन्भर्जनमार्फत् नयाँ नयाँ बनाइएको पाइयो।
यहाँ यौनबाट हामीमा जीनोममा उत्पन्न हुनसक्ने हानिकारक उत्परिवर्तन रोक्न काम गरिरहेको हुन्छ त्यही काम मोलीमा जीन कन्भर्जनले गरेको हुनसक्ने पाइयो।
अन्य अलैङ्गिक जनावर जस्तै एमजन मोली एउटा समागमबाट उठेको हो। यो प्रजाति पोथी एटलान्टिक मोलीले भाले सेलफिन मोलसँग समागम गर्दा उत्पन्न भएको अध्ययनले सुझाएको छ।
धेरैजसो हाइब्रिडहरूमा जस्तो यो समागमले बाँझो सन्तान जन्माएन। बरु त्यस्तो प्रजाति जन्मायो जसले यौन बिना नै प्रजनन गर्न सक्यो।
त्यसैले अहिले हरेक एमजन मोलीले दुई प्राचीन प्रजातिका अनुवंश बोकेको हुन्छ।
यही दुइ प्रकारका विरासत बोकेका कारण मोलीमा यसप्रकारको वृहत् जीन कन्भर्जनका लागि सक्षम भएको हुन सक्छ।

तस्बिर स्रोत, DEA/C.DANI/De Agostini via Getty Images
आश्चर्यजनक रूपमा जीन कन्भर्जन जीनोमको कुनै निश्चित भागमा धेरै हुने गरेको पाइयो।
१ लाख वर्षदेखि यौनकार्यमा संलग्न नभए पनि माछाको यो प्रजातिको अनुवंशिक स्वास्थ्य राम्रो रहेको जस्तो देखिएको छ।
मानव विज्ञानका लागि अर्थ
आनुवंशिक "त्रुटि"सँग कसरी जुझ्ने भन्ने रणनीति बुझ्ने हो भने त्यो मानवका लागि पनि फाइदा कारक हुन सक्छ।
किनभने हानिकारक उत्परिवर्तन अलैङ्गिक प्रजातिमा मात्र सीमित छैन।
"क्यान्सर उत्परिवर्तनका कारण हुने रोग हो," राइसमेयर भन्छन्। उनले आफ्नो अध्ययनको परिणामबारे धेरै भनेनन् तर प्रकृतिले उत्परिवर्तनसँग कसरी जुझ्छ भन्ने बुझ्नु वा आनुवंशिक उत्परिवर्तनलाई बुझाउने कुनै पनि कुरा दीर्घकालमा फाइदाकारी नै हुने छ भने।
एमजन मोलीले यौनका कारण हुने जीनको साटफेरलाई वैकल्पिक र साँच्चिकै स्थिर उपाय विकास गरेको छ कि भन्ने प्रश्न छ। वैज्ञानिकहरूले आनुवंशिक परिवर्तनबारेको म्युलर को सिद्धान्तलाई कसरी टाढै राखेको छ भन्ने कुरा बुझेका छैनन्।
तर यो माछाको सन्दर्भमा विकासवादी सिद्धान्तले काम गर्दैन जस्तो छ, मोलीको आनुवंशिक स्वास्थ्य अनपेक्षितरूपमा बलियो छ।
"जीनोम स्वस्थ राख्न यौन सम्पर्कबाट हुने प्रजनन नै एक मात्र सही उपाय हो भन्ने सोच्थ्यौँ, ...तर त्यो त होइन रहेछ र अर्को उपाय पनि रहेछ भन्ने हामीले पत्ता लगायौँ," राइसमेयरले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















