'डोकलामबाट भारतीय सैनिक फिर्ता'

डोकलाम

तस्बिर स्रोत, AFP

Published

चीनले भारतले भुटानसंग सीमा जोडिएको विवादित डोकलाम भूभागबाट भारतीय सैनिकहरु फिर्ता भएको जनाएको छ।

यसअघि भारत सरकारले हिमालय क्षेत्रमा अवस्थित विवादित डोकलाम क्षेत्रबाट फौजहरु फिर्ता गर्न चीनसँग समझदारी भएको बताएको छ।

डोकलामबारे दुवै देशबीच महिनौं यता विवाद चलिरहेको थियो।

भारतीय विदेशमन्त्रालयले हप्तौंदेखि जारी वार्ताका आधारमा यस्तो समझदारी बनेको जनाएको छ।

भारतले गएको जुन महिनामा भुटानले आफ्नो दाबी गर्ने उक्त क्षेत्रमा सडक निर्माण गर्नबाट चीनलाई रोक्न आफ्ना फौज खटाउने निर्णय गरेको थियो।

तर चीनले डोकलाम आफ्नो भूमि भएको भन्दै भारतीय फौजले सीमा अतिक्रमण गरेको टिप्पणी गरेको थियो।

समाधान

भारतीय विदेश मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै भनेको छ, "हालैको हप्तामा डोकलाम विवादलाई लिएर भारत र चीनबीच कूटनीतिक तहमा छलफल जारी रहेको छ, यो कुराकानीमा हामीले एक आपसको चिन्ता र हितकाबारेमा छलफल गरेका छौँ। यसै आधारमा डोकलाममा जारी विवादलाई लिएर सीमामा रहेका सेना द्रुत रुपमा हटाउने निर्णय गरेका छौ र यस दिशामा काम अघि बढेको छ।"

सीमा विवादलाई लिएर हालैका केहि महिनामा भारत र चीनबीच तनावको वातावरण चलिरहेको थियो।

दुई देशले सन् १९६२ मा सीमा विवादकै कारण युद्ध समेत गरेका थिए र अहिले पनि सीमा विवाद देखिने वितिक्कै दुई देशबीच तनावको वातावरण बन्ने गर्छ।

गएको मे महिनामा डोकलामलाई लिएर शुरु भएको तनावका मझ चीनले सीमा क्षेत्रमा आफ्ना सैनिकको तैनाथी बढाएको थियो।

दोकलाम

तस्बिर स्रोत, BBC

उसले भारतलाई आफ्ना सैनिक फिर्ता गर्न भन्दै आएको थियो।

तनाव

भुटानसँग सीमा जोडिएको भारतको उत्तर पूर्वमा अवस्थित सिक्किमको नजिकै पर्ने डोकलाममा चीनले सडक निर्माण गर्न थालेपछि भारतले त्यसको विरोध गरेको थियो।

दोलकाम

तस्बिर स्रोत, Getty Images

उक्त क्षेत्रलाई भारतमा डोकलाम र चीनमा डोंगलोंग भन्ने गरिन्छ।

भुटान र चीन दुवैले उक्त इलाकालाई आफ्नो भनेर दाबी गर्छन्।

भारतले भुटानले डोकलाममाथि प्रस्तुत गरेको दाबीलाई समर्थन गर्दै आएको छ।

भारतले उक्त सडकको निर्माण पुरा भएको आफ्नो उत्तर पूर्वी क्षेत्र जोड्ने २० किलोमीटर चौडा 'चिकेन्स नेक' भनिने कुखुराको घाँटी आकारको क्षेत्रमा चीनको पहुँच बढ्ने भन्दै चिन्ता व्यक्त गर्ने गरेको छ।

'सेभन सिस्टर्स' पनि भनिने उक्त क्षेत्र भारतका लागि सामरिक रुपमा निक्कै महत्वपूर्ण मान्ने गरिन्छ।

भारत र चीनबीच साढे तीन हजार किलोमिटर लामो सीमा क्षेत्र रहेको छ जसमध्ये कैयौं स्थानमा विवाद रहेको छ।