नवौँ राष्ट्रिय खेलकुद: निशाले जगाएको आशा

    • Author, निरञ्जन राजवंशी
    • Role, पोखरा
  • Published

"म जित्न सक्थेँ, साँच्चै नै म जित्न सक्थेँ। तर केही नर्भस भएँ, केही दबावले थिच्यो।"

पोखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १०० मिटर दौडमा स्वर्ण जित्नबाट चुकेपछि निशा चौधरी थकथकाइ रहेकी थिइन्।

पहिलोपटक राष्ट्रिय प्रतियोगिता खेल्न आएकी निशालाई एथलेटिक्सको सबैभन्दा चासोको विधा मानिने १०० मिटर दौडकी नयाँ राष्ट्रिय च्याम्पियनको रूपमा समेत कतिपयले हेरेका थिए।

किनकी उनले हिट चरणमा नै राष्ट्रिय कीर्तिमान बनाइसकेकी थिइन्।

अब प्रतीक्षा फाइनलको थियो।

रोचक प्रतिस्पर्धा

फाइनलको भिडन्त भर्खरै नेपाली एथलेटिक्स क्षेत्रमा उदाएकी निशा र लामो समयदेखि छोटो दूरीको प्रतिस्पर्धामा वर्चश्व जमाउँदै आएकी ओलिम्पियन सरस्वती चौधरीबीच हुँदै थियो।

तर पहिलोपटक राष्ट्रिय प्रतियोगिता खेल्दै गरेकी १७ वर्षिया निशाले फाइनलको दबाव भने झेल्न सकिनन्।

टोकियो ओलिम्पिक्समा सहभागी सरस्वती सामू निशा ०.०९ पल्स सेकेन्डको अन्तरमा पराजित हुन पुगिन्।

लङजम्पमा पनि उनी रजत पदकमै सीमित भइन्।

यसमा पनि उनमा अनुभवको कमी र दबाव कारण भएको महसुस गर्न सकिन्थ्यो।

"विभागीय टोलीबाट खेल्ने, विदेशमा पनि खेलिरहने दिदीहरू भनेपछि अलिकति डर लाग्ने रहेछ।"

तुलसीपुरकी खेलाडी निशा भन्छिन् -" म हल्का दबावमा परेँ, सुरुमा नै विगारेँ। दिदी (सरस्वती चौधरी) दुई स्टेप अगाडि बढेपछि मात्र म कुदेछु।"

सम्भावनाको सुरुआत

स्वर्णमा चुकेपनि निशाले नेपाली एथलेटिक्समा नयाँ सम्भावनाको ढोका खोलेकी छिन्।

उनको सनसनीपूर्ण आगमनले एथलेटिक्स क्षेत्रमा नयाँ तरङ्ग आएको देखिएको छ।

उनका प्रशिक्षक पद्मा चौधरी भन्छिन् - "निशामा तहल्का मच्चाउन सक्ने प्रचुर सम्भावना छ।"

निशाको घर दाङ तुलसीपुर-१६ भेलाधीमा छ।

बुबा लक्ष्मीराम चौधरीले उनलाई खेलकुद क्षेत्रमा प्रवेश गराएका हुन् ।

बुबा लक्ष्मीरामलाई तेक्वान्दो खेले बलियो र आँटिलो हुन्छ भन्ने लागेछ र छोरीलाई चार वर्ष अगाडि तेक्वान्दोमा भर्ना गरिदिए।

१३ वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी निशाले स्कुलमा हुने स्पोर्ट्स डे मा एथलेटिक्समा भाग लिन्थिन्।

सुरुमा राम्रो नतिजा ल्याउन नसकेपनि दुई वर्षपछि नै उनी दौडमा च्याम्पियन बन्न सफल भइन्।

तेक्वान्दो भन्दा उनको प्रतिभा एथलेटिक्सको स्प्रिन्ट र लङजम्पमा राम्रो देखिँदै आयो।

उनी पढेको दीपेन्द्र मावी स्कुलले पनि उनलाई दौडमा सघाउन थाल्यो।

हालै सम्पन्न राष्ट्रपति रनिङ शील्ड छनोटको लागि भएको स्कुल रनिङ शिल्ड र जिल्लाको छनोटमा स्वर्ण जितेपछि उनी प्रशिक्षक पद्मा चौधरीको नजरमा परिन्।

प्रशिक्षक चौधरीले उनको प्रतिभालाई निखार्ने काम गरेकी हुन्।

काठमान्डूमा गत असारमा सम्पन्न राष्ट्रपति रनिङ शील्डमा लुम्बिनी प्रदेशबाट छानिएपछि निशाको खेल जीवनले नयाँ मोड लिन पुग्यो।

स्कुले खेलाडीहरूको यो प्रतिस्पर्धामा उनले सिनियर खेलाडीहरूको राष्ट्रिय कीर्तिमान भङ्ग गरिदिइन्।

दशरथ रङ्गशालामा उनले १०० मिटर दौड १२.५३ सेकेन्डमा पूरा गर्दै जुनियर राष्ट्रिय कीर्तिमान कायम गरिन्।

४ गुणा १ सय मिटर रिले दौड ५४.२० सेकेन्डमा पूरा गर्दै अर्को जुनियर कीर्तिमान बनाइन्।

लङजम्पमा त निशाले ५.४७ मिटर उफ्रिँदै सिनियर तर्फकै राष्ट्रिय कीर्तिमान भङ्ग गरिदिइन्।

यो सनसनीपछि निशाको चर्चा चुलिन पुग्यो।

चुनौती

निशा ढृढ निश्चयी स्वभावकी भएको उनकी प्रशिक्षकको भनाइ छ।

उनकी प्रशिक्षक पद्मा चौधरी भन्छिन् - "निशाको खुट्टा एकदम बलियो छ। उनी आँटिली छिन्। युवा उमेर भएकोले उनले अझ राम्रो गर्न सक्ने प्रशस्त समय छ।"

निशाको प्रतिभा देखेर नेपाली सेना र सशस्त्र प्रहरीले उनलाई आबद्ध गर्ने इच्छा राष्ट्रपति रनिङ शील्ड कै बेला देखाइसकेको प्रशिक्षक चौधरी बताउँछिन्।

निशाको खेल करिअर अगाडि बढ्नमा आर्थिक अभाव पहिलो चुनौती बन्न सक्ने देखिन्छ।

उनका बुबा भारतमा सामान्य काम गर्छन्। आमा गृहिणी हुन्। उनका दुई दिदी र एक भाइ छन्।

र यी सबै विषयको रेखदेखमा निशाको जिम्मेवारी छ।

प्रशिक्षक चौधरी भन्छिन् - "ऊ निकै सामान्य परिवारको भएकोले जीवनयापनकै संघर्षमा लाग्नुपर्ने बाध्यता छ। यस्तोमा खेलकुद करिअरमा असर पर्छ कि भन्ने मलाई चिन्ता छ।"

यद्यपि राष्ट्रपति रनिङ शील्ड र राष्ट्रिय प्रतियोगिता खेलेपछि खेलकुदमा करिअर खोज्ने सपना निशाले बुनिसकेकी छिन्।

२ वर्ष पढाइमा ध्यान दिने, घरमा समय दिने चाहनाकै कारण तुरुन्तै विभागीय टोलीमा उनी जोडिन चाहँदिनन्।

भन्छिन् - "पढाइ बाँकी छ। त्यो सकिएपछि भविष्यको बारेमा सोचुँला। अहिलेलाई भने खेल्ने र लुम्बिनीको प्रतिनिधित्व गर्ने इच्छा छ। अनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने।"

पोखराबाट फर्किएपछि दाङकी यी उदियमान खेलाडीको दैनिकी विगत जस्तै चल्नेछ।

हरेक बिहान साइकल चढेर सात किलोमिटर टाढा रहेको बेलझुण्डी रङ्गशालामा पुग्ने, जहाँ उनको गुरुआमा पद्मा चौधरी उनको प्रतीक्षामा बसिरहेकी हुनेछिन्।