तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नवौँ राष्ट्रिय खेलकुदः सङ्घीय स्वरूपमा हुन लागेको पहिलो बृहत् राष्ट्रिय खेलकुद कस्तो
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
- Published
दुई वर्षअगाडि १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिताको रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गरेको गण्डकी प्रदेश अब बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको सँघारमा छ।
उनन्चालीस वर्षपछि दोस्रो पटक पोखरामा बृहत् राष्ट्रिय खेलकुदको आयोजना गर्न लागेको गण्डकी प्रदेश अन्तिम तयारीमा जुटेको छ।
देशभर खेल संरचना निर्माण गर्ने अनि खेल प्रतिभा पहिचान गर्ने उद्देश्य राखेर प्रत्येक दुई-दुई वर्षमा विभिन्न प्रदेशमा पालैपालो आयोजना हुने बृहत् राष्ट्रिय खेलकुदले उसको लक्ष्य पूरा गर्न भने सधैँ कठिनाइ भोग्दै आएको देखिन्छ।
यो वर्ष पनि पटक पटक आयोजनाको मिति पछाडि धकेलिँदा अन्योल मात्र छाएन, खेलाडी छनोटमा भएको ढिलाइ र खेल सामग्रीको अभाव जस्ता विषयले प्रतियोगितामा असर परेको देखियो।
यद्यपि यी विविध समस्याबीच २ प्रदर्शनी खेलसहित ३८ खेलका झन्डै आठ हजार खेलाडी गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा हुने देशको सबैभन्दा ठूलो खेल प्रतिस्पर्धामा होमिने भएका छन्।
नयाँ संरचनाको नवौँ संस्करण
गण्डकी क्षेत्रमा चार दशकको अन्तरालपछि दोस्रो पटक बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना हुन लाग्दा धेरै विषय नयाँ भइसकेको छ।
विसं २०४० सालमा त्यो 'पश्चिमाञ्चल विकास क्षेत्र' थियो भने अहिले त्यो गण्डकी प्रदेश भइसकेको छ।
त्यतिबेला १४ अञ्चलको सहभागिता थियो भने अहिले ११ फरक प्रकृतिका टोली प्रतिस्पर्धाको तयारीमा छन्।
र, राष्ट्रिय प्रतियोगिताको यो नवौँ संस्करण देशमा सङ्घीयता लागु भएपछि बनेको 'खेलकुद विकास ऐन २०७७' को संरचना अन्तर्गतको पहिलो प्रतियोगिता हो, जसमा धेरै विषय फरक छन्।
पहिलो नौलो विषय भनेको 'राष्ट्रिय रनिङ ट्रफी' निर्माण र देशभरि 'ट्रफी टुर' को व्यवस्था हो।
तीन पटक शीर्ष स्थान हात पार्ने टोलीले रनिङ ट्रफी कब्जा गर्नेछन्।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सदस्य सचिव समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ भन्छन्- "रनिङ ट्रफी जित्न टोलीहरूबीच हुने प्रतिस्पर्धा त छँदै छ, यसको खास उद्देश्य चाहिँ देशभरि 'ट्रफी टुर' गराएर राष्ट्रिय प्रतियोगितातर्फ सबैको ध्यान तान्नु हो।"
ट्रफी अहिले सातवटै प्रदेशमा प्रदर्शनीको क्रममा छ।
झन्डै १४ सय पदकका लागि भिडन्त
नवौँ राष्ट्रिय प्रतियोगिता आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म हुनेछ। प्रतियोगितामा ३६ खेल समावेश गरिएको छ।
खेलाडीहरूले ३९३ स्वर्ण पदक, ३९३ रजत पदक र ६०० काश्य पदक गरी कुल १३८६ पदकको लागि प्रतिस्पर्धा गर्नेछन्।
समय अगावै पुरुष क्रिकेट काठमाण्डूमा सम्पन्न भएर नेपाल प्रहरीले पहिलो स्वर्ण पदक जितिसकेको छ।
गण्डकीमा पनि केही खेल उद्घाटन हुनु एक साता अगावैदेखि शुरू हुनेछ।
प्रतियोगितामा गण्डकी प्रदेश, वागमती प्रदेश तथा नेपाली सेना र सशश्त्र प्रहरी बल (एपीएफ) ले सबै ३६ खेलमा सहभागिता जनाउँदै छन् भने सबैभन्दा कम खेलमा भाग लिनेमा कर्णाली प्रदेश रहेको प्राविधिक समितिले जनाएको छ।
प्रतियोगिताहरू गण्डकीको सात जिल्लाहरूमा हुनेछन्। तर बढी खेल पोखरामा केन्द्रित देखिन्छ।
दुई वर्षअगाडि मात्र १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिताको आयोजना गरेकोले पोखरा पूर्वाधारको दृष्टिकोणले सक्षम मानिएको छ।
जाडो बढ्ने र खेलाडीहरूलाई पूर्ण सुविधा नपुग्ने भएकोले चार जिल्लाहरू मनाङ, मुस्ताङ, तनहुँ र लमजुङमा खेल नराखेको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताए।
असमझदारी
पुरानो व्यवस्था अनुसार बृहत् राष्ट्रिय खेलकुदको जिम्मा सम्पूर्ण रुपमा राष्ट्रिय खेलकुद परिषद्को हुन्थ्यो।
नयाँ ऐनको व्यवस्थामा प्रदेश सरकारलाई जिम्मेवार बनाउँदै खेल र खेलाडीको सहभागिताको सम्पूर्ण काम उसलाई दिएको छ। समस्या यहीँनेर देखिएको हो।
विगतमा जस्तै खेलकुद परिषद्ले बजेट निकासा गर्ने अनि मात्र छनोट प्रतियोगिता गर्ने बुझाइ प्रदेश तहमा देखिएपछि छनोट प्रतियोगिता प्रभावित हुन पुग्यो।
खेल सामग्री खरिदमा पनि त्यही मानसिकता देखिँदा खेलाडीहरूले समयमा नै सामग्री किन्न पाएनन्।
कास्की जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीले खेल सामग्री खरिद गर्न बजेट नभएको भन्दै सार्वजनिक सञ्जालबाटै अनुदानका लागि अपील नै गरे।
शुटिङ खेलाडीहरूले बन्दुक र राइफल नपाउँदा इँटा बोकेर अभ्यास गरेका घटनाहरू पनि सार्वजनिक भए।
केन्द्र र प्रदेशबीच यस्तो असझदारी किन? खेलकुद परिषद्का सदस्य सचिव घिसिङ भन्छन्- "खेलाडी सहभागिता गराउने जिम्मा प्रदेशको हो। यसमा कोही पनि दुविधामा हुनुपर्ने होइन।"
"तर पुरानो मानसिकता हावी हुँदा यसले कहीँ अलमलको अवस्था सिर्जना भएको हो। त्यसले छनोट तालिका प्रभावित भएको हो, तर अब त्यो द्विविधा रहेन।"
नयाँ व्यवस्थामा काम गर्दा कतिपय प्रदेशले पहिले नै बजेट नछुट्ट्याउँदा ती प्रदेशको तयारी प्रभावित भएको देखियो।
प्रदेशहरूले समयमै बजेट नछुट्ट्याउनु, प्रदेशलाई खेल कर्मचारीहरूको अभाव हुनु र छनोट स्थलहरूको समस्याले गर्दा छनोट सोचे जसरी हुन नसकेको देखिन्छ।
प्रदेश नं १ एक खेलकुद विकास परिषद्का सदस्य सचिव हंशराज वाग्ले भन्छन्- "थुप्रै चुनौतीको सामना गर्नुपर्यो। यद्यपि प्रदेश सरकारले ९ करोड रुपैयाँभन्दा बढी बजेट व्यवस्था गरेपछि हामीले छनोट र तयारीमा कमी हुन दिएका छैनौँ।"
मधेश प्रदेशमा त खेलकुद विकास परिषद् नै बनिनसकेको कारण छनोटमा निकै समस्या देखिएको थियो।
नयाँ व्यवस्था अनुसार राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिताको आयोजनाको सम्पूर्ण काम गर्छ भने खेलाडी छनोटदेखि सहभागितासम्मको काम प्रदेश सरकारको हो।
गण्डकीको तयारी
गण्डकी प्रदेशले सबै ३६ खेलमा सहभागिता जनाएको छ।
झन्डै आठ सय खेलाडी लिएर प्रशिक्षण गरिरहेको प्रदेश प्रतियोगितामा प्रबल दावेदार टोलीहरू नेपाली सेना र वाग्मती प्रदेशलाई टक्कर दिने लक्ष्यमा छ।
तर त्योभन्दा बढी आफ्नो प्रदेशमा हुने बृहत् खेल आयोजनालाई सफल बनाउनमा प्रदेशको मुख्य ध्येय हुने पदाधिकारीहरूले बताएका छन्।
गण्डकी प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव तेज गुरुङ भन्छन्- "चार दशकअघि दोस्रो राष्ट्रिय खेलकुद हुँदा गण्डकी नै खेलमय बनेको थियो। गजबको माहोल बनेको थियो। त्यस्तै माहोल यसपालि पनि बनाउने हाम्रो लक्ष्य हो।"
"यसका लागि सबै जिल्ला जिल्लामा पुगेर राष्ट्रिय प्रतियोगिता र खेलको बारेमा हामीले सबैलाई जानकारी गराइरहेका छौँ।"
दोस्रो राष्ट्रिय खेलकुदकै बेलामा पोखरामा रङ्गशालासहित खेलकुदको पूर्वाधार निर्माण भएको थियो।
तर आयोजनाको विषयलाई लिएर स्थानीय तहमा असन्तुष्टि पनि त्यतिकै देखिन्छ।
पूर्वराष्ट्रिय एथलेटिक्स खेलाडी खड्ग रानाभाट भन्छन्- "नवौँ राष्ट्रिय खेलकुदका बेला पूर्वाधार निर्माणको सन्दर्भमा गण्डकीले केही पाएन। यो दुःखको कुरा हो। "
चुनौती केछन्?
प्रतियोगिता दशैँ र तिहारको बीचमा हुँदैछ।
त्यही बेला देशमा आमनिर्वाचनको चहलपहल पनि शुरु भइरहेको हुनेछ।
यसले गर्दा खेलाडीहरूको तन्दुरुस्ती र बन्द प्रशिक्षणका कामहरू प्रभावित हुनसक्नेमा प्रशिक्षकहरू चिन्तित छन्।
कतिपयले चाडबाडको बीचमा प्रतियोगिता नगर्न सुझाउँदै विरोध पनि जनाएका थिए।
तर सदस्य सचिव घिसिङ भन्छन्- "चाडबाड वा चुनावजस्ता विषयकै कारण खेलकुद रोकिनुहुन्न। खेलकुद निरन्तर रूपमा अगाडि बढ्नुपर्छ। यी विषयले प्रतियोगिताको आयोजनामा कुनै असर नपर्ने मलाई विश्वास छ।"
सङ्घ सरकारको ६० करोड रुपैयाँ तथा प्रदेश सरकारको लगानी जोड्दा एक अर्ब रुपैयाँभन्दा बढीको लागतमा हुन लागेको बृहत् राष्ट्रिय खेलकुदलाई देशमा खेलाडी उत्पादनको प्रमुख आधार मानिएको छ।
कतिपयका अनुसार विगतमा जस्तो भद्रगोल आयोजना र अव्यवस्थापनलाई सुधारेर कार्यक्रम आयोजना गर्न सकेमात्र राष्ट्रिय खेलकुद प्रतियोगिताले लक्ष्य प्राप्त गर्न सक्नेछ।
सङ्क्षेपमा नवौँ राष्ट्रिय खेलकुद
- मिति: असोज २८ गतेदेखि कार्तिक ३ सम्म
- स्थान: गण्डकी प्रदेशका सात जिल्ला
- खेल सङ्ख्या: ३६
- इभेन्ट्स: ४०४
- प्रदर्शनी खेल: राफ्टिङ एन्ड क्यानोइङ र ठेलो
- नारा: एकताबद्ध देश, खेलकुदको सन्देश
- मस्कट: कस्तुरी मृग
- सहभागी टोली: ११ टोली (७ प्रदेश, ३ विभाग, १ एनआरएनए)
- पदक सङ्ख्या: १,३८६