तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
थापा नेतृत्वको कांग्रेससँग देउवा पक्ष मिल्ने ठाउँ छ?
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
समानान्तर महाधिवेशन गर्ने घोषणा गरेको असन्तुष्ट पक्षका नेता शेरबहादुर देउवालाई पार्टीमा मिलाउन महाधिवेशनको दिनसम्म पनि प्रयास गर्ने नेपाली कांग्रेसका सभापति गगन थापाले बताएका छन्।
असोज १६ गतेबाट सुरु हुने भनिएको कांग्रेसको महाधिवेशनका लागि आगामी शनिवारबाट महाधिवेशन प्रतिनिधि चयन हुँदै छन्। नौ महिनादेखि अलग्गै गतिविधि गरिरहेको देउवा समर्थित समूहले मङ्सिरमा महाधिवेशन गर्ने घोषणा गरेको छ।
देउवा समूहमा खुलेका केही नेताहरू पार्टीमा फर्किएपछि बिहीवार सभापति गगन थापाले महाधिवेशनसम्म देउवालाई पनि फर्काउन आफूले प्रयास गर्ने वाचा गरे।
"म त १६ गतेसम्म कोसिस गर्छु। तपाईँ हामी सबै मिलेर कोसिस गरौँ। अधिवेशन उद्घाटनका दिन बिहानसम्म पनि शेरबहादुर दाइलाई अधिवेशनमा लिएर आउने कोसिस हामी गरौँ। अरू नेताले पनि कोसिस गरौँ। सबैलाई जोड्ने कोसिस गरौँ," थापाले भने।
तर के देउवा पक्षका नेताहरू थापासँग मिल्न र देउवालाई महाधिवेशनमा पठाउन तयार छन्? एकताका लागि कांग्रेसको असन्तुष्ट समूहको सर्त र मागहरू के छन्? हामीले नेताहरूलाई सोधेका छौँ।
विशेष महाधिवेशनपछि अलग गतिविधि गर्दै आएको देउवा पक्षका कैयौँ नेताहरू बिहीवारको केन्द्रीय समिति बैठकमा फर्किए पनि अझै केही प्रभावशाली नेताहरू निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएको थापा समूहसँग अलग छ।
आफूलाई मध्यमार्गी भएको बताउने त्यसमध्येका एक नेता शेखर कोइरालाले दुवै पक्षका महाधिवेशन रोकेर पार्टी एकताका लागि समझदारी खोज्न अपिल गरेका छन्। के थापाले महाधिवेशन रोके देउवा पक्षका नेताहरू कांग्रेसमा फर्केलान् त?
देउवा पक्षको सर्त के छ?
"हाम्रो धेरै ठूलो भनाइ पनि छैन। १५औँ अधिवेशन निष्पक्ष हुने सुनिश्चित गर्नु पर्यो र सबैको सम्मान र सहभागिता सुनिश्चित गर्नु पर्यो," देउवा समर्थित समूहमा खुलेका एक जना नेता प्रकाशशरण महतले बीबीसी न्यूज नेपालीको जिज्ञासामा भने।
"उहाँहरूले अन्तिम समयमा सबैलाई केन्द्रीय सदस्य बनाइदिएको छ भनेर त हुँदैन नि। अधिवेशन निष्पक्ष गर्नका लागि योयो कुरा गर्ने भनेर सहमति गरौँ। कुन समयसीमा भित्र सम्पन्न गर्न सकिन्छ त्यसमा सहमति गरेर पो गर्न सकिने भयो। त्यो केही पनि नगरीकन आजको भोलि अधिवेशनमा आउँ भनेर त विधि प्रक्रिया भएन सम्मानजनक पनि भएन नि।"
सभापति थापाले नेता शेखर कोइरालाले अघि सारेको प्रस्ताव अनुसार महाधिवेशनका प्रक्रिया 'रेखदेखका लागि' एउटा संयन्त्र र सबै पक्षलाई समावेश गरेर निर्वाचन समिति बनाउन आफूहरू तयार रहेको बताएका छन्।
"त्यो संयन्त्र सभापति बाहेक कुनै नेताको संयोजकत्वमा राखौँ भन्नुभयो। नमान्नुपर्ने केही थिएन। सबै कुरा पार्टीको हितका लागि हो भनेर हामी मान्छौँ भनेर उहाँलाई जानकारी पनि गरायौँ," थापाले भने।
देउवा पक्षलाई मिलाउन कांग्रेसको संस्थापन पक्षका नेता थापा नै सक्रिय भएर संवाद गर्नुपर्ने कांग्रेस नेता मिनेन्द्र रिजाल बताउँछन्।
"यसोयसो गरे मिल्न सकिन्छ भनेर परिभाषा बनाउने भन्दा पनि कुरा गर्दै गर्दाखेरि मिल्न सक्छ। कतिपय कला पनि हुन्छ। त्यसैले सबै सम्भावनाका ढोकाहरू खुला राखेर सोच्नुपर्छ," रिजाल भन्छन्।
थापा नेतृत्वको संस्थापनले विशेष महाधिवेशनअघि केन्द्रीय सदस्य रहेका सबै नेताहरूलाई केन्द्रीय समितिमा फर्कने बाटो खोलेपछि यसअघि देउवा समर्थित समूहमा खुलेका कैयौँ नेताहरू बिहीवारको केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए।
तीनै नेताहरूमध्येका एक मीनबहादुर विश्वकर्मा देउवालाई पनि पार्टीमा फर्काउन आफूहरूले समेत प्रयास गर्ने बताउँछन्।
"हिजो शेरबहादुर देउवा, पूर्णबहादुर खड्का र शेखर कोइरालाको निकटमा रहेर गगन थापालाई पार्टी एकता गर्नका लागि दबाव सिर्जना गर्यौँ। अब सभापति थापाले केही माग पूरा गरिसक्नु भएकोले उहाँसँग बसेर हामी शेरबहादुर देउवालाई मनाउने दबाव दिने अथवा वातावरण बनाउने काम गर्छौँ," विश्वकर्मा भन्छन्।
यसकारण पार्टीमा फर्किए नेताहरू
यसअघि देउवा पक्षका नेताहरूले निर्वाचन आयोग र सर्वोच्च अदालतमा थापालाई सभापति चयन गरेको विशेष महाधिवेशनलाई मान्यता नदिने निवेदन दिएका थिए। तर विशेष महाधिवेशनबाट सभापति बनेका थापा नेतृत्वको कार्य समितिले गर्न लागेको १५औँ महाधिवेशन रोक्न माग गरिएको रिटमा अदालतले अन्तरिम आदेश नदिएपछि आफूहरू पार्टीमा फर्किएको बिहीवार केन्द्रीय समितिमा भाग लिएका नेताहरूले बताएका छन्।
अब पार्टी विभाजन रोक्न देउवा पनि पार्टीमा फर्कनु पर्ने विश्वकर्माको धारणा छ।
"पार्टीको बृहत्तर हितका लागि नेपाली कांग्रेसको धरोहरलाई निरन्तरता दिनका लागि र पूर्व सभापतिहरूको जस्तै गरिमा उच्च राख्नका लागि सभापति शेरबहादुर देउवाले पनि आफ्नो ऐतिहासिक भूमिका खेल्नुपर्छ भन्ने लाग्छ," विश्वकर्माले बीबीसी न्यूज नेपालीसँग भने।
"उहाँहरूले राख्नुभएका माग र सर्तहरू कुनै अप्ठ्यारा छैनन्। त्यसलाई गगनकुमार थापाले चरणबद्धरूपमा स्वीकार पनि गर्दै आउनु भएको छ। अब बाँकी रहेका सम्भव हुने विषयहरूलाई स्वीकार गर्नुपर्छ।"
आठ बुँदे सर्त पूरा गर्न थापा तयार भएपछि आफूहरू पनि पार्टीमा फर्किएको विश्वकर्मा बताउँछन्। क्रियाशील सदस्यता अद्यावधिक नगरेका नेताहरूलाई पनि महाधिवेशन प्रतिनिधि बन्ने बाटो खुलाउन आफू तयार भएको थापाले बिहीवारको केन्द्रीय समितिमा बताएका थिए।
महाधिवेशन स्थगित गर्ने बाहेक कार्यवाहक सभापति पूर्णबहादुर खड्का र अर्का नेता शेखर कोइरालाले अघि सार्दै आएका अधिकांश सर्त पूरा गर्न थापा तयार रहेको आफूलाई लागेको विश्वकर्माले बताए।
"एकता भन्ने बित्तिकै एक पक्षीय हुँदैन। राखेका माग सबै पूरा हुँदैनन् र माग कुनै पूरा नगर्ने भन्ने पनि हुँदैन। टेबलमा बसेर यति गर्न सक्छु यति सक्दिनँ। यो अहिले गरौँला यो पछि भनेर सहमतिको वातावरण बनाउनु पर्छ भन्ने लाग्छ," विश्वकर्मा भन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।