रुसले सोभियतकालीन दमन बिर्सन खोजे पनि एउटा तालमा यसरी निस्किरहन्छन् प्रमाणहरू

तस्बिर स्रोत, BNK/VK MO "Knyazhpogostsky"/BBC
- Author, सोफिया भोल्यानोभा र अनुसन्धान विभाग
- Role, बीबीसी न्यूज रसिअन
- Published
- पढ्ने समय: ६ मिनेट
पौडी खेल्ने यम्बा ताल कसैकसैका लागि "गज्जबको ठाउँ" हो। राजहंसहरूले सजिएको शान्त ताल गर्मीका दिनमा स्फूर्ति दिने डुबुल्कीका निम्ति उपयुक्त स्थान हो।
तर अर्को थरीले त्यसलाई एउटा चिहान भन्ने गर्छन्।
उत्तरी रुसको कोमी रिपब्लिकमा रहेको यो कृत्रिम तटको तस्बिरमुनि सामाजिक सञ्जालमा गरिएको कमेन्टमा लेखिएको छ- सिङ्गो सहरलाई थाहा छ कि यहाँ हड्डीमाथि हड्डीहरू छन्।"
स्थानीय बासिन्दाहरू दशकौँदेखि यो तालमा पौडी खेल्दै आएका छन्। तर यो सोभियत गुलाग प्रणालीका पीडितहरूको सामूहिक चिहान उत्खनन गरेर बनाइएको हो।
गुलाग प्रणाली जबरजस्ती श्रममा लगाउने शिविरहरूको एउटा कुख्यात सञ्जाल थियो।
स्थानीय बासिन्दाहरूले तटमा प्रायसः मानव हड्डीहरू भेट्टाइरहन्छन्।
मृतकहरूको सम्झनामा कुनै स्मारक वा लेखोट छैन ताकि यसले चेतावनीका रूपमा काम गरेर मानिसहरूलाई पौडी खेल्नबाट रोकोस्।
अधिकारीहरूले कहिल्यै पनि त्यो ठाउँलाई अङ्कित गरेका छैनन् र अवशेषहरूलाई के गर्ने भन्नेबारे हालैका बहसहरूका क्रममा उनीहरूले हड्डीहरू गुलाग कैदीहरूका हो भनेर पुष्टि गर्न पनि अस्वीकार गरे।
लुकाइएको इतिहास

तस्बिर स्रोत, TASS/BBC
सन् १९८० को दशकमा एउटा स्थानीय निर्माण कम्पनीले यस क्षेत्रमा घाम छेक्ने छाता र लुगा फेर्ने गोप्य कोठाहरूसहितको कृत्रिम ताल र समुद्री तट बनाउने निर्णय गर्यो।
सो क्रममा उत्खननकर्ताहरूले माटो मात्र नभई मानव अवशेष र शवपेटिकाका काठका टुक्राहरू पनि फेला पारे।
यद्यपि त्यसले मस्कोबाट १,००० किलोमिटरभन्दा पर उत्तरपूर्वमा पर्ने उक्त ठाउँमा निर्माण कार्य रोकेन।
भूमिगत मुहानहरूबाट पानी खाडलमा पम्प गरिएको थियो र लगभग १५,००० जनसङ्ख्या भएको यम्बाका बासिन्दाहरू त्यस बेलादेखि त्यहाँ पौडी खेल्दै आएका छन्।
तर पाँच वर्षअघि सो क्षेत्रमा भएको आगलागीको घटना र अनुसन्धानकर्ताहरूको टोलीको आगमनले हड्डीहरूको सन्दर्भमा के गर्ने भन्नेबारे एउटा नयाँ बहस निम्त्यायो।
केही स्थानीय बासिन्दाहरूले पूरै क्षेत्र पुनः उत्खनन गर्नुपर्ने र सबै अवशेषहरू पुनः गाड्नुपर्ने माग गरे।
अरूले सो ठाउँमा 'क्रस' चिह्न राख्न माग गरे। अझै अर्का थरीले हल्ला गर्नुपर्ने आवश्यकता नभएको तर्क गरे- गुलाग त्यति भयानक थिएन र शिविरहरूमा अपराधीहरूलाई मात्र राखिएको उनीहरूको भनाइ थियो।
अन्ततः स्थानीय अधिकारीहरूले कुनै कदम चालेनन्।

तस्बिर स्रोत, NA Komi /USTR/BBC
कुनै कदम नचालिँदा यसले रुसमा व्याप्त प्रवृत्तिलाई प्रतिविम्बित गर्छ, जहाँ सो अवधिका सामूहिक चिहानस्थलहरूलाई विरलै अङ्कित गरिन्छ।
पीडितहरूबारे अनुसन्धान अथवा सम्मान व्यक्त गर्न प्रयास गर्नेहरूलाई अभियोग लगाइएको छ भने गुलाग प्रणालीबारे छलफल गर्न वर्जितजस्तै भएको छ।
मस्कोस्थित 'गुलाग हिस्ट्री म्यूजीअम' का अनुसार सन् १९३० देखि सन् १९५६ को अधविमा करिब दुई करोड मानिस सोभियत सङ्घका श्रम शिविर, दण्ड दिइएकाहरूको बस्ती र जेलमा पुगेका अनुमान छ। उक्त सङ्ग्रहालयलाई रुसी अधिकारीहरूले यसै वर्ष बन्द गर्न बाध्य पारेका थिए।
ती मानिसहरूमध्ये लगभग ४० लाख जनालाई राजनीतिक कारणले दोषी ठहराइएको थियो।
स्टालिनको शासनकाल र त्यसपछिको दमनकारी अवधिमा २० लाखभन्दा बढी मानिसहरूको सरकारी हिरासतमा मृत्यु भयो। साठी लाख व्यक्तिलाई सोभियत सङ्घको दुर्गम क्षेत्रहरूमा जबरजस्ती पुनर्स्थापित गरियो।
यकिन तथ्याङ्क 'छैन'
कोमी भाषामा "स्वच्छ पानी" भन्ने अर्थ भएको यम्बा सन् १९२८ मा स्थापित श्रम शिविरबाट विकसित भएको थियो। सो क्षेत्रमा बस्ने अधिकांश मानिसहरू गुलाग कैदीहरू वा गार्डहरूका सन्तान हुन्।
पूरै कोमी क्षेत्रका लागि पनि यही साँचो हो। आज पनि यम्बामा श्रमदण्ड दिइएकाहरूको बस्ती छ।
सबआर्कटिक सदाबहार जङ्गलहरूले घेरिएका उत्तरी शिविरहरूमा बस्नेहरूको अवस्था दयनीय थियो।
कैदीहरूका लागि पर्याप्त आवास थिएन। जाडोमा तापक्रम माइनस ५० डिग्री सेल्सिअसमा झर्ने बेला धेरैजसो मानिसहरू खाडल अथवा पालमा बस्थे।
बिहानदेखि साँझसम्म उनीहरूले जङ्गलमा रेलवे ट्र्याक बनाउन रूखहरू काट्थे। तिनीहरूको दैनिक राशनमा ४०० ग्राम रोटी र एक प्लेट सूप हुन्थ्यो।

तस्बिर स्रोत, T.me/Officially_vorkuta/BBC
इतिहासविद्हरूका अनुमानअनुसार राजनीतिक र गैरराजनीतिक कैदीबन्दीहरू गरी कोमी शिविरहरूमा १० लाखभन्दा बढी व्यक्ति गएका थिए। यद्यपि तीमध्ये कति जनाको त्यहीँ मृत्यु भयो भनी यकिन तथ्याङ्क छैन।
सन् २०२१ मा घाँसमा लागेको आगो निभाउन बोलाइएका अग्निनियन्त्रकहरूले कम्तीमा तीन जनाका हड्डीहरू फेला पारे। त्यो घटनाले अधिकारीहरूलाई कदम चाल्ने अवस्था सिर्जना गर्यो।
अनुसन्धानकर्ताहरूले ती अवशेषहरू कम्तीमा १५ वर्ष पुराना भएका निष्कर्ष निकाले र ट्रमाको कुनै सङ्केत दिएनन्। "आपराधिक कार्य नभएको देखेर" उनीहरूले मुद्दा अगाडि बढाएनन्।
उक्त स्थान सन् १९३० देखि सन् १९५० अवधिमा गुलाग कैदीबन्दीहरूका लागि "अनौपचारिक सामूहिक चिहानस्थल" भएको अधिकारीहरूले उल्लेख गरे।
त्यसको छ महिनापछि क्षेत्रीय राजधानी सिक्टफकारबाट गुलाग इतिहासविद्हरूको एउटा टोली नआएको भए त्यो मुद्दा त्यहीँ सकिन्थ्यो।
"हामी ढुङ्गाखानीभित्र पस्यौँ र हामीले वास्तवमा केही खोज्नुपरेन- हड्डीहरू तुरुन्तै फेला परे," लेखक तथा स्थानीय इतिहासकार ग्रिगोरी स्पिचकले बीबीसी न्यूज रसिअनलाई भने।

तस्बिर स्रोत, TSGALI SPB/BBC
त्यति बेलाका सहअनुसन्धानकर्ता इगोर साजिनले भने, "हामीले करङ र पेल्भिकका हड्डीहरू फेला पार्यौँ। यी जनावरका अवशेषहरू हुन सक्छन् भनेर सोच्ने सम्भावना नै छैन।"
"यिनीहरूलाई त्यसै छोड्नु एकदमै अमानवीय हुन्छ। यम्बाको जीवन चलिरहेको छ, विगतको भयानक सम्झनालाई स्वीकार गर्न त्यो तयार छैन।"
विगतका कारबाही
रुसी कानुनअन्तर्गत अधिकारीहरूले "सामूहिक दमनका पीडितहरूको चिहान"सहित नयाँ पत्ता लागेका चिहानहरू दर्ता र चिह्न लगाउनुपर्छ अनि आवश्यकतानुसार अवशेषहरूलाई पुनः गाड्नुपर्छ।
साजिनले सरकारी अभियोजकलाई सम्पर्क गरे तापनि कुनै कारबाही गरिएन।
लगभग एक वर्षपछि उनीहरूले स्थानीय प्रशासन र गिर्जाघरलाई तालको किनारमा कम्तीमा 'क्रस' बनाउन अनुरोध गरे।
तर प्रशासनले क्षेत्रीय कारागार सेवा, गृह मन्त्रालय र स्थानीय इतिहास सङ्ग्रहालयलाई सम्पर्क गरेपछि पनि उनीहरूले यो गुलाग चिहान हो भन्ने कुनै प्रमाण फेला नपारेको भनी अभियोजनकर्ताको कार्यालयलाई जानकारी गरायो।
तथापि अरू कुराहरू निश्चित छन्।
"कपडा अथवा जुत्ताबिना नै शवहरू गाडिएकाले ती निश्चित रूपमा गुलागका पीडित हुन्" भनेर अनुसन्धानकर्ता ओरेस्ट रोमान्कोले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

तस्बिर स्रोत, Getty Images/BBC
रुसमा सामूहिक दमनको इतिहास राजनीतिक रूपमा संवेदनशील मुद्दा हो र सामूहिक चिहान पहिचान गर्न खोज्ने व्यक्तिहरूमाथि मुद्दा चलाइएको अवस्था छ।
पश्चिमी रुसको गुलाग हिस्ट्री म्यूजीअमका निर्देशक निकोलाई अरकचेयेभलाई "अनुमतिबिना" खप्पर खनेको आरोपमा अदालतले जरिवाना गरेको छ।
ऐतिहासिक संस्था 'मेमोरिअल'को पर्म शाखाका प्रमुख रोबर्ट लाटिपोभ र पाँच लिथुआनियाली स्वयंसेवकहरूले पहिलेको जबरजस्ती पुनर्वास स्थलसँग जोडिएको विरानो चिहान सफा गरेपछि र चिहानमा क्रस राखेपछि उनीविरुद्ध आपराधिक अनुसन्धान सुरु गरिएको थियो।
सन् २०१९ मा रुसको मानवअधिकार परिषद्को बैठकमा भ्लादिमिर पुटिनलाई उक्त मुद्दाबारे जानकारी गराइएको एक दिनपछि त्यसलाई बन्द गरिएको थियो।
तर सोही बैठकमा राष्ट्रपतिले सोभियत अभिलेखहरूमा "असीमित पहुँच"को विरोध गरेका थिए।
"हामीलाई थाहा छ कि एनकेभीडी [सोभियत गोप्य प्रहरी] ले सन् १९३० को दशकमा कसरी काम गर्थ्यो र पुर्खाका फाइलहरू खोल्नु आफन्तहरूका लागि सधैँ सुखद हुँदैन," पुटिनले भने।
सन् २०२५ मा रसिअन स्टेट अर्काइभले "सरकारी प्रयोजनका लागि मात्र" भन्दै राजनीतिक दमनका पीडितहरूका फाइलहरूको वर्गीकरण थाल्यो।
राजनीतिक दमनबारे विवरण सङ्कलन, अध्ययन तथा सूचना प्रवाह गर्दै आएको कोमीस्थित स्वतन्त्र सांस्कृतिक संस्था रिभोल्ट सेन्टरलाई यसै वर्ष अतिवादी सङ्गठनको रूपमा वर्गीकरण गरिएको छ।
त्योसँगै 'मेमोरिअल' नामक संस्थामाथि पनि प्रतिबन्ध लगाइएको छ। उक्त संस्था सोभियतकालीन मानवअधिकार उल्लङ्घनका घटनाबारे अध्ययन गर्न गठन गरिएको थियो।
मस्कोका अधिकारीहरूले गुलाग सङ्ग्रहालयलाई नाजी अतिक्रमणका क्रममा ज्यान गुमाएका सोभियतवासीहरूको सम्झनामा बनाइएको 'म्यूजीअम अफ मेमोरी'ले प्रतिस्थापन गरेका छन्।
आगो नियन्त्रणसम्बन्धी सुरक्षा मापदण्ड उल्लङ्घन गरेको आरोपमा गुलाग सङ्ग्रहालय दुई वर्षअघि बन्द गरिएको थियो भने त्यसका निर्देशक रोमन रामानोभलाई बर्खास्त गरिएको थियो।
सन् २०२२ को ग्रीष्मकालमा सरकारी अभियोजनकर्ताले यम्बा तालमा पौडी खेल्न प्रतिबन्ध लगाएका थिए। एउटा स्थानीय अदालतले सो क्षेत्रको सर्वेक्षण गर्न र बाँकी रहेका अवशेषहरू गाड्न आदेश दिएको थियो।
तर कोमी सर्वोच्च अदालतले "सामूहिक दमनमा मारिएका मानिसहरूलाई गाड्ने ठाउँ भए वा नभएको निर्क्योल गरिनुपर्ने" भन्दै उक्त आदेश उल्टाइदियो।
गत वर्षको अन्त्यतिर खानीमा भेटिएका अवशेषबारे अनुसन्धानका लागि अधिकारीहरूलाई बाध्य पार्न कार्यान्वयन प्रक्रिया सुरु गरिएको भए पनि तुरुन्तै रोकिएको थियो।
यस विषयमा प्रतिक्रिया माग्दै बीबीसी न्यूज रसिअनले महान्यायाधिवक्ताको कार्यालय, स्थानीय प्रशासन र अदालत सेवालाई सम्पर्क गरे तापनि कुनै प्रतिक्रिया प्राप्त भएन।
स्वतन्त्र क्षेत्रीय प्रकाशन कोमी डेलीकी प्रधान सम्पादक लाना पाइलेभाले स्टालिनवादी दमन अझै पनि निषेधित विषय भएको बीबीसी न्यूज रसिअनलाई बताइन्।
यो गर्मीमा अधिकारीहरूले तालको किनारमा "पौडी खेल्न निषेध" भन्ने चिह्न राखेका थिए। तर मानिसहरूले पौडी खेल्न जारी राखेको स्थानीयवासीले बताएका छन्।
"मानिसहरूलाई हड्डीहरूबीच पौडी खेल्न कुनै हिचकिचाहट देखिँदैन," पाइलेभाले बीबीसी न्यूज रुसीसँग भनिन्।
ओल्गा इभ्सिनाको अतिरिक्त रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















