तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कीर्तिपुरमा हुन लागेका ८ ओडीआई खेल नेपाली क्रिकेटका लागि किन महत्त्वपूर्ण
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
- पढ्ने समय: ४ मिनेट
आईसीसी विश्वकप लीग २ मा गत सीजनमा काठमाण्डूमा आयोजित १२ मध्ये नेपाल ११ वटामा विजयी भएको थियो। फलस्वरूप एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउँदै नेपाल शृङ्खलाको शीर्ष ३ स्थानमा उक्लिएर सीधै एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएको थियो।
तर यो सीजनमा निकै नेपाल नराम्रो अवस्थामा छ। आठ राष्ट्र सहभागी शृङ्खलामा नेपाल १२ अङ्कसहित सातौँमा छ।
घरेलु मैदानमा विगतमा जस्तै के नेपालले यसपालि पनि नाटकीय नतिजा ल्याएर आफ्नो अवस्था सुधार्न सक्ला?
क्रिकेट विश्लेषकहरू "नतिजा जे पनि हुन सक्ने" ठान्छन्। तर त्यसका लागि खेलाडीहरूले विशेष मेहनत गर्न सके मात्र "चमत्कार दोहोरिन" सक्ने उनीहरूको ठम्याइ छ।
नेपालले यो महिना यूएई र ओमानसँग चार खेल र लगत्तै संयुक्त राज्य अमेरिका र स्कटल्यान्डसँग चार गरी कुल आठ खेल काठमाण्डूमा खेल्ने तालिका छ।
नेपालको अवस्था
विश्वकप लीग २ शृङ्खला अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले असोसिएट राष्ट्रका लागि बनाएको उच्चस्तरीय चारवर्षे एकदिवसीय शृङ्खला हो।
प्रत्येक टोलीले चार वर्षको बीचमा ३६ खेल खेल्ने यो तालिकाले असोसियट क्रिकेटको विकासमा निकै महत्त्वपूर्ण योगदान गर्दै आएको देखिएको छ।
यो प्रतिस्पर्धाको शीर्ष ४ मा रहने राष्ट्रको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगिन्छ। त्यसबाहेक ती टोलीहरू एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा सोझै छनोट हुन्छन्।
शीर्ष ४ मा पर्न नसके नेपालले 'विश्वकप क्वालिफायर प्लेअफ' खेल्नुपर्ने छ।
सन् २०२३-२०२७ को जारी शृङ्खलामा नेपाल निकै कमजोर स्थितिमा छ। अहिलेसम्म भएका २० खेलबाट नेपालले १२ अङ्क मात्र हात पारेको छ। नेपाल केवल पाँच खेलमा विजयी भएको थियो। अवरुद्ध दुई खेलबाट नेपालले १-१ गरी दुई अङ्क जोडेको हो।
नेपालले अब १६ खेल खेल्न बाँकी छ। तीमध्येको आठ खेल मात्र घरेलु मैदानमा हुने छन्।
नेपालभन्दा माथि छैटौँ स्थानमा क्यानडा छ। क्यानडाले २४ खेलबाट २१ अङ्क जोडिसकेको छ। यूएई र ओमानसँगका सबै चार खेल जित्यो भने पनि नेपाल छैटौँ स्थानमा पुग्न सक्ने छैन।
नेपालपछि पुछारको आठौँ स्थानमा १० अङ्क भएको यूएई छ। अब एक खेल जितेमा पनि यूएईले नेपालसँग बराबरी गर्ने छ।
नेपाली टोलीका समर्थकहरूले नेपालबाट विगतमा झैँ चामत्कारिक खेल र परिणामको आशा राखेका छन्।
यूएई र ओमानबाट कस्तो चुनौती
घरेलु दर्शक र कीर्तिपुरको मैदानबाट नेपाली टोलीले निस्सन्देह विशेष लाभ पाउने छ।
यद्यपि अवस्था सुधार गर्ने गरी परिणाम हात पार्न त्यतिले मात्र पुग्ने छैन।
नेपालले खेल्न लागेको विपक्षी टोली ओमान र यूएई असोसियट क्रिकेटमा नेपालका परम्परागत प्रतिद्वन्द्वीजस्तै हुन्।
पुछारमा रहेको यूएई नेपाललाई हराउने दाउमा हुने छ। किनकि यूएईले तत्काल उछिन्न सक्ने विपक्षी भनेको नेपाल मात्रै हो।
यूएईले आफ्नो टोलीको संरचनामा व्यापक परिवर्तन गरेको देखिएको छ।
यूएईले पुराना खेलाडीहरूलाई विस्थापित गर्दै भारत र पाकिस्तानबाट पाँच युवा खेलाडीलाई भित्र्याएको छ। त्यसका लागि यूएईले ती खेलाडीलाई अङ्गीकृत नागरिकता नै प्रदान गरेको थियो।
अभ्यासको क्रममा नेपाल 'ए' विरुद्ध विशाल स्कोर बनाएको ओमानले नेपाली टोलीलाई आफू बलियो भएको सङ्केत दिइसकेको छ। ओमानी कप्तान जितन्दर सिंहले आफ्नो टोली लीग २ का लागि तयारी गरेर आएको बताइसकेका छन्।
गत फेब्रुअरी मा टी२० विश्वकप खेलेर भारतबाट फर्केयता नेपालले एकदिवसीय क्रिकेटका लागि प्रशिक्षण गरिरहेको छ।
नेपाली टोली अब हुने सबै आठ खेल जित्नैपर्ने दबावमा देखिन्छ।
"यी सबै हिसाब हेरेर खेल्ने हो भने अनावश्यक दबाव पर्ने हो। हामी हरेकले आफ्नो तर्फबाट उत्कृष्ट काम गरेर एकएक खेल जित्दै अगाडि बढ्नुपर्छ," पूर्वकप्तान सन्दीप लामिछानेले भनेका छन्।
शीर्ष स्थानका लागि अमेरिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा
अहिले अङ्कतालिकाको शीर्ष स्थानमा अमेरिका छ। उक्त टोलीले २४ खेलबाट ३६ अङ्क जोडेको छ। दोस्रो स्थानमा रहेको स्कटल्यान्डको ३४ अङ्क छ।
यूएई र ओमानसँग शृङ्खला सकिनासाथ नेपालले अमेरिका र स्कटल्यान्डलाई काठमाण्डू निम्त्याउने छ।
एक खेलमा हुने जितहारले स्कटल्यान्ड तालिकाको शीर्ष स्थानमा उक्लिने वा अमेरिका शीर्ष स्थानबाट तल झर्ने हुन सक्छ। त्यसैले यी टोलीहरू कुनै पनि खेलमा हार अस्वीकार गर्ने मनस्थितिमा हुने छन्। त्यसबाट नेपाली टोलीले अर्को चुनौती खेप्नुपर्ने छ।
टी२० को संरचनामा एकपछि अर्को सफलता प्राप्त गर्दै विश्वकपसम्मको यात्रा तय गरेको भए पनि नेपाल ५० ओभरको खेलमा भने अझै सङ्घर्ष गर्दै छ।
तर नेपाली खेलाडीहरूले एकदिवसीय मान्यता नेपालको लागि महत्त्वपूर्ण रहेको बुझेका छन्।
कोभिडका कारण रोकिएका सबै खेलहरू गत सीजनमा नेपालमा भएका थिए। नेपालले घरेलु मैदान र समर्थकहरूको उपस्थितिको फाइदा पनि लियो। नेपालका लागि फेरि त्यस्तै अवसर आएको छ। परिणामले आईसीसी लीग २ मा नेपालको आगामी यात्रा तय गर्ने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।