कांग्रेसभित्र गगन-विश्व शक्तिसङ्घर्षको आरम्भ कि सहमति खोज्ने बाध्यता

    • Author, शरद केसी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ४ मिनेट

प्रतिनिधिसभाको चुनाव सम्पन्न भइसकेपछि पहिलो अधिवेशन सकिएर दोस्रो अधिवेशनमा प्रवेश गर्न लाग्दा समेत नेपाली कांग्रेसले संसदीय दलको नेता छान्न नसकेपछि उच्च नेतृत्व नै सक्रिय हुनु परेको छ।

पछिल्लो पटक शुक्रवार दलको नेताका लागि मनोनयन दर्ता गर्ने भनिए पनि अन्तिम समयमा स्थगित भएको छ। अनि, सहमतिको प्रयास गर्ने भन्दै उपसभापति र महामन्त्रीहरूलाई जिम्मेवारी दिइएको छ।

यसअघि कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने बताएको थियो। उक्त समयभित्र आकाङ्क्षीहरूबीच सहमति हुन नसकेपछि वैशाख ११ गते शुक्रवार नेता चयन गर्ने तालिका बनाइएको थियो।

संसदीय दलको नेता बन्न सांसदहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य अग्रसर रहेको खबरहरू आएका छन्।

सभापति गगन थापा आचार्यलाई र उपसभापति विश्वप्रकाश शर्मा आङ्देम्बेलाई नेता बनाउने पक्षमा उभिँदा चयन प्रक्रिया लम्बिएको विवरणहरू प्रकाशका आएका छन्।

आचार्य प्रत्यक्ष निर्वाचित र आङ्देम्बे समानुपातिक सांसद हुन्।

त्यसैले अर्का आकाङ्क्षी केसीले समानुपातिक र अनुभवीलाई नेता बनाउँदा आफू उपयुक्त रहेको तर्क गर्दै अन्यथा मापदण्ड बनाउने हो भने त्यसमा पनि छलफल हुनुपर्ने बताउँदै आएका छन्।

केसीले अनुभव र अहिले संसद्‌मा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने भएकाले आफू आकाङ्क्षी बनेको तर्क गर्दै आएका छन्।

के गगन-विश्वबीच मतभेद हो?

कांग्रेस कार्यसम्पादन समितिको निर्णयअनुसार सर्वसम्मत रूपमा नेता चयन गर्ने प्रयोजनका निम्ति हाललाई निर्वाचन कार्यक्रम स्थगित गरिएको उक्त पार्टीले जनाएको छ। अब यथाशीघ्र तालिका प्रकाशित गरिने कांग्रेसको भनाइ छ।

सर्वसम्मत नेता चयनका निम्ति उपसभापति शर्माको नेतृत्वको समितिमा एक सदस्य रहेका महामन्त्री गुरुराज घिमिरेले दुईतीन दिनभित्रै नेता चयनको प्रक्रिया सुरु हुने बताए।

"हामीले नेता बन्ने आकाङ्क्षा राखेकाहरूसँग छलफल सुरु गरिसिकेका छौँ," महामन्त्री घिमिरेले भने, "सकेसम्म सर्वसम्मतिमा, नभए मतदानबाट भए पनि टुङ्गो लाग्छ। अब धेरै समय लिँदैनौँ।"

बाहिर प्रचार भएजस्तो सभापति थापा र उपसभापति शर्माबीच मतभेद रहेको कुनै अनुभूति नभएको उनको दाबी छ।

फरकफरक सुझावहरू आएको स्वीकार गर्दै उनले त्यसलाई मतभेदका रूपमा प्रचार गरिएको टिप्पणी गरे।

"सबै किसिमका सुझावहरू आउँदा बाहिर मतभेदजस्तो प्रचार भयो," उनी भन्छन्, "हामी एकमतले टुङ्गो लगाउँछौँ।"

'अन्तरसङ्घर्षभित्र'को अन्तर्कथा

महामन्त्री घिमिरेले आकाङ्क्षीहरूको धारणा बुझेपछि पार्टीले निर्णय लिने बताएका छन्।

तर पत्रकार तथा विश्लेषक पुरुषोत्तम दाहालले कांग्रेस संसदीय दलको नेता चयनमा देखिएको ढिलाइ "लज्जास्पद" भएको टिप्पणी गरेका छन्।

प्रमुख प्रतिपक्षी दलले नेता छान्न नसक्दा संवैधानिक परिषद् पनि अझैँ अपूर्ण छ।

संसद्‌मा प्रतिनिधित्व गर्ने अन्य सानाठूला दलहरूले नेता चयन गरिसकेका छन्।

दाहालको विश्लेषणमा कांग्रेसमा देखिएको दुई चिरा र विशेष महाधिवेशन पक्षभित्रको अन्तर्सङ्घर्षका कारण पार्टी नेता छान्न अझैसम्म विफल भएको हो।

"बाहिर नदेखिए पनि विशेष महाधिवेशनपछि कांग्रेस छियाछिया भएको अवस्थामा छ," दाहाल कारण आकलन गर्दै भन्छन्, "त्यसकै परिणाम हो, यो सबैभन्दा दुःखद र दुर्भाग्यपूर्ण कुरा हो।"

विशेष महाधिवेशनमा सहभागी भएका आङ्देम्बे त्यसअघि देउवा पक्षका मानिन्थे। प्रतिनिधिसभामा देउवा पक्षका केही नेताहरू पनि सांसदका रूपमा निर्वाचित भएका छन्।

"देउवा पक्षले आफू असफल भएको देखिएको वा अपमानित गरेको अवस्थाको प्रतिशोध लिने ठाउँ पनि देखेको हुन सक्छ," पत्रकार दाहाल भन्छन्, "अर्को कुरा विशेष महाधिवेशनकै पक्षबीच अन्तरसङ्घर्ष निश्चित छ नि।"

शक्तिसङ्घर्ष मुख्यतया सभापति थापा र उपसभापति शर्माबीच रहेको उनको बुझाइ छ।

तर विशेष महाधिवेशनमा थापालाई सभापतिमा अघि सारेका शर्माले शक्तिसङ्घर्ष रहेको सन्देश जाने गरी अडान किन लिए होलान्?

"आआफ्नो शक्तिसन्तुलनको कुरा होला, भोलिको राजनीतिक भविष्यको कुरा होला," दाहाल भन्छन्, "समावेशी र आफ्ना प्रादेशिक यथार्थको कुरा होला भने देउवा पक्षलाई सन्तुलनमा ल्याउन सकिन्छ र भोलिका दिनमा पार्टीमा समन्वय गर्न सहज हुन्छ भन्ने बुझाइ पनि विश्वप्रकाश शर्माको हुन सक्छ।"

कांग्रेसको कस्तो नेता?

तर सभापति थापा र उपसभापति शर्मा दुवैले सार्वजनिक रूपमा कुनै नेतालाई समर्थन गर्ने वा गरिरहेको खुलाएका छैनन्।

महामन्त्री घिमिरेले तीन जनाबाहेकका सांसदलाई समेत संसदीय दलको नेतामा अघि सार्नुपर्ने कुराहरू आइरहेको बताए।

सानो आकारमा खुम्चिएको प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको नेताको जिम्मेवारी महत्त्वपूर्ण रहने पत्रकार दाहाल बताउँछन्।

उनी भन्छन्, "चिरा परेको कांग्रेसलाई मलम लगाउँदै मध्यस्थता अनि र संसद्‌मा लोकतान्त्रिक प्रक्रिया र संस्कृतिको प्रश्न उठ्दा प्रभावकारी भूमिका गर्न सक्ने नेता छान्नुपर्ने देख्छु।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।