द्रुत सम्झौता हुने आशामा इरानविरुद्ध आक्रमण रद्द गरेको ट्रम्पको भनाइ

तस्बिर स्रोत, EPA/Shutterstock
- Author, जेम्स च्याटर
- Published
- पढ्ने समय: ३ मिनेट
इरानसँग "द्रुत" सम्झौता हुने सर्तमा आफूले उक्त देशविरुद्धका आक्रमण रद्द गरेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै उनले "द्रुत गतिमा सम्झौता हुन सक्ने सर्तमा आक्रमण रद्द गरेको" भनेका छन्।
उनका अनुसार त्यस्तो सम्झौतामा होर्मुज जलमार्ग तत्काल खोल्ने तथा "इरानको परमाणु खतरा" अन्त्य गर्ने विषय रहने छन्।
पछिल्लो निर्णय इजरेललाई साथमा लिएर गरिएको ट्रम्पले बताए।
इरानको चेतावनी
अमेरिकी सञ्चारमाध्यमहरूले वाशिङ्टनले तेहरानविरुद्ध सप्ताहान्तमा ताजा तथा थप भीषण आक्रमणका योजना बनाइरहेको विवरण दिएका थिए।
यसअघि तेहरानले अमेरिकाले तनाव चर्काइरहेको आरोप लगाएको थियो। वाशिङ्टनलाई सहयोग गर्ने उक्त क्षेत्रका कुनै पनि देश "युद्धको आगोको लप्कामा पर्ने" उसले चेतावनी दिएको थियो।
आफ्नो पोस्टमा ट्रम्पले अमेरिका "इस्लामिक गणतन्त्र इरानका विरुद्ध दोस्रो विश्वयुद्ध यता नदेखिएको स्तरको सैन्य आतङ्क, बल र शक्तिका साथ उत्रन तम्तयार रहेको" उल्लेख गरेका थिए।
तर इरान र मध्यपूर्वका अन्य देशहरूले सम्झौताका निम्ति आक्रमण "स्थगन" गर्न आफूलाई "अनुरोध" गरिएकाले ती आक्रमण अहिले रद्द गरिएको ट्रम्पले बताए।
उनले कुनै किसिमको सम्झौता तर्फ प्रगति भइरहेको पनि सङ्केत गर्दै "सम्झौताका परिधिहरूमा सहमति भएको" उल्लेख गरेका छन्।
"त्यस (सम्झौता)मा तत्काल र पूर्ण रूपमा होर्मुज जलमार्ग खुलाउने तथा इरानको परमाणु खतरा अन्त्य गर्ने विषय समेटिने छन्," ट्रम्पले लेखेका छन्।
कस्तो थियो आक्रमण योजना?
ट्रम्पको घोषणाबारे इरानले प्रतिक्रिया दिइसकेको छैन।
यसअघि अमेरिकी सरकारले मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूलाई सजग रहन तथा "तनाव चर्किए" सो क्षेत्र छाड्न तयार रहन भनेको थियो।
"हाल मध्यपूर्वमा रहेका अमेरिकीहरूले सजगता अपनाउनु पर्छ तथा उडान रद्द हुने, हवाई क्षेत्र निषेध गरिने तथा यात्रामा अवरोधका निम्ति तयार रहनु पर्छ," शनिवार जारी गरिएको सुरक्षा सावधानीमा भनिएको थियो।

तस्बिर स्रोत, Reuters
अमेरिका र इजरेलले इरानको ऊर्जा संरचनाहरूविरुद्ध हालसम्मकै कठोर बमबारी अभियान चलाउने योजना बनाइरहेको कैयन् सूत्रहरूले बीबीसीको अमेरिकास्थित सञ्चार साझेदार सीबीएसलाई बताएका थिए।
सूत्रहरूले सीबीएस न्यूजलाई बताएअनुसार उक्त योजनाको विषय शुक्रवार ट्रम्पको क्याबिनेट बैठकमा पनि उठेको थियो।
उक्त बैठक कोठामा पत्रकारहरू रहेकै बखत ट्रम्पले "हामी तिन(इरानी)लाई कठोरतापूर्वक आक्रमण गर्ने छौँ। कुनै विन्दुमा पुगेपछि तिनले 'अब पुग्यो' भन्ने छन्" भनेको सुनिएको थियो।
एक्सिअसका अनुसार साउदी राजकुमार मोहम्मद बिन सलमानले शनिवार ट्रम्पसँग कुरा गर्दै सम्भावित आक्रमणबारे "चिन्ता प्रकट" गरेका थिए। उक्त फोन संवादबारे रोयटर्सले पनि समाचार दिएको थियो।
आक्रमण-प्रत्याक्रमण
युद्धविरामबारे एप्रिलमा गरिएको सम्झौता जुनमा भङ्ग भएपछि वाशिङ्टन र तेहरानबीच चर्को आक्रमण-प्रत्याक्रमण भइरहेको छ।
यो साताको सुरुमा अमेरिकाले सो क्षेत्रमा उसका सैन्य अखडाहरूमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गर्ने प्रयास गरिएको भन्दै इरानका विरुद्ध थालिएका बमबारीका "सघन लहर" पूर्ण भएको बताएको थियो।
अमेरिकाले इरानी बन्दरगाहहरू विरुद्ध सामुद्रिक नाकाबन्दी गरिरहेको छ तथा इरानी क्षेत्रहरूमा बमबारी गरिरहेको छ।
इरानले चाहिँ मध्यपूर्वभरि रहेका अमेरिकी केन्द्रहरूमा क्षेप्यास्त्र तथा ड्रोन हमला गर्नुका साथै होर्मुज जलमार्गमा पानीजहाजहरूलाई निसानामा पारिरहेको छ।
अमेरिका र इजरेलले इरानविरुद्ध फेब्रुअरी २८ मा आक्रमण थालेका थिए। त्यसयता विश्व बजारमा तेलको भाउमा ठूलो उतारचढाव आइरहेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















