तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कैलाली टेम्पो प्रकरणमा छानबिन समिति, भएको के हो
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
कैलालीमा एउटा वन क्षेत्रभित्र निर्माण गरिएका व्यापारिक संरचना खाली गर्ने क्रममा पसलका लागि प्रयोग भएको एउटा टेम्पो भीरबाट खसालिएको विषयमा व्यापक आलोचना भएपछि सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ।
घटनामा संलग्न वनरक्षकसहित १२ जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेलगत्तै सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले छानबिनको निर्णय गरेको हो।
मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले प्रदेश वननिर्देशक हेमराज बिष्टको संयोजकत्वमा गठित छानबिन समितिलाई एक साताको समय दिइएको जानकारी दिए।
"मन्त्रीज्यूको निर्णयानुसार छानबिन समिति गठन भएको छ," उनले भने। "स्थलगत रूपमा जे जति बुझ्नुपर्ने हो बुझेर सत्यतथ्यसहितको विवरण सात दिनभित्र पेस गर्नुहुने छ।"
टेम्पोमा पसल चलाउँदै आएको पक्षले क्षतिपूर्तिको माग राखेको विवरण सार्वजनिक भएको छ।
छानबिन समितिकी सदस्य तथा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले छानबिनपछि क्षतिपूर्ति दिनुपर्ने देखिए त्यसको सिफारिस हुने बताइन्।
उनका अनुसार टेम्पो 'सडकमा गुड्ने अवस्थामा नरहेको र पसल गर्ने प्रयोजनका लागि मात्रै प्रयोग भइरहेको' स्पष्टीकरण वन अधिकारीहरूले दिएका छन्।
"हटाउनका लागि नगर्नुपर्ने र गर्नु नहुने विधि अपनाएको देखिन्छ," उनले भनिन्।
गृहमन्त्रीले भने 'अमानवीय कार्य'
गृहमन्त्री सुधन गुरुङले सोधपुछका लागि वनका कर्मचारीहरूलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको फेसबुक पोस्ट शेअर गर्दै उक्त घटनालाई "अमानवीय कार्य" भनेका छन्।
"एक जना नागरिकमाथिको अमानवीय कार्यका लागि १२ जना सरकारी कर्मचारीहरूलाई पक्राउ गरिएको छ," गुरुङले आफ्नो 'स्टोरी'मा शेअर गरेको पोस्टमा लेखिएको छ।
नेपाल प्रहरीले टेम्पोलाई भीरबाट खसालिएको घटनामा अनुसन्धानका लागि वनअधिकृतदेखि वनरक्षकसम्मका १२ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जनाएको छ।
कैलाली जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले पीडितको उजुरीपछि थप अनुसन्धान अघि बढ्ने बताएका छन्।
"उहाँहरूले अतिक्रमण हटाउने क्रममा टेम्पो पनि हटाएको भन्नुभएको छ," तिमल्सिनाले भने।
टेम्पो भीरबाट खसालिएको घटनाबारे हामीलाई के थाहा छ
शुक्रवार कैलालीको गोदावरी नगरपालिकास्थित गोदावरी सामुदायिक वनमा पर्ने सडक किनारमा पसलका लागि राखिएको टेम्पो सडकबाट खसालिएको भिडिओ सामाजिक सञ्जालमा व्यापक फैलिएको थियो।
त्यसबारे कैयौँ मानिसहरूले प्रतिक्रिया व्यक्त गर्दै वन कार्यालयका कर्मचारीको कामबारे प्रश्न उठाएका थिए। सुदूरपश्चिम प्रदेशसभामा पनि घटनाबारे छानबिन गरेर दोषीमाथि कारबाही गर्न सांसदहरूले माग गरेका थिए।
वन कार्यालयका प्रमुख राम विचारीले त्यसबारे आइतवार स्पष्टीकरण दिँदै टेम्पो हटाउन खोज्दा खसेको दाबी गरेका थिए। "त्यो पूर्ण जीर्ण अवस्थाको छ। कवाड अवस्थाको छ, बाटोको छेउबाट निकाल्न खोज्दा अनियन्त्रित हुन गएको हो," उनले भनेका थिए।
तर घटनास्थलका भिडिओले उक्त दाबीमा विश्वास गर्ने अवस्था नभएको प्रवक्ता तिमिल्सिना बताउँछन्। "उहाँले स्पष्टीकरण दिए पनि भिडिओमा खसालेको जस्तो देखिन्छ," उनले भने।
कैयौँ सामाजिक सञ्जाल प्रयोगकर्ता र समाचार पोर्टलहरूले राखेको एउटा भिडिओमा सडक किनारबाट केही मानिसहरूले टेम्पोलाई डिलतर्फ धकेल्दै गरे जस्तो देखिन्छ। बीबीसीले उक्त भिडिओको आधिकारिकता पुष्टि गरेको छैन।
टेम्पोधनी धनादेवी धामीका पति घनश्याम धामीले गाडी चालु अवस्थामै रहेको दाबी गरेका छन्। उनी क्षतिपूर्ति नपाए त्यसका लागि उजुरी दिने पक्षमा देखिन्छन्।
'आवेशको निर्णय हुन सक्छ'
त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभागका पूर्व प्राध्यापक डा शिशिर सुब्बा तत्कालको वादविवादबाट उत्पन्न आक्रोशमा कर्मचारीहरूले टेम्पो धकेलिदिएको हुन सक्ने बताउँछन्।
"घटनाको पृष्ठभूमि अध्ययन नगरी कुन मनोविज्ञानले त्यस्तो विनाशक निर्णयमा पुर्यायो त भन्न सकिँदैन। तर युवा उमेरका केटा मान्छेहरू छिटो रिसाउने र भौतिक आक्रमणमा उत्रने स्वभावका हुन्छन्। तत्कालको आवेशले नै त्यसो गरिएको होला भन्ने मलाई लाग्छ," सुब्बा भन्छन्।
"यसमा उमेर, अवस्था लगायतका तत्त्वहरूले काम गरेको हुन सक्छ। तर जे भए पनि यो राम्रो भएन।"
नेपालमा कानुन कार्यान्वयन गर्ने अधिकारीहरू यस्ता विषयमा संवेदनशील हुन नसकेका कैयौँ उदाहरणहरू रहेको उनले बताए।
यसअघि सिराहामा एसईई परीक्षामा विद्यार्थीहरूले अनधिकृत रूपमा प्रयोग गरेका कारण जफत गरिएको भनिएका मोबाइल पानीमा डुबाएर नष्ट गरिएको विवरण आएका थिए। उक्त प्रकरणले सामाजिक सञ्जालमा व्यापक आलोचना निम्त्याएको थियो।
मनोविज्ञानका पूर्वप्राध्यापक सुब्बा एउटा वा दुइटा घटनालाई सामान्यीकरण गर्नु नहुने भए पनि सरकारी अधिकारीहरूलाई नागरिकसँग गरिने व्यवहारबारे पनि परामर्श दिइनुपर्ने उनी बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।