तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
श्रीमान्का १५ श्रीमतीमध्ये एक थिइन्, तर त्यो सम्बन्धबाट निस्केर उनले एउटा साम्राज्य खडा गरिन्
'मामा निके' नामले पनि परिचित निके डेभिस ओकुन्डायो अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकार एवं नाइजिरियाको सबैभन्दा ठूलो आर्ट ग्यालरी 'निके सेन्टर फर आर्ट्स एन्ड कल्चर'की संस्थापक हुन्। उनी जीवन्त, ऊर्जाशील र सशक्त छिन्।
तर उनका सुरुवाती दिनमा गरिबी, भोक र बहुविवाह जस्ता विषय सामेल थिए, मानौँ उनी "दाह्राबिनाकी सिंह" थिइन्।
दशकौँ लामो सङ्घर्षपछि प्राप्त उनको सफलता एउटा उपन्यास जस्तै लाग्छ - उतारचढावले भरिपूर्ण, अनेकन् मोड र विद्रोहका कदमयुक्त।
यी सबैबीच 'अडिरे' बनाउने उनको सीप चम्किँदै जान्छ।
'अडिरे' दक्षिणपश्चिम नाइजिरियामा राजपरिवारका सदस्यहरूले लगाउने चम्किलो नीलो रङको कपडा हो।
'योरुबा' शब्दबाट त्यसको नाम आएको हो, जसको अर्थ बाँध्नु र रङ्ग्याउनु हो।
यो महिलाकेन्द्रित एउटा सीप हो जसका लागि कला, धैर्य र दृढताको आवश्यकता पर्छ। मामा निकेको असाधारण जीवन कहानीमा त्यो कुरा प्रतिविम्बित छ।
सिकाइ
सन् १९५१ मा एउटा गरिब ग्रामीण परिवारमा जन्मिएकी केटीका लागि सीमित विकल्पहरूमा मात्र खुला थिए।
छ वर्षको उमेरमा उनकी आमाको मृत्यु भएपछि परिवारका अन्य महिलाहरूले उनलाई 'अडिरे' कपडा बुन्ने कला सिकाए।
कडा परिश्रम लाग्ने उक्त प्रक्रियामा केही मिटर कपडा बनाउन पनि महिनौँ समय लाग्छ।
सानै उमेरदेखि उनलाई कपासबाट बीउ कसरी निकाल्ने, त्यसलाई कात्ने चक्कामा कसरी घुमाउने र बुन्ने भन्ने ज्ञान थियो।
अडिरे बनाउन लाग्ने समयका कारण निककेको परिवारमा शाही परिवारबाट वर्षमा एक वा दुई वटा मात्र माग आउँथ्यो, जसका कारण उनीहरूको आम्दानी थोरै हुन्थ्यो।
निके आफूलाई लामो समय काम गरेर थाकेको अस्थिपञ्जरका रूपमा वर्णन गर्छिन्।
"म स्कूल जान्थेँ, दुई बजेसम्म फर्किन्थेँ र त्यसपछि खेतमा जान्थेँ। हामी पैसा कमाउन पनि सक्दैनथ्यौँ, खान पनि पाउँदैनथ्यौँ," उनी भन्छिन्।
निके आफूले पहिलेपहिले सोचेको सम्झन्छिन्, "मैले पीडा भोगिरहेकी छु। यदि मेरी आमा जीवित हुनुभएको भए मैले यी सबै भोग्नुपर्ने थिएन।"
तर पछि कपडा बनाउने उनको सीपले उनलाई स्वतन्त्र र आत्मनिर्भर बनाउने छ भन्ने लाग्यो - "यो मेरो भविष्यको आधार हुने छ। तिनीहरूले मलाई यो ज्ञान दिइरहेका थिए।"
धेरै गरिबी देखेर निके काम खोज्ने कुरामा दृढ थिइन्। अन्ततः उनले हिँडेर केही घण्टामा पुग्न सकिने एउटा सहरको एउटा परिवारमा बच्चा हेर्ने काम पाइन्।
उनी प्रायः रातहरू आफूले काम गर्ने घरको बरन्डामा बिताउँथिन्। आफूले हेर्ने बच्चा सुतेपछि उनी आफ्नै लुगामा काम गर्थिन्, आफ्नो शिल्पलाई पूर्ण बनाउने र सुधार गर्ने गर्थिन्।
उनले कपडामा भरेको एउटा बुट्टामा "ईश्वर मेरा रक्षक हुन्" भनी लेखिएको थियो। त्यसले केही 'नन'हरूको ध्यान तान्यो। क्यानडा लैजानका लागि उनीहरूले थप चार वटा बुट्टाका लागि प्रतिबुट्टा पाँच शिलिङ दिए।
हुन त त्यो आफैँमा ठूलो रकम थिएन। तर "मेरा लागि निकै ठूलो थियो," उनले भनिन्।
त्यसैले खाली समयमा उनी कपडामा बुट्टा भर्ने काम गर्न थालिन्।
१५ जनामध्ये एउटी श्रीमती
तर उनको परिवारमा गरिबीले फेरि एक पटक दुःख दिन लागेको थियो, जब उनका बुवाले उनलाई चौथो श्रीमती बनाउने एक पुरुषको प्रस्ताव स्वीकार्ने निधो गरे।
यसबाट बच्न उनले धेरै पटक भाग्ने प्रयास गरिन् र अन्ततः उनको गाउँमा नाटक प्रदर्शन गर्न पुगेको समूहमा उनी संलग्न भइन्।
यसले उनलाई नयाँ आत्मविश्वास दिलायो - "तिनीहरूले मेरो कपाल खौरिदिए। अरूको अनुहार हेर्न आँट नगर्ने मान्छे म 'स्टेज मास्टर' बनेँ।"
त्यसको केही समयमै उनले आफ्नो पहिलो श्रीमान्लाई भेटिन्, जो कलाकार थिए।
श्रीमतीहरूको प्रतिरोधको बीच उनले समग्रमा १५ जना महिलासँग बिहे गरेका थिए।
उनले स्थानीय गिर्जाघरमा भोकै राखेर उनीहरूलाई वशमा पारेको निके बताउँछिन्।
"खानेपिउने सामानबिना तीन दिनसम्म [राखे]। उसले हामीलाई दाह्राबिनाको सिंहजस्तै बनाएको थियो। त्यसैले हामी सहमत हुन बाध्य भयौँ। तेस्रो दिनसम्ममा हामीले हामी अब 'ईर्ष्यालु छैनौँ' भनेर भन्यौँ।"
उन्मुक्तिका रूपमा कला
सन् १९७० को दशकमा निकेले आफ्नो काममार्फत् आफ्नै पहिचान बनाउन थालिन्। अफ्रिकी-अमेरिकीहरूलाई परम्परागत नाइजिरियाली शिल्प सिकाउनका लागि संयुक्त राज्य अमेरिकामा उनलाई निम्त्याइयो।
अमेरिकामा उनले जे देखिन्, त्यसले उनको व्यक्तित्व नै बदलिन पुग्यो, "मैले महिलाहरूलाई सोधेँ- तिम्रा श्रीमान्का कति वटी श्रीमतीहरू छन्? उनीहरूले भने- म मात्र।"
नाइजिरियामा निकेले घरेलु तनाव, ईर्ष्या र दुर्व्यवहारको सामना गरिरहेकी थिइन् र ती सबैबाट उनी वाक्क भइसकेकी थिइन्।
निकेले आफ्ना कलाकृति बेचेर बचत गरेको पैसाले अरूलाई थाहा नदिई एउटा घर बनाइरहेकी थिइन् र त्यो तयार हुन लागेको थियो।
उनले आफूले श्रीमान्को घर छाड्न लागेको घोषणा गरिन् र एकपछि अर्को गरी अरू श्रीमतीहरू पनि उनकै पछि लागे। उनले उनीहरूलाई आफ्नो परिवारको शिल्प सिकाइन् "ता कि म मात्र नभई सबैले थोरै पैसा कमाउन सकौँ।"
उनले उनीहरूलाई अमेरिकाका बारे पनि बताइन् र भनिन्, "एउटा देश छ, जहाँ तपाईँ आफ्ना जीवनसाथीलाई पूर्ण रूपमा आफूमा मात्र सीमित राख्न सक्नुहुन्छ।"
उनीहरूले भने- "मलाई त्यहाँ लैजानुहोस्।"
यो कुरा फैलियो र अन्ततः उनले लगभग २० जना केटीहरूलाई गराजमा जम्मा पारिन् र आर्थिक सुरक्षातर्फ डोर्याउन सक्ने गरी अडिरे बनाउन उनीहरूलाई सिकाइन्। तर छिट्टै प्रहरीले उनलाई "अमेरिकी नारीवादको अभ्यास" गरेको आरोपमा पक्राउ गर्यो।
मामा निकेले आफ्नै ग्यालरी खोलिन्
ओछ्यान र भुइँबाट सुरु भएको मामा निकेको पाँचतले आर्ट ग्यालरीमा अहिले हजारौँ कलाकृतिहरू छन्, जसले विभिन्न माध्यममा काम गर्ने स्थापित र उदीयमान नाइजिरियाली कलाकारहरूका काम प्रदर्शन गर्छ।
उमेरले अहिले सत्तरीको दशकमा पुगेकी मामा निकेले अझै पनि विश्वभरिका आगन्तुकहरूलाई स्वागत गर्छिन्, आफ्नो कला र कथाहरूले उनीहरूलाई मोहित पार्छिन्।
आफ्नो प्रिय अडिरे पोसाकमा सजिएकी उनको व्यक्तित्व उनको जीवनजस्तै रङ्गीन छ।
नाइजिरियाली कलालाई प्रख्यात बनाउन मामा निकेले महत्त्वपूर्ण भूमिका खेलेकी भए पनि सायद उनको सबैभन्दा ठूलो विरासत उनले सशक्त बनाएका महिलाहरूको जीवनमा निहित छ, जसमध्ये धेरैले पार गरेका चुनौतीहरूको उनी आफैँले कुनै बेला सामना गरेकी थिइन्।
दशकौँदेखि उनले हजारौँ महिलाहरूलाई कपडामा बुट्टा बनाउने, कपडा र अडिरेको कलासम्बन्धी तालिम दिएकी छिन्।
यो एउटा कला हो जुन अद्वितीय, सुन्दर र गर्वका साथ नाइजिरियाली हो, जस्तै मामा निके।
जुलिअन सिडलद्वारा बीबीसी विश्वसेवाका लागि निर्मित 'आउटलूक'को एउटा शृङ्खलामा आधारित
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।