इरानी आक्रमणमा खसेको अमेरिकी लडाकु विमानका चालकदलका सदस्यको खोजी हुँदै

पढ्ने समय: ३ मिनेट

अमेरिकी सैनिकहरूले इरानी आक्रमणमा खसालिएको युद्धक विमानमा सवार एक जना चालकदलका सदस्यको खोजी जारी राखेका छन्।

इरानका दुई फरक स्थानमा खसालिएका अमेरिकी युद्धक विमानका चालकदलका सदस्यहरूमध्ये एक जनाको उद्धार गरिएको र अर्को एक विमानका पाइलट विमानबाट सुरक्षा उपकरण प्रयोग गरी बाहिरिएको बताइएको छ।

अमेरिकी सञ्चारमाध्यमले अमेरिकी र इरानी दुवै पक्षका फौजले हराइरहेका चालक दलका सदस्यको खोजी गरिरहेको जनाएका छन्।

दक्षिणी इरानमा खसालिएको अमेरिकी एफ-१५ लडाकु विमानमा सवार अस्त्र प्रणाली अधिकारी हराइरहेको बीबीसीको अमेरिकी साझेदार सीबीएसले जनाएको छ। विमानका पाइलटको उद्धार गरिएको र अस्त्र अधिकारी हराइरहेको पेन्टागनका अधिकारीहरूलाई उद्धृत गर्दै सीबीएसले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उद्धार प्रयासहरूबारे कुरा गर्न अस्वीकार गरेका छन्। तर त्यसले इरानसँगको वार्तामा कुनै असर नगर्ने उनले बताएका छन्।

भेट्टाउनेलाई इरानको पुरस्कार

तेहरानले पनि स्थानीय बासिन्दाहरूलाई अमेरिकी लडाकु विमानका चालकदलका सदस्यको खोजी गर्न आग्रह गरेको छ। इरानले ती व्यक्तिलाई फेला पारेर ल्याउने व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको छ।

अमेरिकी फौजका ती व्यक्तिलाई जीवित भेट्टाउने व्यक्तिलाई ६६ हजार अमेरिकी डलर (झन्डै एक करोड नेपाली रुपैयाँ) पुरस्कार घोषणा गरिएको चर्चा गरिएका छन्।

ती व्यक्तिको खोजीमा हतियार बोकेका गैरसैनिक मानिसहरू पनि परिचालन भएका भिडिओहरू सामाजिक सञ्जालमा फैलिएका छन्।

अमेरिकी संसद् कङ्ग्रेसको एक गोप्य बैठकमा पेन्टागनले एउटा एफ-१५ लडाकु विमान दक्षिण पश्चिम इरानमा खसालिएको बताएको जनाइएको छ।

इरानी सञ्चारमाध्यमहरूले पर्सिअन गल्फमा अमेरिकाको अर्को ए-१० वारथग विमानमा इरानको हवाई प्रतिरक्षा प्रणालीले प्रहार गरेको जनाएका छन्। उक्त विमानका चालक विमानबाट अलग भएको बताइएको छ।

इरानी सञ्चारमाध्यमहरूले दुई जना चालकदलका सदस्यहरू विमानबाट अलग भएको र देशको दक्षिणी क्षेत्रमा उत्रिएको हुनसक्ने बताएका छन्।

अमेरिकी सञ्चार मध्यमहरूले पहिलो विमान खसालिएपछि विमान उद्धार र खोजीका क्रममा खटिएको ए-१० सैन्य खसालिएको जनाएका छन्।

इरानी सरकारी सञ्चारमाध्यमले खसालिएको विमानको पार्टपुर्जा अनि उछिट्टिएको एउटा सिटजस्तो देखिने तस्बिर र भिडिओ प्रकाशित गरेका छन्।

दुर्लभ घटना

इरानमा अमेरिका र इजरेलको युद्ध सुरु भएयता विपक्षीको आक्रमणबाट अमेरिकी जेट खसेको यो पहिलो घटना भएको बताइएको छ।

विपक्षीबाट अमेरिकी लडाकु विमान खसालिएका घटना कैयौँ दशकमा एकाध मात्रै भएका छन्।

मार्चको सुरुमा आफ्नै तर्फबाट भएको जस्तो देखिएको प्रहारमा कुवेतमा एउटा अमेरिकी एफ-१५ लडाकु विमान खसेको थियो। त्यसमा सवार सबै छ जना चालकदलका सदस्य सुरक्षित रूपमा विमानबाट बाहिरिर बाँचेका थिए।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार मार्च १२ मा पश्चिमी इराकमा अमेरिकाको इन्धन भर्ने एउटा विमान अर्को विमानसँग ठोक्किएर दुर्घटना हुँदा त्यसमा सवार छ जनाको ज्यान गएको थियो।

अमेरिकी लडाकु विमान यसअघि सन्२००३ मा मात्रै विपक्षीबाट खसालिएको थियो।

सन् २००३को एप्रिल ७ मा एफ-१५ई स्ट्राइक इगल इराकमा खसालिँदा त्यसका पाइलट र अस्त्र प्रणाली अधिकारी मारिएका थिए।

त्यसको भोलीपल्ट एप्रिल ८ मा बगदादमा जमिनबाट प्रहार गरिने क्षेप्यास्त्र प्रहारबाट अमेरिकी ए-१० थन्डरबोल्ट २ विमान खसालिएको ठानिएको अमेरिकी वायुसेनाले जनाएको थियो।

उक्त विमान दुर्घटनामा पर्नुअघि नै चालक सुरक्षित रूपमा विमानबाट बाहिरिएर उत्रिएका थिए।

लिबियामा सन् २०११ को मार्चमा अमेरिकाको अर्को एफ-१५ई लडाकु विमान दुर्घटना भएको थियो। त्यसबेला पाइलटको उद्धारका लागि चार वटा विमान र दुई वटा हेलिकप्टर पठाइएको अमेरिकी सेनाले जनाएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।