बर्खे विपद्‌पछि उद्धार गर्न सशस्त्र प्रहरी 'तयार', मनसुन देशैभरि कहिले फैलन्छ?

Published
पढ्ने समय: ४ मिनेट

सात दिनअघि पूर्वी नेपालबाट कमजोर रूपमा भित्रिएको मनसुन देशैभरि पुग्न जुलाई पहिलो सातासम्म लाग्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मनसुन भित्रिए पनि पूर्वी र मध्य भागमा मात्रै यसको प्रभाव देखिएको अनि ती क्षेत्रमा पनि उल्लेख पानी नपरेको विभागले जानकारी दिएको छ।

यसैबीच मनसुनमा निम्तिन सक्ने बाढी र पहिरोजस्ता विपद्का घटनामा उद्धारका लागि विगत वर्षभन्दा तयारी अझै बलियो बनाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

यस वर्षको मनसुनमा पानी कम पर्ने अनुमान गरिएको भए पनि विषम प्राकृतिक विपद् निम्तिने सम्भावना उत्तिकै जोखिमपूर्ण रहने भन्दै यो वर्ष तयारीको अवस्था थप सशक्त बनाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

विपद् प्रतिकार्यको तयारीका लागि सरकारले देशभरि आठ हजारभन्दा बढी सशस्त्र प्रहरीलाई चौबीसै घण्टा तयार अवस्थामा रहने व्यवस्था मिलाएको र जोखिमयुक्त क्षेत्र पहिचान गरेर त्यहाँ अस्थायी मनसुन प्रतिकार्य 'बेस' स्थापना गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

यो वर्ष मनसुनको अवस्था कस्तो छ?

जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष नेपालमा ढिलो गरी मनसुन भित्रियो र भित्रिएका स्थानमा पनि हालसम्म राम्ररी पानी पर्न सकेको छैन।

"कोशी प्रदेशको थोरै भूभागमा मनसुन भित्रिएको जानकारी हामीले जुन १९ तारिखमा नै दिएका थियौँ, त्यसपछि जुन २२ मा कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भागको थोरै स्थानमा प्रवेश भनेर भनेका थियौँ। अरू ठाउँमा आगमन भनेका छैनौँ," विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले भनिन्।

"कोशी प्रदेश अनि गण्डकी प्रदेशको पहाडी भूभागमा केही वर्षा भएको चाहिँ देखिएको छ। त्यसबाहेक अरू प्रदेशमा चाहिँ वर्षा भएको पनि देखिएको छैन।"

उनले कर्णाली र सुदूरपश्चिम प्रदेशमा तत्कालै पानी पर्ने सम्भावना अहिले नदेखिएको बताएकी छन्।

बरु सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भूभागमा तातो लहरको चेतावनी दिइएको उनले बताइन्।

"पश्चिमसम्मै पुग्न त लगभग जुलाई महिना पनि छुन सक्छ। त्यसैले अहिलेको अवस्था हेर्दा देशैभरि मनसुन पुग्न जुलाई महिना लाग्न सक्ने सम्भावना छ," उनले भनिन्।

विभागले यसअघि यो वर्ष पानी कम पर्ने अनुमान गरेको थियो। तर पानी कम पर्दैमा त्यसले निम्त्याउने बाढीपहिरोका घटना कम नहुने भन्दै सतर्कता र तयारीको अवस्थामा रहनुपर्ने जनाएको छ।

"जलवायु परिवर्तनको कारण पनि सरदरभन्दा कम वर्षा हुने भन्ने बित्तिकै बाढीपहिरो नै नआउने हो कि भन्ने हुँदैन," उनले भनिन्।

"लामो समय खडेरी पर्ने अनि एकैपटक भीषण वर्षा हुने र बाढीपहिरो आउने भएको कारणले हामी मनसुनको अवधिभर चनाखो बस्नुपर्छ। त्यसरी आउने पानी पनि उत्तिकै जोखिमयुक्त हुन्छ।"

विगतभन्दा 'फरक' तयारी?

विभागले यस्तो पूर्वानुमान गरिरहेका बेला त्यसअनुसारको अवस्थामा निम्तिन सक्ने जस्तोसुकै जोखिमका लागि आफूहरूले पूर्वतयारीका कामहरू गरिसकेको सशस्त्र प्रहरी बलले जनाएको छ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ अनुसार साढे २१ हजार प्रहरी बललाई तालिम दिनेदेखि ८,१८० जनालाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको उसले जनाएको हो।

त्यस्तै सातवटै प्रदेशका विभिन्न ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य 'बेस' स्थापना गरेर काम गरिरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।

उनका अनुसार विगतमा २०/२२ वटा यस्ता 'बेस' रहेकामा यसपटक बढाएर ५४ पुर्‍याइएको हो।

"विगतको फील्डको अनुभवलाई हेर्दा स्थायी ठाउँबाट प्रभावित ठाउँमा पुग्न ढिलाइ हुने हुँदा मानवीय क्षति भयो कि भन्ने अनुमानले गर्दा छिटो उद्धार गर्न सकियोस् भनेर [अस्थायी बेसको सङ्ख्या] बढाइएको हो," उनले भने।

"बाढीपहिरोको जोखिमयुक्त भनेर पहिचान गरिएका ठाउँहरूमा तत्काल टोली परिचालन गर्न र कमभन्दा कम समयमा पुग्न सकियोस् भन्ने उद्देश्य हो।"

जल तथा मौसम विज्ञान विभाग अनि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायतसँगको सहकार्यमा आफूहरू बाढी, पहिरो र डुबानजस्ता विपद्‌मा तत्काल उद्धार गर्न तयार अवस्थामा रहेको सशस्त्र प्रहरीले जनाएको हो।

उसले बिहीवार पत्रकार सम्मेलन गरेर मनसुनी विपद्‌ प्रतिकार्य तयारीबारे जानकारी गराएको थियो। त्यसअनुसार उद्धारलाई प्रभावकारी बनाउन आवश्यक उपकरणसहित १३४ जना गोताखोरको टोलीलाई देशभरका ११ जोखिमयुक्त स्थानमा खटाइएको बताइएको छ।

विपद्को सूचना तत्काल प्राप्त होस् भनेर 'एपीएफ कम्युनिटी अलर्ट सिस्टम' मोबाइल एप सञ्चालनमा ल्याइएको सहप्रवक्ता थापाले बताए।

"सामान्य अवस्थाको पानी पर्दा वा एक्कासि ठूलो पानी पर्दा पनि अधिकतम तहमा हाम्रो जनशक्ति, प्रविधि र उपकरण प्रयोग गरेर कसरी तत्काल उद्धार गर्न सकिन्छ भनेर विगतको अनुभवसहित यो तयारी गरेका हौँ," उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।